म कौसीमा बस्छु।
मेरो घर बगैंचाभरि
थरीथरीका फूलहरू फुलेका छन् ।
त्यही बाटो भएर
युद्धपिपासुहरू
बन्दुक र गोली गठ्ठा बोकेर हिंड्छन् ।
म डरले मुन्टो निहुराएर
घरभित्र पस्छु र लामो श्वास फेर्छु
आफू बाँच्न सफल भएको भ्रममा
म कापकापबाट हेर्छु
फूलहरू भने मुस्कुराएर स्वागत गरिरहेछन्
उनै बन्दुकधारी युद्धपिपासुहरूलाई ।
केही क्षणपछि
त्यही बाटो भएर
धर्मभीरु पुजारीहरू
ललाटमा चन्दन र हातमा पूजा थाली बोकेर आउँछन्
बिचरा,
फूलहरू निहुरमुन्टो लाएर निहुरिन्छन् ।
म भने निर्धक्क फूल टिपेर
भगवानलाई चढाउँछु र
आफूले पुण्य काम गरेको भ्रममा बाँच्छु ।
प्रकाशित: २४ माघ २०७७ ०४:१२ शनिबार