३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

खल्लो ममता

कथा

सरण राई

“म पैसा कमाएर आउँछु ।”  

ऊ पाँच वर्षको हुँदा आमाले आँखाभरि आँसु पारेर जानेबेला भनेकी कुरा उसले कहिल्यै बिर्सन सकेन । बाल्यकालभरि सधैं सम्झिरह्यो, सम्झिरह्यो । सम्झदासम्झदा ढुङ्गामा खोपिएको अक्षरझैँ उसको बालमस्तिष्कमा अमिट भई बसेको हुँदा जीवनपर्यन्त बिर्सन सकेन।

आमाबुबाको कानुनी रूपमा नै लोग्नेस्वास्नीको सम्बन्ध –विच्छेद भइसकेको कुरा सानो छोरोलाई के थाहा?आमा गइसकेपछि एक्लो पिताले एकापट्टिको काँधमा उसलाई र अर्कोपट्टिको काँधमा झोला बोकेर डुलाएको उसलाई हिजैजस्तो लाग्छ ।

बाल्यकालमा ऊ प्रत्येक बेलुकी आमा आएकी छिन् कि भनेर स्कुलबाट फर्केपछि घरभरि खोज्थ्यो । आमा आउँछिन् भनेर सदैव पर्खाइमा हुन्थ्यो ।

कोपाकोमा (बाजेबोजु), देवा (बडाबा) र अरू परिवार सहरमा बस्थे भने आमा, बुबा र ऊ तीनजना देहातको खेतीमा बस्थे । आमाले छाडेपछि ऊ र पिता दुई जना मात्र एक्लो भए । गाउँघरको चलन, उसमाथि आमाले छाडेको उसलाई सबैले माया गरेर खानेकुरा दिन्थे । घरमा आमा नभए पनि ऊ कहिल्यै भोको हुँदैनथ्यो । पिताले पनि राम्ररी नै स्याहारिरहेका थिए ।

आमाले पहिला डुलाएका ठाउँहरू मावलीघर, पहाडको चियाबारी र अन्य ठाउँहरूमा आमालाई खोज्न ऊ जान चाहन्थ्यो । उसले जिद्धी गरेपछि पिताले उसलाई चियाबारी र अन्य ठाउँहरूमा लगे । ती ठाउँहरूमा आमा भेटिएनन् । मावलीघर भने पिताले लगेनन् । मावलीघर वा अन्य कुनै ठाउँमा आमा होलिन् भन्ने उसलाई लागिरहन्थ्यो ।

खेतीमा बाबु छोरा दुई जना मात्र एक्लो भएकाले उनीहरू पनि शहरमा कोपा, कोमा र देवाहरूसँगै बस्न थाले । ऊ स्कूल पनि शहरमा नै पढ्न थाल्यो । त्यो बेला उसलाई लागिरहन्थ्यो कतै आमा गाउँखेतीको घरमा आएकी छन् कि ?

दिनभर ऊ स्कुलमा र घरमा दाजुभाइ, दिदी र साथीहरूसँग बस्थ्यो । रात परेपछि भने बाबुसँग बस्थ्यो । उसलाई डर लागिरहेको हुन्थ्यो— कतै बाबुले पनि आमाले जस्तै छाडेर जाने हो कि ! साझ पर्नासाथ“बाबु, बाबु”भन्दै रुन थाल्थ्यो । पिता खोज्न थाल्थ्यो ।

“उसको बाबुले कान्छी बिहे गर्छ नै होला । बिहे नगरुन्जेल बुबासँग बसे पनि  पछि त उसले एक्लै बाँच्ने संघर्ष गर्नैपर्छ ।” कोपा(बाजे)ले  भनेका थिए्, “बरु बोर्डिङ स्कुलमा बोर्डस राखौँ ।”

“म बाँचुन्जेल हामीसँगै बस्छ । पारिवारिक मायामोह पाउने उसको हकहो ।” कोमा(बोजु)ले कोपाको कुरा प्रतिपाद गर्दै भनेकी थिइन्, “पाँच वर्षसम्म आमाको माया चाखेको ऊ मायाको अभावमा न्यास्रिनु सक्छ । हामी सबै परिवारसँग बसेमा पारिवारिक माया पाएर केही हदसम्म ममताको अभाव क्षतिपूर्ति हुन सक्छ ।”  

ऊ कोमासँग निक्कै झ्याम्मिएको थियो । कोमा पनि ऊसँग उसकी       आमाको कुरा गर्न मन पराउँथिन् । सत्य कुरा उसले पनि झेल्न सकोस् भनेर कोमाले भनिन्, “तेरी आमा मरी । मरेको मान्छे फर्केर आउदैन ।”

चुकझैँ उसको अनुहार कालो भएको थियो । निराशाको अँध्यारोमा ऊ डुबेको देखेर कोमाले भनेकी थिई— “हामी छौँ, तँलाई आमाले छोडेको टुहुरा हुन दिदँैनौँ ।”

धेरैबेर झोक्राएर बसेपछि उसले सोधेको थियो—“कोमा, मेरी आमा मरेकी कि पोइल गएकी? साथीहरू पोइल गएकी भन्छन् ।”

“तेरो लागिदुवै कुरा एउटै भयो ।” कोमाले  भनेकी थिइन् ।  

“पोइल गएकी भए त आमा फर्केर आउँछिन् होला नि ।” उसको अनुहारमा अलिकति आशाको उज्यालो चम्किएको थियो । कोमालाई लागेको थियो उसले आमालाई बिर्सन सत्तैmन । हो पनि त्यही उमेरमा  सबैभन्दा बढी आमा चाहिन्छ ।

उसलाई बोर्डस राख्ने कुरा थाती रहन्छ, परिवारभित्रै बसेर कोपाकोमा, देवादेमा (बडाबाबडीआमा), दाजुदिदी, भाइबहिनीहरूसँगै ऊ हुर्कदै जान्छ । त्यस्तो वातावरणले उसलाई आमा बिर्सन केही मद्दत गरे पनि उसको हृदयको अन्तरकुन्तरमा आमा टाँसिएर रहेकै हुन्छ ।  

‘आमा आउँछिन्’ भन्ने आशमा उसको केटाकेटी उमेर पर्खाइमै बितेर जान्छ ।

तन्नेरी भएपछि उसलाई थाहा हुन्छ आमाअर्को मान्छेसँग पोइल गएकी रहिछिन् । आमालाई बिर्सन कर लाग्छ, बिर्सने कोसिस गर्छ तर पनि आमा हो, बिर्सन सक्तैन । समयक्रममा ऊ ठूलो हुन्छ । उसकोे पनि आफ्नो परिवार हुन्छ ।  कडा मिहिनेत गरेर समाजमा आपूmलाई स्थापित गर्छ । सम्पत्ति पनि निकै कमाउँछ ।

‘पैसा कमाएर आउँछु’ भन्ने आमालाई चेतन, अर्धचेतन अवस्थामा त सम्झन्थ्यो ।अवचेतनमनले पनि सम्झिरहेकैले होला सपनामा पनि आमालाई देखिरहन्थ्यो । प्रत्येक स्वास्नी मान्छेहरूलाई देख्दा आमा हो कि भनी कल्पिन्थ्यो । आफ्नो रमाइलानरमाइला, सुखदुःख, सफलताअसफलता, हर्षबिस्मात, संकटविपद र संघर्षका हरेक क्षणमा आमा सम्झन्थ्यो । आमाको पर्खाइमा छटपटिन्थ्यो, ‘आमा आउँछिन्’ भन्ने पर्खाइमा उसको बाल्यकाल बित्यो, युवाकाल बित्यो । उसको एक युग बित्यो ।

दाम्पत्य जीवनमा जीवनसाथी सर्वप्रियभएझैँ बाल्यकालमनानीहरूका लागि आमा सर्वप्रिय हुन्छ ।

जीवन हो । आमाले छोडेर  गएपछि बाल्यकाल स्वाभाविक सप्तरंगी हुन सकेन । बालखको लागि सबैभन्दा सुरक्षित सुखदायी आमाको काख र न्यानो ममता नपाएपछि उसको बाल्यकाल  घुर्मैलो नौरङ्गी पाराले नै बित्यो ।  

समय हो । सुख–दुःख राम्रो नराम्रो जस्तोसुकै अवस्थामा पनि नदीजस्तै जीवन जसरी पनि आफ्नै गतिमा बग्छ ... आमा भएको भए समय पनि अर्कै पाराले बगेको हुन्थ्यो कि !  

 

‘आमा भएको भए  सप्तरङ्गी रूपले बित्थ्यो कि !’ ऊ कल्पन्छ !

 

                           –       –         –         –  

         

एक साँझ उसको मोबाइलमा कल आउँछ अज्ञात नम्बर ।

“कोङहाङ, म तिम्री आमा बोल्दै छु, मैले तिमीलाई सम्झिरहेँ । भेट्न चाहेँ तर लोकलाजले गर्दा सकिनँ । आज लोकलाज पचाएर तिमीलाई भेट्न आउँदै छु । केही बेरमा आइपुग्छु ।”

रुवाइले आवाज अवरुद्ध हुन्छ ।

ऊ व्यग्रतासाथ प्रतीक्षा गरिरहेको हुन्छ । उसले ज्ञात – अज्ञात मनको अन्तरकुन्तरबाट जीवनभर प्रतीक्षा गरेको  ‘आमा हो !’ आश्चर्य, विस्मात, माया, मोह, पे्रमस्नेह, सम्मानश्रद्धा, अपनत्व, आत्मीयता, आनन्दउत्साह आदि अनेकौं भावको हुन्डरी एकसाथ ऊभित्र चल्छ । भेट्न तयार हुन्छ तर सम्झन्छ— समय बितिसकेको छ । दुःखको कुरा, अब कसैले त्यो बितेको समयलाई फर्काउन सत्तैmन । सेक्रेटरीले उसलाई खबर गर्छ “आमा भेट्न आउनुभएको छ ।”

ऊ रुन थालेको हुन्छ थाहै नपाई । नोटको गड्डीले एउटा ठूलो ब्याग भर्छ र त्यो ब्याग सेक्रेटरीलाई दिएर भन्छ “यो ब्याग आमालाई देऊ र भन कार्य व्यस्तताले मलाई आमाले भेट्न सक्नुहुन्न ।”

सेक्रेटरीलाई अराएर कोङहाङ आमालाई नभेटी जस्केलोबाट निस्केर हिँडिहाल्छ । चाहिएको बेला नपाइएको ममता  अब के काम? खल्लो ममता... जीवनभर बिर्सन नसकेको आमा ! कोङहाङ आमालाई भेट्दैन र भेट्न पनि चाहँदैन । तर, जीवनभर ममताको अभाव ! ममताको अभाव सम्झेर आँसु भने उसको आँखाबाट तुरुक्क चुहुन्छ !

  (२०७४, फागुन १४, सुमेरु अस्पताल, धापाखेल , ललितपुर ।)

प्रकाशित: २३ पुस २०७७ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App