११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

गाउँ नै रमाइलो

बालकथा

लालबहादुर भुजेल

गौरव, आयान, प्रदिप चितवनको भरतपुरबाट ‘लकडाउन’को अनिश्चित छुट्टीमा शहरबाट गाउँ आए । पूजा र साजन पनि कपिलवस्तुको तौलिहवाबाट गाउँ आएका थिए । त्यस्तै, सुदिप र मनिषा पनि भक्तपुरबाट आएका थिए । चैतको ५ गते नै आआफ्नो स्कुलको परीक्षा सकेर गृहकार्यसहित छुट्टी गरिएको थियो भने चैत ११ गतेदेखि देशैभरि शैक्षिक संस्था लगायत सरकारी र सार्वजनिक संस्थाहरू एकैपटक बन्द गरिएको थियो । गौरव, आयान र प्रदिप ६ कक्षामा, पूजा र साजन ५ कक्षामा तथा सुदिप र मनिषा ३ र ५ कक्षामा पढ्थे । उनीहरू अभिभावकसँग जन्मस्थल आएका थिए ।

उनीहरू शहरको धूलो, धूवाँ, गर्मी, मान्छेको बढी चापले वाक्कदिक्क भएका थिए । गाउँमा खुला, स्वच्छ, सफा, सुन्दर र कोलाहलमुक्त थियो । जताततै स्वच्छ, सफा र नवपल्लव लागेर वातावरण मनोरम देखिन्थ्यो । हिउँदमा मल छरेर मकै र घैया छर्ने काम धमाधम हुँदै गयो । पहिला घरघरमा ढिकीमा चिउरा नकुटी, पीङ नहाली दशैं आएजस्तो लाग्दैनथ्यो । चिउरा कुट्न थालेपछि गाउँ नै बसाउँथ्यो । गाउँमा आएपछि वल्लोपल्लो घरका छरछिमेकी साथी सँगीसँग भेटेर सँगै खेल्न पाउँदा आनन्द लाग्नु स्वभाविकै थियो । उनीहरू जहाँबाट गाउँ फर्किए पनि उनीहरू सबैको गाउँ लमजुङ जिल्लाको साविक नेटा गाविस र हालः मध्य नेपाल नगरपालिका अन्तर्गत पर्दथ्यो । यो नेटाअन्तर्गत हाँडीखोला, खमारीस्वाँस, गुरुङ गाउँ, कुवर गाउँ, कुवेर गाउँ, कोट गाउँ, थान्सिङ, गोदार गाउँ, सार्की गाउँ, वर्दान, सिम्ले, डाँडागाउँ र धिताल गाउँहरू पर्दथे ।

माथि उल्लिखित ‘नेटा’ कै वर्दन भन्ने ठाउँमा, कास्की जिल्ला र नै डाँडाका पञ्चे सुब्बा गुरुङसँग मिलेर देउबहादुर दुराले ठाडोभाका गीतको प्रवद्र्घन गर्दै इतिहास रचेका थिए । उनी ‘वर्दन’ गाउँमै जन्मेका थिए । शाह वंशको स्थापनामा गहन भूमिका खेल्ने खजे दुराको शालिक दुराडाँडाको च्यानपाटामा रहेको कुरा यी केटाकेटीले बाबुआमाबाट सुन्दा गौरव लागेको थियो । यी केटाकेटीको गाउँ एउटै भएकाले सँगै खेल्थे, रमाउँथे ।

एकदिन गट्टा खेलिरहेको बेलामा, उपल्लो घरको हजुरबुबाले गाउँ र शहरमा कुन रमाइलो भनी सोध्दा गौरव, आयान लगायत सबैले एकैसाथै गाउँ नै रमाइलो भने ।

हजुरबुबाले शहरभन्दा गाउँ मनपर्नुको कारण पूजालाई सोध्दा भीडभाड, धूवाँधूलो, गाडीको करकर आवाजले गर्दा गाउँ नै औधी मनपरेको जवाफ दिइन् ।

तिमीलाई गाउँ रमाइलो लाग्ने कारण के छ नि भनी हजुरबुबाले साजनलाई सोध्नुभयो । गाउँले मान्छे राम्रा, सबै आफन्तजस्तो लाग्ने, सफासुग्घर र शान्त भएकोले गाउँ नै धेरै मनप¥यो भनी जवाफ दिए । फेरि गाउँ मनपर्नुको कारण हजुरबाले मनिषालाई सोध्नुभयो ? आफ्नै बारीको तरकारी, सागपात तथा काफल, ऐंसेलु, तिदूँ खान पाइने, जता घुमे पनि नहराइने, गाउँमा सबैले माया गर्ने, सफा तथा स्वच्छ पानी पिउन पाइने, खेल्नलाई खुला भएकाले असाध्यै मनपरेको कुरा बताइन ।

सबैभन्दा सानो सुदिपलाई गाउँ किन मनपरेको भनी सोध्नुभयो । शहरमा भए पढ्नुपर्ने, गाउँमा खेल्न पाइने र पढ्न नपर्ने कुरा सुनेर सबै हाँसे ।  

हजुरबुबाले सबैतिर फेरि सोध्नुभयो, ‘किन शहर गएको त ?’

आयानले भने, ‘यहाँ राम्रा स्कुल छैनन् ।’

हाम्रा बुबाआमाले जागिर खान पनि त्यतै जान प¥यो नि, प्रदिपले उत्तर दिए । यी सबै कुराको व्यवस्था मिलाउन सकिन्न, पूजाले सोधिन् । हजुरबुबाले भन्नुभयो–बत्ती, पानी, बाटाको व्यवस्था हँुदैछ तर उच्च शिक्षा र रोजगारी एकैचोटि गर्न कठिन छ भन्नुभयो । अन्त्यमा, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था हुन सके गाउँ उजाड नहुने र बसाइँ नसर्ने तर्क निस्कियो ।  

प्रकाशित: २८ श्रावण २०७७ १०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App