बालबालिकाको सर्वांगीण विकासका लागि बालसाहित्यको उल्लेख्य भूमिका छ । नाउँ मात्रको बालसाहित्यले बालबालिकालाई अगाडि बढ्न सहयोग पुरयाउँदैन । त्यसै सन्दर्भमा बालसाहित्य कस्तो हुनुपर्छ, किन लेख्नुहुन्छ , बालसाहित्यको अवस्था कस्तो छ भन्ने प्रश्न केही बालसाहित्यकारलाई सोधिएको छ । ती धारणालाई यहाँ प्रस्तुत गरिएको छ –
कौशिला रिसाल
बालबालिकाको मनोविज्ञान तथा भावनालाई बुझेर उनीहरूको उमेर सुहाउँदा साहित्यिक सामग्री (लिखित, मौखिक तथा श्रव्यदृश्य रूपमा) प्रकाशमा ल्याउनु नै बालसाहित्य वा बालसृजना हुन् । बालबालिकाको लागि लेखिने, भनिने, प्रदर्शन गरिने वा प्रकाशमा ल्याइने हुनाले यस्ता सामग्रीलाई बालसाहित्य भनिन्छ । आफू जन्मिएको देश, समाज, परिवेश, संस्कार, संस्कृति लगायत विभिन्न जानकारीमूलक, औपदेशिक, नैतिक तथा सामाजिक विषयवस्तुअन्तर्गत बालबालिकालाई जानकारी गराउनु नै बालसाहित्यिक रचनाका उद्देश्य हुने गर्दछन् । त्यसो त कुनै पनि सृजनाबिना उद्देश्य वा प्रयोजनका हुँदैननन् ।
बालबालिका निकै जिज्ञासु र संवेदनशील हुन्छन् । खास गरी अरूको क्रियाकलाप वा नक्कलबाट उनीहरू बढी प्रभावित हुने हुँदा उनीहरूको सिकाइमा वातावरणको प्रत्यक्ष प्रभाव परेको हुन्छ । जसरी नाच्नमा रुचि हुनेले नतर्कीले हाउभाउसहित प्रस्तुत गरेबाट नृत्यका विभिन्न सीप सिकेको हुन्छ । त्यसरी नै हामीले बालबालिकासमक्ष गर्ने सम्पूर्ण व्यवहारको नक्कलबाट नै तिनले नयाँ कुरा सिक्ने हुन् ।
हामी कोही पारिवारिक , कोही सामाजिक र कोही गुरुबागुरुआमाका हिसाबले बालबालिकासँग जोडिएका हुन्छौं । बालबालिका हरपल हाम्रै सम्पर्क र साथमा रहेका हुन्छन् । उनीहरूलाई के असल के खराब थाहै हुँदैन । क्रमशः समाजका ठूला व्यक्तिका व्यवहारबाट उनीहरूले नयाँ कुरा सिक्ने हुन् । खानेकुराको नाम जेसुकै होस् हामीले सबैभन्दा पहिला खान दिँदा कस्तो स्वादमा दिएका छौं ? उनीहरूलाई त्यसको स्वाद त्यही नै हो भन्ने विश्वास परेको हुन्छ । करेला तितो हुन्छ, खुर्सानी पीरो हुन्छ, कागती अमिलो हुन्छ यो बिस्तारै उनीहरूले खाएर थाहा पाएका हुन्छन् । जुन वस्तुका नाम जसरी चिनाएका हुन्छौं त्यही नामबाट उनीहरूले त्यसलाई जानेका हुन्छन् । त्यसरी नै समाजमा हामीले राम्रा काम गरे राम्रो र नराम्रो गरे नराम्रै गर्न प्रेरित हुने बालबालिकाको स्वभाव हो । उनीहरू आफैंले यो खराब यो असल भन्न नजान्दासम्म हामीले उनीहरूलाई कस्तो व्यवहार गर्ने वा सिकाउने यी कुरा पनि बालसाहित्यसँगै जोडिएका महत्वपूर्ण विषयवस्तु हुन् । आजको युग सूचना, प्रविधि र संचारको युग हो । यिनका विकाससँगै बालबालिकाले परिचित हुने अवसर प्राप्त गर्नका लागि मुख्य रूपमा सर्जकले ध्यान पुरयाउनुपर्दछ ।
समाजका मार्गनिर्देशक हामी अभिभावक, शिक्षकले बालबालिकालाई त्यस्ता सामग्री कत्तिको उपलब्ध गराएर पढ्न, हेर्न, सुन्न अभिप्रेरित गरेका छौं भन्नेतर्फ सोच्नुपर्ने हुन्छ । सर्वप्रथम बालबालिकाको मनोविज्ञानलाई बुझ्न हामी आफैंले बालसाहित्यका सामग्रीहरू प्रशस्त मात्रामा अध्ययन गर्न आवश्यक छ तर हामी यसलाई बेवास्ता गर्छौं। बालसाहित्य पनि कहाँ साहित्य हो र ? हा किन पढ्नुपरयो जस्ता कुरा हाम्रा मनमा आएका हुन्छन् । हामी जे कुरा राम्ररी सुन्न सक्दैनौं अनि त्यस विषयमा बोल्न पनि सक्दैनौं । नयाँ विषयमा जानकारी पाउन नसकेपछि व्यवहारमा परिवर्तन हुने कुरै भएन । हाम्रा व्यवहार पुरानै किसिमका हुन्छन् जसले गर्दा बालबालिकाले हामीबाट नयाँ कुरा कसरी पाउने ? तसर्थ सर्वप्रथम हामी आफूले सिकौं र बालबालिकालाई सिक्न सिकाउन अभिप्ररित गरौं ।
पहिलेका गुरुले भनेजस्तो मैले जे भन्छु त्यो गर्नु तर जे गर्छु त्यो नगर्नु भन्ने हिसाबमा अहिलेका बालबालिका चल्न सक्दैनन् । हामीले गरेका हरेक व्यवहारबाट उनीहरूले राम्रोनराम्रो सिक्ने हुँदा बोल्दा मात्रै होइन हरेक व्यवहार वा काम बोेलेअनुसारकै गरौं । बालसाहित्य सर्जक तथा लेखकलाई यो भएन ऊ भएन भनेर दोष थुपार्न सजिलो भए पनि हाम्रो अध्ययनको कमीले बालसाहित्यका सर्जकमा हुने सृजनाको उत्साहलाई अभिप्रेरित गर्नुका सट्टा घटाएको हुन्छ ।
यी भए पठन संस्कारका कुरा । सर्जकले ध्यान दिनुपर्ने अर्काे महत्वपूर्ण कुरा बालबालिकाका लागि भनेर सृजना गरिएका सामग्री कत्तिको बालमैत्री र उपयोगी छन् वा भए भन्ने हो । बालबालिकालाई रुचिकर लाग्ने विषय, उमेरअनुसारका चित्र, अझै रंगीन चित्र, त्यस्तै अक्षरका साइज, किताबको आकारप्रकार, बालसाहित्यका पुस्तकका जिल्ला आदि उनीहरूका लागि महत्वपूर्ण हुन्छन् । यी बाहिर हेर्दा बालबालिका यसप्रति आकर्षित हुने तरीका भए अर्काे महत्वपूर्ण पक्ष त उनीहरूले त्यो सामग्री पढदा कत्तिको रुचिकर रह्यो ? पढिसकेपछि खुसी हुन सके वा सकेनन् ? आफूले खोजको सामग्री प्राप्त गर्न सके वा सकेनन् ?
तसर्थ हामीले प्रकाशन गरेका सिर्जनाले बालबालिकाको असल आचरण र सिकाइमा कत्तिको प्रभावकारी हुने गर्छ ? सृजना लेख्नु र प्रकाशनमा ल्याउनुअघि यी कुरामा सर्जकको ध्यान जानु जरुरी छ । यसकारण हामीले बालबालिकाको असल आचरण र बानीव्यवहारको विकासका लागि उनीहरूको उमेर सुहाउँदा बालरचनाहरू पस्कनुपर्दछ । यी कुरामा लेखकले ध्यान पुरयाउनुपर्दछ । फेरि समयसँगै र प्रविधिको विकासले बालबालिकामा प्रत्यक्ष प्रभाव परेको हुनाले समयसँगै नयाँनयाँ प्रविधिको विकासलाई आत्मसात् गरेर बाल सृजना गरियो भने त्यो प्रभावकारी बन्न सक्छ । बालसाहित्यका नाममा लेखिएका कतिपय सामग्रीहरूमा उनीहरूका रुचि र स्तरअनुसारका सामग्री आउन नसकेका तीतो सत्य छ ।
बालसाहित्यलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । बालबालिकालाई भोलिको देशका कर्णधार भन्ने तर तिनका लागि लेखिएका, प्रकाशित गरिएका साहित्यिक सामग्रीलाई साहित्य नै नमान्ने वा साहित्यइतर राखेर हेर्ने मान्यतामा परिवर्तन भएको छ । ज्ञानमूलक, बालउपयोगी, जुनसुकै पठनसामग्री किन नहुन् तिनलाई बालसाहित्यअन्तर्गत राखिएका छन् । विधागत हिसाबले पनि बालसाहित्यले सबै विधाहरूको उत्तिकै रूपमा विकास भएको छ । लेखकलाई लेखेर प्रकाशित गर्ने अधिकार छ तर सहज वातावरण अझै बनेको छैन । यहाँ भन्न खोजिएको के हो भने राज्य वा सरकारले नै बालसाहित्यका सामग्री प्रकाशनको जिम्मा लिइदिँदा मात्र बालसर्जकहरूमा हौसला बढ्ने र समय, युग, प्रविधि र आवश्यकताअनुसारका बालसाहित्य लेखनमा सहयोग पुग्दथ्यो ।
देवेन्द्रप्रसाद उप्रेती
विभिन्न उमेर समूहका बालबालिकाका लागि भनेर लेखिएको सिर्जनात्मक सामग्रीलाई बालसाहित्य भनिन्छ । बालालिकाको उमेर वा स्तर एउटै हुँदैन । स्तरअनुसारको सामग्री छैन भने त्यो बालसाहित्य बन्न सक्दैन । जिज्ञासा, रोचकता, समस्या र समाधान छैन भने त्यसलाई बालबालिकाले पढ्दैनन् । उनीहरूले पशुपन्छी र किराफट्याङ्ग्राका कथा, कविता बढी मन पराउँछन् । उनीहरूले पढ्ने भाषा सरल हुनु आवश्यक छ । वाक्यगठन छोटो हुनुपर्छ । शैली तान्ने किसिमको आकर्षक बनाउनुपर्छ । उमेर समूह तोकिएको हुनुपर्छ । हाम्रो वरपरको वातावरण, संस्कृति, भूगोल आदि समेटिनु आवश्यक छ । प्रौढ साहित्यको तुलनामा बालसाहित्य लेख्न निकै कठिन छ । कतिपयले बालसाहित्यलाई महत्व नै नदिएको अवस्था पनि छ । यस क्षेत्रमा लागेका लेखक तथा पाठकलाई मात्र यसको महत्व र कठिनताको विषयमा बढी ज्ञान हुन्छ ।
बालसाहित्यमा कलम चलाउन पहिला त आफू बालबालिका नै बन्नु आवश्यक छ । बालबालिकासँग बढी हेलमेल नगर्ने व्यक्तिले बालसाहित्य लेख्छु भन्नु कोरा कल्पना मात्र हुन सक्छ । एउटा नियात्राकारले नयाँ ठाउँको भ्रमण नगरी यात्रावर्णन लेख्ने कोसिस गर्छ भने त्यो असफल हुन्छ । त्यसरी नै बालबालिकाको अध्ययन र उनीहरूको परिवेश नबुझ्ने व्यक्ति बालसाहित्यकार तथा सो क्षेत्रको विशेषज्ञ बन्नै सक्दैन । जब एउटा लेखक बालविशेषज्ञ बन्न सक्दैन भने उसलाई बालसाहित्यकार कसरी भन्ने ?
बालबालिकाका लागि भनेर बालकथा, बालकविता, निबन्ध, संवाद, जीवनी, यात्रावर्णन, तथ्यवर्णन आदि क्षेत्रका पुस्तक लेखिएका छन् । उल्लिखित विधामध्ये बालबालिकाहरू बालकथालाई बढी मन पराउँछन् । उनीहरू विशेषगरी रङ्गीन चित्रकथा पढ्न रुचाउँछन् । यसकारण वर्तमान सन्दर्भमा हरेक विद्यालयमा बालसाहित्यका पुस्तकहरू खोजीखोजी पुस्तकालयमा सङ्ग्रह गर्ने गरिन्छ । कलिला बालबालिकालाई रुटिन मिलाएर बालसाहित्यको अध्ययन गराइन्छ । ती पुस्तक पढेर सारांश भन्न तथा लेख्न लगाइन्छ । उनीहरूलाई सामान्य किसिमको समीक्षा लेख्ने कला सिकाइ सो कार्यमा प्रेरित गरिन्छ । अभिभावक र शिक्षकले मायालु वातावरण प्रदान गर्न सके मात्र बालबालिकामा सिर्जनाप्रति रुचि बढ्छ । सिर्जनशील बालबालिकाले मात्र मुलुकको चौतर्फी विकासमा योगदान गर्न सक्छन् । विद्यालयमा तोकिएका पाठ्यपुस्तक मात्र घोकेर, रटेर अंक त आउला, तर त्यो केही समयमा बिर्सेपछि कुनै काम नै छैन । यसकारणले गर्दा बेरोजगारी समस्या पनि बढाउँछ ।
नेपालमा वर्तमान समयमा बालसाहित्यको अवस्था सुधारतिर उन्मुख छ । बालसाहित्यमा कलम चलाउने राम्रा लेखक र चित्रकारको माग बढ्दो छ । बालबालिकासम्बन्धी पत्रपत्रिका बढिरहेको छ । प्रकाशन गृहले बालसाहित्यलाई महत्व दिन थालेका छन् । यसको मतलब बालसाहित्यको व्यापार पनि फस्टाउँदै छ । यो हामी सबैका लागि खुसीको विषय हो । यसकारण हरेक विद्यालयका शिक्षक बालमनोवैज्ञानिक र बालसाहित्यकार बन्नु आवश्यक छ । बालबालिकालाई बुझ्न अभिभावकले पनि बालबालिका र बालसाहित्यको अध्ययन गर्नैपर्छ ।
बालबालिकाहरूको मनोविज्ञान बुझ्ने कार्य निकै कठिन छ । उनीहरु एकैछिनमा हाँस्छन् र रुन्छन् पनि । आफू समानका साथी पाउँदा रमाएर खेल्छन् अनि साथीलाई अलग गरिदिँदा रिसाउँछन् । सानो कुरामा स्याबासी पाउँदा रमाएर काम गर्न थाल्छन् । विशेषतः उनीहरुलाई आफ्नो नजिकको साथी नबनाई कुनै काम लिन सकिँदैन । बालबालिकालाई डर देखाएर, थर्काएर कुनै काम लिन्छु भन्नु मुख्र्याइँ हो । यसले बालबालिकाको मनस्थिति नै कमजोर बनाइदिन्छ । उनीहरूको मनोबल बढाई सिर्जनशील बनाउन सके भविष्य उज्ज्वल बनाउन सकिन्छ ।
अहिलेका अभिभावक व्यस्त छन् । बालबालिकालाई समय नै दिन सक्दैनन् । उनीहरूसँग खेल्ने र भावना बुझ्ने कुरामा पछाडि नै छन् । अझ आफ्ना सन्तानलाई अरूले नै हेरिदेओस् भन्ने सोचाइ राख्छन् । जब आमाबुबाको न्यानो माया र स्नेह बालबालिकाले पाउँदैन तब उसले मायाममता बिर्सन्छ । ऊ ढुङ्गा बन्छ, शरीर हुन्छ, मन हुँदैन । अनि हामी छोराछोरीले बुढेसकालमा हेरेनन् भन्छौँ । यस कुरालाई गहिरोसँग मनन गर्नु हरेक अभिभावकको कर्तव्य हो । काँचो माटोलाई निश्चित आकार दिने कार्यमा सबै जना जुटौँ । योे पुस्तालाई सिर्जनशील बनाई सांस्कृतिक जागरण र राष्ट्रनिर्माणमा लगाऔँ । आउँदो पुस्ताको विषयमा हामीले चिन्तै गर्नु पर्दैन । सचेत र सिर्जनशील पुस्ताबाट मात्र सुन्दर भविष्यको कल्पना गर्न सकिन्छ
मन्जु ज्ञवाली
सरल भाषामा भन्नुपर्दा बालसाहित्य भनेको बालबालिकाका लागि लेखिएको बाल पठनोपयोगी साहित्य भनेर बुझ्नुपर्छ । यसमा बालबालिकाले लेखेका वा बालबालिकाको निम्ति प्रौढले लेखेका बालगीत , बालकविता , बालकथा, निबन्ध, नाटक,चुट्किला ,कार्टुनका साथै ज्ञानवरद्धक र विज्ञानसम्मत सबै रचनालाई बुझिन्छ ।
बालसाहित्य कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा सायद सबैले दिने उत्तर भनेको बालसाहित्य सरल भाषामा लेखिएको रुचिकर , ज्ञानवरद्धक हुनाको साथसाथै बालभावना र उनीहरूको कल्पनाशीलता समेट्ने खालको हुनुपर्दछ । बढी उपदेशात्मक हुनु हुँदैन भन्ने नै हो ।
आजका बालबालिका भोलिको देश हाँक्ने जिम्मेवार नागरिक भएकोले आफ्नो देशको नागरिक कस्तो निर्माण गर्ने भन्ने बारेमा सिंगो र राष्ट्र र सर्जकहरुले विचार पुरयाउनुपर्ने हुन्छ । अबको बालसाहित्य लेखन जो मनोरन्जक र रोचक हुनाको साथै एकदमै विशिष्ट र उद्धेश्यमूलक हुनुपर्छ । न कि जे मन लाग्यो त्यही लेख्ने ! यो आफैमा चुनौतीपूर्ण लेखन हो जस्तो लाग्छ मलाई ।
जसरी एउटा बालकको शारीरिक विकासको लागि उसलाई विभिन्न खालका पोषणयुक्त खानाको आवश्यकता पर्दछ त्यसैगरी उसको बौद्धिक , मानसिक र भावनात्मक विकासको लागि पनि त्यस्तै खालको बौद्धिक, ज्ञानवरद्धक खुराकको आवश्यकता पर्दछ जसलाई पढेर बालबालिकाहरु रमाउन सकुन् । रुचिपूर्वक पढेर ज्ञान पनि हासिल गर्न सकून् । उनीहरूले एकअकाको जात धर्म ,लिंग , भाषाप्रति सदभाव , सम्मान गर्न सिकून् । अरूप्रति दया, मायाप्रेम गर्न सिकून्। नयाँ ज्ञान र जीवनोपयोगी सीप समेत हासिल गर्न सकून् । हो त्यस्तो खालको बालसाहित्यले नै बालबालिकालाई असल बाटोमा हिँडाउन मद्दत गर्नेछ ।
बालापन भनेको यस्तो स्वर्णीम समय हो, जुन समयलाई सम्झँदा पनि मन पुलकित हुन्छ । फर्केर त्यही समयमा पुगूँजस्तो लाग्छ । अनि आफ्ना समयका रमाइला पल सम्झँदा बालबालिकाको संसारमा पुगूँजस्तै लाग्छ । तर यो सम्भव नभए पनि आफ्नो समयका चञ्चलपन, जिज्ञासा, चकचक यी सबैलाई सम्झेर बालसाहित्य सिर्जना गर्नु रमाइलो पक्ष हो । आफ्नो रमाइलोका लागि लेख्नुभन्दा पनि बालबालिकालाई हामी कस्तो खुराक दिँदैछौँ भन्ने कुरामा सचेत भएर लेख्नुपर्छ जस्तो लाग्छ ।
कतिपय साहित्यकारहरूले साहित्य आफ्नो सन्तुष्टिका लागि लेख्छु भनेर भनेको पनि सुन्छु । प्रौढ साहित्य लेखन भए स्वतन्त्र रूपमा आफुलाई जे मन लाग्यो त्यही लेखे हुन्छ र स्वान्त सुखायको लागि लेखे पनि हुन्छ । तर बालसाहित्य लेख्नु फरक कुरा हो । हेर्दा सुन्दा पढ्दा, अत्यन्त सामान्य लागेपनि त्यसको प्रभाव ठूलो हुन्छ । बालमस्तिष्कमा सानामा परेको छापले उसको व्यक्तित्व निर्माणमा समेत ठूलो प्रभाव पार्न सक्छ ।
त्यसैले बालसाहित्य किन लेख्नुहुन्छ भनेर प्रश्न गर्नुभन्दा पनि बालसाहित्य किन लेखिनुपर्दछ भन्ने कुरा महत्वपूर्ण हो जस्तो लाग्दछ मलाई । किनभने अन्य साहित्य लेख्नु र बालसाहित्य लेख्नु नितान्त फरक कुरा हो । अन्य साहित्य लेख्दा तपाईँ आफ्नो रुचि र इच्छाले स्वतन्त्र रूपमा जुन विधामा पनि स्वच्छन्द रूपमा आफ्ना भावना , विचार पस्कन सक्नुहुन्छ । पढ्ने पाठकले पनि आआफ्नो बुझाइअनुसार त्यसको बिश्लेषण गर्न सक्छन् तर बालसाहित्य लेख्नु भनेको तपाईँको विचार बालबालिकामा लाद्नु पक्कै होइन । त्यसैले बालबालिकाको उमेरअनुसार उनीहरूको सिकाइको स्तर हेरेर उनीहरूलाई पस्कने बौद्धिक खुराक पनि फरकफरक हुन्छ । उमेर र स्तरअनुसारको बालसाहित्य सिर्जना गर्नुपर्ने हुन्छ । त्यसैले पनि यो विशेष र चुनौतीपूर्ण लाग्छ मलाई । यसको लागि विशेष विशेषज्ञताको हासिल गरेको हुनुपर्दछ । के सिकाउने ? किन सिकाउने ? कति कुरा सिकाउने भन्ने कुरा लेखकले बुझेर सोहीअनुरूप उमेरअनुसारको सरल भाषा , शैली र चित्रको संयोजन गरी लेख्नु नै कुशल बालसाहित्य लेखन हो जस्तो लाग्छ । बालसाहित्यमा म आफूलाई सिकारु नै ठान्छु ।
चालिसको दशक सम्मका नेपाली बालसाहित्यलाई हेर्दा नेपाली बालसाहित्यमा पन्चतन्त्रका कथा, नीतिकथा , जातक कथा, पौराणिक कथा र केही विदेशी कथालाई अनुवाद गरिएका कथा नै बढी मात्रामा पाइन्छ । त्यो पनि केही मूलधारका लेखकहरुले बालकथा, बालगीत भनेर लेखिएको पाइन्छ भने त्यस यताको समयावधिलाई हेर्दा बालसाहित्यमा पनि मौलिक बालकथाहरू लेख्ने प्रचलन बढेर गएको देखिन्छ ।
अहिले आएर बालसाहित्यलाई आफ्नो मूल विधा बनाएर कलम चलाउने बालसाहित्यकारहरू छन् । थुप्रै नयाँ पुस्ताका बालसाहित्य लेखकहरू पनि आएका छन् । यसलाई हेर्दा सकारात्मक पक्ष हो । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूले पनि बालसाहित्य लेखनका कार्यशाला गर्ने र उद्देश्यमूलक बालसाहित्य लेखनतर्फ अग्रसर पनि भएको पाइन्छ । यो राम्रो पक्ष हो ।
अबको बालसाहित्य नेपाली बालपाठकलाई नेपालको भूगोल, रहनसहन, रीति , संस्कार हाम्रा मूल्यमान्यता , जातजाति , भाषा, धर्म सबैलाई समेट्दै समयानुकूल समाबेशी र समावेशीताको कुरालाई पनि मध्यनजर राख्दै लेखिनुपर्दछ । बालसाहित्य कस्तो लेखिनुपर्दछ भन्ने कुरामा राष्ट्रिय रूपमा बहस छलफल , सेमिनार गोष्ठी गरेर आफ्नो देशलाई कस्तो नागरिक निर्माण गर्ने भन्ने कुरालाई मध्यनजर गरेर त्यसैअनुरूपको बालसाहित्य लेखन पनि निर्देशित हुनुपर्दछ जस्तो लाग्छ । त्यस्तै देशव्यापी रूपमा (मोफसलबाट ) नै बालसाहित्यकारहरू सक्रिय रूपमा लाग्नुपर्छ । उनीहरूलाई पनि माथि उठाउने काम गर्न
बालसाहित्यसँग सरोकार राख्ने संघसस्थाले गर्नुपर्दछ । त्यस्तै राज्यले पनि बालसाहित्य लेख्नेहरूका लागि विशेष चासोका साथ हेर्ने र प्रोत्साहन गर्नुपर्दछ जस्तो लाग्छ ।
प्रकाशनका दृष्टिले हेर्दा पनि अहिले बालसाहित्यका थुप्रै किताब निस्कन थालेका छन् । के प्रकाशनगृहहरू सक्रिय रुपमा प्रकाशनमा लागेका छन् । त्यस्तै विभिन्न संस्थाहरू पनि सक्रिय रूपमा लागेका छन् । जस्तै रुम टु रिड , एसिया फाउन्डेशन जस्ता संस्थाले सक्रिय रूपमा काम गरिरहेका छन् । मौलिक लेखनका साथै अनुवाद गर्ने क्रम पनि बढेको छ । डिजिटल माध्यममा पनि आउन थालेका छन् । जुन सकारात्मक पक्ष हो ।
रामदेव पाण्डे
धेरै ठाउँमा सोधिने गाह्रो प्रश्न हो यो । व्यक्तिगत रूपमा भन्नुपर्दा हरेकका आआफ्ना फरक धारणा पाउन सकिन्छ । यहाँ सोधिएको प्रश्न बालसाहित्य किन लेखिन्छ भन्ने सन्दर्भमा मेरो पनि आफ्नै धारणा छ । प्रथमतः सिर्जना अथवा लेखन भन्ने कुरा नै आफूभित्रको ज्ञान र चेतनालाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम हो । तर, बालसाहित्यमा आफ्नो ज्ञान मात्र संप्रेषण गरिनु उपयुक्त हुँदैन अथवा गर्न पाइँदैन नै भन्दा पनि हुन्छ । आफ्ना विचारको केही प्रभाव त रहन्छ नै तर बालसाहित्यले बालबालिकाको बालमस्तिष्कको विशेष ध्यान राख्नुपर्ने भएकाले बालबालिकाका लागि सकारात्मक बौद्धिक खुराक दिन सकियोस् भनेर नै मैले बालसाहित्य लेख्ने गरेको छु ।
बालबालिकाको उमेर भनेकै जिज्ञासु र हरेक कुरामा तर्क गर्ने प्रकारको हुन्छ । चञ्चले मन हुने हुँदा उनीहरू एक ठाउँमा बसिरहन अथवा एउटै कुरा हेरिरहनभन्दा फरक ठाउँमा जान, फरक कुरा सुन्न र बुझ्न चाहने हुन्छ । बालसाहित्यले उनीहरूको यसै स्वभावलाई समेट्नुपर्ने भएकाले उनीहरूका लागि राम्रो बौद्धिक खुराक हो यो । राम्रो बालसाहित्यले उनीहरूको ज्ञानको दायरा बढाउनुका साथै तर्कशक्तिमा पनि वृद्धि गर्छ । तर्कशक्ति बढ्नु भनेको उनीहरूको समग्र विकासमा टेवा पुग्नु हो । बालसाहित्य पढ्ने संस्कार भएका बालबालिका निडर, तीक्ष्ण बुद्धियुक्त र मानसिक तनावबाट समेत मुक्त हुन्छन् । बालसाहित्यले उनीहरूको औपचारिक शिक्षामा पनि विशेष मद्दत पुरयाउने हुँदा वास्तवमै बालबालिकाका लागि यसको अत्यन्त सकारात्मक महत्व रहेको छ ।
बजार, बिक्री, प्रशंसा, पुरस्कार आदिका लागि लेख्नेहरूले आफ्नो वास्तविक विचारलाई भन्दा अरूको रुचिलाई मात्र हेरी लेख्ने गरेको पनि पाइन्छ । तर, बालसाहित्य लेखनलाई त्यसरी लैजानु उपयुक्त हुँदैन । बालसाहित्य वास्तवमा कोमल र विकासक्रममा रहेको बालमस्तिष्क बोकेका बालबालिकाप्रति लक्षित हुने हुँदा यहाँ विशेष ध्यान पुरयाउनु आवश्यक रहन्छ ।
बालबालिकाको बौद्धिक खुराक, तर्कशक्ति र ज्ञानको दायरा बढाउने उद्देश्यले मनोरञ्जनात्मक शैलीमा लेखिने बालसाहित्य नै उपयुक्त बालसाहित्य हो । गलत र नकारात्मक कुराहरू बालसाहित्यमा कुनै पनि अवस्थामा प्रवेश गराइनु हुँदैन । बालबालिकालाई मानववादी सोचयुक्त बनाउन कुरीति, कुसंस्कार र अन्धविश्वासजन्य विषयहरू बालसाहित्यमा पस्किनु हुँदैन । सकेसम्म वैज्ञानिक तर्कयुक्त विषय रहेको बालसाहित्य नै उत्कृष्ट बालसाहित्य हो ।
एक वाक्यमा भन्नु पर्दा जस्तो हुनुपर्ने हो त्यस्तो छैन । पहिलो कुरा त हामी नेपालीहरूको कमजोर आर्थिक अवस्थाका कारण क्रयशक्ति नै कमजोर छ । जनसंख्याको अधिकांश भाग खान लाउनकै जोहो गर्न दौडधूप छ भने शिक्षा र साहित्यमा लगानी गर्ने क्षमता पनि कमजोर हुने नै भयो । आर्थिक अवस्था अलि राम्रो भएको परिवारका अभिभावकहरूमा पनि बालसाहित्यको महत्व र यसले बालबालिकालाई पार्ने सकारात्मक प्रभाव सम्बन्धमा या त जानकारी छैन या जानेर पनि ध्यान दिइरहेका छैनन् । जति बालबालिका बालसाहित्यका पुस्तकहरूको पहुँचमा छन्, तिनीहरूले पनि आफूले रोजेको भन्दा अभिभावकको रोजाइमा मात्र पुस्तक पाउने अवस्थामा छन् ।
सरकारी तवरबाट पठन संस्कारको विकासका लागि रत्तिभर पनि पहलकदमी भैरहेको अवस्था छैन । यति हुँदाहुँदै पनि पहिलेभन्दा अहिले धेरै बालसाहित्य लेखिन र प्रकाशित हुन थालेको छ । बजार पनि केही सुध्रेको छ । सचेत अभिभावक र सचेत विद्यालयहरूले बालसाहित्यका पुस्तकहरूलाई पाठ्यपुस्तकसरह नै महत्व दिएर बालबालिकालाई उपलब्ध गराउन थाल्नु अत्यन्त सकारात्मक पक्ष रहेको छ । यसको महत्व बुझेर सबैतिरबाट सकारात्मक सहयोग हुनु आवश्यक छ ।
सुशीला देउजा
बालसाहित्य लेखेर बालबालिकालाई केही राम्रा कुराको सन्देश दिन सकिन्छ कि भन्ने अभिप्रायले पनि लेख्न थालेकी हु । बालसाहित्यले निश्छल पवित्र बालमनलाई सजिलैसित प्रभाव पार्दछ । बालमन काँचो माटोजस्तै कोमल हुन्छ । कुमालेले काँचो माटोलाई आफ्नै किसिमको आकार दिए जस्तै असल शिक्षा, राम्रो बातावरण दिन सके भविष्यको एक दक्ष नागरिकको जग बस्दछ भन्ने मलाई लाग्छ । बालमनमा जे छाप बस्यो त्यो शिलालेखजस्तै जीवनभर अमिट बनिदिन्छ । चरित्र निर्माणको लागि पनि सहायकसिद्ध हुन सक्छ ।
बालबालिका स्वभावैले चञ्चल, जिज्ञासु हुन्छन । उनीहरूको मनमा सधै नयाँ–नयाँ प्रश्नहरू उब्जिरहेका हुन्छन् । सधै किन र कसरी इत्यादि प्रश्न राखिरहन्छन् । अभिभावकबाट पनि पाउन नसकेको उत्तर पुस्तकबाट पाउन सक्छन । अझ अभिभावकले सम्झाउन नसकेको कुरा बालकथामार्फत बुझाउन सकिन्छ । मलाई लाग्छ यो बढी प्रभावकारी पनि बन्न सक्छ । त्यसैले बालसाहित्य लेख्दा रमाइलो लाग्ने उनीहरूले बुझने सरल भाषा र मनोरञ्जन पूर्ण हुनुपर्छ । कुन उमेरको बालबालिकालाई लक्षित गरिएको हो त्यहीअनुरूपको बाल मनोभावसंग मेल खाने विषय र भाषा हुनुपर्छ । नकारात्मक सोचको रचना गर्नु हुँदैन । लेखरचना पढदा बालबालिकाको हौसला बढाउने, साहसी, निडर, मेहनती, इमानदार बन्न प्रेरणा दिने खालको हुनुपर्छ । जसले गर्दा उनीहरूको चौतर्फी विकासमा मद्दत पुगोस् । बालसाहित्यले बालबालिकाको ज्ञानको क्षेत्र पराकिलो पार्ने काम गर्छ । नयाँ–नयाँ शब्द र वस्तुको परिचय गराउँछ । प्रश्नहरूको उत्तर आफैले खोज्ने क्षमता बढछ । आफनो भाषा, भेष, संस्कृति संरक्षण गर्ने शिक्षामूलक पनि हुनुपर्छ । बालसाहित्यले बालबालिकालाई मनोरंजनका साथै चेतनाको विकास गराउँछ । रमाइलारमाइला सामग्रीहरू पढ्दै जाँदा किताब पढने बानी बस्छ । हुन त अहिले डिजिटलको युग छ । बच्चैदेखि अनलाइनमा सबै हेर्न पाउँछन् । त्यसैले पनि उनीहरूलाई आकर्षित गर्न रमाइला कथा संगसंगै राम्रराम्रा रंगीन चित्रहरू पनि समावेश गर्नुपर्छ ।
अहिले बालसाहित्यको क्षेत्र फराकिलो बन्दै गएको छ । दिनहुँ जसो नयाँ–नयाँ सृजनाले भण्डार भरिदै छ । सरकारी तवरबाट कुनै पहल नभए पनि व्यक्तिगत तवरले बालसाहित्यको उत्थानमा लागिपर्ने र यसैमा समर्पित हुने संघसंस्था र युवाहरू पनि धेरै छन् । बाल अवस्थादेखि नै भविष्यका कर्णधारहरूलाई राम्रो मार्ग देखाउन सके भोलिको समाज निश्चय नै सुसंस्कृत, आदर्श, संवृद्ध, सुन्दर समाज निर्माण हुने छ ।
शारदा पराजुली
मूतलः म एक शिक्षिका हुँ । म प्रायः बालबालिकासँगै रहेको हुन्छु । बालबालिकाको आनीबानी, बोलीचाली र जिज्ञासालाई साहित्यमा प्रस्तुत गरेर उनीहरूलाई सुनाउँदा उनीहरू खुसी भएको देखेर मलाई बालसाहित्य लेख्न रमाइलो लाग्छ ।
बालसाहित्यमा बालसुलभ क्रियाकलाप हुनुपर्छ । बालबालिकाका बोली, व्यवहारअनुरूपको साहित्य हुनुपर्छ । लेखकको बौद्धिकता र जटिल शब्दको प्रयोग गर्नु हुँदैन । लामालामा वाक्य संरचना पनि प्रयोग गर्नु हुँदैन । बालबालिकाले बोल्ने भाषाको प्रयोग गरेर रमाइलो पाराले बालापनका कुरा प्रस्तुत भएको हुनुपर्छ ।
बालसाहित्य अन्य साहित्यको तुलनामा धेरै विस्तार हुन सकेको छैन । बालसाहित्य लेख्ने मान्छे ज्यादै थोरै छन् । बालसाहित्य लेख्ने कतिपयले लहडीमा लेख्ने गरेकाले त्यस्ता बालसाहित्यले बालबालिकामा उत्प्रेरणा जगाउन सकेको छैन । बालकविता, बालगीत र बालकथा केही मात्रमा लेखिएका छन् तर बालनाटक, बालनिबन्ध, बालउपन्यास कमै लेखिएका छन् । कसैलाई बालकविता पढ्न रमाइलो लाग्ला, कसैलाई बालकथा पढ्न रमाइलो लाग्ला, कसैलाई बालगीत गाउन मजा आउला, कसैलाई बालनाटक पढ्न त कसैलाई बालउपन्यास र बालनिबन्धमा इच्छा जाग्ला । त्यसैले बालनाटक, बालउपन्यास र बालनिबन्धलाई लेखकले अगाडि बढाउनुपर्छ होला जस्तो लाग्छ । बालसाहित्य लेख्दा धेरै कुरा ख्याल गर्नुपर्छ । बालकविता, बालगीतमा गेयात्मकता हुनुपर्छ । गेयात्मक कविता बालबालिकाले रमाएर पढ्छन् । बालकथा लेख्दा उपदेशात्मकभन्दा पनि सकारात्क सन्देश दिने भयो भने उनीहरू आफैं सकारात्मक पात्र बन्नेतिर उद्धत हुन्छन् । आजभोलि बालसाहित्य लेख्दा विज्ञान र प्रविधिका कुरालाई पनि ध्यान दिनुपर्छ र समयसापेक्ष बनाउँदै लैजानुपर्छ ।
बालबालिका काँचो माटो हुन् । उनीहरूको दिमागमा हामीले जस्तो कुरा दिन सक्यो त्यस्तै छाप बस्छ । बालसाहित्यका माध्यमबाट उनीहरूमा सकारात्मक सोचको विकास गर्न सकिन्छ । असल चरित्र र खराब चरित्र भएका व्यक्तिहरू बालरचनामा उपस्थित गराएर खराब चरित्रले दुःख पाएको र असल चरित्रले प्रशंसा पाएको देखाइदिएमा उनीहरूमा असल चरित्रतिर आकर्षण बढी हुन्छ । त्यसैले बालसाहित्यका माध्यमबाट बालबालिकाको चरित्र निर्माण गर्न ठूलो टेवा पुग्ने हुँदा बालसाहित्य अपरिहार्य छ ।
खासमा बालसाहित्य त्यति धेरै माथि उठ्न सकेको छैन । बालसाहित्य शहरमा केही हदसम्म विकास भए जस्तो देखिए पनि गाउँगाउँमा यसको विकास र विस्तार हुन सकिरहेको छैन । कतिपय विद्यालयमा बालसाहित्यको मनोरञ्जनात्मक रचनाभन्दा पनि विभिन्न प्रकाशकले निःशुल्क दिएका कक्षागत पुस्तक पुस्तकालयमा राखेर देखाउने काम मात्र भएको पाइन्छ । त्यसैले बालसाहित्यको त्यति धेरै विस्तार हुन सकिरहेको पाइँदैन । बालसाहित्य विस्तार हुन नसक्नुको अर्को पनि कारण छ । त्यो हो बालसाहित्य लेखनको प्रशिक्षण दिने काम ज्यादै न्यून छ ।
बालसाहित्य बालबालिकाले नै लेख्नुपर्छ । यसरी लेखिएका रचनामा बालमनोविज्ञान प्रस्तुत हुन्छ । आजभोलि समाजमा एउटा हुइम चलेको छ । त्यो हुइम हो बालसाहित्यको बढी माग छ रे भन्ने । त्यही हुइमका कारण पनि धेरै स्रष्टा बालरचना लेख्न हतारिएका छन् । बालमनोविज्ञान, आनीबानी, व्यवहार, उनीहरूका इच्छा, चाहना नबुझी लेखिएका रचना उनीहरूका लागि बोझिला हुन सक्छन् । त्यसैले प्रकाशनको हतारो नगरी, बालमनोविज्ञान बुझेर बालरचना गर्नु उपयुक्त हुन्छ ।
यशु श्रेष्ठ
बालबालिका मेरा लागि प्रिय छन्। उनीहरूको भविष्यमाथि चिन्तित छु । असल शिक्षाप्राप्त बालबालिकाबाट नै असल परिवर्तनको थालनी हुन्छ । राष्ट्रको भविष्य उनीहरूमाथि निर्भर छ । उनीहरू असल र राम्रो भए, राष्ट्र नै असल, राम्रो र विकसित हुन्छ । त्यसैले बालबालिकालाई असल मार्ग देखाउन पाए ! उनीहरूलाई सकारात्मक सोचको धनी र प्रसन्न बनाउन पाए भन्ने हुटहुटी र चिन्तनले नै म बालबालिकाका लागि लेखिरहेको छु ।
पठन संस्कार र संस्कृतिको विकासका लागि पनि बाल्यकालदेखि नै पहल जरुरी छ । बालबालिकाहरूका लागि राम्रो लेखियो भने उनीहरू यसतर्फ आकर्षित हुन्छन् । पढ्ने बानी लाग्छ । पढ्ने बानीले मानिसलाई चेतनशील, विवेकशील, धैर्यवान्, कल्पनाशील, सिर्जनशील, क्षमतावान्, तर्क गर्न सक्ने शैलीको विकास, असल, शान्त, ज्ञानी हुन्छन् । यसले चौतर्फी विकासमा मद्दत पुरयाउँछ । बालबालिकाको चौतर्फी विकास हुनु भनेको हरेक क्षेत्रमा चौतर्फी विकास र समुन्नतिको ढोका खोलिनु हो । यसैले हरेक दृष्टिले जग बलियो बनाउन म जगका लागि अर्थात् बालबालिकाका लागि लेखिरहेको छु, बालसाहित्यको विकासका लागि लेखिरहेको छु । यसरी लेख्दालेख्दै अब यो मेरो पेशा नै बनिसकेको छ । त्यसैले पनि लेखिरहेको छु ।
बालसाहित्य यस्तै हुनुपर्छ भन्ने सर्वश्रेष्ठ मानक छ जस्तो मलाई लाग्दैन । समय र परिवेशअनुसार पाठकको रुचिमा भर पर्ने कुरा हुन् । पढ्न रमाइलो हुँदोरहेछ भन्ने मनमा पर्न सक्ने, पाठकका रुचिअनुरूप उनीहरूको मनलाई छुने गरी, कौतूहलताले भरिएको, यो पुस्तक त मेरै लागि लेखिएको रहेछ भन्ने बनाएर उनीहरूको उमेर सुहाउँदो गरी लेखिएका ज्ञान र मनोरञ्जनले भरिपूर्ण पुस्तक हुनुपर्छ, जसले पाठकको मन छोओस्, भावनालाई समेटोस् र मस्तिष्कमा झन्कार पैदा गरिदिओस्।
बालसाहित्यले पक्कै पनि बालबालिकालाई असल मार्गमा डोरयाउँछ नै । उनीहरूका लागि मीठो खानेकुरा भनेझैं मीठो पढ्ने कुरा हो बालसाहित्य । मीठो गरी बुझ्ने, रमाउने, अन्तरक्रिया गर्ने, थाहा पाउने, जिज्ञासु बनाउने, प्रश्न गर्न सिकाउने, तर्क गर्न सक्ने, समाज बुझ्न मद्दत गर्ने, नेतृत्व गर्न लायक बनाउने, नयाँ तरीकाबाट संसारलाई नियाल्न सिकाउने, सरल तरीकाले जीवन बुझ्न सक्ने बनाउने, कोमलता भर्ने चिज हो बालसाहित्य । बालसाहित्यले पठनको खुड्किलोलाई थप सजिलो बनाउँछ र पढ्नुपर्छ भन्ने भावनाको विकास गर्छ । जीवनमा धेरै परीक्षा हुन्छन्, त्यसलाई पार गर्नुपर्छ भन्ने कुरालाई दिमागमा भर्छ । उनीहरूलाई रचनात्मक, सामाजिक, चेतनशील बनाउँछ । सांस्कृतिक संरक्षण र आदानप्रदानका लागि पनि बालसाहित्यको भूमिका रहन्छ । विद्यालयको शिक्षाका लागि त बालसाहित्य अक्सिजन सरह हो । यसको भूमिकाको गहिराइ मापन गर्न कठिन छ ।
बालसाहित्यको अवस्था एकदमै सन्तोषजनक रहेको छ । यही व्रmममा विकास हुँदै जाने हो भने यसको भविष्य सोचेकोभन्दा पनि राम्रो, असल र अब्बल हुने छ र हुनु पनि पर्छ । गर्नुपर्ने कामहरू धेरै छन् । सिर्जना गर्नुपर्ने कुराहरू धेरै छन् । उँचो बनाउनुपर्ने मार्गहरू धेरै छन् तर निराश हुनुपर्ने, केही भएकै छैन भन्नुपर्ने कहीँ कतै छैन । असाध्यै सुन्दर तव हुन्छ जब नानीहरूलाई ध्यान दिइन्छ ।
प्रकाशित: ७ श्रावण २०७७ ११:१९ बुधबार