२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

जोतारो

कथा

टङ्क भट्टराई

 

छोराको काठमाडौंमा तीन तले घर । वृद्ध शरीर तलमाथि गर्न नसक्ने भएकाले धनमाया तल्लो तलामा बस्ने गर्थिन् ।  

कोखको एउटै छोरो घरि देश घरि विदेश गथ्र्यो । नातिनातीनाहरू सानो छँदा त काखमा लुटपुटिन्थे । तर, अलि ठूला भएपछि मापाका हुन थाले । आमाको शिकायतले होला यसो गल्ती भयो र हकारयो भने नकरा बोक्सी बूढी  भनेर उल्टै थर्काउँथे ।

गाउँमा छँदा सर्वस्व थियो । बोल्ने, बोलाउने, चाह गर्नेहरू धेरै थिए । सुखदुःख, विरहवेदनाहरू मनमा गुम्सिन पाउँदैनथे । धारापँधेरा गयो उतै मन शान्त । मेलापात, घाँसदाउरा गयो, गीत गायो उतै मन शान्त । खोलानाला बग्छन्, चराचुरुङ्गी कराउँछन्, करेसाबारीतिर पूmलहरू फुल्छन्, भँवरा भुनभुनाउँछन् । यता गयो, उता गयो पुराना साथीसँगी भेटिन्छन् । कतै बसेर कुरा गरयो मन त्यसैत्यसै हलुङ्गो ।

श्रीमान् हात्तीजस्ता थिए । बितेको पनि पूरै पाँच वर्ष भयो । एउटा छोरा थियो त्यै पनि शहर पस्यो । गाउँमा सबै कुरा थियो, खेतबारी, वस्तुभाउ, बोटबिरुवाहरू, घरगोठ आदिइत्यादि ।

एक्लो जिन्दगी गाउँमा के हेरेर बस्नु ? कसलाई रुँगेर बस्नु ? छोराले बोलाउन थाल्यो खुरुन्दार गरेर । बुहारीले त उस्तो कर गरिन । तैपनि आफ्ना मुटु गाँसिएका सबै कुरा छोडेर बूढी शहर पस्ने भइन् ।  

साथमा ल्याउने कुरा केही थिएन ।  

माना दुएक घिउ, एक प्लास्टिक गुन्द्रुक, अलिकति–अलिकति केके हाल्दाहाल्दै झोला भरियो । उनलाई केही महत्वपूर्ण कुरा बिर्सेजस्तो लाग्यो । भित्तामा ठोकेको सिंगौरातिर हेरिन् ।

जोतारो झुन्डिएको थियो ।

महत्वपूर्ण कुरा छुटेछ झन्डै । हत्तपत्त उनले सिंगौराबाट झिकेर जोतारो झोलामा हालिन् ।

जोतारो हेर्नेबित्तिकै बूढाको सम्झना आउँछ उनलाई । मुटु भक्कानिएर आउँछ । आँखा टिल्पिलाउन थाल्छन् ।  

बूढा दाम्ला, नाम्ला, जोतारा बाट्न निकै सिपालु । गाउँभरिका गोरुका काँधमा प्रायः उनैले बाटेका जोतारा हुन्थे । कसैकसैले त उनलाई असली नाम छोडेर ‘जोतारे बा’ पनि भन्थे ।  

निकै दराखरा र आँटिला थिए जोतारे बा ।

एकताका पुस महिनामा घर छाउन खर काट्न भनेर बूढाबूढी पारि जुरे थुम्काको जङ्गलतिर गए। जुरे थुम्को जङ्गलको माझमा, त्यसको मुनि डरलाग्दो भीर ।  

आधाउधि खर काटिसकेर थुम्कामा बूढाबूढीले एकछिन थकाइ मारे । साथमा लगेको सुठुनी र सिमलतरुल खाए । गिताङ्गे थिए जोतारे बा । गीतका गेडा बिस्तारै छोडाउन थाले–

यो जुरे थुम्का, कमाएँ भने लैलै किन्दिऊँला झुम्का

भात खाने थाली,  बाउले बे गर्दे लैलै निष्पट्ट काली

बूढाले हाँस्दै बुढीतिर हेरे । बुढीले मसक्क हुँदै मुख लेप्य्राइन् ।  

“कति गीत गाउनु परेको,  रात यतै पार्ने हो कि क्या हो ?”

“तँ भन्छेस् भने म तयारै छु नि। कति घरमा मात्तै रात पार्नु। यसो कहिलेकाहीं त जङ्गलतिर पनि पारौं न हौ।  आखिर तँ छँदैछेस् र म छँदैछु। ”  

“हेर, लबस्तरा, कति लाज पनि नलागेको।  लु म त उठें जे सुकै गर। ”

बुढी उठिन् बूढालाई आँखा तरेजस्तो गरेर । बिस्तारो गुन्यू मिलाइन् । पटुका कसिन् र लागिन् पर्तिर झ्यासतिर । सुकेका पातमा धररर बुढाले पनि सुने । नभन्दै एउटा लङ््गुर बाँदरले पर्तिरको अग्लो रूखबाट  बूढीकै अघिल्तिर हामफाल्यो । बूढी एक्कासि तर्सिएर उँधोतिर चिप्लिइन् ।

तल्तिर एमानको भीर । मरें  भन्ने आवाज आयो । लौ न के भो नि  भन्दै बूढा कुदेर आए । हेर्दा त बूढी भीरतिर गुल्टिँदै गरेकी । बूढा पनि अत्तालिएर त्यतै हामफाल्न खोजे । संयोगले एउटा धँगेराका बोटमा अल्झिइन् बूढी । बाँच्ने आशा त थिएन तै पनि बूढातिर हेरिन् । बूढाले हत्तपत्त कम्मरमा बाँधेको जोतारो फुकाएर हातको नाडीमा बाँधे र एक हातले रूख समाएर डोरी उँधोतिर फाले । बूढीले डोरी भेटिन् र दरोसँग समाइन् । बूढाले जन्मदेखिको बल लगाएर बूढीलाई तानेरै छोडे ।

दैव संयोगले बुढी बाँचिन्।

निकै बेरसम्म भगवानलाई सम्झँदै र लुगलुग काम्दै बूढाबूढी अँगालोमा बाँधिइरहे ।

शहरको ठाउँ त्यसमाथि पनि राजधानी । मान्छेहरू अति व्यस्त हुन्छन् र व्यस्त भएको नाटक पनि गर्छन् । बेलुका ढिलो खान्छन् । मध्येरातसम्म फिल्म, च्याट आदिमा बिताउँछन् । बिहान घाम कोठामा पसिसक्दा पनि ढोका उघ्रेको हुँदैन । गाउँमा मिर्मिरे नहँुदै मेलापात पुग्छन् मान्छे । घाम नझुल्किंदै वनपाखा चहार्न थाल्छन्।

यो शहरको चलन पटक्कै मन परेको छैन ढकाल्नी आमैलाई । सम्झाऊँ–बुझाऊँ कोही सुन्नेवाला छैनन्। उहिलेका कुरा खुइलिसके । जे गरून्, ज्यामन्तै गरून् । आफ्नो त उही काल पर्खिन मात्र बाँकी छ । ढुक्क हुन्छिन् आमै।

होइन आज त ढिला भयो । सधैंको भन्दा पनि निकै ढिला । आमै त अघि उठिसकेकी । अर्काको कोठामा ढोका ढक्ढक्याउन जाँदा पनि निको मान्दैनन् ।  

वातावरण सुनसान छ । आमै बिस्तारै भरयाङ चढिन् । एकतला मास्तिर कसो उक्लेकी थिइन् । एक्कासि कहालिन पुगिन् ।

दृश्य डरलाग्दो थियो । 

बुहारी त सिरानको तलाको भरयाङको सिमेन्टको खाँबोमा डोरी बाँधेर मुन्तिर तुर्लुङ्ङ झुन्डिएकी । राति कति खेर हो । हात गोडा पूरै चिसा । भुइँमा अलिकति गुहु के देख्नु परयो यस्तो।  आमै लडीबुडी गर्दै कराउन थालिन् । त्यो कहालीलाग्दो आवाज सुनेर केटाकेटी पनि ओछ्यानबाट कुद्दै आए । आमा मरेकै ठानेर रुन कराउन थाले।

एकैछिनमा मान्छेहरू भेला भए । पुलिस बोलाए । पुलिसले झुन्डिएर आत्महत्या गरेको ठहरयायो। 

कसैले अफगानिस्तानमा रहेको छोरालाई फोन गरयो । छोराको आजै दिउँसोको नेपाल आउने टिकट रहेछ।

छोरो सिधै एयसपोर्टबाट आर्यघाट पुग्यो । चितामा श्रीमतीसँगै आफ्ना सपनाहरू पनि चितामा जलाएर ऊ घर फर्कियो ।  

बुहारीले आत्महत्या गर्नुको कारण सबैले बुझेका थिए । उसको निको चाल थिएन । फोनमा बूढाबूढीको सधैं झगडा भइरहने । उता बूढाले पैसा कमाएर पठाउने । यता श्रीमतीले मोज गर्ने । कहिले काँ जान्छु भन्ने कहिले काँ जान्छु भन्ने । जहिल्यै तडकभडकका लुगा लाएर हिंडिरहने । प्रायः राति अबेर कसैले मोटरसाइकलमा लेइदिन्थ्यो र गेटबाटै हात हल्लाउँदै फर्किन्थ्यो ।

बुहारीको यो चाला बूढीलाई थाहा नभएको होइन । के गर्नु बोल्न हुँदैनथ्यो । उल्टै दुर्वाच्य खेप्नुपथ्र्यो ।

कुरा बुझ्दा बूढाले विदेशबाट पठाएको पैसा पनि केटाले चप पारेको र दुई–तीन महिनाको गर्भ पनि रहेको । केटो पन्द्र–बीस दिनदेखि बेपत्ता भएको बुझियो ।

अन्ततः त्यही जोतारोमा बुहारी झुन्डिएकी थिई । जुन घरको भुइँमै बाहिर फालिएको थियो । त्यसलाई कसैले ख्याल गरेका थिएनन् । आमैले टपक्क टिपेर ल्याइन् र भित्र राखिन् । बुहारी राति अबेर कोठामा छिरेकी थिई । यही लिन रहेछ । आमैले अड्कल काटिन् ।

जीवन सामान्य गतिमा चल्दै गयो । घाउहरूमा खाटा बस्तै गए ।  

शहरमा एउटा घर छँदै थियो । अब ऊ विदेश पनि गएन । केटाकेटी हुर्किंदै गए । पढ्दै गए ।  

बूढी आमालाई पनि सन्तोष हुँदै गयो ।  

छोरालाई भन्न थालिन् । “बाबू, तेरो यत्रो उमेर छ, अब एउटी केटी ले । घरव्यवहार केटाकेटी स्याहार्ने कोही छैन । म पनि डाँडाकी जून भइसकें ।”

“विचार गरौंला नि आमा।” छोरो यसै भन्थ्यो ।

बुहारी त्यै जोतारोमा झुन्डिएर मरे पनि त्यसलाई बूढीले अझै माया गरेर लुकाएर राखेकी थिइन् उनी सुत्ने कोठामा । किनकि त्यो जोतारोमा बूढाको छायाँ थियो । बूढाको माया थियो । यदि त्यो जोतारो नभएको भए त्यो जुरे थुम्काको भीरमा उनका हाडखोर उहिल्यै मक्किसक्ने थिए ।

नातिनीलाई थाहा थियो आमा झुन्डिएको त्यो जोतारो आमैको कोठामा छ भनेर । किनकि ऊ कहिलेकाहीं आमैको कोठामा खोजतलास गर्न आउँथी । भेटी भने खानेकुरा र पैसा पनि चोर्थी ।

व्यहोरा ठ्याक्कै आमाको थियो । आमैसँग मात्र होइन, बाउसँग पनि मुखमुखै लाग्थी ऊ । पढ्न छोडेर जहिल्यै मोबाइलमा व्यस्त देखिन्थी ।

एक मध्येरात फेरि एक भयानक घटना घट्यो ।  

– नातिनी त्यै डोरीमा पासो लागेर मरिछ ।  

चौध–पन्द्र वर्षको कलिलो उमेरमा ऊ किन गई । सबैमा प्रश्न उब्ज्यो । घरमा सबैको रुवाबासी।  बूढी आमै एकातिर, बाबु अर्कोतिर मुर्छित अवस्थामा ।  

प्रहरी आए । कतै केही लेखेर छोडेको छ कि भनेर लुगाफाटो ओछ्यान, ब्याग सबैतिर खोजे । केही भेटेनन् । अन्तमा मोबाइल भेटे र खोले ।  

कुरा बुझियो । आपूmसँगै पढ्ने केटा साथीसँगको खटपट।

केही दिन अगाडिसम्म आपूmलाई माया गरेको केटाले अर्कैसँग सम्बन्ध गाँसेछ । त्यो रात “अब तँ मेरी भइनस् । म अर्कैको भइसकें ।” भनेर फेसबुक ब्लक गरेछ ।  

कुरा यत्ति हो । यत्तिमै खाऊँखाऊँ र लाऊँलाऊँ भन्ने त्यो लोभलाग्दो ज्यान गयो ।  

– छि अचेलका मान्छे कति काँतर।  

सानोतिनो निहुँमा अलिकति चित्त दुख्नेबित्तिकै, अलिकति रिस उठ्नेबित्तिकै, आपूmले भनेको नहुँदा यस्तो अमूल्य जिन्दगी खेर फाल्ने लाछीहरू।”

दुई वर्षअघि आत्महत्या गरेकी बुहारी र अहिलेकी नातिनीप्रति माया होइन दया लागेर आयो आमैलाई ।  

“थुक्क के भका यिनेरु। सानोतिनो समस्यासँग जुध्न नसक्ने।

आफू मर्दा भोलि घरपरिवारलाई के हुन्छ ? दुनियाले के भन्छन् ? जिन्दगीदेखि हार खाएर मर्नेलाई कसैले स्याबासी दिंदैन उल्टै थुक्छ । यतिसम्म थाहा नपाउने पृथ्वीका भारहरू।  त्यसैले झुन्डिएर मर्नेहरूलाई समाजका मान्छेले मुखमा ‘गु’ हाल्दिएका रहेछन् ।”

लामो सुस्केरा तानिन् आमैले ।

–अब यो ज्यानमारा जोतारो राख्दिनँ । आमैले निर्णय गरिन्।

“हो, यही जोतारोले मेरो ज्यान बचायो । यही जोतारोमा मैले यत्तिका दिनसम्म बूढाको छायाँ देखें । यही जोतारोमा बूढाको माया भेटें । पसीनाको गन्ध सुघें । आज यिनीहरूलाई यही डोरीले मर्न सजिलो भएछ क्यार।  घाँटीमा बेरेर लगातार यही घरमा दुई जनाले ज्यान फाले ।” उनले लामो सुस्केरा तानिन् । 

केहीछिनमै आमैले भित्रबाट खुकुरी ल्याइन् र जोतारो टुक्राटुक्रा पारिन् अनि भक्कानिंदै रुन थालिन् । मानौं, उनको मुटु यसरी नै टुक्रिरहेछ ।  

प्रकाशित: २६ पुस २०७७ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App