३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

खोज

लघुकथा

लक्ष्मण अर्याल

 

भगवान् हुन्छन् रे भन्ने सुनेर एकदिन ऊ भगवानको खोजीमा हिंड्यो । उसले सुनेको थियो – भगवानले जीवन सुधार्छन् ।

पुजारीले भनेको थियो – भगवान् मन्दिरमा हुन्छन् ।

हुन त एकजना दार्शनिकले भगवान् मन्दिरमा पाइन्न । आफैंमा खोज भनेका थिए तर उसले दार्शनिकको कुरो पत्याएन । उसलाई दार्शनिकको कुरा रित्तो हात देखाएर मीठो पेडा छ झिकेर खाऊ भनेझैं लाग्यो । ऊ त भगवान् चाहन्थ्यो अनि जीवनको सुधार पनि हाताहाती चाहान्थ्यो । दार्शनिकको भनाइमा उसले जीवनको हाताहाती सुधार देखेन ।

ऊ मन्दिर पुग्यो कुखुराको डाँकसँगै । झिसमिसे उज्यालोसँगै ऊ भगवानको खोजीमा भव्य मन्दिर पुग्यो । मन्दिरमा परेवाहरू बिउँझिन लागेका थिए । उसले बाहिरैबाट बोलायो – भगवान् !

भगवान् चुइँक्क बोलेनन् । उसलाई भगवान् निद्रामै छन् कि भन्ने पनि लाग्यो । उसले फेरि बोलायो – भगवान् , ए भगवान् ।

ऊ मन्दिरभित्र पस्यो । त्यहाँ एउटा गजधम्म परेर बसेजस्तो केही देख्यो । वरपर भगवान् जस्ता अरू कुरा केही थिएनन् । उसलाई लाग्यो – अरू कुरा छैन र यही एक गजधम्मे मात्र छ भने पुजारीले भनेको जीवनसुधारक भगवान् यही होला । ऊ हाताहाती वरदानको आशामा थियो।

ऊ नजिकै गयो र फेरि बोलायो – भगवान् ! तर आवाज आएन । उसले त्यही गजधम्मेको हात छोयो, पाउ छोयो, शिर छोयो र गाला छोयो । जता छोए पनि चिसै छ, हिउँजस्तो।

उसलाई शंका लाग्यो – चिसो हुनु त जीवन होइन । कतै भगवान् । उसले मनमा एउटा अनिष्ट पाप चितायो । 

बिहान सूर्यको पहिलो आगमनसँगै उसलाई प्रहरीले घेरेर राखेका थिए मन्दिर परिसरभित्र र उसका हातमा हत्कडी लगाइएको थियो । उसमाथि संगीन आरोप थियो – भगवानको चोरी।

प्रकाशित: २२ पुस २०७७ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App