६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला

सानो अण्डा

लघुकथा

सरस्वती उच्च माविले स्वर्ण उत्सव मनाइरहेको थियो। स्वर्ण उत्सव भएर पनि होला। विद्यालयलाई नव वधूझैं सिंगारिएको थियो। विद्यालयमा अभिभावकदेखि लिएर विभिन्न क्षेत्रका प्रतिष्ठित मानिसहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमलाई रोचक बनाउन स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरका कलाकारहरूको पनि उपस्थिति थियो। वार्षिक उत्सव भन्नुभन्दा पनि एउटा सुन्दर सांस्कृतिक कार्यक्रम थियो त्यो। आएका सबै दिनभरि मस्तसँग रमाए। धेरै प्रस्तुतिले गर्दा पनि होला। निर्धारित समयभन्दा कार्यक्रम केही लम्बियो।

अभिभावकको रूपमा  जुनु र प्रेक्षा पनि कार्यक्रममा सहभागी थिए। समापनपछि दुवै घरतिर लागे। बाटोमा जुनुले भनी, ‘मलाई त आज अत्यन्त भोक लागेको छ।’ 

प्रेक्षा- किन नास्ता पाएनौं र?

जुनु- पाएँ।

प्रेक्षा- चार वटा पकौडा, समोसा र एउटा अण्डाले पनि पेट भरिएन?

जुनु- (उदास हुँदै) मैले खाइनँ।

प्रेक्षा - किन आज व्रत थियो?

जुनु - नाइँ।

प्रेक्षा- नास्ता मन परेन?

जुनु - नाइँ।

प्रेक्षा - छोराछोरीले खाए?

जुनु - नाइँ।

प्रेक्षा- पोखियो?

जुनु - नाइँ।

प्रेक्षा - केही परेको थियो?

जुनु - नाइँ।

प्रेक्षा - खै त नास्ता?

जुनु- मलाई धेरै रिस उठ्यो। नखाएर नजिकैको नालीमा फालिदिएँ?

प्रेक्षा - किन?

जुनु रिसले आगो हुँदै बोली, ‘विद्याको पवित्र मन्दिर पनि भेदभाव गर्न पाइन्छ?’

प्रेक्षा अल्ली चर्को स्वरमा बोली, ‘के भेदभाव भयो? भन न।’ 

जुनु प्रेक्षाभन्दा झन् ठूलो स्वरमा बोली, ‘हेर न, एउटै बेञ्चमा सँगै तीन जना बसेका हामी। दायाँ बसेको पुरुषको नास्तामा पनि ठूलो अण्डा। बायाँ बसेको पुरुषको नास्तामा पनि ठूलो अण्डा। मलाई मात्र सानो अण्डा किन? यसरी लैंगिक भेदभाव गर्न पाइन्छ?

प्रेक्षा मन्द मुस्कुराई। केही बोलिन। अनौठो दृष्टिले जुनुलाई हेरिरई।

- यम रेग्मी

प्रकाशित: ४ फाल्गुन २०८१ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App