छायादत्त न्यौपाने
म एउटा सानो बस्तीमा पुगेँ । त्यहाँ बालकहरू खेलिरहेका थिए । उनीहरूको खेल गौरा नाचशैलीको थियो । मलाई हेरिरहूँ लाग्यो । मैले हेर्दै छु भन्ने थाहा पाए भने अप्ठ्यारो मान्लान् कि भनेर अलिक पर बसेर अरूसँग गफ गरेझैं गरी नियालेँ । बालकहरू आठ–दस जना फरक–फरक परिवारका हुन् भन्ने प्रस्टै देखिन्थ्यो तर कति सरल आत्मीय भावना ! मैले त शब्दमा उतार्नै सक्तिन भनेर जान्दाजान्दै पनि रहर नगरी रहन सकिनँ।
हामी बालसाथी हौ
सँगै खेल्छौं रमाउँछौं
स्कुल छ रमाइलो
समयमा पुग्दछौं
पढाइ –लेखाइ गर्ने हो
सँगै अघि बढ्दछौं
हामी सबै जुटेर
संसार यो सजाउँछौं....!
उनीहरू गाउँदै थिए।
कुनै कसविनाको स्वच्छ मन । खेलमा सबै जना उत्तिकै रमाइरहेका । विघ्न बाजा बजाएर आउँदैन भनेझैं एक्कासि एक जना आफूलाई सुकिलो ठान्ने अभिभावक टप्के। आफ्नी छोरीलाई मुन्ट्याए, खेल भत्काइदिए। बालकहरू निरास देखिए।
मलाई ती सुकिला मान्छे को रहेछन्, के गर्दा रहेछन् ? जान्न मन लाग्यो । मेरो जिज्ञासा मेटाउन सँगै गफ गरिरहेका उमेशले परिचय गराउँदै भन्नुभो– उहाँ बालअधिकारका क्षेत्रमा काम गर्ने यो बस्तीको अगुवा हुनुहुन्छ !
प्रकाशित: १३ वैशाख २०७८ ०५:२७ सोमबार