३० आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पगाहा

कथा

 

 

यो कलकल बगिरहेको किस्नी खोलाको पारीपट्टिको गाउँमा मेरो ससुराली घर छ । म किस्नी खोलाको बगरै बगर हिँडिरहेको थिएँ । हिउँदको महिना थियो । पानी सङ्लो थियो । मैले खाँदै आएको पाउरोटीको टुक्रालाई धुल्याएर किस्नी खोलाको दहमा फालेको थिएँ । माछाका भुराहरू लस्करै आएका थिए । ती भुरालाई मैले यसरी सम्झेँ मानौ ती राहत वितरण भएकाले उछिनाउछिन गरेर दौडेका होलान् । त्यहाँ लाइन होला । त्यहाँ होहल्ला होला । त्यहाँ मारामार होला । एउटा गरिबीको विवशता होला । भोकको चित्कार होला । ठूला माछाहरूले भुरालाई लखेट्दै पनि थिए । अन्याय त्यहाँ पनि होला । उफ यो अन्याय । म एकतमासको भएको थिएँ ।  

म अलिपरबाट उदाश भावमा किस्नी खोलातिरै हेरिरहेको थिएँ । किनकि मैले जीवनको उच्छवासको सपनाको सहयात्रा खोज्न यसै गाउँमा आएको थिएँ । मैतालु यसै किस्नी खोलाको किनारै किनार ल्याएको थिएँ । ती माछालाई हेरिरहँदा मलाई मेरी मैतालुको याद आयो । एउटा मान्छेले पनि केही खानेकुरा फाल्यो । माछा हुरुरु दहमा भेला भए । उसले जाल हाल्यो । भुरा, साना, ठूला माछाहरू एकैपल्ट जालमा परे । म ठानिरहेको छु सायद त्यो दिन मेरी मैतालुलाई पनि एउटा अपरिचित जालमा परें भन्ने लागेको थियो होला । म एकप्रकारको बोझिलो मन लिएर ससुराली घर पुगेँ ।

क्षमाकुशलपछि मैले सासू आमाको अनुहारमा हेरेँ । अनुहार घिरौलाको जालो जस्तो सानासाना कित्ताका मुजाहरूमा विभक्त थियो । मैले सासूआमालाई सोधेँ– आमा कति वर्षकी हुनु भो ?

आफ्ना खिइसकेका दाँत देखाउँदै हाँस्नुभो र भन्नुभो– ९० सालको भुइँचालोमा म चार वर्षकी थिएँ’रे ज्वाइँ साहेब ।  

मैले आफैँले गनेँ । ८७ वर्ष लाग्नुभएछ । 

म झल्झली सम्झिरहेको छु । महत्व दिएर सम्झिरहेको छु । मैले मेरी मैतालु अन्माएर लैजाँदा सासूआमा रुनुभएको थियो  र रुँदै मेरा हातमा नरिवल, काजु, किसमिस, बदाम लगायतका मसलाको पोको हातमा थमाउनुभएको थियो । उहाँले एकपल्ट आकाशतिर फर्केर हेर्नुभएको थियो र भन्नुभएको थियो– ज्वाइँसाहेब, राम्रोसँग पाल्नु होला।  

त्यसबेला मेरा सासूआमाका आँखामा हेरेको थिएँ । सायद अलिकति विवशतायुक्त बाध्यता थियो होला । अलिकति आशा थियो होला । अलिकति भरोसा थियो होला । अलिकति आमा हुनुको दायित्व पनि थियो होला ।

मैले एकदम हल्का हिसाबमा भनेको थिएँ– हजुर चिन्ता नगर्नुहोस्। म राम्रोसँग पाल्छु ।

आज ठ्याक्कै पैतिस वर्ष भयो । मैले सासूसँग गरेको त्यो ख्यालख्याल, त्यो हल्का सोचले अहिले पनि मलाई च्वास्स पार्छ । जबजब मेरी मैतालुका आँखा रसाउँछन् मलाई सासूका वाणीहरूले चस्स पार्छन् । कठिन यात्रा तय गरियो  र अझै कठिन दिनहरूमा सासूको भनाइ सम्झिन्छु – राम्रोसँग पाल्नु होला ।

तर मलाई पक्कापक्की थाहा छ । मैले राम्रोसँग पालेको छैन । कहिल्यै पाल्न सकिनँ । अब त म पाल्नै सक्तिन । म सामथ्र्यविहीन छु । म दृष्टिकोणविहीन छु । थाकेको छु । गलेको छु । त्यसैत्यसै पग्लिएको छु । अहिले मलाई लाग्दैछ मेरी मैतालुले मलाई पालेकी छिन् । म प्यारासाइट भएको छु । अमरलत्ती भएको छु । उनीबिना म भोको हुन्छु । मेरा केशराशिमा उनका पातला औँलाहरूले भित्रभित्र खेलाउँदा म बालक भएको हुन्छु । रमाउँछु । 

उनी भन्छिन्– यो लोग्ने मान्छे त जति बुढो भयो उति केटाकेटी पो हुँदोरहेछ ।

जीवनको यो पैतिसौँ वर्षपछि म ससुराली आएको छु, । एक्लै । यसअघि कुनै बहानामा ससुराली पुगिएको हुन्थ्यो । कुनै औपचारिक बहाना । दशैं, पुराण, कर्मकाण्ड, आदिआदि । यो पल्ट बिनाकाम, बिनाउद्धेश्य म ससुराली पुगेको छु ।  

मेरा वरिपरि पनि एउटा संसार छ । त्यही संसारको एउटा कुनोमा मेरी सासू हुनुहुन्छ । त्यही संसारमा जीवन भोग्दाभोग्दा थाकेका मान्छेहरू छन् । मान्छे नामका अस्थिपञ्जर छन् । ईश्वरीय कल्पका कुराहरू सुन्दासुन्दा संसार निरर्थक छ भनी थाकेका मान्छेहरू पनि छन् । आश गर्दागर्दा निराश भएका निरपेक्ष राजनीतिले पोलेका मान्छे पनि छन् । यो संसार नै जित्छु भन्ने मान्छेहरू पनि छन् । म किस्नी खोलाका माछाहरूमा यी मान्छेहरूलाई खोजिरहेको छु । साना भुरा माछा, मझ्यौला माछा, ठूला माछा र माझीको जालभित्र परेका माछाहरू । मलाई आफैं कहिलेकाहीं माझी दाइको जालमा परेजस्तो लाग्छ । म जीवनका भुङ्ग्राहरूमा चलमलाउन खोज्छु । ती कठोर जालका डोरीका पोयाहरूमा ठोकिन्छन् । मलाई लाग्छ म निरन्तर पोयासँग सङ्घर्ष गरिरहन्छु ।

मान्छे भन्छन् ‘बाह्र हानेर तेह्र छिन्नु’ । म छिन्नै सक्तिन । जब म असहाय भएर शिथिल हुन्छु अनि सम्झिन्छु ओहो म त जालमा परेको किस्नी खोलाको भुरा माछामा पो रूपान्तरण भएको छु । मानौ, म पक्का जीवनसँग हारेको छु । पक्का किस्नी खोलाको लहरसँग बग्ने माछालाई जालभित्र पारेझैं भएको छु । किन यस्तो फितलो चिन्तन आएको होला !

म सासूआमाको जीवनप्रतिको आशक्ति हेरिरहेको थिएँ । कर्मप्रतिको दृढता अनुभव गदैँ थिएँ । विषयवन्धनप्रतिको तृष्णा पनि सासूआमामा तीव्र थियो । जीवन भोगाइका अस्मेल अनुभव थियो । शरीरले हद बोलेको वर्षौ भइसकेको थियो । तर, मनभने अझै वयस्क थियो । मैले सासूआमालाई गौर गरेर बुझ्ने प्रयास गरेँ । उहाँ लगातार, बिहानदेखि बेलुकासम्म, याने यसो भनौ ३६५ दिन २४ घन्टा विषय भोगमा रम्नुहुन्थ्यो।

 कुहिरो डम्म लागेको थियो । याने शितलहर चलेको थियो । नरिवलका पातबाट तप्पतप्प पानीका थोपाहरू झर्दै थिए । अगेनाको डिलमा बसेका थियौँ । दनदनी आगो बालिएको थियो । उहाँ भन्नुहुन्थ्यो । भनिरहनुहुन्थ्यो । कराइरहनुहुन्थ्यो । बर्बराइरहनुहुन्थ्यो । कसैलाई मन पर्छ पर्दैन उहाँलाई मतलब थिएन । कसैले मान्छन् वा मान्दैनन् पनि मतलब थिएन । उहाँ यस्तैयस्तै भन्नुहुन्थ्यो–

– गाई बाख्रा बाँध ।

– खलियानबाट धान ल्यायौ ?

  –मिलमा धान कुटायौ ?

  –आज गाईले दुध किन कम दियो ? कुँडो दिएनौ ?

   –यो खाओ । यो गर । यो नगर ।

यहाँसम्म कि अमेरिकामा भएको नातिलाई पनि भन्न छोड्नु हुन्नथ्यो– ए बाबु, सन्तान एउटा मात्र होइन है, तातो पानी खाएर सुत्नु, चिसो लाग्ला ।’

मैले सासुआमालाई भनेथेँ– आमा, यो सब व्यर्थ हो, यो मर्दासँगै जाँदैन । आउनुस् सासू ज्वाइँ बसौं।

सासूआमा मेरो नजिकै बस्नुभयो । मैले उहाँको पाखुरा उचालेँ । पाखुराबाट मुजा परेको गोरो छाला झोला आकारमा तुर्लुङ्ङ झुन्डियो । उहाँ भन्दै हुनुहुन्थ्यो– एक पाइला हिँड्न हुन्न ज्वाइँ साहेब, स्वाँस्वाँ हुन्छ । केही गर्न सक्तिनँ, हात उचाल्न पनि हुन्न । जिउ करकर गरिरहन्छ ।’

मैले भनेंथें– हजुरलाई थाहा छ , अठासी वर्ष हुनुभो । अब अझै काम ?

उहाँको उत्तर थियो– के गर्ने ज्वाइँ साहेब ? आँखाले देखिन्छ, नदेखिए त हुन्थ्यो नि, काम बिग्रन्छ अनि कसरी टुलुटुलु हेरिरहनू ? आफूले गरिल्याएको काम ।

मैले सासूआमालाई सम्झाएँथेँ– आमा, यो संसार नाशवान् छ । यो विषयवन्धन हो, योबाट ननिक्ली परमार्थ प्राप्त हुन्न।’

उहाँ चुप लाग्नु भो । मैले हिन्दू वर्णाश्रमका बारेमा ठुलै प्रवचन दिएँ– आमा ७६ माथि सन्यास आश्रम याने सम्पूर्ण जीवन भगवतकृत्यमा लगाउने । हजुर अहिले सन्यास आश्रममा हुनुपर्ने हो । याने सबै विषयबन्धन छोडेर परमार्थमा लिन हुने हो ।

सासूआमाले फेरि पनि केही भन्नु भएन । मैले धेरै कुरा भनेँ । सुनाएँ । उहाँले मन्त्रजस्तै पवित्र तालमा सुनिरहनुभयो । म त्रिऋणका बारेमा व्याख्या गर्दै थिएँ । उहाँले बिचैमा भन्नुभो–

–ए कता गयौ ? बाख्राका पाठा फुके ।बाँध न।

मलाई लाग्यो पुराण सुन्न गएका धर्मात्मा श्रोताहरू पुराण बरु नसुन्लान् । तर, एक थुँगा पूmल र केही ढ्याक पैसा भागवतको पुस्तकमा राखेर ढोग्छन् र एउटा टीका लगाएर बाहिरिन्छन् । घरमा पुग्छन् र काम गर्ने मान्छलाई बिझ्ने गरी गाली गर्छन् र धार्मिक कहलाउँछन् । हो ठिक त्यस्तै मेरी सासूआमा मेरा कुरा तन्मयकासाथ सुन्दै हुनुहुन्थ्यो । मानौं म पुराण भन्दै थिएँ । मलाई टीका लगाएर दक्षिणा दिन उहाँलाई हतार हुन्थ्यो । र उत्ति नै बेला बाख्रा फुकेको देख्नुहुन्थ्यो । चामल पोखिएको देख्नुहुन्थ्यो।

फेरि मतिर फर्किएरर भन्नुहुन्थ्यो– ज्वाइँ साहेब, यहाँ यस्ता धार्मिक कुरा कसले भन्छ र सुन्नू ?

मैले भनेंथें– आमा, यो सुन्ने कुरा होइन, बुझ्ने कुरा हो ।  त्यसैअनुसार आचरण गर्ने कुरा हो।

मेरा कुराले सासूआमालाई मजा आएको जस्तो मलाई लागेन । अनि मैले भनेंथें –आमा, यो घर आफैँले बनाउनु भएको हो ?

एउटा काठको दोमहल्ला घर छ । परिवार बाहिरिएर उजाड छ त्यो घर । उहाँले घरका दलिनतर्फ हेर्नुभयो र  भन्नुभयो– ज्वाइँ साहेब, यो घर बनाउन काठ तुरतुरे खोलाको पारिपट्टिबाट ल्याएको हो । मैले आफैले कटाएको हो । आफैंले बनाएको हो ।  

यसो भनिरहँदा सासूआमाको अनुहारमा उदाशी पनि थियो, आभा पनि थियो । उहाँ अझै भन्दै हुनुहुन्थ्यो– यो दलिन अग्राखको हो।  यो घरका सबै काठ अग्राख हो । हजुरलाई थाहा छ ? अग्राखलाई सय वर्ष गडा, सय वर्ष लडा, सय वर्ष खडा भन्छन् नि । अलिकति नपुगेको त्यो तख्ताचाहिँ साजको हो।

अग्राखका दलिनहरू जस्ताको त्यस्तै थिए । बेलाबेला उहाँ छोरा बुहारीलाई भन्ने पनि गर्नुहुन्थ्यो– मेरो चोला छउन्जेल यो घर नभत्काओ।

मेरो ससुराली घर एकदम खेतको बिचमा छ । परपरसम्म देखिने धानका कुनिउँहरूमा म रमाइरहेको छु । कतै थ्रेसरले दाउनी गर्दै छ । दाउनी गरिएका धानका रासहरू बगे्रल्ती छरिएका छन् खेतभरि । बटिदार धान फाँट्दै छन् । चहलपहल छ ।  

म फेरि सासूआमालाई भन्दै थिएँ– आमा यो सब नाशवान् छ ।  अब छोराबुहारीले गर्नुहुन्छ । गरे गर्नुहुन्छ, नगरे गर्नु हुन्न । शान्त भएर बस्नुपर्छ । अलिकति चित्त भगवानमा लगाउनुपर्छ ।

उहाँले उत्तर दिनु हुँदै थियो– चित्त भगवानमै छ हजुर, म शान्त पनि छु । अशान्त भएर अब के नै गर्न सक्छु र ? हात गोडाका पाइन सकिइहाले ।  

तत्क्षण नै उहाँले भन्नुभयो– ए बुहारी जा न, बटिदारले के गर्ने हुन् ? हेर् ।

सासूआमा स्वाँस्वाँ गरिरहनुभएको थियो । हातमा भएको लौरो भुइँमा राखेर थचक्क बस्नुभो र लामो स्वास फेर्नुभो । बोल्न पटक्कै सकिरहनु भएको थिएन । तर, भन्दै हुनुहुन्थ्यो– ए माइली ती गाईलाई बारीमा पगाहालाई देऊ न ।

अनि फेरि भन्नुभएथ्यो– लेखान्त कहिलेसम्म छ, थाहा छैन, ज्वाइँ साहेब ।

मैले सासूआमालाई भनेंथें– जन्म र मृत्यु दुवै समयका प्रक्रियाहरू हुन् । जबसम्म दुवैमा समभाव उत्पन्न हुँदैन, तबसम्म ज्ञानी पनि हुन सकिन्न, मोक्ष पनि प्राप्त हुन सक्तैन ।

उहाँले भन्नुभएथ्यो – खोई ज्वाइँ साहेब, पढ्न पाइएन यी शास्त्रका कुरा बुझ्न । चेत छउन्जेल जन्म र मृत्यु एकै कसरी हुन्थ्यो होला भनेझैं लाग्छ । अचेत भएपछि अर्कै कुरो ।  हुन ता के होला ? म कसरी जानूँ ?

म ससुरालीबाट फर्केको छु । सासूले लगाइ दिनुभएको रातो टिका निधारमा छ । खल्तीमा एउटा खाम पनि छ । तर, म पगाहा लगाइएको गाईलाई सम्झिरहेको छु । तत्क्षण नै मेरा मनमा ज्वाला उठ्छ । म पनि त परिस्थितिको पगाहामा डोरिएर फर्किरहेको छु । फेरि किस्नी खोलाको बगरै बगर हिँडिरहेको छु । त्यसैगरी खानेकुरा दहमा हाल्दै माछासँग खेल्दै छु । माछा हुलका हुल आइरहेछन् । म मेरी सासूआमालाई माछामा खोजिरहेको छु । जालमा नपरेका माछाले त फेरि त्यही दहमा नै बस्नु छ । त्यहीँ रमाउनु छ । त्यही जानेको छ । त्यही भोग्नु छ । खानु छ । जालमा परियो भने त खिसा खत्तम ।

सासूआमाले भनेको सम्झिन्छु – बिहे गर्दा एघार वर्षकी थिएँ ज्वाइँ साहेब । मालिक साहेबले पहिले नै छोडिहाल्नु भो । एक्लै जीवन गुजारियो । यही गाईबाख्रा जानियो । गाईबाख्रा गर्दै दिनहरू बिते । यही धर्तीमाताकै सेवामा बिताइयो ।  यही घाँसपातमा हुर्कियो । यही चुलोचौकोले सिकायो । बुढो बनायो । कहिलेसम्म छ निमित्त । लेखान्त । त्यतिन्जेलसम्म यही संसारमै रमाउनुपर्छ । पृथ्वीको खाएपछि सेवा गर्नु पर्दैन त ?

मेरा आश्रमका परिभाषा र त्रिऋणका दार्शनिक खुराकलाई दिमागको एउटा कुनोमा मिल्काएर म आफैँलाई प्रश्न गर्दैछु कि ममा सुस्तता किन ? वैराग्य किन ? फितलो चिन्तन किन ? यो पलायन किन ? ।  

(पगाहा कथासङ्ग्रहबाट)

प्रकाशित: ५ माघ २०७७ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App