२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

धाक

लघुकथा

लता केसी

 

तीनवटा दाजुपछि म बुबाआमाको तेलिया सन्तान थिएँ । सबैले भाग्यमानी हुन्छे , यो छोरी भन्थे । नभन्दै मलाई माइत बसुञ्जेल कुनै कुराको दुख भएन। गाँउको हरियो प्रकृति र बुवाको प्रशस्त सम्पत्तिमा म कान्छी छोरी भएँ ,  लाडप्यारमै हुर्किएँ ।

छोरीको जात , बिहे गरेर घर खानुपर्ने , मेरो बिहे शहरमा एक व्यापारीसंग भयो । सामान्य काम पनि नगरी हुर्किएकी म ,  व्यवहार गर्न नजान्दा सासूले टोक्नु हुन्थ्यो – आफ्नो घरको संस्कार सिक बुहारी , छोरीले  घरमै रमाएको राम्रो    तर म जहिले मेरो माइती यस्तो र उस्तो भनेर धाक देखाउथेँ ।

समयको अन्तरालमा  कोरोनाको कारणले व्यापारमा मन्दी चल्यो । आम्दानीको स्रोत सुक्दै गयो।  बाँच्नै कठिन हुन थाल्यो । मैले बूढासँग भनेँ – शहर छाडेर हामी  अब गाउँ पसौँ ।  बुबासंग अलिकति जमिन मागौँ । यताको सबै बेचेर  उतै घर बनाऔँ । कुटो –कोदालो गरेर जीवन धानौँ ,  हुन्न र।

बाध्यतामा परेका उनले मुस्किलले कुरा खाए। उनको समर्थनले मभित्र खुसीको आँधीबेरी चल्यो । माइती अनि बालापन संझिएँ ।  त्यत्रा जमिनका मालिक मेरा बुवा , आश गरेरै  तुरुन्तै फोन गरेँ – हेलो बुवा , हामी शहरमा निस्सासियौँ । अब त्यतै आउने भयौं । हजुरले अलिकति घडेरी दिस्यो है ।

बुबाले लामो सुस्केरा ताने र भने –  छोरी ,  तेरा दाजुहरूले जमिनकै लागि वैमनस्य मोले , छुट्टपुट्ट भए  । गरिखाऊन् भनेर सबै जमिन बाँडफाँड गरिदिएँ । उनीहरूले  भाउजूहरूको नाममा  नामसारी गरेका छन् ।

एकाएक मेरो अनुहारमा औंसी छायो । गहभरि आँसु  देखेर बूढाले भन्नुभयो – म मरेको छैन  बूढी , मन अमिलो नपार । परिवार  पाल्ने औकात  मैले अझै गुमाइसकेको छैन ।

प्रकाशित: २६ पुस २०७७ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App