२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

छोरा तिमीले

कविता

छोरा तिमीले

पानीरोटीसँग खुशी साट्नु छ 

दिनभरि बहिनीको हेरचाहमा

आफूलाई खटाउनु छ 

फाटेको तिम्रो भोटो अझ 

फटाउनु छ ।

 

छोरा , 

दश नङ्ग्रा नखियाईकन

चुल्होमा आगो बल्दैन

हाम्रो घरको भान्छामा

केही पाक्न 

दिनभर बाहिरिनुपर्छ हामी 

बहिनीको जिम्मा तिमीलाई लगाएर ।

 

छोरा , 

तिमीले बुझ्नुपर्छ 

जिन्दगीको हरेक पाइला 

सङ्घर्षबाट खाली छैन 

बिउले उम्रनका लागि 

माटोसँग पौंठे जोरी खेलेजस्तै 

बाँच्नका लागि सङ्घर्ष अपरिहार्य छ ।

 

तिमीले बुझ ,

पानीसँगको लडाइँका कारण 

ढुङ्गो खिइंदै गोलो बन्छ 

अनि 

पुजिन्छ शालिग्राम बनेर ।

 

छोरा तिमी पानी बन्नुपर्छ 

नजम्ने पानी झरनाजस्तै 

निरन्तर बग्ने पानी 

हेर झरना 

निरन्तर बहेर 

सफा, स्वच्छ, कन्चन र पवित्र पार्दछ आफूलाई 

आफू तल झरेर पनि

मनमोहक बनिदिन्छ 

तिमी पनि 

झर्नै परे 

झरनाजस्तै झर्नु र

निरन्तर झरेर आफू 

दुखको चट्टानलाई खियाउनु छ, प्वाल पार्नु  ।

 

दुखमा आँसु  झार्नु 

नामर्द बन्नु होइन 

घाउ लाग्दा  ऐया भन्नु 

सहनशीलता नहुनु होइन

अन्यायको बारुदमा आगो सल्काउनु 

दुस्साहस हुँदै होइन 

यो कुरा पनि बुझ्नुपर्छ छोरा तिमीले ।

 

परिश्रमभन्दा ठूलो शक्ति 

मानिससँग अर्को हुँदैन 

मिहिनेतीलाई कुनै पनि 

असफलताले छुँदैन 

श्रमकै जगमा

सफलताको घर ठडिन्छ 

यो कुरा मनमै 

राख्नुपर्छ छोरा तिमीले ।

प्रकाशित: १८ माघ २०७७ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App