२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

बज्जिका कवितामा सुदामा उत्कृष्ट

रौतहट - सर्लाही, रौतहट र बाराको स्थानीय भाषाको रूपमा रहेको बज्जिका भाषाको ‘प्रथम राष्ट्रिय कविता प्रतियोगिता’ सम्पन्न भएको छ। बज्जिका साहित्य संगम रौतहटले गढीमाइ नगरपालिकाको सहयोगमा आयोजना गरेको प्रतियोगितामा सर्लाहीका छन्दकवि सञ्जय सुदामाले प्रथम स्थान हासिल गर्दै २१ हजार रुपैयाँ, प्रमाणपत्र र विभिन्न पुस्तक स्वरूप प्राप्त गरे।

‘गढीमाइ प्रथम राष्ट्रिय बज्जिका कविता प्रतियोगिता’ नाम दिइएको कार्यक्रममा दिनबन्धु साहले द्वितीय स्थानसहित १५ हजार, सन्जय महतो राजले तृतीय स्थानसहित ११ हजार र अनिशा यादव तथा अमित सहनीले ७/७ हजार रुपैयाँसहित सान्त्वना पुरस्कार पाए।

विजेतालाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै पूर्वसभासद कृष्णप्रसाद यादवले संगठित भएर मातृभाषाको विकासमा लाग्न सबैलाई आह्वान गरे। गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण गढीमाइ नगरपालिकाले पहिलोपटक राष्ट्रिय बज्जिका प्रतियोगिताको आयोजना गरेर ऐतिहासिक कामको आरम्भ गरेको बताए।

पत्रकार चन्द्रकिशोरले बज्जिकाको चेतना विकासको लागि अन्य विभिन्न अभियानको थालनी गर्न ढिलाइ गर्न नहुने तर्क गरे। मेयर यादवले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गरे। आयोजक संस्थाका अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद कृष्णप्रसाद यादव, गढीमाइ नगरपालिकाका मेयर श्यामप्रसाद यादव, पत्रकार चन्द्रकिशोर, योगेन्द्र यादव, विन्दा सहनी, नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख नागेन्द्र राय यादव, नागरिककर्मी मदन ठाकुरलगायतलाई बज्जिका भाषाको क्षेत्रमा योगदान पु-यावापत सम्मान गरिएको थियो।

प्रतियोगितामा सर्लाही, रौतहट र बाराका एक सय १४ कविको सहभागिता थियो। बज्जिका मातृभाषी क्षेत्रमा स्थायी घर भई मलेशिया, दक्षिण कोरिया र अमेरिकामा रोजगारीका क्रममा रहेकाले प्रतियोगितामा सहभागिता जनाएको कार्यक्रम सञ्चालक संजय मित्रले बताए।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App