इलाम – नेपाली भाषा र वर्णविन्यासबारे विगतमा देखिएको विवाद समाधान भइसकेको नेपाल प्रज्ञाप्रतिष्ठानले दाबी गरेको छ। बृहत् नेपाली शब्दकोषको दसौं संस्करणमा सबैको सहमति रहेकाले लामो समयदेखिको विवाद अन्त्य भएको प्रतिष्ठानको भनाइ छ।
नेपाली बृहत् शब्दकोषको दसौं संस्करणअनुसार वर्णविन्यास प्रयोग गर्न सबैको सहमति रहेको प्रतिष्ठान सदस्य प्रा.डा. हेमनाथ पौडेलले बताए। ‘शब्दकोषको दसौं संस्करण आइसकेको छ,’ सदरमुकाममा मंगलबार आयोजित कार्यक्रममा उनले भने, ‘वर्णविन्यासबारे मतान्तर थियो, दसौं संस्करणको शब्दकोषमा सबैको सहमति भएको छ। विवाद अन्त्य भएको छ।’ उनले करिब ३ महिनाभित्र शब्दकोषको मोबाइल एप्लिकेसन पनि आउने बताए। उनका अनुसार अंग्रेजी शब्दमा जस्तै नेपाली शब्दको पनि कम्प्युटरमा हिज्जे जाँच गर्ने प्रणाली विकास गरिँदैछ।
प्रतिष्ठानले सातै प्रदेशमा भाषा र साहित्यको बृहत् अनुसन्धान परियोजना सञ्चालन गर्न लागेको छ। ‘प्रतिष्ठानले सबै प्रदेशको भाषा, साहित्यको प्रोफाइल तयार गर्न लागेको छ,’ उनले भने, ‘नेपाली साहित्यको विधागत इतिहासबारे पनि अध्ययन हुनेछ।’
सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको नेपाली विभागले आयोजना गरेको ‘वर्तमान समयमा नेपाली साहित्यको विकास र प्रवृत्ति’ विषयक अन्तरक्रियामा प्रतिष्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले राजनीतिले व्यवस्था र साहित्यले संस्कृति बदल्नुपर्ने बताए। संस्कृति नबदलिएसम्म राजनीतिक परिवर्तनको अर्थ नरहने उनको भनाइ थियो।
‘इतिहासले स्रष्टालाई अहिले के जिम्मेवारी दिएको छ भन्ने विषय ज्यादै महत्वपूर्ण छ,’ उनले भने, ‘राजनीतिक परिवर्तनको यात्रालाई साहित्यकारले सही दिशामा नलगेसम्म सांस्कृतिक परिवर्तन हुँदैन।’ कुलपति उप्रेतीले साहित्यको इतिहास नै समाज रुपान्तरणसँग जोडिएकाले राजनीतिक अवस्थाले साहित्य सिर्जनामा प्रत्यक्ष प्रभाव पार्ने बताए। उनले सुगौली सन्धिअघिको वीरधाराकाल सन्धिपछि भक्तिधारा, प्रेम र धार्मिक विश्वासतिर मोडिएको बताए। ‘मोतीराम, भानुभक्तलगायतले जेजस्ता साहित्य सिर्जना गरे, अहिले त्यसैअनुसारका नहुन सक्छन्,’ उनले भने, ‘समाज जसरी परिवर्तन हुँदैछ, साहित्यको मोड पनि उसैगरी परिर्वतन हुन्छ र हुनुपर्छ।’
कुलपति उप्रेतीले देशको तागत, सामथ्र्य र सम्भावना चिनेर त्यसैअनुसार साहित्यकारले समाजलाई डो¥याउनुपर्ने सुझाए। ‘अहिले राजनीतिक परिवर्तन फराकिलो भएको छ तर सांस्कृतिक परिर्वतन आउन सकेको छैन,’ उनले भने, ‘सांस्कृतिक परिवर्तनको बाटो छोटो हुँदैन। तर साहित्यकारले बारम्बार खबरदारी र मार्गदर्शन गरिरहनुपर्छ।’ अहिले जसले जे वर्णन गरे पनि देशचाहिँ अग्रगमनकै यात्रामा रहेको उनले बताए। ‘सरकार परिवर्तन हुँदैमा व्यवस्था परिवर्तन हुँदैन,’ उनले भने, ‘जुन सरकार आए पनि हामीले सबैको हित हुनेखालको सांस्कृतिक परिवर्तनमा सघाउनुपर्छ। देश अहिले निरस होइन, आसलाग्दो बाटोमै छ।’
प्रतिष्ठान सदस्य देवी नेपालले उमेर र विचारले साहित्य सिर्जनामा फरकपन ल्याउने बताए। ‘एउटै वस्तुका बारेमा कविता लेख्नुप¥यो भने बालक, युवा, प्रौढ र ज्येष्ठ नागरिकको सिर्जना फरक–फरक नै हुन्छ,’ उनले भने, ‘व्यक्तिको राजनीतिक विचारसमेत साहित्यमा झल्किन्छ।’ त्यस अवसरमा कविहरू विमल वैद्य, सोम निरौला र इन्द्रनारायण सुवेदीले आआफ्ना कविता सुनाएका थिए।
प्रकाशित: १४ फाल्गुन २०७६ ०२:१० बुधबार