केशवप्रसाद पौडेल
उठ, जाग हे विश्व मानव !
हे विश्वका तिमी मानव ।
हिजो तिम्रो चेतना सुस्ताएको मात्रै थियो
सुतेको थिएन
हिजो तिम्रो गति बिस्तारिएको मात्रै थियो
स्थिर थिएन
रंगीन संसारमा रनभुल्ल मात्रै थियो
अल्झिएको थिएन
त्यसैले
विश्वका ए मानव
उठ, जाग , बिउँझ
चेतनाको धारमा लागेको खियालाई
चम्किलो पाराले मस्काऊ र बिउँझ
तिम्रो यति र गतिमा अलिकति धावन शक्ति बढाऊ
वेग बनेर उठ र जाग
हे विश्व मानव,
विश्वलाई रोगले धेरै पटक न्याकेको बेला
तिम्रो साहस र तागतले ढालेको सम्झ
तिम्रो आत्मबल र दृढ इच्छाशक्तिले
परास्त गरेको सम्झ
उठ अझै जाग
बिउँझ र चट्टानझै उभिएर
अवश्य तिमी जित्ने छौ
फेरि यो संसारलाई
पक्कै तिमी जित्ने छौ यो महामारीलाई
अन्तिम विजय तिम्रै हुनेछ
जगाऊ तिमीभित्रको आफूलाई
तिम्रो आत्मविश्वासलाई
जसले संसारको
जुनसुकै कठोर रोगलाई परास्त गर्नेछ
जगाऊ तिम्रो आत्मद्वीपलाई
जसले यो संसारको महामारीलाई
खरानी बनाउनेछ
उठ साहस गर, नआत्तिई नछटपटीकन
धैर्यधारणका साथ स्मरण गर
जाग,
अलिकति बलका साथ
अलिकति बुताका साथ
आऊ , जगाऊ तिम्रै मनहरू
तिम्रै तनहरू
अन्तिम विजय तिम्रै हुनेछ
यो संसारको फूलबारीमा
तिम्रै खुसी र तिम्रै सार्वभौमिकता चल्नेछ
महामारी जलेर खरानी हुनेछ
आऊ, जगाऊ आफ्नै मनहरू
अन्तिम विजय तिम्रै हुनेछ
यो संसारको स्वर्ग तिम्रै हुनेछ।
प्रकाशित: २२ वैशाख २०७८ ०४:१६ बुधबार