एक भव्य महलमा विभिन्न जाँच कक्षहरू थिए । हरेक कुराका अलगअलग रूपमा छुट्टाइएका कक्षहरू थिए भने प्रत्येकमा नै भित्तामा वीर शहीदका तस्वीरहरू राखिएका थिए। नामुद विशेषज्ञहरू मार्फत त्यहाँ जाँच हुने रहेछन् । बिलकुलै अनौठो नि जहाँ मन,भावाना, नस्लहरू जाँच हुने रहेछ।
पालो कुर्दाकुर्दै मेरो पनि आएको हुनाले पसे । सबै जाँच कक्षमा निकै अघिबाट नै मलाई राम्रोसँग नियाल्दै थिए । त्यसो त मलाई नि उनी कताकता देखेजस्तो लाग्यो । उनै मानिस मेरो छेउमा आएर मलाई बोलाउँदै भने – ए नाथु, तेरो बाजे हुँ । म यता आउँदा तँ धेरै सानो थिइस् ।ठूलो भइछस्।
मैले धेरै समयपछिको त्यो भेटमा खुशी हुँदै सेवाढोग दिए ।
वीर बहादुर भनेर फेरि अर्को कक्षमा बोलाएको हुनाले गएँ । सबै रिपोर्ट पनि तुरुन्तै आयो । म एकदमै खुशी भए।
हातमा आफ्नो सम्पूर्ण जाँचको रिपोर्ट लिएर निस्क्दै थिएँ।
फेरि गेटमा नै कुर्नुभएको बाजेले ए नाथु , खै ले रिपोर्ट भन्दै हातबाट खोसेर हेर्नुभयो र अनुहार अलिक बिगार्नुभो।
बाजेलाई सोधे – किन रिपोर्टमा मेरो रगत नेपाली छैन र बाजे ?
बाजेले झोक्किदै भन्नुभो – म मेरो सन्तानहरूप्रति शंका गर्छु ए नाथु, जन्मले मात्रै नभएर मन,भावाना र कामले पनि हुनुपर्छ ।
सोधे पुनः – किन हामीमा त्यो सब छैन र बाजे आजकल अनि ।
बाजेले जंगिदै भन्नुभयो– तिमीहरू हामीजस्ता पौरखी छैनौ र अरूकै मुख ताक्छौ । सेवासुविधाको नाममा पराई देशमा बसाइँ सर्छौ । आफ्नै माटोमा केही गरौं, नभुलौ भन्ने छैन । कसरी हुन्छ त ? यसका लागि शहीद र वीरहरूको सपना साकार पार्ने संकल्प खै ?
बाजेको कुराले म सोचमग्न भएँ – वास्तवमा हामी छौ नै त्यस्तै।
यतिखेर नै बाले, ए वीरे उठ, युवा भएर यतिन्जेलसम्म सुत्छ्स्। म बुढाले कति धान्ने ! कुरा जस्तो काम हुन्छ । त्यसै परीक्षण हुन्छ नि ! थाहा भैगो नि तँ कतिको जाँँगारिलो छस् भनेर । गफै मात्र हो।
यसो झल्याँस्स बिउँझेको । म त सपनामा रहेछु ।
प्रकाशित: ९ चैत्र २०७७ ०९:०७ सोमबार