३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

नजन्माएको छोरो

कथा

खेमराज पोखरेल

जानकी मन्दिर अगाडि मैले उर्मिलालाई देखेँ । ऊ एउटा टुकुटुकु हिँड्ने बच्चालाई डोर्याइरहेकी थिई । बच्चाको अर्को हात एउटा लोग्ने मान्छेले समाएको थियो । अचम्म ऊ त पहिलेभन्दा राम्री र भर्खरकी देखिएकी थिई । मैले अन्दाज गरेँ । उसले बिहे गरी अरे भनेको सुनेको थिएँ । गरिहोली । पक्का पनि त्यो लोग्ने मान्छे उसको श्रीमान् हुनुपर्छ । म आफ्ना साथीभाइ छोडेर ऊ भएतिर गएँ । मैले भनेँ– ‘ए, उर्मिला, मलाई चिनिनौ ?’

उसले हस्याङफस्याङ गर्दै हतारिएर भनी– ‘ए सर पो, नमस्कार, कहिले नेपाल ?, अमेरिकामा बस्नुहुन्छ भनेको सुनेकी थिएँ।’

‘अँ हो, एक महिना भयो नेपाल आएको । अहिले जानकीको दर्शन गर्न भनेर आएको।’

उसले त्यो लोग्ने मान्छेतर्फ फर्केर भनी– ‘उहाँ मेरो श्रीमान्’ र मतिर फर्केर भनी– ‘उहाँ सर, पोखराको । कृषि विकासको हाकिम सर के त । अहिले जागिर छोडी अमेरिकामा बस्दै हुनुहुन्छ ।’

म चुप लागेर उभिइरहेँ । उसैले आफ्नो छोरालाई भनीः ‘बाबु, नमस्ते गर सरलाई’

बच्चाले बडो फुर्तीले ‘नमत्थे सल’ भन्यो ।

उसले मलाई सोधी– ‘हजुर सपरिवारै अमेरिकामा हो ?’

मैले भनेँ– ‘हो उतै छौँ।’

उसले फेरि सोधी– ‘छोराछोरी कति भए ?’

मैले उसको अनुहार नहेरीकनै भनेँ– ‘छैनन्, भएनन्’

उसले तत्क्षण नै ‘सरी’ भनी ।  

मैले कुरो घुमाउन उसलाई भनेँ– ‘केही छैन ।  अनि तिम्रो घर यहीँ हो ?’  

‘हजुर हो, रामानन्द चोकमा छ । जाऊँ न’

‘अहिले होइन, साथीभाइ छन्, फेरि कहिले है त’ मैले फुत्कनँ खोजेँ त्यहाँबाट । उसको छोरो मलाई ‘बाइ, अङ्कल’ भन्दै थियो ।

                          –                        –                   –

म उडिरहेको थिएँ । उडिरहेको थिएँ । फगत उडिरहेको थिएँ । कतार एयरबाट दोहा जाँदै थिएँ । त्यहाँबाट अमेरिकाको ह्युस्टन । तर, म आफ्नै जीवनसँग उडिरहेको थिएँ । खोई म सग्लै थिएँ कि खण्ड उडेको थिएँ, मलाई नै थाहा थिएन । काठमाडौँबाट दोहा । जहाजको सिटमा पर्लक्क पल्टिएँ । जहाजमा नेपाली कामदारहरू टनाटन थिए । मागीमागी बियर खाइरहेका थिए । मातिएका थिए । मनपरी बोलिरहेका थिए । होहल्ला थियो । एयर होस्टेज उनीहरूलाई केही भनिरहेका थिए । सायद गाली गरिहेका थिए । मलाई लाग्यो यिनीहरू सायद नेपालीलाई नै गाली गर्दा हुन् । नेपाललाई नै गाली गर्दा हुन् । जहाज आफ्नै गतिमा उडिरहेको थियो । खोई मैले किन हो बसेको सिटबेल्ट खोलेँ र उभिएर नेपाली भाषामा कराएँ– ‘नेपाल र नेपालीको इज्जतको त ख्याल गर्नुस् । यो विदेशी भूमिमा नेपालको इज्जत कृपया जोगाउनुहोस् ।’

म उठेर कराएको देखेर एकछिन सन्नाटा छायो । एयर होस्टेजहरू पनि टुलुटुलु हेर्न थाले । तर, तत्क्षण एउटा नेपालीले उत्तर फर्कायो । ऊ मातिएको थियो–  

‘सर हजुर, हामीलाई नेपालले के दियो ?, बिहे भएको छ महिना भएको छ, छोडि आउनुपर्यो । अलिअलि हँसीमजाक गरेरै जीवन काट्नु पर्यो नि सर । मरिन्छ कि बाँचिन्छ थाहा छैन । हजुर पो ठूलो मान्छे होला । अमेरिका हिँड्नु भएको होला । हामीजस्तो खान नपाएर हिँड्नुभएको त होइन । धुवाँधुलो भयो भनेर हिँड्नुभएको होला  ।’

म झसङ्ग भएँ । हो त नि, म बसाइँ सरेर नै अमेरिका गइरहेको छु । गइरहेको छु । देश छोडेरै गइरहेको छु । उतै बस्ने योजनामा गइरहेको छु । उनीहरू त पैसा नेपाल पठाउँछन्, म नेपालबाट नै अमेरिका लैजान्छु । उनीहरू नेपालको अर्थतन्त्र टिकाउँछन् म खोस्रिन्छु । कसले नेपालको इज्जत डुबायो ? उनीहरूले कि मैले ?, कसले नेपाल डुबायो ? उसले कि मैले ? म चुप लागेँ ।

मेरो मनले एकाएक भन्यो– ‘बिचरा नेपाल, अभागी नेपाली’ ।

दोहामा ओर्लेपछि ट्रान्जिटमा बसेँ । विकास हेरेँ । मान्छेले भनेको सुनेको थिएँ । मरुभूमिमा बनेको हो शहर । यो हरियो शहर । यो विकसित शहर । यी गगनचुम्बी महलहरू । मैले छोडी जान लागेको मेरो देश सम्झेँ । खोई किन सम्झेँ कुन्नि ? हरियो वन सम्झेँ । सक्कली पहाड सम्झेँ । नेतालाई सम्झेँ । पिच्च थुक्न मन थियो । यहाँ त थुक्न पाइन्न नि ।  

                                                           –                    –                        –  

अबुई यो कत्रो जहाज, यो कसरी उड्छ होला ? म भीमकाय जहाजभित्र छिरेँ । मान्छे सिट खोजिरहेछन् । बसिरहेछन् । शान्त छ यो कोलाहल । अचम्म मान्छे कोही बोल्दैनन् । जहाजले उचाइ लियो । चिसो भयो । एउटा बर्काे आयो । बर्कोभित्र म खाँदिएको छु । स्क्रिनमा सामुद्रिक जीवन देखाइरहेको छ । र घरीघरी हामी कति किलोमिटर माथि उडिरहेका छौँ, कति स्पिड छ, कति बाटो हिँडियो, कतिबेला गन्तव्यमा पुगिन्छ भन्ने सूचना आइरहेको छ ।  

बेरिएको बर्कोभित्र म छु । मभित्र जोडदार रूपमा उर्मिला उभिएकी छे । उफ, त्यो क्षण । मलाई उर्मिला भन्दै थिई– ‘सर विश्वास गर्नुस्, म तपाईँको परिवारलाई हानीनोक्सानी गर्दिनँ । मलाई तपाईँको अंश पनि चाहिन्न । मेरो जागिर छँदैछ । गरेर खान्छु । केबल एउटा सन्तान जन्माइदिनुस् । प्लिज सर ।’

मैले भनेँथेँ– ‘हुँदै हुन्न उर्मी, मैले तिमीलाई पहिले नै भनेको थिएँ । पहिले नै बुझाएको थिएँ । यो यौन सम्पर्क मात्र हो । यो रमाइलो मात्र हो । बरु म तिमीलाई जीवनभर पाल्छु ।’

‘प्लिज सर, म मेरो भविष्य सुरक्षित चाहन्छु । म हजुरकी छु । भइरहने छु । म एउटा बच्चा पाउन चाहन्छु ।  एउटा सन्तान ।’

मैले भनेँथेँ– ‘यो असम्भव छ । म मैले बाँचेको संसारमा म पत्रु हुन्छु । सकिन्छु । म यो गर्न सक्तिन । तिमी बाटो परिवर्तन गर्न सक्छ्यौ।’

‘म तपाईँसँग बिटुलिइसकेकी छु । म मनले दिमागले बुद्धिले र परिवेशले तपाईँकी भइसकेकी छु । म अहिले आएर बाटो परिवर्तन गर्न कहाँ सक्छु र ?’

ऊ निराश देखिएकी थिई । ऊ क्रोधित पनि भएकी थिई । उसले मलाई भनेकी थिई–  तपाईँ मेरो प्रस्ताव मान्नु हुन्न भने म त्यसै पनि बर्बाद हुन्छु । उसै पनि बर्बाद हुन्छु । म त उजुर गर्छु । मेरो बैँससँग खेलवाड गरेर पेट बोकाएर अहिले भाग्न पाइन्न । म मेरो अधिकार लिन्छु । म क्षतिपूर्ति लिन्छु । सामाजिक सञ्जालमा तपाईँको बेइज्जत गर्छु ।’

                                                    –                     –                       –  

  एयर होस्टेसले मेरै नजिकमा आएर ‘ड्रिङ्क्स प्लिज’ भन्दा म झसङ्ङ भएँ । केही स्न्याक्ससँग डबल पेग ह्विस्की लिएँ । शान्त र बिलकुल शान्त वातावरण थियो र म ह्विस्की खाँदै थिएँ शान्त वातावरणमा । यो मेरा लागि नौलो थियो । मुखमा हालेपछि हल्ला गर्ने संस्कृतिमा हुर्केको म यो पक्कापक्की नौलो थियो मेरा लागि । म सोचिरहेको छु र ह्विस्कीले मलाई झन ‘सेन्टिमेन्टल’ बनाइदिएको छ । म फेरि उर्मीलाई सम्झँदै छु । ऊसँग पोखरामा चार वर्ष बिताएका यौनिक दिनहरू, रातहरू, साँझहरू, बिहानहरू वा मौका परेका हरेक क्षणहरूको याद आइरहेको छ । कै मैले उर्मीलाई धोका दिएँ ? मैले पहिलो शारीरिक सम्पर्कभन्दा पहिले नै भनेको थिएँ । प्रस्टा प्रस्टी भनेको थिएँ । मैले कतई ढाँटेको थिइनँ । मैले उसलाई भनेको थिएँ– ‘उर्मी तिमी बुझ, म श्रीमतीलाई गाउँमा छोडेर आएको एउटा यौन प्यासा हुँ । मेरी श्रीमतीसँगै हुँदा पनि म प्यासा नै हुँ । यो मामलामा म अभागी हुँ । म मेरो पदीय मर्यादाले चहार्न पनि सक्दिन । तिमी छत्तिस वर्षकी भइसक्यौ । भन्छ्यौ ‘अहिलेसम्म भर्जिन छु’, केका लागि ? कस्का लागि ? यो बैँस ओइल्याउँदै छ्यौ उर्मी ?, तिमीले बिहे गर्यौ भने पनि तिम्रो त्यो लोग्ने भर्जिन हुन्छ ?’

मेरा कुराले ऊ एकतमासकी भएकी थिई । आँखाबाट आँसु चुहिएलाजस्तो भएको थियो । ऊ केही बोलेकी थिइन् । उसले मेरा कुराको प्रतिवाद गरेकी थिइन । मलाई लागिरहेको थियो उर्मी पग्लिँदै छे । उसले सुस्तरी भनेकी थिई– ‘शिक्षाको सुब्बा साहेबले गाउँमा श्रीमती छोराछोरी हुँदाहुँदै यहाँ कान्तालाई श्रीमती बनाएरै राख्नुभएको छ त ?, पोहोर साल मात्र उसले छोरो पनि पाएकी छे, ए।’

मैले प्रस्ट भनेको थिएँ– ‘म त्यसो गर्न सक्तिन। ऊ सुब्बा हो, म उपसचिव हुँ।’

ऊ त्यस दिन निकै उदाश देखिई । वास्तवमा ऊ अलि चुलबुले स्वभावकी केटी हो । उसको यही चुलबुलेपन नै मलाई मन परेको थियो । म उसलाई अनावश्यक प्रलोभन दिन चाहँदिनथेँ । ऊ उदाश भएर मेरो क्वार्टरबाट गएकी थिई । मैले उसलाई परपरसम्म हेरेको थिएँ । उफ, ऊ किन आमा हुन चाहन्छे ? मैले उसलाई बच्चाबाहेक सबै थोक दिन्छु भनेकै थिएँ । नामबाहेक अरू कुरा दिन्छु भनेकै थिएँ । किन यी स्वास्नी मान्छेहरू आमा बन्न आतुर हुन्छन् ? किन ऊ दोधारमा छे भन्ने कुराले मलाई सताइरहेको थियो । मलाई लागेको थियो । अब ऊ मेरो क्वार्टरमा कुनै बहानामा पनि आउन्न ।

भोलिपल्ट शनिबार थियो तैपनि ऊ अफिसमा काम गर्न भनेर आएकी थिई । ओभरटाइम । एक घन्टापछि ऊ मेरो क्वाटरमा आएकी थिई । म एक्लै थिएँ । ऊ सोफामा बसेकी थिई । म पनि ऊ नजिकै गएर बसेको थिएँ । म लगभग टाँसिएरै बसेको थिएँ  । ऊ पर सरिन । तर, तत्क्षण उठेर भित्र भान्सामा गई र चिया पकाएर ल्याएकी थिई । उसले मेरो भान्साकोठा पहिले पनि जानेकी थिई ।

 चिया मलाई दिएर ऊ मेरो बैठक कोठाको लो बेडमा बसेकी थिई । मैले नजानिदो पाराले झ्यालका पर्दाहरू लगाएको थिएँ । ढोकामा चुकुल लगाएको थिएँ र ऊ नजिक लो बेडमै बसेको थिएँ । मैले उसलाई यसो के अँगालो मात्र हालेको थिएँ, उसले आफ्नो टाउको अनायासै मेरो काखमा राखेर रुन थालेकी थिई । मैले बिस्तारैबिस्तारै उसलाई सुम्सुम्याउन थालेको थिएँ । ऊ सुधी गाईजस्तै मसँग न्योछाबर हुँदै थिई । मैले उसको बाहिरी पत्र खोलेको थिएँ  र हामी चरम आनन्दतर्फ उन्मुख थियौँ । ऊ पटकपटक भन्थी– ‘सर, पत्याउनुस् है म भर्जिन हुँ ।’

मैले भनेँथेँ– ‘के फरक पर्छ र उर्मी ? तिमी भर्जिन हुनु र नहुनुमा, समान हो, यसमा तिमी किन व्यर्थ चिन्ता गछ्र्यौ ?, म त भर्जिन होइन त, किन भर्जिन चाहियो ?’

उसले स्वाँस्वाँ गर्दै जवाफ दिएकी थिई– ‘मलाई फरक पर्छ, तपाईँले मलाई भर्जिन ठान्नुभयो भने मलाई वेश्या भन्नु हुन्न।’

म बल्लबल्ल पाएको स्वर्गीय आनन्द पूरापूर उपयोग गर्दै थिएँ । ऊ फेरि भनिरहेकी थिई– ‘सर, प्लिज सर, म भर्जिन हुँ । यो मेरो पहिलो हो ।’

उसले भर्जिनको प्रमाणपत्र तन्नाभरि छोडेकी थिई । उसले नै तन्नालाई धुने ठाउँमा राखिदिएकी थिई । मैले कन्डमलाई डस्टविनमा फालेको थिएँ । 

त्यसपछि ऊ मेरी भई । याने मेरी रखेल भई । याने मेरी भई माने के भई ? स्वास्नी ? प्रेमिका ? अर्धाङ्गिनी ? । अहँ केही भइन । मेरो भोगको साधन बनी । अफिसमा कुरा काट्थे । ऊ सुन्थी होली । म सुन्थे । कुरा पचाउथ्यौं । बेलाबेला ऊ भन्थी–  ‘सर, एउटा छोरा पाऊँ न।’

म जहिल्यै भन्थेँ– ‘नाइँ !’

एकदिन उसले सहबासपछि भनी– ‘कन्डम फुटेछ सर ।’

एकमहिनापछि उसले भनी– ‘पर सरिनँ सर ।’

मैले भनेथेँ– ‘औषधि खाऊ ।’

अर्को महिना भनी– ‘जँचाएका,े गर्भ बसेछ सर।’

मैले भनेको थिएँ– ‘एभोर्सन गराऊ।’

उसले भनेकी थिई– ‘भू्रणहत्या गर्दिनँ ।’

– – –  

जानकी मन्दिरको पवित्र प्राङ्गणमा उर्मीसँग छुट्टिएपछि मैले सरासर वेलकम होटलमा जान चाहेँ । साथीहरू भन्दै थिए– ‘बाह्रबिघे पुगिएकै छैन, राजदेवी त जानैपर्छ नि।’

मैले भनेको थिएँ– ‘जाऊ यार तिमीहरू, मलाई टाउको दुखेर आयो, यो हावापानी सुट गरेन । म होटलमा आराम गर्छु ।’

म होटलको कोठामा पल्टिएको छु । उर्मी दिमागभरि छरिएकी छे । त्यो छोरो ।मेरो मन मलाई भनिरहेको छः ‘थुक्क लाछी, त्यो छोरो तेरो हुन पनि सक्छ । उर्मीले तँलाई विश्वास गरी । भर्जिन सतित्व सुम्पी । तँ साले भागिस् । नामर्द भएरै भागिस्। ’

फेरि म सोच्दै छु । मैले गल्ती त गरेँ । कहाँनेर गरेँ ? के मैले यौन प्यासा भएरै बस्नुपथ्र्यो ? के मैले सुस्त, शुष्क, श्रीमतीलाई सौता हाल्नुपथ्र्यो ? के मैले नेपालै बसेर उर्मीले गर्ने मिडियाको बेइज्जती खप्नुपथ्र्यो ? के मैले भाग्न हुन्नथ्यो ?

तत्क्षण नै मेरो अन्तरमा एउटा कुरा आयो । हो मैले प्यासा नै बस्नुपथ्र्यो । कति मान्छे अभिशप्त प्यासा बसेकै छन् त ए, म मात्र पहिलो हो र ! अनि मैले अग्निसाक्षी राखेर ल्याएकी श्रीमतीको लोग्नेलाई त बेचेँ नि ? मिडियाको बेइज्जती पहिलोपल्ट मै्रले खप्नुपर्ने थियो त ?, देशै छोड्ने ? । म नालायक हुँ । 

अनि फेरि म मजाले हिँडने उर्मीको छोरोलाई सम्झिरहेको छु । उर्मी । हे उर्मी । म एकाएक चिच्याएँ छु– ‘ए उर्मी, त्यो मैले जन्माएको छोरो हो कि नजन्माएको छोरो हो ?’

प्रकाशित: २३ पुस २०७७ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App