त्रिविक्रम पाण्डे
कुनै अमूक जिल्लाको एक बस स्टपको बीचमा एउटा विशाल गाउँ छ जसको नाउँ हो नाच्न ।
त्यहाँबाट बस आयो भने मान्छे भन्छन् कि नाच्नेवाला बस आयो......!
सहचालक पनि बस नरोकिँदै कराउँछ– नाच्न ओर्लनेहरू ओर्लनोस् , बस नत्र अगाडि बढ्छ ।
अत्यावश्यक काम परेर सिबिआईका एक अधिकृत त्यो जिल्लामा आएछन् । रात लम्बिसकेको थियो ।
उनी सोझै चौकीमा गएछन् र डिउटीमा बसिरहेको सिपाहीलाई सोधेछन् – चौकीदार साहेब खोई ?
सिपाहीले उत्तर दियो – चौकीदार साहेब नाच्न जानुभएको छ ।
अधिकृतको मथिङ्गल घुम्यो, उनले फेरि सोधे – डिउटी अधिकृत कहाँ हुनुहुन्छ ? सिपाहीले विनम्रतापूर्वक उत्तर दियो – हजुर डिउटी अधिकृत पनि नाच्न जानुभएको छ।
ती अधिकृतलाई लाग्यो कि सिपाही सायद नशामा छ। उनले एसपीको निवासमा फोन गरेर सोधे – एसपी साहेब हुनुहुन्छ ?
उत्तर आयो – नाच्न जानुभएको छ।
तर नाँच्न कहाँ जानुभएको छ , यो त भन्नुहोस् ?
– भने नि नाच्न जानुभएको छ , भोलि बिहानै आउनुहुन्छ ।
पुनः एसएसपीको घरमा फोन गरे। त्यहाँबाट पनि यही जवाफ आयो– सर त नाच्न जानुभएको छ।
अधिकृतको दिमाग बिग्रियो ।
–यो के भइरहेछ । यस सीमावर्ती जिल्लामा, त्यो पनि लकडाउनको समयमा ?
साथै रहेको सहयोगीले सबै कुरा ध्यानपूर्वक सुनिरहेको थियो अनि उसले भन्यो – हजुर कुरा यस्तो छ, काठमाडौबाट मन्त्रीज्यू नाच्न आउनुभएको छ । यसैले सबै हाकिम साहेबहरू नाच्न जानुभएको छ ।
प्रकाशित: २६ पुस २०७७ १०:२० आइतबार