२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सिसी क्यामेरा

बालकथा

मन्जित नाम गरेको चौध वर्षको केटो थियो । उसको स्वभाव स्कूलमा साथीहरूले ल्याएको टिफिन जहिले पनि खोसेर खाइदिने गथ्र्यो । आफूचाहिँ कसैलाई केही दिंदैनथ्यो । मन्जितको यस्तो स्वभावले साथीहरू उसलाई नदेखाईकन टाढा बसेर खान थाले । छोराको बानी थाहा पाएर आमाले भन्ने गर्नुहुन्थ्यो एक्लै खाने बानी राम्रो होइन, बाँडेर खानुपर्छ । अरूको भाग खोसेर खान पनि हुँदैन । आमाले भनेको कुरामा मन्जित वास्तै गर्दैनथ्यो । एक कानले सुन्यो अर्को कानले उडाइदिने गर्थ्यो  ।

एकदिन मन्जित बाबुसँग घुम्न बजार गयो । बाबुले उसलाई चकलेट किनिदिनुभयो । त्यसबेलामा मन्जितले पसलबाट एकमुठी चकलेट सुटुक्क झिकेर पाइन्टको खल्तीमा हाल्यो । पसलेले चकलेट गमक्याएको देखिरहेको थियो । उसले मन्जितलाई गाली गरेर ती सबै चकलेट फिर्ता लियो । बाबुले पसलमा उसलाई केही भन्नुभएन । घरमा फर्केपछि चकलेट झिकेकोमा मन्जितलाई लठीले पिट्नुभयो । मन्जित अब कहिले गर्दिन भनेर रुन थाल्यो । उसको बानी फेरि उस्तै भयो सुध्रिएको थिएन ।

अर्को दिन मन्जितकी आमा दिदीलाई लिएर बजार जानुभयो । त्यसैबेला घरमा कोही पनि थिएनन् । त्यसैले उसले दराज खोलेर केही रुपैयाँ झिक्यो । अनि मन्जितले त्यही रुपैयाँले बजारमा गएर चिप्स, कुरमुरे आदि स्वास्थ्यमा हानि हुने खानेकुराहरू किनेर पैसा सिध्यायो । सुरुमा त आमाले रुपैया झिकेको थाहा पाउनुभएन । पछिपछि राखेको ठाउँबाट रुपैयाँ घट्दै गएको थाहा भयो । आमालाई शंका लागेर मन्जितसँग रिसाउँदै भन्नुभयो– मैले दराजमा राखेको रुपैया कसले झिक्यो हँ?” 

मन्जित नबोली निहुरिरहयो । छोरोको अँध्यारो मुख देखेपछि आमा केही चाहियो भने मलाई भन्नु, तिमीले किन रुपैया दराजभित्रबाट मलाई नसोधीकन झिकेको भनेर पिट्नु पनि भयो ।

एकछिनपछि मन्जितलाई भन्नुभयो– छिमेकी प्रकाशलाई चिनेको छौ ? ऊ मसँगै पढ्ने मेरो साथी हो, किन सोध्नुभएको आमा ?

हिजो त्यसलाई जेलमा थुनेको छ नि । त्यसलाई पुलिसले खुबसँग पिट्यो । के बदमासी गरयो कुन्नि ? थाहा छ तिमीलाई, आजकल धेरैजसो पसलमा, चोकहरुमा सिसी क्यामेरा जडान गरिएको हुन्छ । तिनमा सामान खरीद गर्न आउने ग्राहकहरू सबैको तस्विर आउँछ । चोर पत्ता लगाउनल सो क्यामेरा राखिएको हो । 

प्रकाशलाई जेलभित्र थुनेको छ । आजकल सिसी क्यामेराबाट चोर पत्ता लाग्छ भनेको कुरा सुनेपछि त मन्जित झन् डराउन थाल्यो । ऊ पनि प्रकाशको संगतमा लागेर पसलबाट सामानहरू सुटुक्क झिक्ने गर्थ्यो ।

अब प्रकाशले जेलभित्र मेरो दोष लगाइदियो भने पुलिसले समातेर थुन्न लग्छ कि क्या हो भन्ने कुरा मनमनै सोचेर काम्न थाल्यो ।

छोरा काम्दै रोएको देखेपछि आमाले सोध्नुभयो– किन तिमी पनि त्योसँग हिँड्ने गर्थ्यो  कि क्या हो ? आमाको कुरा सुनेर उसले केही जवाफ दिएन । आमाको सारी समातेर नजिकै टाँसिदै रुँदै भन्यो –आमा आजदेखि म कहिल्यै खराब साथीको संगत  गर्दिनँ । प्रकाशले नै मलाई चोर्न र ठग्न सिकाएको हो ।  भोलिदेखि सधैं स्कुल जान्छु । बदमासी काम कहिल्यै गर्दिन । मलाई माफ गरिदिनुहोस है ।

छोराले रुँदैै माफी माग्यो । आमाको मन पग्लिहाल्यो अनि ज्ञानी बनेर राम्रोसँग पढ है त  भन्दै मन्जितलाई जिउमा सुमसुम्याउँदै खानेकुरा खान भान्छामा लानुभयो ।  

प्रकाशित: २१ माघ २०७७ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App