२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

उल्टो रामलीला

लघुकथा

विश्वराज अधिकारी

 

भारतको एक शहरमा अति नै प्रसिद्ध एक रामलीला कम्पनीको रामलीला प्रदर्शन छ महिनाभन्दा बढी समय मञ्चन भएको थियो।

एक दिनको दृश्यमा रावणले सीताजीको हरण गरेर लंका लग्नुपर्ने थियो।  

योजनाअनुसार सीताजी र रावणको उपस्थिति मञ्चमा भयो। दर्शकहरू आनन्द विभोर भए। केही कराउन पनि थाले, ‘रावण मुर्दावाद, रावण मुर्दावाद। रामजी कि जय, रामजी की जय। सीताजी की जयसीताजी की जय।’

तर लामो समयसम्म स्थिर रहेर रावणले सीताजीको हरण नगरेपछि दर्शकहरू कराउन थाले ,  ‘रामलीला आगे बढाओ। रावण, रुक क्यो गया है सीताजीका हरण करने के लिए बोलो रावणको। हरण क्यो नही करा रहा है, हरण ।’

यस्तो होहल्ला लामो समयसम्म चलेपछि रावणले सीताजीको खुट्टा समात्दै भन्यो, ‘सीता माता, म रावण कुबुद्धि भएको व्यक्ति हुँ। मैले धेरै नराम्रो कामहरू गरें। बदनाम पनि अति नै भए तर अब म खराब हुन चाहँदिन। सँधैभरि मैले मेरो आलोचना र निन्दा सुने तर अब भने सुन्ने इच्छा छैन।’

सीता माताले उच्च आवाजमा भन्नुभयो, ‘दुष्ट रावण, म तेरो छलमा परे। तेरो नियन्त्रणमा आएँ।’  

रावणले भन्यो, ‘होइनहोइन, सीता माता म तपाईलाई  केही पनि गर्दिनँ। म अब आर्दश रावण हुन चाहन्छु। दुष्ट र अहंकारी रावण हुन चाहँदिनँ। म तपाईको हरण गर्दिनँ।’

यस्तै सम्वाद रावणले भनिरहँदा दर्शकदीर्घाबाट केही युवकहरू कराए, ‘साला यो रावणलाई ठोक। यसले रामायणको कथालाई नै उल्टो पारिदियो। सीताजीको अपहरण नगरेर यसले रामायण नै  अपवित्र पारयो । ठोक यो अधर्मीलाई।’

केही उत्तेजित युवकहरू वायुवेगमा दर्शकदीर्घाबाट मञ्चमा पुगे। साला, तँ को होस् रामायण उल्टो पार्ने, अपवित्र पार्ने, तेरो यत्रो औकात कि रामायणको कथा नै परिवर्तन गरिदिने भन्दै कुट्न थाले।  

त्यसरी कुट्ने समय लामो समयसम्म चलेपछि बल्ल रामलीला कम्पनीका कर्मचारीहरू मञ्चमा आए। रावणलाई छुटाए।

भोलिपल्ट त्यो शहरका अखबारहरूमा खबर छापियो, ‘एक रामलीला प्रदर्शनमा सीताजीको अपहरण गर्न रावणले नमानेको हुनाले दर्शकहरूले रावणलाई कुटीकुटी मारे।’  

 

 

प्रकाशित: १२ श्रावण २०७७ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App