दिनभरिको हिँडाइले थाकेका थियौँ । डुब्न लागेका घामका पहेँला किरणले उत्तरतिरको हिमाल सुनजस्तै देखिन्थ्यो ।
“आमा ! वास पाइन्छ ?” बाटामाथिको एउटा घरको आँगनमा गएर बुबाले सोध्नुभयो ।
घरको दलानमा एउटी वृद्ध आमा हुनुहुन्थ्यो । उहाँले पुलुक्क हामीतिर हेर्नुभयो र सोध्नुभयो— “कति जना हुनुहुन्छ ।”
“यी सानी छोरी र म, हामी बाबुछोरी छौं ।” मतिर देखाउँदै बुबाले भन्नुभयो ।
“हुन्छ, बस्नोस् । त्यति मीठो खुवाउन त सक्दिन, रूखोसुखो खाउँला ।” आमाले भन्नुभयो ।
हामी मामाघर जान हिँडेका थियौँ । हाम्रो मामाघर पहाडमा छ । पहिले हाम्रो घर पनि पहाडमै थियो रे । हाम्रा बाआमा तराईमा बसाइँ सर्नुभएको रे । म तराईमै जन्मिएँ । ‘पहाड कस्तो हुन्छ’ भन्ने कुरा मलाई थाहा पनि थिएन । त्यसैले पहाड पनि हेर्ने, मामाघर पनि जाने विचारले बुबा र म हिँडेका थियौँ ।
बिहान घरबाट हिँडेपछि केही समय मोटरमा चढ्यौँ । त्यसपछि पैदल बाटो हिँड्नुपरयो । बिस्तारै हिँडे पनि दिनभरि हिँडाइले थकाइलाग्दो रहेछ।
खाना खाएपछि कोठामा सुत्न गयौँ । थाकेकी थिएँ, ओछ्यानमा पल्टिनेबित्तिकै झकाइसकेकी रहिछु— “स्वागत छ तपाईंलाई !” कसैले भन्यो ।
“को हो तपाईं ?” मैले सोधेँ ।
“घडीचरो । सबैले यही नाउँले चिन्छन् मलाई ।”
“घडीचरो भन्नाले कुखुरो ?” मैले सोधेँ ।
“जे भने पनि हुन्छ ।” जवाफ आयो ।
“कहाँबाट बोल्दै छौ ?”
“म तिम्रो नजिकै डोकाभित्र छु । नपत्याए उठेर हेर त !”
कुखुरालाई घडीचरो भनेको त थाहा थियो तर ‘किन भनेको’ भन्ने मलाई थाहा थिएन । त्यसैले “तिमीलाई किन घडीचरो भनेको हो ?” मैले सोधेँ ।
“म बिहान सबेरै उठ्छु अनि ‘कुखुरी काँ’ भनेर सबैलाई उज्यालो भएको जनाउ दिन्छु । त्यसैले मलाई घडीचरो भन्छन् ।”
“ए !” मैले यति मात्रै भनेकी थिएँ, उसैले थप्यो— “हामी चराचुरुङ्गीहरूको आयु त्यति लामो हुँदैन । असमयमै मान्छेले काटेर खान्छन् । आयु छोटो भए पनि केही राम्रो काम गरेर मर्नुपर्छ भन्ने लाग्यो रे हाम्रा पुर्खालाई । के गर्ने भनेर निकै सोचे रे । त्यो समयमा घडीको निर्माण पनि भएको थिएन रे । मानिसहरू आकाशका जून–तारा हेरेर समयको अड्कल गर्थे रे । मानिसहरूको त्यही समस्यालाई सम्बोधन गर्न हाम्रा पुर्खाले घडीको काम गर्ने विचार गरेका रे !”
म केही बोलेकी थिइनँ, उसले फेरि भन्यो— “बिहान सबेरै उठ्यो भने जिउ पनि हलुका हुन्छ । सबै काम गर्न पनि भ्याइन्छ । अबेरसम्म सुत्यो भने अल्छी भइन्छ । आँटेको काम गर्न पनि सकिँदैन । यस्तो अवस्थामा मानिसहरूलाई बिहान समयमै उठाउन सकियो भने सबैको कल्याण हुन्छ भन्ने लागेछ हाम्रा पुर्खालाई । त्यसपछि सधैँ बिहान सबेरै उठेर ‘कुखुरी काँ’ भनेर गाउँ बिउँझाउन थालेछन् । समयको कुरा बिहान मात्र होइन, दिनभरि समयअनुसार मानिसलाई जनाउ दिने पुर्खाको विचार व्यवहारमा परिणत भएछ।
त्यो काम पुस्ता दरपुस्ता सर्दै आयो । हाम्रा बाजेले पनि त्यही काम गरे । बाजेबाट बाबुले सिके । बाबुबाट मैले सिकेँ । म मेरा सन्तानलाई सिकाउँछु । यसै गरी हाम्रा पछिल्ला पुस्ताले पनि सिक्दै जानेछन् ।”
घडीचराको कुरा अनौठो लाग्यो । गाउँमा सधैँ कुखुरो बासेर गाउँ बिउँझाएको सम्झिएँ ।
“अहिले पनि म निश्चित समयमा बास्छु ।” उसले भन्यो— “समयमा बासेन वा बिहान नभई बास्यो भने के हुन्छ थाहा छ तिमीलाई ?” मैले उसको प्रश्नमा केही भन्न भ्याएकी थिइन, उसैले उत्तर दियो— “टाउको निमोठेर धुरी कटाउँछन् । बडो खतरा छ !”
“हामी कुखुरा पनि दुई थरी छौं । एक थरी विकासे र हामी लोकल । विकासेहरू खान्छन् मात्र, केही गर्न सक्दैनन् । राम्ररी हिँड्न, डुल्न र उड्न पनि सक्दैनन् । हामीजस्तो ‘कुखुरी काँ’ भनेर बास्न त झन् जान्दै जान्दैनन्, खानका काल ! देख्दा पनि कति नराम्रा । हामी त कति राम्रा छौँ । सुनको जस्तो शरीर छ । त्यसैले सुनपङ्खी पनि भन्छन् हामीलाई ।”
घडीचरो बिस्तारै बोलिरहेको थियो, म उसका कुरा सुनिरहेकी थिएँ । त्यतिकैमा एक्कासि ‘कुखुरी काँ’ को चर्को आवाज आयो, म बिउँझिएँ।
यतिन्जेल त मैले सपना पो देखेकी रहिछु । कस्तो अचम्मको सपना ! म सपना सम्झँदै थिएँ; फेरि आवाज आयो— ‘कुखुरी काँ’ । नभन्दै त्यो आवाज हामी सुतेको कोठाबाहिर रहेको खोरभित्रबाट आएको रहेछ । बुबाको घडी हेरेँ, बिहानको ठीक चार बजेको थियो।
समयमै बिउँझाइदिएकोमा घडीचरालाई धन्यवाद दिँदै हामी हिँड्ने तयारीमा लाग्यौँ ।
प्रकाशित: १३ चैत्र २०७७ ०६:३८ शुक्रबार