जनतामा एक प्रकारको निराशा , आक्रोश र घृणा थियोे नेताहरूप्रति । उनीहरूलाई बाँडेको आश्वासनले गर्दा पनि यस्तो भएको हुन सक्छ। चुनाव जितेर गएपछि जिल्ला नफर्केकाले जनतामा रोष थियो। चुनावी माहोल बन्दै जादाँ धेरैपछि बल्ल जिल्ला फर्केका छन् ।
कार्यक्रमको आयोजना भो । नेताले उस्तै जोसिला भाषाण गरे। उनको कुरा सुनेर अघिपछि आक्रोश पोख्ने जनता लठ भए । अघिपछि स्वागत समान गर्नेहरूका उस्तै लर्को देखियो। एकप्रकारले उनी आगामी चुनावको लागि अगावै विजय छन्।
उनले जिल्ला साथै गाउँगाउँका खबरहरू कर्याकर्तासित बुझे । तर, सोचेजस्तो चुनावी बलियो आधार नदेखेपछि गोप्य रूपमा जिम्मेवार कार्यकर्ताहरुको तत्काल भेला गर्दै बिर्केस खोलेर त्यहाँबाट बन्डलको बन्डल पैसा झिकेर लाखौं बाँड्दै भन्यो – सुन्नु भो, सबैलाई किनेर आजैबाट हाम्रो मान्छे खटाउनुहोस् । फेरि नि जित हाम्रो नै होस् अर्थात् मेरो होस् । अपुगमा थप रकम दिनेछु।
एउटा कार्यकर्ताले संकोच मान्दै भन्यो – ए नेताज्यू, यस्तो पनि हुन्छन् कतै । जनताले किनबेच हैन विकास र समृद्दि चाहेको छ।
उसको कुरा सुनेर हाँस्दै नेताले भन्यो– जनता यस्तै हो । कराउँदै गर्छ भाङ लागेर लट्ठ भएपछि जोगीको सरणमा झै पर्दछ हाम्रो।
नेताको कुराले छक्क पर्दै सोध्यो – कसरी भाङसित दाँज्नुभयो ?
नेताले कुटिल हाँसोका साथ भन्यो – भाङ लाग्नुअघि मानिस चनाखो हुन्छन् । मानिस जब भाङ लाग्छ ऊ एकोहोरो हुन्छन् नि । हो त्यस्तै हामी पनि भाङको लड्डु बाँड्छौं । डोज हेरेर दिएपछि नलाग्ने कुरा नै छैन । यी लाखौं बन्डल र हाम्रो भाषण उस्तै हो।
सबैले भाङको लड्डु चूपचाप उठाए पनि प्रश्न कार्यकर्ता भने लामो श्वास तानेर फाल्दै खाली हात निस्किए चूपचाप।
प्रकाशित: ५ माघ २०७७ ०५:४९ सोमबार