२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

नयाँ युगको कसीमा–‘आजका लघुकथा’ को अध्ययन

समालोचना

बोधराज पौडेल

 

पछिल्लो समयमा निकै रुचाइको साहित्यिक विधामध्ये लघुकथा पनि हो । लघुकथा सटीक, चोटिलो र मजबुत हुन्छ । थोरै शब्दमा कसिलो बुनोटमा लेखिने यो विधा पचासको दशकदेखि लेखक र पाठक दुवैको ज्ञानको स्रोतका रूपमा अघि बढेको पाइन्छ । यसको विसं १९९२ सालदेखि सुरु भएको मानिएको छ । चोटिलो प्रहारका कारण पाठकको मनमस्तिष्कमा बसेको छ । यसका चरण र प्रवृति बारेमा छोटो अध्ययन गर्ने प्रयास गरिएको छ । नेपाली लघुकथाको आयाममा धेरै एकल र सामुहिक कृतिहरू प्रकाशित भएका छन् । पुष्करराज भट्टले त यसै विधालाई अगालेर विद्यावारिधि समेत गरेका छन् । 

लघुकथाको आयामलाई अघि बढाउन साहित्यकारहरूको प्रयास अझैं पनि चलिरहेको छ । लघुकथा लेख्ने साहित्यकारहरूले लघुकथा समाज नामक संस्था नै स्थापना गरेर काम गरिरहेको पाइन्छ । अर्कोतर्फ लघुकथाको  श्रीवृद्धिका लागि फेसबुक पेजहरू स्थापना भएको छ ।

आधुनिक नेपाली लघुकथा लेखन परम्परासँगै सुरु भएको नेपाली लघुकथाको विकासको अवधिलाई निम्न तीन चरणमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ – 

 

क)  पहिलो यथार्थवादी चरण  (विसं१९९२ देखि २०१९०)

पहिलो चरण आधुनिक नेपाली कथालेखन परम्परासँगै सुरु भएको आधुनिक नेपाली लघुकथाको पहिलो चरणको समयावधि विसं १९९२ सालदेखि २०१९ सालसम्म मानिएको पाइन्छ । यस चरणमा प्रायः यथार्थवादी लघुकथाहरू सिर्जना भएको कारण यथार्थवादी चरण मानिन्छ । यस चरणका चर्चित लघुकथाकारहरू पूर्णप्रसाद ब्राहृमण, जयनारायण गिरी र शशिकला शर्मा हुन् । ब्राहृमणको ‘झिल्का’ (२००७), ‘म लोग्ने’ (२००८), गिरीको ‘कसिङ्गर’ (२००८)  र शर्माको ‘उनको सुरुवाल’ (२०१९)  यस चरणका प्रमुख लघुकथात्मक कृतिहरू हुन । यस चरणका लघुकथाहरू यथार्थवादी छन । नेपाली लघुकथाको पहिलो चरणमा सामाजिक र मनोवैज्ञानिक यौन यथार्थवादी प्रवृत्तिका लघुकथाहरू मुख्य रूपमा सिर्जना गरिएका छन् ।

 

ख)  दोस्रो नवचेतनावादी चरण ( विसं२०२० देखि २०३९)

आधुनिक नेपाली लघुकथाको दोस्रो चरणलाई नवचेतनावादी चरण पनि मानिन्छ । यस चरणमा प्रारम्भिक चरणको सामाजिक र मनोवैज्ञानिक यथार्थवादी प्रवृत्तिभन्दा केही भिन्न किसिमले समाजमा विद्यमान सामाजिक, आर्थिक, राजनीतिक, लैङ्गिक र जातीय चेतनाको क्षेत्रमा देखापरेका असङ्गति, दमन, अत्याचार, द्वन्द्व, निचता र स्वेच्छाचारीको विषयलाई प्रयोगधर्मी नवचेतनाको धारमा प्रस्तुत गरिएका लघुकथाहरू सिर्जना तथा प्रकाशित भएको पाइन्छ । यस समयमा प्रगतिवादी चेतका लघुकथाहरू पनि लेखेका छन् ।

 

ग) तेस्रो समसामयिक चरण ( विसं २०४० देखि हालसम्म)

तेस्रो समसामयिक चरण नेपाली लघुकथाको इतिहासमा समसामयिक चरणका रूपमा विकसित भएको २०४० सालभन्दा पछिको चरण लघुकथा सिर्जनाको दृष्टिले अत्यन्त उर्वर काल हो । नेपाली लघुकथाको दोस्रो चरणमा उदाएका कथाकारहरूले लघुकथा लेखन कार्यलाई निरन्तरता दिइरहेकै बखत कथाकारहरूले प्रचुर मात्रामा लघुकथा सिर्जना गरेर नेपाली लघुकथाको क्षेत्रलाई अझ उन्नत र विस्तृत तुल्याएका छन् । यस चरणका लघुकथाहरूमा वैचारिक स्वतन्त्रता नहुनाको कुण्ठा मुखरित छ ।

नेपाली लघुकथाको यसै चरणमा किशोर पहाडी र अशेष मल्लद्वारा सम्पादित ‘अध्याय’, वासु बरालद्वारा सम्पादित ‘चार हस्ताक्षर बाह्र स्वर’, श्रीओम श्रेष्ठ ‘रोदन’द्वारा सम्पादित ‘शुभारम्भ’ र ‘सञ्चयन’, गोरखबहादुर सिंहद्वारा सम्पादित ‘पहिरो थुपारिएको बगर’ र कृष्ण कँडेलद्वारा सम्पादित ‘संवेदन स्वरहरू’ जस्ता लघुकथा सङ्ग्रहहरू प्रकाशित भएको देखिन्छन् । मधुपर्कले २०५६ भदौको अङ्कलाई ‘लघुकथा विशेषाङ्क’को रूपमा प्रकाशित गरेको पाइन् । त्यसपछि पनि यो क्रम निरन्तर चलिरहेको छ ।

यसै क्रमलाई निरन्तरता दिँदै लघुकथा समाजमा आबद्ध भएका केही लघुकथाकारका लघुकथा समावेश गरेर ‘आजका लघुकथा’ नामक संयुक्त लघुकथा प्रकाशन भएको छ । लघुकथा समाजका लागि समाजसेवी वीरबहादुर राईले प्रकाशन गरेको उक्त कृतिको सम्पादन लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका हुन् ।  यसै सङ्ग्रहमा रहेका लघुकथामा एघार जना स्रष्टा, सर्जकले पाँचपाँच वटा आफ्ना लघुकथाहरू समावेश गरेका छन् । यी लघुकथाले नेपाली साहित्यमा एउटा महत्वपूर्ण योगदान दिएका छन् । ती लघुकथाहरूलाई मोटामोटी रूपमा यसरी हेर्न सकिन्छ –  

समालोचक बोधराज पौडेल

 

ध्रुव मधिकर्मी  

सिर्जनाका दृष्टिले पुराना सर्जक हुन् । यिनको मुख्य लेख्य विषय समाज र समाजमा राजनीतिले पारिरहेको प्रभावमाथि भएका विसंगतिलाई उजागर गरेर चेतना प्रवाह गरी त्यसमाथि व्यंग्य प्रस्तुत गर्नु हो । यिनका लघुकथामा रहेका विषयलाई यसरी हेर्न सकिन्छ–

बाटैबाटो – यो कथाले आजको मानिसको विरोध गर्ने शैली र विकासको अवस्थालाई दर्शाएको छ । हामीले विकासको नाममा जताततै बाटो बनाए पनि आखिर कोही आज लक्ष्यमा नपुगिएको देखाएको छ । यसले हाम्रो विकास प्रणालीको अवस्था र सोचबारे जानकारी दिएको छ ।

सुुनको फुुल – नेताहरूको हिजो र आजको अवस्थाबारे चित्रण गरिएको यो कथामा आजको नेता यति लोभी र अदूरदर्शी छन् कि सुनको फुल पार्ने कुखुरो जिम्मा दिँदा एकै पटक सुनको ढिक्को पाउने लोभले कुखुराको नै अन्त्य गर्न पुगेको छ ।

धोएको गधा – नेताले गधालाई सफा गरेर गाई हो भन्दा कार्यकताले गधालाई भारी बोकाउनु पर्नेमा आफैले गधालाई बोकेर हिडेको दृष्टान्त देखाउँदै आजका कार्यकताको अन्धभक्ततालाई देखाइएको छ ।

दाबी – यस कथाले मान्छे मात्र यस्तो निकृष्ट प्राणी हो जो सयौँ जनावारको काम एक्लैले गर्न सक्छ । ऊ यति नीच छ कि आवश्यक परेमा बफादारका साथै जुत्ताको तलुवा समेत चाट्न पछि पर्दैन भन्ने देखाएको छ ।

आयात – यस कथामा मान्छे यसरी परजीवी बनेको छ कि सबै कुरा विदेशबाट आयात गरेर काम चलाउन उद्दत छ । हुँदाहुँदा आजको मानिस आयातमा यति लिप्त भएको छ कि विचार समेत विदेशबाट मगाउन बाध्य भएको छ ।

 

 

श्रीओम रोदन  

 

लामो समय सम्पादन र लेखनका क्षेत्रमा आफ्नो पहिचान बनाएका सर्जक हुन् । सामाजिक रूपमा समाजभित्र रहेका समुदायको मनोवृतिलाई औंल्याएर आफ्नो विषय छनोट गर्नमा आनन्द अनुभूत गर्ने सर्जक हुन् । यिनका लघुकथामा रहेका विषयलाई यसरी हेर्न सकिन्छ । 

स्वार्थ–स्वाद –यस कथामा घरायसी समस्याका कारणले नारीहरूले आफ्नो जीवन धान्नका लागि के कस्ता समस्याहरूको सामना गर्नु पर्दछ भन्ने कुरालाई उजागर गरेको छ । 

शक्तिसूत्र –मान्छेहरू राजनैतिक समूहमा जे भए पनि समस्यामा मिल्ने गरेका छन् तर, धार्मिक कुरामा जहिले पनि विभक्त हुने गरेका छन् । अवसरवादीहरूले यसैलाई अस्त्र बनाएर खेल्दै गरेको आजको समयको चित्रण यो कथाले गरेको छ । 

पृथ्क बाटो – आजका युवतीहरूको चरित अरुले थाहा पाए आफू चरित्रवानका रूपमा प्रस्तुत गर्ने र एक्लै केटा भेट्टाए कोठामा एक्लै भएकोले सँगै बसौं भन्ने आग्रह गर्छन भनी आजको समाजमा देखिएको विकृतिप्रति ब्याङ्ग्य गरेको पाइन्छ ।

संस्कृति र संरक्षण –हामी संस्कृति र परम्पराका नाममा मोलमोलाई गरेर आफ्नो स्वार्थलाई कसरी पूर्ति गरिरहेका छौ भन्ने कुरालाई देखाएको छ ।

गोटी –देशको प्रशासन पनि अर्काको इशारामा चलेको आजको अवस्थालाई दर्शाएको छ भने हामी देशको स्वार्थ भन्दा अरुको स्वार्थका लागि बढी काम गरिरहेको चरितार्थ कथन प्रस्तुत गरिएको छ ।

 

गोपाल अश्क  

तराई क्षेत्रको पारिवारिक अवस्थालाई आफ्नो विषयवस्तु चयन गर्ने र ती विषयलाई बडो  मिहिन ढंगले प्रस्तुत गर्ने क्षमतावान्  सर्जक हुन । नेपाली र भोजपुरी दुवै भाषामा सक्रिय रूपमा कलम चलाउन सक्षम रहेका यिनी आफ्नो लेखनमा दृष्यलाई प्रयोग गर्ने र पीडालाई पनि सहज तरीकाले व्यक्त गर्ने खूबी यिनमा छ । यिनका लघुकथामा रहेका विषयलाई यसरी अध्ययन गर्न सकिन्छ –

कमी –   सबै कुराले पूरा भए पनि सन्तान नहुनुको पीडा कस्तो हुन्छ भन्ने कुरा यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्ध –   पारिवारिक झगडा भनेको क्षणीक मात्र हो । जति नै रीस भए पनि बाबुछोराकोे आत्मीयता सधै रहने देखाएको छ ।

बदलिँदो नाता – आजको समाजमा बढ्दै गएको समान लिङ्गीप्रतिको आकर्षणलाई चित्रण गरेको छ ।

आजको लक्ष्मण  –  आजको लक्ष्मण भाउजूको ओछ्यानसम्म पुग्ने र भाउजूको ब्रेसियरको बारेमा समेत जानकारी लिन सक्ने देखाइएको छ ।  आजको हाम्रो समाजको सभ्यता कता जाँदैछ भन्ने तर्फको संकेत यो कथाले स्पष्ट गरेको छ ।  

चिन्ता – परिवारका सदस्यले आफ्नो कामलाई जिम्मेवारीका साथ निर्वाह गर्न नसक्दा के हुन्छ भन्ने कुरा भनिएको छ –मलाई यही कुराको त चिन्ता छछोरी विहे गरेर गइसकेकी छोरीको पनि आँड र भरोसा आफै हुनु परेकोमा चिन्ता छ ।  

 

सुमन सौरभ 

 यिनका कथामा पाइने जुन बौद्धिक क्षमता छ, यो नै उनको फरक परिचय हो । छुट्टै विषयवस्तुलाई रोचकता प्रदान गर्ने र नयाँ तथ्यको उजागर गर्ने क्षमताका कारण उनका रचनाहरू धेरै पाठकले रुचाइएका छन् ।

संङ्क्षिप्त इतिहास –  विज्ञानका कथामा ग्रहको जसरी व्याख्या गरिएको छ, जीवनका तारहरू किन त्यसरी चल्दैनन् र मान्छेलाई प्रताडित पारिरहेका छन् जीवन भोगाइका लागि भन्ने कुरालाई यो कथाले देखाएको छ ।

भोकमरी –   नागरिकता बोकेर पनि भोको पेट भर्न नसक्दा मृत्यवरण गर्न पुगेको मानिस त कीराहरूभन्दा पनि अभागी हुँदोरहेछ । मान्छेको जीवन त कीराहरूको भन्दा व्याप्श्रत भोकमरीको चित्रण गरिएको छ यो कथामा ।

विवेक –  हामी समस्याको कारक तत्व के हो त्योबारे कहिल्यै  पनि जान्ने चाहना राख्दैनौ तर, अनावश्यक चिन्ता र उपचार भने खोजिरहेका हुन्छौ । समस्याको जड पत्ता नलगाई गरिएको उपचारले कहिल्यै समाधान दिदैँन भन्ने सन्देश प्रदान गरेको छ ।

घृणा – अमानवीय र एचआइभी रोगी हाकिमका कारण आफ्नो र श्रीमानको जीवन नर्क बनेकोमा पश्चाताप गरे पनि हाकिमका खुशीका लागि नियमित प्रकृया दोहोर्याउन बाध्य रहेकी एक विवश महिला कामदारमो पीडा यो कथाले बोकेको छ । जीवनभन्दा बाध्यता ठूलो हो भन्ने कुरालाई कथाले उजागर गरेको छ ।

अमानवता  –  मान्छेको गुण उसमा नरहेपछि के त्यो अझैं मानिसमा गनिनयोग्य हुन्छ त । पक्कै हुँदैन तसर्थ मानवीय गुण र व्यवहारलाई समयमा नै चिनौ र त्यसको संरक्षणमा लागौ भन्ने जनहितमा जारी गरिएको सूचनाजस्तै रोचक छ यो कथा । यहाँ आज हाम्रो समाजमा हराउदै गएको मानवीयतालाई तीखो व्यंग्य  गरिएको छ ।

  

कृष्ण बजगाइँ 

कथ्य विषयवस्तुका स्थुल तथ्यहरूलाई सूक्ष्मतामा बदलेर आजको यान्त्रिक जीवनलाई देखाउन सफल सर्जक हुन् । मानिस बाँचेको समाज आज कसरी रुमलिरहेको छ, उसको अन्तिम लक्ष्य के हो , मान्छे किन यसरी रुमलिरहेको छ भन्ने विषयलाई उनका लघुकथाले उजागर गरेको पाइन्छ–

यन्तवत्–१ र यन्तवत्–२  – मानिस आजको प्रविधिको युगमा प्रवेश गरेको छ । यहाँसम्म कि माग्ने समेत यन्त्रको माध्यमबाट माग्दा बढी आम्दानी हुने देखेर त्यो प्रविधि अपनाउन सफल भएको छ । आज विश्वमा बढिरहेको आधुनिक मेसिन युगको आवश्यकतालाई यहाँ प्रस्ट पारिएकोे छ ।

समावेशी उद्योग – समावेशीको वातावरण प्रभाव यसरी बढेको छ कि यसको सहायताले गर्दा मसाज सेन्टरमा समेत समावेशी अपनाउँदा मात्र व्यवसाय सफल भएको दृष्टान्त पेश गरिएको छ ।

पूर्णता – अतृप्त चाहना पूरा गर्नका लागि तीन जना पुरुषसँगको सहकार्यलाई पूर्णता दिन नसकेर आत्महत्या गर्ने अवस्थाको सिर्जना भएको छ ।

स्पेयर पार्टस –  गरीबहरूको जिन्दगी भनेको धनीहरूका लागि शरीरका अंगहरू परिपूर्ति गर्ने साधनजस्तै भएको आजको समाजको चित्रण गरेको पाइन्छ । आजको दिनमा गरीबहरूले हुँदाहुँदा आफ्नो जीवन निर्वाहका लागि श्रमले मात्र नपुगेर आफ्नै शरीरको अंग वेचेर गुजारा गर्नुपर्ने अवस्थाको चित्रण गरिएको छ ।

तुलसीहरि कोइराला  

 

लेखन र सम्पादन दुवै कार्यमा सकृय रहेका स्रष्टा हुन् । समाजमा भएका गतिविधिलाई नजिकबाट हेर्ने र त्यसमा राजनीतिले पार्ने प्रभावले जनजीवनमा के कस्ता असर पारेको छ भनेर केलाउँदै गरीबका समस्यालाई विषयवस्तु बनाउँदै कलम चलाउने र अरूको पीडालाई अंगीकार गरेका स्रष्टा हुन् । कविता र कथाका क्षेत्रमा समेत आफूलाई परिचित गराएका उनी लघुकथाकार भन्न बढी रुचाउँछन् । यिनका लघुकथामा रहेका विषयलाई यसरी हेर्न सकिन्छ–

कृति उपहार–  आजका कविहरूको विवश अवस्थाको चित्रण छ । कविको कवितामा कसैले चासो नलिएको कुरालाई यहाँ प्रस्तुत गरिएको छ । जहाँ कविहरूको कुनै मूल्य नभएको अवस्थाको विवरण छ।

महादेव बाजे  –  गाउँ र तराईमा रजगजका साथ बसेको व्यक्तिलाई द्वन्द्वको  चपेटाले गर्दा काठमाडौंमा बसाइँसराइ गर्न बाध्य भएको ऊ शहरमा गाउँकोजस्तो सम्मान नपाउँदा आफ्नै आँगनमा महादेवको मन्दिर बनाएर नमस्कार लिने प्रयास गर्छ । सम्मान पाएर रमाउनेहरू त्यो नपाउँदा कसरी विक्षिप्त बन्छन् र मनोरोगी हुन्छन भन्ने कुरा यो कथाको विषय बनेको छ ।

मानवअधिकार  – गरीबसँग कपडा नभएर तुल प्रयोग गर्नु र त्यो तुलमा मानवअधिकार जिन्दावाद लेखिनु र त्यो तुल खोसेर पुन नाङ्गो बनाउनुले हाम्रो मानवअधिकारको नाजुक अवस्थाबारे प्रस्ट पारेको छ।

शालिक प्रेम –  मानिसको शालिक बन्दै गएको मानवीयतालाई यसमा देखाइएको छ ।

उपचार–    मान्छेको सबैभन्दा राम्रो उपचार भनेको भरपेट खाना खानु हो । त्यसो हुनाले मृगौला रोगीको बहानामा मागेरै भए पनि भरपेट खाने योजना बनाएको छ एउटा माग्नेले । उसलाई राम्रोसँग थाहा भएको छ कि उपचार गरेर मात्र रोग निको हुँदैन । तसर्थ बाँच्नका लागि खाना महत्वपूर्ण रहेको छ भन्ने कुरालाई देखाएको छ । 

डा. पुष्करराज भट्ट 

सामाजिक यथार्थतालाई सूक्ष्म रूपले केलाउने स्रष्टा हुन् । लघुकथाको क्षेत्रमा विधावारिधि हासिल गरेको उनी कर्मचारीतन्त्रभित्र रहेको काइते प्रवृतिलाई मुख्य विषयवस्तु बनाउने स्रष्टा हुन् । यथार्थतालाई व्यंग्य गर्दै विषयवस्तुलाई अमिट छाप छोड्ने तरिकाले प्रस्तुत गर्ने क्षमता अद्भूत र कल्पना शक्ति बेजोड पाईन्छ । यिनका लघुकथामा रहेका विषयलाई यसरी हेर्न सकिन्छ –

प्रकृया – आजका राष्ट्रसेवकोको सेवा दिने तरीका कस्तो छ भने दक्षिणाविना कुनै पनि काम नहुने र दक्षिणा दिएमा तुरुन्त प्रकृया मिलाउने गजवको रहस्य उद्घाटन गरेको छ।

आडम्बर–  पहिलेको समयमा भएको साहित्यिक कार्यक्रमा हुने मिठासता र आजको समयमा भएको हाहाहुहुपूर्ण साहित्यिक माहोलको अवस्था र वरिष्ठ हुने बहानामा नयाँ कविलाई साथ दिनु र पुरानालाई भुल्न जुन परम्परा बढ्दै गएको छ, यस्तो वातावरणलाई नै यहाँ प्रस्तुत गरिएको छ ।

मुक्तिदाता  –  हाल बढिरहेको आइएनजिओ र एनजिओले गरीबलाई गर्ने सहयोगभन्दा तिनको नाममा धर्ना – जुलुस गरेर आफ्नो खेती चलाउनेहरूलाई तिखो प्रहार गरेको छ ।

आमा – आमा जीवित हुँदा समय निकालेर उपचार गर्न नभ्याउने ऊ आमाको मृत्युपछि भने आफूले गरेको गल्तीको कारण चारैतिर अन्धकार मात्र देख्ने गरेको छ । यतिबेला उसले आमाको वात्सल्यता र माया भनेको के हो भन्ने कुराको बुझाइ आफ्नी शिक्षित श्रीमतीबाट समेत सिकिरहेको छ ।

नव समालोचक  – आजको समालोचना गर्ने तरीका कस्तो छ भने जसको खायो उसैको गीत गायो जस्तो छ । कृतिको व्यवहारिक पक्षको बारेमा भन्दा चाकडी प्रवृतिको बढ्दो अवस्थालाई यस कथामा प्रस्तुत गरिएको छ ।

 

कृष्ण शाह ‘यात्री’

 

 यर्थाथवादी धरालतलाई आधार मानेर व्यावहारिक तवरले आर्दश प्रस्तुत गर्न सिपालु रहेका छन् । मूलतः उनी नाटक क्षेत्रबाट अघि बढेका र नाटकको क्षेत्रमा ख्याति कमाइसकेका स्रष्टा हुन् । उनी पछिल्लो समय लघुकथामा समेत सकृय  छन् । उनका कथाभित्रको विषय यस्तो रहेको छ –

पहिचानको खोजी –   विभिन्न पदमा रहेका मानिसहरूको पोष्टमार्टम गर्ने व्यक्ति आफ्नो पेशाप्रर्ति वितृष्णा भएकोले घर छोडेर हिडेको छ । बगरेले निर्ममताका साथ पशु काटेको, बम – बारुद पड्केको देखेर पुनः आफ्नो कामका फर्किन्छ र कर्तव्याबोध गर्छ।

डर – द्वन्द्वात्मक परिवेशमा राजनीति गर्ने व्यक्तिहरूको सत्तामा बसेपछिको रूप कस्तो हुन्छ भन्ने देखाएको छ ।

लाशघर – द्वन्द्वात्मक परिवेशमा सत्ता पक्ष र सरकार पक्षबीच भएको अवस्थालाई देखाइएको छ । ती छिन्नभिन्न रहेका लासहरूले आफूभित्र संवाद गराएर कथालाई जीवन्त पारेको छ ।

श्रवणकुमार –  द्वन्द्वमा परेर आमा गुमाएको बाबुले हरेक दुःख खेपेर पढाएको छोराले विदेश गएपछि आफ्नो बाबुलाई विर्सन्छ र विदेशमै बीस वर्ष बिताउँछ । यता बाबु मजदूरी गरेर जीवन धान्न विवश छ । अचेल त मोतियाविन्दुका कारण ऊ राम्रोसँग आँखा समेत देख्दैन । आफूलाई  नहेरेकोमा बाबुले आधुनिक श्रवणकुमारको दर्जा दिएको छ ।

शहीदहरू –  देशका नागरिकहरू जे जसरी मरे पनि शहीद घोषणा गर्ने चलनले शहीदको अपमान हुन पुगेको देखाएको छ । अर्कोतर्फ नेताहरूको योजनाविनाको कामले देश, महंगी र बेरोजगारीले मरेको व्यक्तिले म मर्नुको कारण राज्य हो । तसर्थ मलाई कहिल्यै राज्यले शहीद घोषणा गरेन भनेर दुःख व्यक्त गरेको छ । यसले के देखाएको छ भने देशका लागि बलिदानीभन्दा अन्य कारणले भएका शहीदको संख्यालाई यसले उजागर गरेको छ ।

श्रीबाबु कार्की ‘उदास’ 

   श्रीबाबु कार्की ‘उदास’  

मानवीय जीवनमा आइपर्ने समाजमा समस्याहरूलाई उजागर गर्ने लेखकका रूपमा आफूलाई स्थापित गरेका स्रष्टा हुन् । कविता क्षेत्रबाट साहित्य लेखनमा चिनिएका कार्की पछिल्लो समयका राम्रा लघुकथाकार हुन् । यिनका लघुकथामा रहेका विषयलाई यसरी हेर्न सकिन्छ –

अन्तिम इच्छा – घरमा काम गर्ने नोकरलाई घरको कामका साथ साथै मालिक्नीले आफ्नो शारिरीक आवश्यकता परिपूर्ति गर्न लगाएर रामेबाट रामु भएको परिवेश पनि यस कथामा देख्न सकिन्छ ।

रोबोर्ट र मानिस – विज्ञान र प्रविधिको आजको युगमा मानिस र रोर्बटबीच हुने भोलिको समयमा आउन सक्ने खतरालाई यो कथाले संकेत गरेको छ । जुन समयमा मानिस र रोवर्टबीच युद्ध हुन सक्ने र रोबर्टको कारणले मानिसहरू बेरोजगार हुने कुरालाई जनाउ दिएको छ ।

धर्म – व्रत बसेर धर्म गर्ने योजनामा रहेकी रमाका बाबाले आज अरू दिनभन्दा धेरै दूध दुहे जसको परिणाम बाच्छो रातचरि कराइर्हयो । सपनामा भगवान प्रकट भए र के यही धर्म हो भनेर सोधेको र रातभरि पछुताएको कुरालाई देखाएर कथाले हामी धर्म गर्ने वहानामा अर्कालाई कति दुख दिन्छौ भन्ने कुराको पुष्टि यो कथाले गरेको छ ।

अपसोच – आजको देशलाई राम्रो बनाउन विभिन्न रंग लगाउँदा नक्शा त बन्यो तर, रंग समायोजन हुन सकेन उसले फेरि अर्के रंग मेट्ने योजना बनायो तर त्यसबेलासम्म देशको रेखाचित्र हराइसकेको थियो । यस कथाले आज हामीले बनाउन खोजेको देश कस्तो हो र त्यो कहिले बन्छ भनी देश बनाउने जिम्मा लिएका प्रतिनिधिलाई कुटिल प्रश्न गरेको पाइन्छ ।

प्रजातन्त्र – एउटा पीलललाई गमलामा रापेको हुन्छ । उसले प्रजातन्त्रमा त सबै स्वतन्त्र हुन्छन् । मलाई किन गमलामा रोपेको भनेर प्रश्न गर्छ, त्यो कुराले उसलाई नमीठो लाग्छ र उसले त्यो पीपललाई चौतारीमा लगेर रोपिदिन्छ, उता मानिसहरू कुरा गर्न थाल्छन् – त्यो पापी रहेछ घरमा मान्छे आएको पनि डाहा गर्ने भन्ने शब्द सुन्छ । उसले मानिसको द्वैध चरित्रलाई उजागर गरेको छ ।

 

डम्बर रसिक भारती

आर्दशतामा यथार्थतालाई द्वन्द्वका माध्यमबाट अभिव्यक्ति दिन खप्पिस रहेका स्रष्टा हुन् । व्यक्तिगत र सामाजिक यर्थाथतालाई बुद्धिमतापूर्वक प्रस्तुत गर्ने क्षमता रहेका स्रष्टा हुन् । यिनका लघुकथामा रहेका विषयलाई यसरी हेर्न सकिन्छ ।

टिप्पणी – हाम्रो समाज कस्तो छ भने अरुलाई खराब देखिरहेका हुन्छौ तर स्वयमलाई थाहा हुँदैन कि म कस्तो मान्छे हुँ भन्ने बारेमा ।

अभिनयहरू – आजको मान्छे बाह्य रूपमा सहयोग गर्न खोजे जस्तो त गर्छ भित्रि आसय भने उसलाई धोका दिनु वा भ्रममा राख्न हो र आफ्नो स्वार्थपूर्तिको लागि सहज वातारण बनाउन खोज्छ भन्ने कुरालाई यो कथाले विषय बनाएको छ ।

बुद्धिमापन यन्त्र – आजको समाजमा मानिसहरू पढे लेखेको छु, म त बुद्धिमान मान्छे हुँ भन्ने कुरा त सोच्छ तर, यर्थाथतामा र व्यवहारिक रूपमा त उसको बुद्धि झनझन घट्दै गएको अवस्थलाई यो कथाले देखाएको छ ।

भङ्ग भएको अपेक्षा – राम्रो पुरुषका लागि आतुर रहेकी युवती म त बन्ध्याकरण गर्न जानलागेको भन्ने पुरुषको आवाज सँगै आफूलाई जडवत बनाएकी छे । यस कथाले मातृवात्सल्यको चाह महिलाहरूमा कति छ भन्ने देखाउन खोजेको छ ।

दानवीर – यस कथाले जसले जे जसरी धन कमाओस् त्यसको मतलव नभएको आजको युगमा धेरै दान गर्ने र रवाफपूर्ण जिन्दगी जिउने मात्र समाजका मान्य ब्यक्ति हुन । दुख गरेर धन आर्जन गर्नेहरू तुच्छ हुन भन्ने कुरालाई संकेत गरेको पाइन्छ ।

 

सिन्धु गौतम

समाजमा रहेका विविध पक्षलाई फरक तरीकाले मिहिन रूपले केलाउने कविता र लघुकथामा कलम चलाउने स्रष्टा हुन् । मानिसको आवरणभित्रको मान्छेलाई टेलिस्कोपले भित्री भाग हेर्ने र त्यसको चिरफार गर्ने क्षमता यिनका लघुकथामा पाइन्छ । यिनका लघुकथामा रहेका विषयलाई यसरी हेर्न सकिन्छ–

सेतो कोट – सरकारी अस्पतालमा र निजी अस्पतालमा डाक्टरले बिरामीलाई गर्ने व्यवहारको तुलना यो कथाले गरेको छ ।  मान्छेलाई स्थान र सिद्धान्तले कसरी अन्धो बनाउँछ भन्ने कुराको तुलना गरेर हाम्रो समाजको स्पष्ट चित्र दिएको छ ।

नियमपालना – सडक सुरक्षाको योजना बनाएका प्रहरीहरूको सचेतना बोर्ड राखेको गाडीमा नै  ट्राफिक प्रहरी पनि झुन्डिएर यात्रा गरेको अवस्था छ । यहाँ नियम बनाउनेले नै नियमको परिपालन गर्दैन भने अरूबाट के आशा गर्न सकिन्छ भनेर तिखो व्यंग्य प्रस्तुत गरिएको छ ।

प्रच्छन्न रहस्य –आजको समाजले पैसालाई ठूलो मानिरहेको छ। तर, त्यो पैसा कसरी आउँछ । त्यसका लागि केके त्याग गर्नुपर्छ भन्ने कुराको विचार हामी गर्दैनौ । परिवारभन्दा ठूलो हुँदैन पैसा भन्ने कुरालाई यो कथाले देखाएको छ । 

संस्कृति – आयातित संस्कृतमा हामी यसरी डुबेका छौ कि हामीले आफ्ना मनाउनुपर्ने चाडवाड र रीतिथिति सबै भुल्दै गएका छौ र पाह्चात्यतालाई मनाउँदै गएको आजको युगको अवस्थालाई यहाँ प्रस्तुत गरिएको छ।

बहाना –  बहानाको पनि सीमा हुन्छ । यो वा त्यो बहाना गर्दा जसको माग पूरा नहुँदै जीवन गयो भने त्योभन्दा ठूलो पश्ताचाप अरू केही हुन सक्दैन भन्ने कुरालाई सरल तरीकाले पुष्टि गरेको छ ।

 

सुषमा मानन्धर 

 

 परिवेशको राजनीति र मान्छेका कमजोरीलाई आफ्नो लेखनको आधार क्षेत्र बनाएर लेखनकार्य अघि बढाउने यिनको पछिल्लो समय लघुकथामा धेरै लगाव रहेको पाइन्छ । समाजका समस्यालाई सियोले काँडा झिकेंझैं बिस्तारै घोचेर काँडा निकाल्ने यिनको क्षमता कलात्मक छ । यिनका लघुकथामा रहेका विषयलाई यसरी हेर्न सकिन्छ –

फोटो पदर्शनी – हामीले बुझ्दै आएको शहीदको परिभाषा र द्वन्द्वमा मारिएका शहीदहरू बीचको फरकलाई तुलनात्मक तरीकाले प्रस्तुत गरिएको छ ।

बन्दमा – हामीले गर्ने गरेको बन्द – हडतालको असर के हुन्छ भन्ने कुरालाई देखाइएको छ । हामी आफ्नो स्वार्थका लागि बन्द–हडताल त गर्छौ तर, त्यसले जनजीवनका के कस्ता समस्याहरू ल्याउँछ भन्नेबारे हामी सचेत नभएको कुरालाई औँल्याइएको छ ।

घाम – शहरमा अग्ला भएका घरहरूले होचो घरको छतलाई छेकेजस्तै गरीबीले आम नेपालीलाई किचिरहेको र अरूको खुशीका लागि बाच्न विवश र टाढाको न्यानोलाई आफ्नो ठान्नु परेको विवशतापूर्ण जीवनको चित्रण गरिएको छ ।

तीतो सत्य – पदमा रहेका बेला भेट्न चाहनेहरू पदविहीन अवस्थामा उसका लागि समय नभएको बाहना बनाउन थालेका छन् । हाम्रो समाज शक्तिको पछाडि कसरी दौडिन्छ र शक्ति नभएकाहरू कसरी निरीह बन्छन् भन्ने कुरा यहाँ प्रस्ट पारिएको छ।

औँठी – लोभको परिणाम कस्तो हुन्छ भन्ने कुरा औँठीका माध्यमबाट प्रस्तुत गरिएको छ ।  सय रूपैयाँको आँठीका लागि आफूले लिएको लक्ष्यमा आत्मग्लानि भएको देखाइएको छ ।

 

श्रीराम राई  

बालकथा, कविता, गीत र लघुकथामा कमल चलाउँदै समस्यामूलक विषयलाई आफ्नो विषयबस्तु बनाउन रुचाउँछन् । समाजमा सुनिनेभन्दा फरक पात्रको नाम चयन गर्नु र गाउँले परिवेशलाई जग मान्ने लेखकीय क्षमताका कारण अरू लेखकभन्दा फरक शैली अपनाएको पाइन्छ । जीवनलाई निकै नजिकबाट नियालेका यिनीले समाजमा हुने दाउपेच र अहमतालाई सचित्र प्रस्तुत गर्ने गरेका छन् । यसै कारण आफूलाई छोटो समयमा स्थापित गराउन सफल रहेका प्रखर स्रष्टा हुन् । यिनका लघुकथामा यस्ता विषयहरू प्रस्तुत गरेका छन् ।

नयाँ नेपाल – गरीब र निमुखा जनतालाई दिइने राहतमा समेत टाठाबाठाको चलखेल भएको कुरालाई व्यंग्य गरिएको छ । यहाँ सबैको लक्ष्य भनेकै मौकामा लुट्नु हो र आफूलाई आवश्यक पर्ने सरजामको समयमा नै जोहो गर्नु हो भनिएको छ । यति गरिएन भने आफ्नो शाखलाई कसरी बचाउन सकिन्छ भने संवादले कथा चोटिलो बनेको छ । यो नयाँ नेपालको एउटा पाटो हो भनेर आजको विकृतिलाई औँल्याइएको छ ।

सेतो सल – परदेसिनु आजको हाम्रो बाध्यतालाई पीडासँग साक्षत्कार गराएर कथाले भगवानलाई झुट्टा सावित गर्न खोजेको छ । म त कालिगढको सीप मात्र भएको हुनाले आफूसँग कुनै आशा नराख्न सुझाएर भगवानले केही गर्दैन भन्ने नास्तिकतालाई देखाएको छ । जे गर्नु छ आफैमा धर्य स्थापना गरेर चुनौतीको सामना गर्दा मात्र लक्ष्यमा पुगिने कुराको सन्देश यो कथाले बोकेको छ ।

मन – मानिस स्वार्थी छ । ऊ हरेक कुरा आफ्नो फाइदाका लागि गर्छ । तर, जब आपतविपत आइलाग्छ त्यसबेला मानिस आफै सामाजिक बन्छ र सबैसँग मित्रवत् हुन्छ । यो परिवेशले सिर्जना गर्छ, मानिसको चाहनाले हैन भन्ने कुरालाई यो कथाले औँल्याएको छ ।

सम्मान पत्र – आर्दशमा बाँचेको समाजभन्दा व्यवहारमा बाँचेको समाज नै वास्तवमा मानवीय समाज हो । यो कथा हाम्रो समाजमा सम्मानको अपमान कसरी गरिदै आएको छ भन्ने कुरालाई उजागर गरेको छ । यहाँ सम्मान – पत्रले योगदानको कदरलाई मापन गरे पनि भावनालाई मापन गर्न नसकेको कुरालाई उजागर गरिएको छ ।

स्वार्थ –  धान र सामाका माध्यमबाट समाजमा रहेको स्वार्थी प्रवृतिलाई देखाइएको छ । धान गोड्दा उखेलिने डरमा रहेको सामा वरवर मामा भन्दै आफूलाई जोगाउन अनुरोध गर्छ र मंसिरमा धान काट्दा आफू काटिन्छु भनेर परपर है मामा भन्ने संवादद्वारा आजको स्वार्थी समाज कस्तो छ भन्ने कुराको चित्रण गरिएको छ । मानिस यति स्वार्थी छ कि अप्ठ्यारोमा अनुनय,विनय  गर्छ त अर्काको समस्यामा अभिनय गर्छ ।  यही चरित्र यहाँ प्रस्तुत गरिएको छ ।

यसरी हेर्दा कथाहरूले समाजले भोगेको द्वन्द्व, पीर, व्यथा र अभावको कथा छ  भने कतै वैज्ञानिक युगमा मानवीय चेतको चाहलाई समेत कथाले प्रस्तुत गरेको पाइन्छ । यी कथाहरू समाजका प्रतिनिधिमूलक कथाहरू हुन् । यी कथाभित्र समाजले भोगेको वातावरणको चित्रण पाइन्छ ।

प्रकाशित: २५ पुस २०७७ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App