५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

‘गौरी’: शोक र साहसको चरम अनुभूति

नेपाली शोककाव्यको इतिहासमा सर्वाधिक हृदयग्राह्य भएको कृति गौरीका बारेमा कविवर माधवप्रसाद घिमिरेले २०६५ सालमा ब्रिटिस–गोर्खा कलेज, बाँसबारीको एक काव्यिक मञ्चबाट भनेका थिए, ‘गौरी मेरो जीवनको वास्तविकता हो। आफ्ना जीवनका सबै वास्तविकतालाई दुरुस्त लेख्न सकिँदैन, लेखिए पनि त्यो निकै कठिन हुँदोरहेछ। म आँसुको दहमा डुबेका बेला साथीहरू र शुभचिन्तकले त्यो दर्द लेख्न सुझाए, मैले त्यसै गरेँ। लेख्दा मनको दुःख कम भएर हो, वा समयले नअह्राएर हो, मैले यसलाई त्यति सहजसँग फेरिफेरि छोइरहन र फुकाइरहन सकिनँ। प्रकाशित गर्ने पनि कुनै योजना थिएन, तर केही वर्ष बितेपछि यो रचनामार्फत गौरी अमर हुनेछिन् भनेर तिनै शुभचिन्तकले प्रकाशनका निम्ति सुझाए। यो भयो पनि। अहिले सोच्छु, प्रकाशन गरेर मैले गौरीलाई अमर बनाएँ कि मलाई गौरीले अमर बनायो !’

अमरत्वको यस संशयपूर्ण घडीमा पनि कविवर माधव घिमिरेका यी भनाइ व्यवहारतः सत्य साबित भइरहेका छन्। उनले गौरीमा उठाएको निजी पीडाको अनुभूति पाठकका आँखामा छचल्किरहनु अध्येताबाट अवश्य पनि चिन्तन गरिनुपर्ने विषय बनेको छ। आजसम्मको अध्ययन र विश्लेषणको इतिहास हेर्दा करुणा र शोकको दृष्टिले नेपाली कवितामा अभूतपूर्व रचना मानिएको यो कृति संस्कृत साहित्यका महाकवि कालिदासको मेघदूतका कतिपय वियोगान्त सन्दर्भसँग तुलना पनि गरिएको पाइन्छ। यसको मौलिक गहनतातिर न्यायपूर्वक दृष्टि विचरण गर्ने थप प्रयास हुन आवश्यक देखिन्छ। आम पाठकमाझ गौरी अत्यन्त चर्चित हुनुमा यसमा अन्तर्निहित करुणरसको साधारणीकरण नै हो, जहाँ वात्सल्य परिपाकको स्थितिमा छ भने रति विप्रलम्भ शृंगारभन्दा माथि भक्तितिर उठ्दै गरेको प्रवाहमा ध्वनित छ। वैराग्यभन्दा भक्तिको अनुभूति प्रबल भएको यस काव्यमा जीवनप्रतिको आकर्षण यथावत राखी मृत्युबोध गर्नु कविको उच्च जीवनदर्शन रहेको छ।  यो आम श्रोताका रसाएका आँखा र बगेका आँसुका पक्षबाट आएको समूल प्रतिक्रिया हो। काव्यिक मूल्यका सुललित चयनसँगै पछिल्लो समयको सांस्कृतिक चिन्तनले छुने हो भने गौरीमा निजत्वको उचाइ विस्तृत भइआएको देखिनेछ। यस सम्बन्धमा कवि अभि सुवेदीका विचार मनन योग्य छन्, उनी भन्छन्, ‘गौरी मैले पहिल्यै पढेको हुँ, पढ्दा यसलाई नाटकीय (ड्रामाटिक) काव्यकै रूपमा लिएँ। पश्चिममा रोमान्टिक कविहरू टेनिसन, आर्थर हालम, किट्सहरूले पनि करुणाजन्य निजत्वलाई कविता बनाएका छन्। तिनले निजत्वलाई प्रकृति हुँदै आध्यात्मिक अनुभूतिमा उकालेर लेखे। हाम्रोमा रोमान्टिक कवि देवकोटादेखि नै निजत्वलाई कसरी लैजाने भन्ने चुनौती थियो। त्यस कालखण्डका कविहरूले ठूलो काव्यिक सामथ्र्यले पीडालाई गहिरो गरी लेखेका छन्, घिमिरेका गौरी, मालती–मंगले जस्ता काव्यमा भाव र कला त्यसरी नै गहिरो गरी आएको छ। मालती–मंगलेमा करुणा र दुःखलाई निर्वैयक्तिकताबाट निजी अनुभूतिमा ल्याउने कविले गौरीमा निजी अनुभूतिलाई त्यसरी नै निर्वैयक्तिकतामा पु¥याउने सामथ्र्य राखेका छन्। उनले आफ्नो करुणालाई बगाएका मात्र छैनन्, अन्तर्यमा टेनिसनमा झैँ आफू हुँदै प्रकृति र प्रकृति हुँदै आध्यात्मिक अनुभूतिमा पु-याउने विशिष्ट काव्यिक सामथ्र्य राखेका छन्। यस पक्षको अध्ययन र विश्लेषण हुनै बाँकी छ।’

हाम्रा रुवाइ समाजले सुन्न नहुने भए प्रकृतिले हामीलाई ध्वनि, भाव र भाषाविहीन नै रचना गर्ने थिइन् होला। गौरीको करुणामा विश्वभाषा छ। यही भाषा र भावको अनुबद्ध लयले कृतिको दुःखान्तलाई आँसुको फूल बनाएको छ।

गौरी काव्य र यसका स्रष्टासँगको अन्तरंग क्षणहरू नै आज यस लेख तयार गर्न मेरा निम्ति पनि प्रेरक बनेका हुन्। म सम्झन्छु, पहिलोपटक २०४३ सालमा उपहारस्वरूप गौरी शोककाव्य प्राप्त भएको थियो। त्यसबेला मेरा निम्ति भावको भन्दा लयात्मकताको महक थियो त्यो। शब्दहरू सरल थिए, सांस्कृतिक परिवेश साझा थियो र भावले पनि तान्दै लग्यो। कक्षा १० मा पढ्दै गरेका बेला किशोर र युवाको सन्धि–वयमा मभित्र संवेदनशीलताको तह अलि उच्च थियो सायद। मेरा गुरुजनहरू स्कुले त्यस उमेरकी मलाई शिल्पले खारिएका साहित्यिक कृति उपहार दिन रुचाउनुहुन्थ्यो। त्यसैले एउटै पनि पुस्तक पसल नभएको काभ्रेपलाञ्चोक बरबन्दी, खरेलथोकको त्यस विकट हुर्काइमा मेरा हातमा यस्ता पुस्तक आदरणीय अग्रजका अतिरिक्त स्नेहका सौजन्यले आइपुग्ने गर्थे। सुदूर पश्चिमबाट गणित विषय पढाउन आएका गुरु हेमराज जोशीले नै सप्ताहन्तमा काठमाडौं आएर फर्किंदा एक दिन गौरी शोककाव्य उपहार लगिदिएका थिए। पुस्तक हात परेपछि मैले लय हालेर यसलाई परिवारभित्र पढ्ने अभ्यास गरेकी थिएँ। यसको लय र भावतिर सबैजना आकर्षित भएका थिए। तर मैले यो कृति आमालाई सुनाउन पाएकी थिइनँ।  

एसएलसीको परीक्षा सकिएपछि अलि दिन आमासँग बस्ने सौभाग्य जु¥यो। वियोगको स्वरूप फरक भए पनि गौरीले मभित्र आमाप्रतिको आकर्षणलाई सय गुणा नै बढाइदिएको थियो। सानैदेखि आमासँग छुट्टिएर बस्नुपरेकाले उहाँले वाचन गर्ने लयबद्ध गीत र कविताका श्लोक मेरा स्मृतिमा उहाँसँगको साथजस्तै  भएका थिए। मातृत्वका अप्राप्य क्षण स्कुले जीवनभरि झेल्दै आएकी म त्यस दिन आमालाई ‘गौरी’ वाचन गरेर सुनाउन पाउँदा निकै आद्र्र र उत्साहित थिएँ। अर्की श्रोता थिइन्, पतिबाट परित्यक्त एक युवती। हाम्रो पारिवारिक नाताकी तिनले रुँदै भनिन्, ‘कोही लोग्नेमान्छे आफ्नो मरिसकेकी श्रीमतीलाई समेत यसरी माया गर्छन्, आफ्नो भाग्यमा त कस्तो जाली लेखेको रहेछ।’  

यसरी गौरीको भावात्मक गहिराइ ती युवतीको बगिरहेको परेलीमा पहिलोपटक यति नजिकबाट मैले अनुभव गरेँ। र, बुवाले आमालाई गरेका विश्वास र प्रेमका अनेक व्यावहारिकतासँग गौरीका पात्र र ती युवतीको यथार्थको तुलना गरिरहेँ। आफू निश्चिन्त भएर पनि तिनका आँसुको प्रतिउत्तर दिन सकिनँ। गौरी काव्यको संवेदना यसैले पनि सबैथरी जीवनकथामा मिसिएको छ, मानिसका भोगाइ र व्यवहारसापेक्ष यस काव्यको चरित्रले निजत्व ग्रहण गर्न सकिने स्वरूप लिएको छ।  

कवि तथा पत्रकार केदार शर्मा गौरीका पंक्ति आफूलाई एक–दुई कक्षामा पढ्दादेखि नै कण्ठ हुन थालेको स्मरण गर्छन्। उनी भन्छन्, ‘खासगरी गौरीको अन्तिम उपशीर्षक ‘मान्छे हो ! यिनलाई प्यार गर है’ मा समेटिएका भाव, जो स–साना छोरीहरूको टुहुरोपनसँग सम्बन्धित छ, त्यो पढेर क्वाँ–क्वाँ रुने बच्चो मै थिएँ। केटाकेटीले पढ्दा आमा मर्छिन् कि भन्ने पीडा, विवाहितले पढ्दा पत्नी वियोग होला भन्ने पीडा, अनि उमेर हुँदै जाँदा मृत्यु चिन्तनतिर लैजाने, यस कृतिका यस्ता विशिष्ट पक्ष म अनुभव गर्दै आएको छु। आजभन्दा ७० वर्ष पहिलेको कृतिमा जुन प्राञ्जल र प्रवाहमय भाषा छ, त्यो नै चामत्कारिक पक्ष हो। घिमिरेमा समकालीन चेतना पनि अब्बल  रहेको छ। दोस्रो विश्वयुद्धको त्रासदिमा पनि निश्चिन्त बचाउने आफ्नो पहिलो प्रेमको प्रसङ्गमा गौरीसँगको वियोगसँगै हिटलरको संवेदनहीनतामा चरम शोक भोगिरहेको विश्वव्यथाको संकेत पनि घिमिरेले यस कृतिमा गरेका छन्। सिर्जनाको सामाजिक दायित्व हुनुपर्छ भन्ने मान्यता लेखनको पहिलो सर्त हुन्छ भने पितृसत्ताको अहंले व्याप्त समाज र चरम उत्पीडनको राजनीतिक जडताका ती दिनमा घिमिरेले पत्नीप्रति त्यस हदसम्मको उदार भावना, क्षमा–याचना र विनम्रताका वाणी दिएका छन्, जुन बेलाको नेपाली समाजमा पतिपत्नीबीच मानिसले देख्ने गरी दोहोरो संवाद हुनु समेत लज्जाको विषय हुन्थ्यो। उनले ‘मेरी लच्छिनकी जहान’मा जसरी पत्नीको सेवा र समर्पणको अवगाहन गरेका छन्, यहाँ क्षमायाचना गरिरहेको पतिको सामूहिक चरित्र अनुभूत हुन्छ। उनका केही श्लोकहरूमा अहिलेसम्म पनि परिवर्तन हुन नसकेका कतिपय पुरुष मानसिकताको दीनहीन अनुहार विम्बित भएको छ।’

 पितृसत्ताको जराले समाजलाई टुप्पैसम्म जेलिराखेको त्यस समयमा पनि घिमिरेले गरेको आत्माआलोचना आजको समाजमा पनि स्मरणीय र अनुकरणीय हुनसक्छ। उनले एउटा श्लोक यस्तो लेखेका छन् ः

सम्झी ल्याउँछु— आज छैन रिस क्यै, गाली गरेँ हूँ किन
जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेँ हूँ किन
आफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयो
के सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो !

यो स्वीकारोक्तिका निम्ति कविलाई कसैले बाध्य पारेको थिएन। प्रकाशनका समय उनले यस प्रसङ्गलाई निकालिदिन पनि सक्थे, तर यो उनको हृदयको आवाज थियो। यही आवाज उनी आम नेपाली समाजका घरभित्र पु¥याउन चाहन्थे। उनको हृदयमा यस आवाजले यति धेरै असर ग-यो, जुन उनले पत्नी महाकालीसँगको सफल दाम्पत्यबाट प्रमाणित गरिदिएका छन्।  

एक भेटमा कविवरले भनेका थिए, ‘नारी समानताका पक्षमा लेखेँ भन्ने कतिपय लेखक कविता होइन चर्को नारा लिएर आउँछन् म कहाँ। नारी समानताका निम्ति व्यावहारिक कुरामा जानुपर्छ भन्ने म सोच्छु। कुरा गर्छन् कसरी भँगेरा र भँगेरी ? एउटा आँखा तँ हेरी, अर्को आँखा म हेरी लेखेर मैले नारी समानताका विषयमा बालककालदेखि नै व्यावहारिक ज्ञान दिने सहज प्रयास गरेको छु। यसतिर समालोचकहरूले भन्नु नै होला।’

कविवर घिमिरेका कृतिमा हुने महत्वपूर्ण पक्ष भनेको उनले खिच्ने सार हो। हरेक रचनामा उनले केही श्लोक यसरी सिर्जना गरेका हुन्छन्, त्यहाँ उनको समग्र कृतिको कथ्य उद्घाटित भएको हुन्छ। वर्तमान समाजको चेतना, विश्वपरिवेश र सांस्कृतिक परिव्याप्तिले उनको चेतनालाई आग्रहरहित खुलापन दिएको पाइन्छ। उनी चाहे ‘यही हो मेरो मिथिला’ लेखून् वा ‘नेपाल रगताम्मे’ लेखून्, उनको उद्देश्य नेपालको समृद्धि र पहिचानसँग छ। पहिचानका सन्दर्भमा उनले देशलाई केन्द्र बनाएका छन्, तर उनले देशको अर्थ सीमित गरेका छैनन्।  

कवि सुमन पोखरेल गौरीको कथ्य र शिल्पका विशद पाटालाई सूक्ष्मतापूर्वक हेरिनुपर्ने विचार व्यक्त गर्छन्। वर्षौंपहिले पढेको ताजा अनुभूतिले उनलाई आज पनि गौरीका विषयमा गम्भीर भएर बोल्न लगाउँछ।  

उनी भन्छन्, ‘जुनसुकै कृतिलाई अनेक सन्दर्भ र विविध दृष्टिबिन्दुबाट हेर्नुपर्छ भन्ने लाग्छ। झट्ट हेर्दा गौरी वैयक्तिक अनुभव र अनुभूतिलाई सार्वजनीन भावतुल्य गराउन र बृहद् नेपाली–पाठकसम्म पु¥याउन सक्षम रहेको कृति हो।  

‘यी रोए पनि दुःख लाग्छ यिनले सम्झे कि आमा भनी।
यी हाँसे पनि सुक्ख छैन यिनले बिर्से नि आमा भनी।’  

जस्ता सर्वग्राह्य पदावलीले वैश्विक अनुभूति बोकेका  छन्। समयको यस खण्डमा आइपुग्दा यसलाई अनेकौँ सिद्धान्त तथा स्वार्थहरूले हेर्न सकिने भए पनि एक दृष्टिमा यो कृति नेपाली साहित्यका विभिन्न ‘बाइ रोडको बाटो’मध्ये एक हो, जो नभएका भए समय कुन बाटो हिँडेर यसबेला यहाँसम्म आइपुग्ने थियो भन्ने स्पष्ट हुने थिएन। तिनैबाट हिँड्दै वा तिनबाट प्राप्त अनुभवबाट सिक्दै समेत गरेर अन्य सानाठूला बाटा निर्माण हुने गरेका हुन्, भइरहेका हुन्। मेरा विचारमा भाव र संरचनाको काव्यात्मकता गौरीको सबैभन्दा महत्वपूर्ण अवयव हो।’

भदौको दोस्रो दिन महाप्रस्थानमा निस्केका कविवर घिमिरेले वर्षौंपहिले गौरीका नाममा लेखेका थिए:

‘तिम्रा गीत म फाँट शैल वनका एकलासमा गाउँला,
आफ्ना मानिसका गएर घरमा तिम्रा कथा गाउँला।
हुर्काईकन शान्ति कान्ति भुइँमा छोडी त्यहाँ आउँला,
देवी ! अन्तिम साँझमा गहभरी आँसू लिई आउँला।’  

प्रेममा आँसुको अलौकिक स्थान हुँदोरहेछ भन्ने अनुभूति प्रस्तुत श्लोकको अन्तिम पंक्तिमा कविले प्रकट गरेका छन्। उनले पुनर्मिलनको स्वरूपलाई दैवी चेतले सिँगारेका छन्। आँसु लोकको सम्पत्ति हो र देवी पारलौकिक चेतना। प्रेमको यो आध्यात्मिक उचाइ उनले स्वाभाविक शिल्पमा सहजतापूर्वक संयोजन गरेका छन्। यस श्लोकमा उनको कर्तव्यबोध, जीवनवादी सोच र माटोको गीत गाउने पुस्तालाई हुर्काई प्रकृतिका निम्ति प्रकृतिमै छाडेर आफू प्रेमको परिव्याप्त उचाइमा फर्किने संकल्प स्तुत्य छ, मातृ चेतनायुक्त र सकारात्मक छ। यस्ता विश्वदृष्टिले गौरी काव्यको सामाजिक मूल्य निर्धारित गर्छ।  

पत्नी वियोगको घाउले रन्थनिएर कविता लेख्न बस्दा फुटकर रचना गर्न सके पनि आफूले कृति तयार पार्न नसकेको बताउने कवि निर्मोही व्यासले अढाई सयभन्दा बढी शोककाव्य प्रकाशित भएको नेपाली साहित्यमा गौरी सर्वोत्कृष्ट रहेको मूल्यांकन गरेका छन्। तरल संवेदनाको यत्तिको ठोस लेखन र मृत्युलाई पनि आशामा पु¥याएर लेखिएको गौरीको उचाइ अगम्य भएकाले गौरी काव्यको तुलना गौरीकाव्यसँग मात्रै हुन सक्ने विचार कवि व्यासको छ। गौरीका सांस्कृतिक र सामाजिक सन्दर्भले नेपाली परिवेशको ऐतिह्य प्रकाशित गरेको छ। हरेक मानिसका जीवनमा पीडाका आ–आफ्नै प्लट छन्। कविवर घिमिरेको जीवनको अग्रभागमा मातृवियोगको करुणाजन्य कथा छ। पृष्ठभूमिमा उनले भोगेको बाल्यकालका ताता आँसु र चिसो मुटुको कठीन अनुभूति पनि छ। मातृभाषा सिकिनसक्दै मातृवियोगमा परेका घिमिरेले चेतना ग्रहण गरेदेखि अनुभूत गरेको रिक्तताको महाशून्य गौरीको प्रस्थानपछि फेरि आलो भएको छ। गौरीको मृत्युले उनको धमिलो बाल्यकाललाई पुनः दृश्यमा ल्याइदिएको छ। शान्ति र कान्तिले भोगेको मातृवियोगले उनको दुई वर्षे बाल्यकालको उही पीडा घनीभूत भएको महसुस गराउँछ।  

कवि तोया गुरुङ गौरीका पतिका रूपमा कवि माधव घिमिरे एउटा प्रतिनिधि भएर आएको मान्छिन्। यस कृतिमा घिमिरेको व्यक्तिगत शोक र दुःखान्त विश्वजनीन अनुभूतिमा प्रतिस्थापित भइरहन्छ, सायद यसैले नै कवि गुरुङ गौरीका पतिको कवि हृदय मानवीय संवेदनामा उच्च रहेको बताउँछिन्। गुरुङलाई मनपरेको अर्को पक्ष गौरीमा प्रस्तुत सम्बोधनशैली पनि हो।  

कवि श्रवण मुकारुङ ‘गौरी’लाई कविताको जोस बोकेर काठमाडौं छिरेताका आफूले पढेको प्रभावशाली कृति मान्छन्। ‘मालती–मंगले’का हरेक पंक्ति गाउँकै विद्यार्थीकालमा आफूलाई कण्ठ भइसकेको थियो बताउने मुकारुङ गौरीको काव्यिक उचाइलाई यसरी अनुमापन गर्छन्— ‘गौरी अभिव्यक्तिको पराकाष्ठा र चुडान्त अनुभूतिको सुन्दर सिर्जना हो, अनुभूतिको पल्लोछेउ, जसउता भन्नका निम्ति केही बाँकी रहँदैन, गौरी त्यही पूर्ण संवेदनाले भरिएको रचना हो। शास्त्रीय छन्दलाई लोकभाषा दिन सक्ने कविवरको मौलिक भाका र लयले गौरीको सौन्दर्यलाई चरम अभिव्यञ्जनामा पु¥याएको छ। उद्धरण गर्न लायक प्रत्येक सूक्तिमय श्लोक शिल्पगत हिसाबले जति विशिष्ट छन्, भावगत हिसाबले त्यत्तिकै स्वाभाविक, वास्तविक र अपरिमेय छन्।’  

इतिहासका प्रोफेसर टेलर स्टोभालले भनेका छन्, ‘वर्तमानमा हामीले यस पृथ्वीलाई जसरी जानेका छौँ, त्यसलाई विगतको महामारीले आकार दिएको थियो।’ अर्थात् स्टोभालको यस भनाइले विगतसँगको वर्तमानको सम्बन्धलाई दुःखान्तपछिको निर्मिति भन्नेतिर स्पष्ट संकेत गरेको छ, त्यो सम्बन्ध भविष्यका निम्ति निर्माण या विनाश दुवै पक्षसँग बनिरहन्छ। विगतले कोरेको आकारका कारण भविष्य नमेटिने परिणतिका निम्ति निश्चित भइसकेको हुन्छ। यस सिद्धान्तलाई व्यावहारिक रूप दिने हो भने एउटा मानिसको विगतको भोगाइलाई स–साना टुक्रामा नियालेर उसको वर्तमानको आकार नाप्न  सकिन्छ। व्यक्ति पनि त एउटा विश्व हो, जसका जीवनका पूर्वाद्धका घटनाक्रम र भोगाइले उसको पछिल्लो जीवनको आकार निर्माण वा निर्देशित गरेको हुन्छ। हाम्रा मान्यता सामूहिक हुनुभन्दा पहिले व्यक्तिगत नै हुने गर्छन् र व्यक्तिका व्यक्तिसापेक्ष चिन्तन जब सामाजिक दैनिकी र यहाँका आकस्मिकतासँग ठोक्किन्छन्, सायद यसपछि ती सामूहिक चेतनामा सर्दै जान थाल्छन्। यसपछि भने समाजको आँखाले व्यक्तिलाई व्यक्ति मात्र देख्न छोड्छ, र व्यक्तिभित्र एउटा सिंगो समाजको खोजी गर्न आरम्भ गर्छ। जब समाजले व्यक्तिलाई उसका अपरिहार्य निजत्वसँग पनि अलग्याएर व्यक्तित्व बनाइदिन्छ, कतिपय सन्दर्भमा त्यही समाज व्यक्ति हुनबाट उसलाई असहयोग पनि गरिदिन्छ। कवि माधव घिमिरेका सन्दर्भमा पनि विगतका कथा यसरी नै दोहोरिएका छन्। भिजेका परेलाबाट सुरु भएको उनको प्राथमिक चेतना समस्त सामूहिक स्वर बनेकामा गर्व गर्ने विगतले रुन्चे कविको रूपमा उनलाई परख गर्ने असामयिक वर्तमान जन्माइदिएको पनि हुनसक्ला ! महामारी र वियोगान्तका कथा कहिल्यै नसकिने इतिहास हुन्, उनले बिदा मागेको यस समयको घाउ अझै गहिरो छ, गौरी काव्यको शोकमा नयाँ परिवेश थपिएको न हो ! यसलाई मान्छौँ भने गौरी रचनाको चेतनामा कविको शक्तिलाई व्यक्तिगत ठान्नु हामीले आफैँलाई समय र समाजबाट अलग्याउनु मात्र हुन्छ। हाम्रा रुवाइ समाजले सुन्न नहुने भए प्रकृतिले हामीलाई ध्वनि, भाव र भाषाविहीन नै रचना गर्ने थिइन् होला। हामी आफ्ना आवाजसहित यस धर्तीमा आएका हौँ, भाव र सञ्चारका प्राथमिक शक्ति आँसु नै हुन्, जुन मानवताको अर्थ सम्प्रेषणमा सबैभन्दा शक्तिशाली छ। गौरीको करुणामा विश्वभाषा छ। यही भाषा र भावको अनुबद्ध लयले कृतिको दुःखान्तलाई आँसुको फूल बनाएको छ। भावकहरूले रुँदै सिउरिने यस फूलमा सबलाई आ–आफ्नै प्रेम र वात्सल्यको सुवास ब्युँझेजस्तो भइरहन्छ। आफूले अनुभूत गरेको मातृत्वको तिर्खा कविवरले आफ्ना छोरीहरूमार्फत् अनन्तका संवेदनामा उतारेका छन्। यस्तो जीवन्ततासहितको काव्य ‘गौरी’लाई शोक र साहस दुवै कोणबाट सबल कृति मान्न सकिन्छ।
०००

प्रकाशित: १३ भाद्र २०७७ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App