निर्मल रमण पराजुली
योध्दाहरू
युद्ध बिसाओ
घायलहरू
अब कतै नरिसाओ
जे नहुनु थियो, भयो
अब
देश,देश हुनुपर्छ
कति दुख्छौ दर्दमा
मलम लगाउनुपर्छ
पीरा मनहरू
पीर लुकाओ
उन्मादका मनहरू
समतल ओर्ल संयमले
धेरै दुखे देशका छेउहरू
सीमारेखाहरू
संयमका अनुहारहरू
अब
कतै कारण बनेर
चिसिनु हुन्न मन
र मन ओत लागेका ठाउँहरू
म दुख्दा
तिमी दुख्नुपर्छ
र तिमी दुख्दा म
खोक्रो अस्तित्वका लागि
सान
रवाफ
र सत्तालोभका लागि
तिमी दुख्यौ
म दुखेँ
देश दुख्यो
ओर्ल मित्रहरू
यथार्थ जिउँदो छ
मबिनाका तिमी
तिमीबिनाको म
र देशबिनाका हामी
कल्पित हुन सक्दैन अस्तित्व
मेरो देशका पाखामा
मिसाएर
युद्ध र रिसका आँखाहरू
सँगसँगै यात्रा हुनुपर्छ
गन्ती
खन्ती
र हम्मरका हातहरूका
संयम
सहअस्तित्वमा
स्वीकारोक्तिहरू
त्यसैले
योध्दाहरू
युद्ध बिसाओ
घायलहरू
अब कतै नरिसाओ
लामो यात्रा हिड्नुपर्छ हामीले
तिमीलाई ठेस लाग्दा
मलम लाउनुपर्छ मैले
म लडेको देख्दा
मन दुख्नु पर्छ तिम्रो
यात्राको नियम
यत्ति हिड्यौ भने
युध्दको आगो
न तिमी बल्नुपर्छ
घायलको घाउ
न रिसाउनुपर्छ मैले
दुखेको लिपु
न तान्नसक्छ उसले
हजारौँको वली
न कसैले कबुल गर्नुपर्छ
लाखौँ यातनाका मार
न कसैले वहन गर्नुपर्छ
त्यसैले
अब योध्दाहरू
युध्द बिसाओ
घायलहरू
अब कतै नरिसाओ
गन्तव्य एउटै हो
म र मेरो देश
देश एउटै हो
मेरो र तिम्रो ।
प्रकाशित: २० पुस २०७७ ०७:३६ सोमबार