३० आश्विन २०८१ बुधबार
image/svg+xml
कला

ताली

लघुकथा

हरि थापा

 

उसको अब्बल दर्जाको सरकारी नोकरी थियो । कार्यालय प्रमुखको हैसियतले चढ्ने कार त प्राप्त थियो नै उसलाई । त्यसका अलावा अरू दुइटा कार जोडिएका थिए उसको नामसँग । कथा र लघुकथाका ।  

कार्यालय पुग्नासाथ उसको पहिलो काम हुन्थ्यो लघुकथा लेखेर फेसबुकमा पोस्ट गर्नु । कथा लेख्न भने कार्यालयमा भ्याउन्नथ्यो ऊ । त्यसपछि आफ्ना कार्यालय मातहतका कर्मचारीहरूलाई फोन गरेर उनीहरूले गरेको कामको नकारात्मक टीकाटिप्पणी गर्नुचाहिँ उसको दोस्रो काम हुन्थ्यो ।

फोन राखेपछि कार्यालय सहायकलाई बोलाएर चिया ल्याउने आदेश दिन्थ्यो । चिया पिउँदै फेसबुक खोल्थ्यो । सबैभन्दा पहिला उसका आँखा आफ्नो लघुकथामाथि आएका कमेन्टतिर पुग्थे । कमेन्टको लामो लाइन हुन्थ्यो । सबैले वावा गरेका हुन्थे । कमेन्टका साथै नमस्कारको स्टिकरसमेत टाँसिएको हुन्थ्यो । त्यस्ता कमेन्ट लेख्नेहरूमा प्रायः उसकै मातहतका कर्मचारीहरू हुन्थे । त्यसमा केही साहित्यकारहरू पनि हुन्थे जसका कृति पढेर ऊ कमेन्ट लेख्थ्यो । आफ्ना लघुकथामाथि आएका कमेन्टहरू पढेर मक्ख पर्थ्यो  ऊ ।

काम विशेषले आउने कर्मचारीहरू पनि भन्ने गर्थे – अब्बल छन् हजुरका कथा । पढ्दाखेरि आफ्नै जीवनकथा प्रतिबिम्बित भएजस्तो लाग्छ । मान्नुपर्छ हजुरको कलमलाई पनि।

रहँदाभन्दा उसको नोकरी सकियो । कार्यालयको अन्तिम दिन थियो । र पनि एउटा लघुकथा लेखेर पोस्ट गर्न भ्यायो । तर, कतिले कमेन्ट गरे त्यो भने हेर्ने समय पाएन । 

पेन्डिङ रहेका कामहरू सकिवरि बिदाइ भएर अन्ठाउन्न वर्ष पूरा गरेको प्रमाणपत्रस्वरूप अवकाशपत्रका साथ एक्लो वृहस्पति बनेर निस्क्यो कार्यालयबाट । अघिअघि भने दुईचार जनाले उसलाई पच्छ्याइरहेका हुन्थे । 

भोलिपल्ट फुर्सदले फेसबुकमा हिजो पोस्ट गरेको कथाको कमेन्ट हेरयो । कमेन्टमा प्राय ताली पिट्दै गरेका इमोजीहरू उफ्रिरहेका थिए, जो तिनै कर्मचारीहरूका थिए । त्यसको अर्थ के लगायो तर आभार लेख्न भने उसले छुटाएन ।  

प्रकाशित: ५ माघ २०७७ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App