२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

गद्दार

लघुकथा

जनता सरकारविरुद्ध ठाउँठाउँमा विरोध जुलुसमा उत्रिदैं थिए । यो देखेर सरकार सञ्चालक डरले थरथर काप्न थाले । जनता सबै एकजुट भएका थिए । जनताले विभिन्न शासन व्यवस्थाको अनुभव गरिसकेका थिए । तर पनि खोजे जस्तो रोजेँ जस्तो शासन व्यवस्था नपाएकोमा विरोध सभाबाट आक्रोश व्यक्त गरिरहेका थिए ।

यस्तो अवस्था देखेर सरकार प्रमुखले आफ्नो पिएलाई बोलाएर भनेँ – सरकारविरोधी सभा देशका विभिन्न ठाउँमा भइरहेका छन् । जनता भड्किनुको कारण के रहेछ ?  मलाई त जनतालाई कसैले भड्काउँदै छ जस्तो लाग्यो । को रहेछ त्यो ?  तु पत्ता लगाउनुहोस् ।

पिएले हस् भन्दै कारण पत्ता लगाउन सरकार प्रमुखसँग एक हप्ताको समय मागे । उनी भेष बद्लेर देशको विभिन्न भागमा जनताको नजिक पुगेँ । उनले दुई दिनमै जनता विरोधमा उत्रिनुको कारण पत्ता लगाए र फर्किए ।

पिए दुई दिनमै फिर्ता भएको देखेर दङ्ग पर्दै सरकार प्रमुखले सोधे– यति चाँडै फर्किनुभयो । के रहेछ जनता भड्किनुको कारण ? को रहेछ जनता भड्काउने गद्दार ? 

पिएले एकै सासमा भने– जनता भड्किनुका थुप्रै कारण छन् हजुर । ती मुख्य कारण हुन् बेरोजगार, अशिक्षा, गरिबी, सुकुमबासी समस्या, बढ्दो भ्रष्टाचार, द्वन्द्व, अशान्ति, सार्वजनिक सेवा भ्रष्ट हुनु, बढ्दो महङ्गी, रोजगारी अभाव, जातीय वर्गीय विभेद आदि ।

पिएले पुन लामो सास फेर्दै भने– अब जनता भड्काउने गद्दार को रहेछ आफै पत्ता लगाउनुपर्यो हजुर।

यति भनेर पिए सरासर सरकार प्रमुखको कक्षबाट बाहिर निस्किए । सरकार प्रमुख भने ट्वाल्ल परेर आफ्नो रङ्ग उडेको अनुहार ऐनामा हेर्दै थिए ।

प्रकाशित: १८ माघ २०७७ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App