२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कौवाको एकता

बालकथा

सरोज र जीवन साथी थिए । एउटै कक्षामा पढ्थे, सारै मिल्थे । उनीहरूको घर पनि नजिकनजिक थियो । सँगै स्कुल जान्थे र फर्कंदा पनि सँगसँगै फर्कन्थे।

सरोज अलि चकचके थियो । ऊ पढ्न लेख्नमा भन्दा खेल्न डुल्न मन पराउँथ्यो ।

वार्षिक परीक्षा सकिएपछि केही समयका लागि स्कुल बिदा भएको थियो । छुट्टीको समयमा दुवै पाखो बारीतिर जान्थे । पाकेका काफल र ऐँसेलु खाएर रमाउँथे।

एक दिन सरोजले एउटा ठूलो रूखमा कौवाको गुँड देख्यो । त्यसमा ससाना चल्ला पनि रहेछन् । त्यो कुरा उसले जीवनलाई सुनायो।

“ए हो र ?” अचम्म मान्दै जीवनले भन्यो।

“हो, मैले देखेको; हिँड जाऊँ । रूखमा चढेर कौवाका चल्ला झिकौं र खेलाऊँ । ससाना चल्लाहरूसँग खेल्न मजा आउँछ ।”

सरोजको कुरा सुनेर जीवनले भन्यो— “त्यसो गर्न हुँदैन । एक त ठूलो रूखमा चढ्न हुँदैन । रूखबाट लडियो भने घाइते भइन्छ, हातखुट्टा भाचिन्छ; त्यस्तै परयो भने ज्यान जान पनि सक्छ । अर्को कुरा आमाको काखमा बसेका चल्लाहरूलाई झिक्नु पनि हुँदैन ।”

“के हुन्छ र ? कस्तो रमाइलो हुन्छ ।” सरोजले भन्यो।

“हामीलाई कसैले घरबाट उठाएर लग्यो भने के हुन्छ, भन त ! कति दुःख हुन्छ, बाआमालाई कति पिरलो हुन्छ । थाहा छ तिमीलाई ? हेर, त्यसैले पशुपन्छीहरूलाई कहिल्यै दुःख दिनु हुँदैन ।”

जीवनको कुराप्रति सरोजले ध्यानै दिएन । ‘जाऊँ कि जाऊँ’ भनेर हैरान पारयो । ‘साथी भएर पनि साथीले भनेको नमान्ने’ भनेर रिसायो।

जीवन सोझो भएकाले साथीको मन दुःखाउन पनि चाहँदैनथ्यो । आपूmले सम्झाउँदा नमाने पनि साथीको बचन हार्न नसकेर सरोजको पछि लागेर तल पखेरातिर गयो।

रूख ठूलो रहेछ । नजिकै पुगेपछि सरोजले रूखको हाँगामा रहेको गुँड देखायो । ध्यान दिएर हेर्दा काला चल्लाहरू पनि देखिन्थे।

“ठूलो रूखमा चढ्न सकिँदैन” भन्दै जीवन पन्छियो तर सरोज मानेन । “म चढ्छु, तिमी हेर !” भन्दै रूखमा चढ्न थाल्यो।

सरोज रूखमा चढ्दै कौवाको गुँडनिर पुग्नै लागेको थियो । कौवाका भालेपोथी आएर का... का... गर्दै उसलाई ठुँग्न थाले।

“यी जावा कौवाले केही गर्दैनन् मलाई । यस्ता चल्ला कति झिकियो– झिकियो”, ऊ अझ माथि चढ्दै थियो।

केही समयमै कौवाको बढ्दै गयो । नयाँ आउने कौवाहरू पनि का... का... गर्दै सरोजलाई ठुँग्न खोज्दै थिए । हेर्दाहेर्दै वनभरिका कौवा जम्मा भएर सरोजलाई घेरेर ठुँग्न थाले ।  

“ए तल झर !” जीवन करायो ।  

सुरुमा त उसले जीवनको कुराप्रति त्यति वास्ता गरेको थिएन । तर, पछि कौवाको जुलुस बढ्दै गएको र जताततै ठुँगेको देखेपछि उसलाई डर लाग्न थाल्यो ।  

एकै ठाउँमा यति धेरै कौवा जम्मा भएको जीवनले पनि देखेको थिएन । कौवाको एकता देखेर ऊ पनि छक्क परयो।

“ए छिटो तल झर ! नत्र मार्छन् कौवाले ।” जीवनले सरोजलाई हकारयो ।

“चल्ला नलिई झरुँ र ?” सरोज भन्दै थियो, कौवाले आँखा नजिकै ठुँगिदिएछन् । “ऐया” भनेर चिच्च्याउँदै ऊ तल झर्न थाल्यो।

झर्दाझर्दै पनि कौवाले उसलाई ठुँग्न छोडेनन् । जता पायो उतै ठुँग्न थाले । ‘ओहो अरू चराचुरुङ्गीका चल्ला चलाएजस्तो रहेनछ ! कौवाका चल्ला झिक्न त गाह्रो पो रहेछ ।’ उसले मनमनै भन्यो— धन्न आँखामा ठुँगेनन्।

कौवाले उसलाई धपाउन छोडेका थिएनन् । ऊ हतारहतार तल झरिरहेको थियो । त्यतिकैमा हात चिप्लियो । ऊ बीचैबाट एक्कासि तल झरयो।

“ऐया बाबा !” भन्दै ऊ जमिनमा पछारियो । जीवन दौडँदै सरोज खसेका ठाउँमा गयो र उठायो । उसको हातमा चोट लागेको रहेछ, रगत आउन थाल्यो।

“मेरो हात भाँचिएजस्तो छ ।” सरोज रुन थाल्यो ।  

“भाँचिएकै भए पनि घरमा गएर हेरौँला, जाऊँ हिँड । यहाँबाट छिटो भाग्नुपर्छ । अहिले यहीँ आएर पनि ठुँग्छन् ।” जीवनले भन्यो । दुवैजना घरतिर दगुरे ।

घरतिर फर्कंदा पनि कौवाहरू का... का... गर्दै उनीहरू माथि उडिरहेका थिए । एउटा कौवाले त सरोजलाई ठुँग्यो पनि । “ऐया !” सरोज आत्तियो।

घर पुग्न पनि मुस्किल भयो । बल्लतल्ल घर पुगे ।

सरोजको हात भाँचिएकै रहेछ । उपचार गर्दा निकै खर्च भयो र उसले दुःख पनि पायो । अहिले सरोज ठूलो भइसकेको छ तर पनि त्यो घटना सम्झिरहन्छ । अहिले पनि ऊ भन्ने गर्छ— एकता हुनु त कौवाको जस्तो ।

प्रकाशित: २३ माघ २०७७ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App