कलाकर्ममा स्थापित प्रतिभालाई लकडाउन अवसर बनेर आइदियो । सामान्य अवस्थामा बेलाबेला घर बाहिर निस्कनु पर्दा उनीहरूको काम बिथोलिन्थ्यो । तर, कोरोना भाइरसको डरले घरभित्रै बस्दा उनीहरू हरपल व्यस्त छन् । त्यस्तै एक कलाकार हुन्–सुन्दर सिंख्वाल ।
उनी पौभा चित्रका लोकप्रिय कलाकार । सधैं भ्याईनभ्याई हुन्छ उनलाई । ‘हाम्रो लागि लकडाउन मौकाजस्तै भएको छ’ त्यसो हुनुको कारण सुनाउँछन्, ‘कतै जानु परेको छैन । त्यसैले अचेल धेरै काम गरेको छु । समय सजिलै बित्दैछ ।’
कलाकार सुन्दर सिंख्वालले लकडाउनको भरपूर सदुपयोग गरेका छन् । यो समयमा उनले केही पुराना चित्र पूरा गरे भने केही नयाँ बनाए । बिहानदेखि साँझसम्म घरकै स्टुडियोमा बसेर चित्र बनाउन भ्याईनभ्याई छ उनलाई ।
उनी बिहानको खाना खाएर स्टुडियोमा छिर्छन् र साँझको दियो जलाउनुअघि उठ्छन् । ‘बत्तीको उज्यालोमा मिहीन काम गर्दा आँखामा स्टे«स हुन्छ’, उनले भने, त्यसैले रातिचाहिँ काम गर्दिनँ ।’
पहिलापहिला जस्तै लकडाउनमा पनि उनले बौद्ध दर्शन र हिन्दू दर्शनमा आधारित चित्र बनाए । उनले अर्डरका काम गरे । केही पुराना चित्रलाई पूरा गरे भने केही नयाँ बनाए ।
राम्रा कलाकारले कहिल्यै फुर्सद पाउँदैनन् । उनीहरूको माग ठूलो हुन्छ । सिंख्वाल एउटा चित्र न्यूनतम लाख रुपैयाँमा बेच्छन् । त्यस्तो चित्र बनाउन महिना दिन लाग्छ । देवदेवीका जीवनचक्र झल्काउने मण्डला बनाउन भने महिनौं वा वर्षसम्म लाग्न सक्छ ।
विशेषतः काठमाडौंको नेवार समुदायले बनाउँदै आएको पौभा चित्र र थाङ्काका विषयवस्तु, रंग र क्यानभास एकै खालका हुन्छन् । शैलीका हिसाबले हेर्दा यसमा थोरै भिन्नता हुन्छ । प्रायः कलाकृति बुद्धको जीवन दर्शनमा आधारित हुन्छन् ।
नेवार समुदायमा हिन्दू र बौद्धमार्गी दुवै छन् । त्यसैले पौभा चित्रमा दुवै धर्मको प्रभाव परेको छ । धेरैजसो बौद्ध धर्मका विषयवस्तु ग्रिनतारा, व्हाइट तारा, बुद्ध, लोकेश्वर, योगीनी, महाङ्काल, मञ्जुश्री आदिका चित्र बनाइन्छ । साथै हिन्दूका देवदेवीहरू गणेश, सरस्वती, अष्टमातृका र महादेवका चित्रको माग पनि ठूलो रहेको सिंख्वाल बताउँछन् ।
समयसँगै पौभामा पनि पश्चिमेली चित्रकलाको प्रभाव पर्दै गएको छ । पुरानो पौभामा कुनै देवताको पूरै परिवार राख्ने चलन थियो । अचेल एउटै देवता मात्र बनाइन्छ । बजारको माग जस्तो आउँछ, त्यस्तै बनाउँछन् कलाकार ।
विशेषतः काठमाडौंको नेवार समुदायले बनाउँदै आएको पौभा चित्र र थाङ्काका विषयवस्तु, रंग र क्यानभास एकै खालका हुन्छन् । शैलीका हिसाबले हेर्दा यसमा थोरै भिन्नता पाइन्छ । प्रायः कलाकृति बुद्ध जीवन दर्शनमा आधारित हुन्छन् ।
पौभालाई परम्परागत चित्रकला विधामा राखिएको छ । चित्रहरू धार्मिक तथा आध्यात्मिक दर्शनअनुसार बनाइन्छ । त्यस्तै परम्परागत स्टोन कलर प्रयोग गरेर कपडामा बनाइन्थ्यो । अचेल एक्रेलिक र तैल रंगको समेत प्रयोग गरिन्छ । यस्तो रंग प्रयोग गर्दा भने आधुनिक क्यानभासै प्रयोग हुन्छ ।
पौभामा नेपाली लोभिन्छन् तर महँगो भएकाले किन्दैनन् । त्यसैले पौभा चित्रको बजार विदेश हो । युरोपेली मुलुकदेखि बेलायत, अमेरिकातिर पठाइन्छ । कतिपय कलाकारको सोझै कनेक्सन विदेशीसँग हुन्छ । हाम्रा सिंख्वालचाहिँ पर्यटकीय केन्द्र ठमेलमा वीरेन्द्र शाहीको थाङ्का हाउस र तिब्बेतियन थाङ्का टे«जरमा पु¥याउँछन् । त्यहीँबाट बेचिन्छन् कलाकृति ।
उनले पौभा कला बनाउन थालेको तीन दशक नाघिसक्यो । सांस्कृतिक नगरी भक्तपुरको गाहिटी टोलमा जन्मेहुर्केका सिंख्वालको तन र मनमा बाल्यकालदेखि नै आध्यात्मिक भावनाले बास गरेको थियो । आज उनी ५२ वर्षका भए, पौभा चित्रकार बनेको चाहिँ २०४४ सालदेखि ।
तिनताका उनको परिवार खेतीकिसानी गथ्र्यो । बुबाको व्यापार पनि थियो । उनी स्कुले जीवनमा विद्यार्थी निकेतनमा पढ्दैदेखि चित्र कोर्थे । बेलाबेलामा पुरस्कार पनि जित्थे ।
एक दिन कलाकार पूर्णप्रसाद ह्योजूकी आमा उनको घरमा आइन् । उनले बनाएका चित्र देखेर सोधिन्, ‘तिमी पनि पौभा चित्र बनाउँछौ ?’
‘बनाउँदिन तर सिक्ने मन छ’, उनले जवाफ दिए ।
‘मेरो छोरा पूर्णप्रसादले बनाउँछ । ऊसँगै सिक न’, उनले सुझाइन् । त्यसपछि पाँचतले मन्दिर नजिकै क्वाछे टोलमा गएर उनले ह्योजुसँग सिके । गुरुशिष्य परम्परामा १५ महिना सिके । राम्रोसँग जान्न ६ वर्षजति सिक्नुपर्छ । पछिल्लो समय उनले स्वाध्ययन पनि गरे । बेलाबेला तिनै गुरुलाई भेटेर ज्ञानगुन पनि लिइरहे ।
समयको कसीमा कामले खा¥यो उनलाई । उनी आफू कुशल चित्रकार त बने नै, दाइ रत्नगोपाल र भाइ इन्द्रसिंहलाई पनि प्रोत्साहित गरेका छन् । त्यति मात्र होइन, उनकी छोरी रजनी पनि ललितकला क्याम्पसबाट विएफएको पढाइ सकेर पौभामै रमेकी छिन् ।
मान्छेले बाँच्न संघर्ष गर्नुपर्छ । आज चित्र बनाएर भौतारिनुपर्ने अवस्था छैन । सुरुवाती दिनमा गुरु पूर्णप्रसाद र ठमेलका ग्यालरी सञ्चालक सुरेन्द्रबहादुर शाहीले लगाएको गुन कहिल्यै बिर्संदैनन् उनी ।
राम्रा कलाकारले कहिल्यै फुर्सद पाउँदैनन् । सिंख्वाल एउटा चित्र न्यूनतम एक लाख रुपैयाँमा बेच्छन् । त्यस्तो चित्र बनाउन महिना दिन लाग्छ । देवदेवीका जीवनचक्र झल्काउने मण्डला बनाउन भने महिनौं वा वर्षसम्म लाग्न सक्छ ।
सिंख्वाल जस्ता पौभा चित्र बनाउने कलाकारको संख्या दुई सयको हाराहारीमा छ । एउटै पौभा चित्र बनाउन महिनौ दिन लाग्छ । त्यसैले धैर्य कम हुनेहरू यसमा टिक्दैनन् ।
निरन्तर लगाव र कामप्रतिको समपर्णका कारण सिंख्वाल टिकेका मात्र छैनन्, कुशल कलाकारका रूपमा चम्केका पनि छन् । उनले धेरै राष्ट्रिय प्रतियोगितामा जितिसकेका छन् । ठूलो कुरा मनमा सन्तोक छ ।
‘बाँचुञ्जेल कलामै लाग्छु’, उनी आफ्नो कामप्रति सन्तुष्ट छन्, ‘मैले पौभाबाट नाम, दाम र आत्मसन्तुष्टि सबै कमाएको छु ।’
अचेल उनी काठमाडौं महानगरपालिका–१६ नयाँबजार टाउन प्लानिङमा बस्छन् । एघार वर्ष भयो भादगाउँ छाडेर कान्तिपुर बस्न थालेको । दुई छोरी र श्रीमतीसहितको सुखी परिवार छ उनको ।
जीवनमा कहिले घाम, कहिले छायाँ त भइनै रहन्छ । अहिले कोरोनाको महामारीले संसारलाई बिथोलेको छ । अबका केही वर्ष नेपालमा पर्यटक नआउन सक्छन् । त्यस्तो बेला कलाको बजार घट्न सक्छ ।
‘कोरोना सधैं नरहला’, उनी भन्छन्, ‘वर्षमा आठदशवटा चित्र बनाउँछु । त्यति त खपत होला नि !’
जीवनमा विभिन्न उतारचढाव व्यर्होदै आएका सिंख्वाल आशावादी कलाकार हुन् । त्यही आशाले बचाइरहनेछ कलाकर्र्म । उनलाई धेरैधेरै शुभकामना !
प्रकाशित: ४ असार २०७७ ०६:३१ बिहीबार