शीतल गिरी
वैवाहिक जीवन विश्वासमा सुखमय बन्दछ र यही कारण हो, सुखमय वैवाहिक जीवनमा एकले अर्कासँग समान व्यवहार गर्नुपर्छ । जीवनरूपी रथका दुई पाङ्ग्रा पतिपत्नीको यस्तो प्रयत्न रहनु पर्दछ कि प्रत्येक सुख र दुःखको समयमा एक अर्काको सहयोगी बनिरहने । यसै भावनात्मक सम्बन्धले गर्दा एकले अर्काको मुहारको भाव पढेर नै बुझ्न सक्नेछन्—कसलाई कस्तो दुःख परेको छ । अनि तत्कालै सहयोगका लागि जुट्न सक्नेछन् । यी सम्पूर्ण कुरा यस्ता हुन्, जसको मूलमा विश्वासबाहेक एक अर्काका लागि प्रेमको भावनात्मक सम्बन्ध पनि रहन्छ। वैवाहिक जीवनमा कर्तव्य र उत्तरदायित्व एकसाथ मिलेर काम गरेको हुन्छ । तर वैवाहिक जीवनको यस उदारवादी भावनासँग खेलवाड गर्नु भने हुँदैन । यसो गर्दा वैवाहिक जीवनमा भँगालो आउन सक्दछ । कतिपय समयमा पतिपत्नीमध्ये कोही मानसिक रूपबाट अस्वस्थ रहन पनि सक्छ । कुनै असहज समस्यामा अल्झिन पनि सक्छ । कोही पति–पत्नी त आफ्नो व्यथा बताएर जीवनसाथीलाई चिन्तामा राख्न चाहँदैनन् । कोही भने साना साना समस्याहरू बाँड्न मन पराउँदैनन्।
तर जतिकै लुकाए पनि व्यथा मुहारमा देखापरिहाल्छ । यसकारण यो आवश्यक छ, पतिले पत्नीको र पत्नीले पतिको मनोदशा बुझ्नु । वास्तवमा वैवाहिक जीवनमा पतिले आफ्नी संगिनीसँग समान व्यवहार गर्नै पर्दछ । चिन्तित या दुखित संगिनीलाई पतिले कुनै पनि काम गर्न दबाब दिनु हँुदैन । कतिपयको वैवाहिक जीवनमा यस्तो पाइएको छ कि आफूले गरेको जस्तो किसिमको सहयोग आफूले पनि पाउनै पर्दछ ‘तिमीलाई सन्चो नहुँदा म रातरात भर जाग्राम बसेर सेवा गरे । अहिले म विरामी छु । के तिमी त्यसरी मेरो सेवा स्याहार गर्दैनौं ।’
यस्तै आवेगले गर्दा कहिलेकाहीँ वैवाहिक जीवनमा कटुता आउँछ । विश्वनाथ र प्रमिलाको वैवाहिक जीवन बडो राम्रो थियो । एकदिन बिहान प्रमिलाले विश्वनाथलाई फोन गरिन्, “छोरीलाई सञ्चो छैन । ११ बजेभित्रमा आइपुग ।”
विश्वनाथले भन्यो, “आज म आउन सक्दिन । एकदम जरुरी काम छ ।”
प्रमिला यतिकैमा रिसाइन् र भनिन्, “तिमी जहिले पनि मलाई बोलाउँछौं, उतिबेलै म माइतीबाट आइपुग्छु । आज म माइतीमा छु, छोरीलाई सन्चो नभएको जानकारी गराउँदा पनि वहाना बनाउँदै छौ । आउनै पर्छ, छोरी विरामी छ । यदि तिमी हामी दुई बिच कटुता नआओस् भन्ने चाहन्छौं भने अवश्य आउने छौं ।” र प्रमिलाले मोवाइल बन्द गरिन् ।
त्यस समयमा विश्वनाथ शाखा अधिकृतको तयारी गर्दै थियो, परिक्षा आउन तिन दिन मात्र बाँकी थियो । तर, उसलाई आफ्नो ससुराली जानुपरयो । छोरीलाई सामान्य ज्वरो थियो । जब प्रमिलालाई लोकसेवा आयोगको परिक्षाको कुरा थाहा भयो तब धेरै अफसोस मानिन् । वैवाहिक सम्बन्धमा आफ्नो कर्तव्य पालन गर्नु त आवश्यक छ। तर, असल जीवन साथी त्यही हो जसले पतिपत्नीले एक अर्काको दुःखदर्द बुझ्न सक्दछ । यदि प्रमिलाले यो कुरो सोचेकी भए, ‘हुन सक्छ, विश्वनाथलाई आज पक्कै पनि आवश्यक काम परयो होला, यसैकारण छोरी विरामी भएको जानकारी पाउँदा पनि यहाँ आउन नहिचकिचाइरहेछ ।’
विश्वनाथले सुवर्ण अवसरको तयारी गर्ने समय यात्रामा बिताउनुपथ्र्यो । प्रमिलाले मोवाइलको स्वीच बन्द गरिन् त के भो, सासूससुरालाई फोन गरेर यथार्थ बुझ्न र बुझाउन सक्नुपर्ने हो, यो भूल अवश्य विश्वनाथको हो । उसले ससुराली घरका कसैसँग पनि सम्पर्क गरेर स्पष्टसँग भन्नुपथ्र्यो, लोकसेवाको परिक्षामा ३ दिन मात्र बाँकी छ ।
यस्तोमा प्रमिलाले कुरा बुझेर आफ्नो निर्णय परिवर्तन गर्नै पथ्र्यो । वैवाहिक जीवनमा कुनै पनि रूपको दबाब दिनु ठिक हँुद हुँदैन । यदि पति घरमा आउँदा पत्नी कुनै काममा तल्लीन छ भने पतिले अर्को कुनै काममा लगाउनु भने अवश्य हुँदैन, लगाउनै परयो भने त्यो काम अति आवश्यक हुनुपर्दछ साथै तत्कालै गर्नुपर्ने र पत्नीको सहयोगबिना हुनै नसक्ने छ भने मात्र। प्रत्येक पतिले पत्नीको स्थिति बुझ्ने प्रयत्न गर्न यसो भन्न सक्नुहुन्छ, “कामको चटारोले सारै थाकियो, चियाले थकान उतार्दो हो ?” यति भन्दा पत्नीले तत्कालै चिया दिइन् भने ठीक छ, दबाब दिएर चिया बनाउन भने लगाउनु हुँदैन।
यस्तो अवस्थामा हुन सक्छ, पतिको दबाबको कारण पत्नीले आफूले गर्दै आएको काम छाडेर चिया बनाउन्, तर तिनी भित्रभित्रै भने रिसाएकी हुन सक्छिन् । दबाब दिँदा हुन सक्छ— तिनले पतिलाई स्पष्ट रूपमा भन्न सक्छिन्, ‘अहिले म चिया बनाउन सक्दिन।’
यसबाट पतिलाई नराम्रो लाग्न पनि सक्छ । यसकारण आवश्यक छ संगिनीसँग समान व्यवहार गर्नुपर्छ । पत्नीको चाहनाविपरीत कुनै पनि निर्णय लाद्नु हुँदैन । वैवाहिक शुत्रमा बाँधिएपछि केही समय एक अर्काको आनीबानी बुझ्न ‘पर्ख र हेर’ को नीति पतिपत्नी दुवैले पालनगर्नुपर्छ । खास गरेर नयाँ घर शान्तिमय होस् यो चाहना प्रत्येक वैवाहिक सूत्रमा बाँधिएका पतिपत्नीकै रहन्छ । पतिपत्नीको विचार आपसमा मेल खानुको अर्थ दुवैको चाहना अनुरूप खानु , पिउनु र लाउनु हुनुपर्छ भन्ने होइन । पतिलाई सिनेमा मनपर्छ भने पत्नीलाई साहित्य मन पर्न सक्छ । यस्तो अवस्थामा संगिनीको भावनालाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बारम्बार दबाब दिँदा या जबर्जस्ती काम गराउँदा संगिनीमा विपरीत प्रतिक्रिया आउन सक्छ।
संगिनीको मनमा यो कुरा पनि आउन सक्छ कि कहीँ पतिले दासीको रूपमा त हेर्ने गरेको छैन । यथार्थमा वैवाहिक जीवन सुखमय हुनुपर्दछ र यसका लागि सबभन्दा महत्त्वपूर्ण कुरा पतिले पत्नीको भावना बुझून् र त्यहीअनुरूप व्यवहार गरून्, नत्रभने वैवाहिक सम्बन्ध नै कमजोर बन्दछ र चाँडै नै पारपाचुकेको सम्भावना जन्मन पनि सक्छ।
प्रकाशित: १२ वैशाख २०७८ ०९:१६ आइतबार