रञ्जुश्री पराजुली
रमेश शर्माका बाजे झारफुक र वैद औषधि गर्द थे । उनले पनि त्यो व्यावसाय बाबुबाजेबाट नै पाएका रे । बाबा पनि त्यही गर्दै थिए । तर, उनको पिढीमा आएपछि त्यो पेशा पूरै बन्द भयो ।आधुनिक जमानामा पनि कस्ले झारफुकमा विश्वास गर्छ भन्ने सोचेर उनले त्यो पेशा अपनाएनन्।
एक वर्ष देखि विश्वलाई नै महामारीको चपेटामा पारिरहेको कोभिड उन्नाइसको महामारीले चौतर्फी संत्रास फैलाएको थियो । यो बेला व्यावसाय गर्ने राम्रो मौका हो । बाजे – बराजुको पालादेखि पुस्तौनी रुपमा चल्दै आएको झारफुक र जडीबुटीको औषधिको व्यवसाय किन नगर्नु । मलाई पत्याउँछन् पनि भन्ने सोचेर शर्माजीले सहरको डेराको घरमा आफ्नो ढोकामा यहाँ सुपथ मूल्यमा कोरोनाको औषधि पाइन्छ भनेर लेखेर के झुन्ड्याएका मात्र थिए झारफुक र औषधि किन्नेको लाइन लाग्यो । लाइनमा बस्नेहरू अस्पतालमा परीक्षण गर्न मात्र हजारौं रुपैयाँ खर्च लाग्छ। यहाँ जडीबुटीबाट बनेको सरल केही साइड इफेक्ट नगर्ने दबाई सुपथ मूल्यमा पाइन्छ भनेर हामी टाढादेखि आएका हौ भनेको सुनिन्थ्यो । कतै चिन्न सके त झारपात सबै औषधि हुने रहेछ भन्ने सुनिन्थ्यो । बिरामीलाई उपचार गर्न पाएर शर्माजी दङ्ग परेका थिए ।
साँझ पर्नेबित्तिकै बूढीलाई जा अहिले बाहिर सुनसान छ । दायाँबायाँ हेरेर छेउछाउतिर उम्रिएको झारपात उखेलेर ल्या ।बनाएर राखेको कोरोनाको दबाई धेरै बाँकी छैन । बिरामीको चाप दिन प्रतिदिन बढ्दो छ । औषधि छैन भनेर घरमा आएकी लक्ष्मी मातालाई फर्काउन भएन भनेर झार खोज्न पठाउँथे ।
मध्यरातचाहिँ त्यो दिनको आम्दानीको हिसाबकिताब राख्दथे । यसरी कोरोना उनको लागि टक्सार बनेको थियो। मान्छेहरू अलिकता रुघा लाग्नेबित्तिकै उनकोमा जँचाउन आउँथे । कोही धन्य तपाईको उपचार । तपाईको दबाईले मलाई बचायो भन्थे । कोही यिनी नक्कली वैद जस्ता छन् । हाम्रो टोलका दुई जना यिनको दबाई खाएर पनि निको नभएर अस्पताल लगेको थियो । उतै मृत्यु वरण गरे भनेको सुनिन्थ्यो ।
घरबेटी पनि शर्माजीको व्यवसाय फलेफुलेको देखेर यिनको कोठाभाडा बढाउने ठिक बेला यही हो भन्ने सोचिरहेका थिए। तर त्यही दिन उनको घर अगाडि एम्बुलेन्स आएर शर्माजीलाई अस्पताल लिएर गयो । कोरोना उपचार गर्ने शर्माजीलाई कोरोनाले नै गाँजेर मृत्युुको मुखमा पुरयाएको खबरले उनीसँग उपचार गराउने सबै बिरामी लगायत घरभाडा बढाउन उद्द्यत घरबेटीका परिवार सबैलाई क्वारेन्टिनमा बस्न वाद्य तुल्यायो ।
प्रकाशित: २३ पुस २०७७ ०५:४० बिहीबार