“सर, सातौं रनिङ बिल पेश गरें। भुक्तानी दिनु पर्यो।” धारापानी कट्टेलडाँडा सडक योजनाको ठेकेदारले बिल तेर्स्यायो।
– ए अघिल्ला बिलहरुको कर दाखिला भौचरको छायाँप्रति खै त ?
‘अर्को पटक ल्याइहाल्छु नि सर बनाइदिनुस् न,’ कपाल कन्याउँदै भन्यो।
पहिले पनि यसै भनेर लौ अर्को पटक लिएर आउनु भनेर गर्दिएथें। सधैं यस्तो हुदैन कार्कीजी। ठेक्काका शर्त बेवास्ता गरेर कर दाखिला प्रमाणबिना म त भुक्तानी दिन सक्दिन।
“सर मेरो पार्टनरले धोका दिएर म ठूलो नोक्सानीमा परेको छु । त्यसैले कर दाखिला गर्न नसकेको हुँ। मिलाइदिस्योस् हजुर” उसले दुई हात जोड्यो।
– त्यो तपाईको समस्या हो। म यस्तो गर्न सक्दिन। कर दाखिला लिएर आउनुस्।
“मैले त्यत्रो कर तिर्न त सक्दै सक्दिन । बरु त्यसको आधा हजुरलाई दिन्छु नि।” ठूलो ठेक्का थियो, आधामा पनि लाखौं आउँथ्यो ।
म इमानको कमाइ मात्र खान्छु बरु नपुगे भोकै मर्छु। तपाईं मलाई घुस दिने ! अब तपाईको फर्म कालो सूचीमा हाल्दिन्छु र कडा कारबाही गर्छु। बुझ्नु भो ?
उ मेरो कोठाबाट अँध्यारो अनुहार लगाएर बाहिरियो। भित्र हाकिमकहाँ पस्यो र केही छिनमा निस्क्यो।
– इन्द्रजी यता आउनुस्, शाखा प्रमुखले बोलाए।
– तपाईलाई कति जान्ने हुनु परेको भुक्तानी सिफारिस गरी ल्याउनोस्। तपाईहामी एकदुई जना इमानदार भएर के हुन्छ यो देशमा ? ” सायद ऊ पनि माथिको दबाब या प्रभावमा थिए।
थोरै मातृभूमिको ऋण तिरिन्छ। धेरै आत्मसन्तुष्टि प्राप्त हुन्छ। म गलत गर्न सक्दिन सर। म आफ्नै कोठामा फर्कें।
आधा घण्टापछि, इन्द्र सर प्रशासन शाखाबाट पत्र आएको छ।” रमेशले नमिठो अनुहार लाउँदै भन्यो।
पत्र बुझें, खोलेर हेरें। पत्रको व्यहोरा‘ तपाईले भुक्तानी शाखामा रहेर गरेको काम सन्तोषजनक नभएकोले बेरुजु शाखामा कामकाज गर्न खटाइएको छ।’
प्रकाशित: ४ माघ २०७७ ०८:०५ आइतबार