१) मुक्तक
यो देशमा गर्नभन्दा बोल्न नै हतार हुन्छ,
देश कहिले सिंगापुर, कहिले कतार हुन्छ।
प्रश्न एउटै छ हजुर, तर जवाफ बिनाको,
यहाँ लि क्वान युको कहिले अवतार हुन्छ।
२) मुक्तक
सम्मान बढ्दैन कोट लाउँदैमा,
टाढिनै पर्छ र खोट लाउँदैमा।
अधिकार हो हजुर प्रयोग गरेको,
कार्यकर्ता भइन्न भोट लाउँदैमा।
३) मुक्तक
गाँउका चौताराहरू मासिएका छन्,
साथीसँगीहरू टाढा भासिएका छन्।
आफन्त र आफन्तपन छैन शहरमा,
मात्रै घरपर्खालहरू गाँसिएका छन्।
४) मुक्तक
तिमीलाई भेटेर चकित भयो मन,
चिनेँ जब अनि थकित भयो मन।
पानी जस्तै रङ्गहीन हुँदैन जीवन,
कहिले गीत कहिले संगीत भयो मन।
५) मुक्तक
दुख बेच्ने कुनै पसल भइदिए,
सन्तानहरू सबै असल भइदिए।
गरिबी शब्द नै हराउँथ्यो होला,
पैसा फलाउने फसल भइदिए।
प्रकाशित: २० माघ २०८१ १२:४४ आइतबार