११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

अब के होला भन्ने कुराले सबैलाई सताएको छ

दिप्सन नेपाल

कक्षा – ६,

वाल्मीकि शिक्षा सदन, भरतपुर, चितवन ।

नेपालमा लकडाउन भएको पनि पाँच महिना पुगिसक्यो । नेपाल सरकारले २०७६ सालको चैत्र ११ गतेदेखि देशभरि नै लकडाउन लगाएको हो । तर साउन ७ गतेदेखि लकडाउन खुला गरेको थियो । लकडाउन खोले पनि कोरोना सकिएको छैन । देशैभर दिनदिनै कोरोना प्रभावित मान्छे बढेको बढ्यै छन् । त्यसैले अझै कति ठाउँमा लकडाउनजस्तै हिँडडुल गर्न नपाइने भनेर निषेधाज्ञा घोषणा गरेको समाचारमा आउने गरेको छ । यसैले लकडाउन खुले पनि कोरोनाले अझै घरबाहिर निस्कन दिएको छैन ।

देशभर लकडाउन लगाएपछि बन्द भएको स्कुल अझै खुलेको छैन । विद्यार्थी स्कुल नगएको पनि पाँच महिना नै पुगेको छ । आफू पढ्ने गरेको स्कुल कस्तो भयो होला भन्ने सबै विद्यार्थीहरूलाई लागेको होला । एउटा कक्षा पास भएर अर्को कक्षामा गएको त हो तर स्कुल जान नपाउँदा माथिल्लो कक्षामा गएको जस्तो पनि नलागेको होला ।

केही स्कुलहरूबाट अनलाइन कक्षा चलिरहेको छ । तर अझै केही स्कुलहरूले यसरी पढाएका छैनन् होला । हाम्रो देशका सबै भागमा सबै खालको सुविधा छैन । शहरी क्षेत्रमा रहेका स्कुलहरू र शिक्षकहरूसँग इन्टरनेटको सुविधा छ । शिक्षकहरूले यही इन्टरनेटको प्रयोग गरेर पढाइरहनुभएको छ । स्कुलले पनि आफ्ना विद्यार्थीहरूलाई यसरी पढाउने वातावरण बनाउन खोजिरहेको छ । यस्तै शहरी क्षेत्रका शिक्षकहरूसँग पढाउन मिल्ने ल्यापटप, ट्याब र मोबाइल पनि होला । यसैले शहरी क्षेत्रका विद्यार्थीहरूले यसरी आफ्नै घरमा बसेर सजिलै पढ्न पाएका छन् । यसरी पढ्न पाए पनि खासमा स्कुल गएर पढेजस्तो त हुँदैन । पोहोरतिर यति बेला विद्यालयमा प्रथम त्रैमासिक परीक्षा भइसकेको हुन्थ्यो । तर, यसपटक पढाइ कहिले हुन्छ र परीक्षा कहिले हुन्छ भन्ने नै थाहा छैन ।

देशका सबै ठाउँका स्कुल र शिक्षकहरूसँग इन्टरनेटको सुविधा छैन । त्यसै गरी अनलाइनमा पढाउन मिल्ने ल्यापटप, ट्याब र मोबाइल पनि छैन होला । त्यसैले दुर्गम क्षेत्रमा रहेका स्कुलका विद्यार्थीले पढ्न नपाएको धेरै भयो । सबैको घरघरमा शिक्षक गएर पढाउन पनि सम्भव हुँदैन होला । त्यसैले विद्यार्थीहरूको पढाइ बिग्रने सम्भावना छ । शहरी क्षेत्रमा बस्नेहरूले जेनतेन अनलाइनबाट पढ्न पाएका छन् तर दुर्गम क्षेत्रमा त के होला ?

स्कुल कहिले खुल्ने भन्ने अझै थाहा छैन । देशका विभिन्न स्थानमा फेरि लकडाउन सुरु भएको छ । यसले गर्दा स्कुल खुल्ने दिन अझै निश्चित छैन । शिक्षकहरूले अनलाइनमा पढाए पनि उहाँहरूले तलब पाउनुभएको छैन रे । विद्यार्थीहरूले पनि स्कुलमा भर्ना गरेका छैनन् । कतिपय सरकारी स्कुलहरूमा चाहिँ जेठ महिनातिर भर्ना कार्यक्रम सुरु भएको थियो तर त्यहाँ पनि पढाइ भएको छैन । नयाँ कक्षामा पढ्न पाउने विद्यार्थीहरूको रहर त्यतिकै सेलाउने त होइन भन्ने लागेको छ । त्यसैले अब के होला भन्ने कुराले सबैलाई सताएको छ । 

प्रकाशित: ३१ श्रावण २०७७ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App