७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

कलमको आवाज

पाँच लघुकथा

१) कर्तुत

रमाकृष्ण सिंह समाजकल्याण मन्त्री भएपछि देशका करीवकरीव हरेक मानिस खुशी भए। किनकि आर्थिक हैसियत राम्रो भएको र छोराछोरी, नातिनातिना कोही नभएकाले यिनले चैँ साँच्चै समाजको कल्याण गर्नेछन्, भ्रष्टाचार गर्ने छैनन्, देशलाई डुबाउने छैनन् भन्नेमा धेरैको विश्वास थियो।

मन्त्री भएको एकडेढ महिना त यिनी भाषण गर्न र फूलमाला लगाई माग्न नै देश दौडाहामा निस्किए। उनीसँगै उनको चम्चा र प्लेटहरूको लावालश्कर पनि हुने नै भयो। त्यसपछि आफ्नो मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा आफ्ना हुक्के, बैठके र झोलेहरूलाई जागीर लगाइदिन यिनी एक डेढ महिना राम्रौ व्यस्त भए।

त्यसपछि प्रशासक, महाप्रबन्धक, निर्देशक जस्ता पदहरूमा नियुक्तिका लागि यिनले मोटोमोटो रकम लिएको हल्ला बजारमा आउन थाल्यो। ती कुराको यिनले बोलीले विरोध गरे र यिनका नन्दीभृङगीहरूले पाखुराले गरे। आफ्ना आलोचक र विरोधीहरूमाथि यिनले गालीको वर्षा नै गरिरहे। गाली र उखानटुक्का यिनलाई कति आउने रहेछ भनेर लोकले राम्रैसँग थाहा पाए।

समाजकल्याण मन्त्री भएपछि समाजको कति कल्याण गर्नुपर्छ भन्नेमा यिनलाई पटक्कै चिन्ता थिएन। यिनी आफ्नो जिल्लामा अन्टसन्ट दशौं शीर्षकमा बजेट पार्न सफल भएका थिए। धान खेत मासेर यिनले भ्यूटावर बनाए। सुकुम्बासी बस्तीलाई डोजर लगाएर भत्काएपछि त्यहाँ खेल मैदान र मनोरञ्जनस्थल बनाउने घोषणा गरे। त्यत्तिमा मात्र यिनी रोकिएनन् बरू आफ्नो पदको दुरूपयोग गर्दै आफ्नो स्वर्गीय बाबुको नाममा स्थापना गरिएको प्रतिष्ठानलाई दश करोड विनियोजन गराउन पनि सफल भए। हिजो जनताले आशा गरेको मन्त्रीको यस्तो कार्यहरू बाहिरिएपछि जताततै उनको चर्को आलोचना हुन थाल्यो। उनको विरोधमा सदन तातियो। सडकमा जुलुस निस्कियो। पत्रकार सम्मेलन गरेरै उनले यसको जोरदार खण्डन गर्‍यो।

त्यसको भोलिपल्टै नेपालको नम्बर एक राष्ट्रिय दैनिक ‘लोकदृष्टि’मा समाचार आयो- समाजकल्याणमन्त्री रमाकृष्ण सिंहले पदबाट राजिनामा दिएर जाँदाजाँदै आफ्नै नामको प्रतिष्ठानलाई सुनसरी जिल्लामा बीस विघा जग्गा उपलब्ध गराएको प्रमाण लोकदृष्टिसँग सुरक्षित छ।

२) असहमति

साहित्यमा थोरै मात्र भए पनि रूचि राख्ने नेपालीलाई समीरजंग समर को हुन भनेर चिनाइरहनु पर्दैन। कवितामार्फत् देशभक्ति, परिवर्तन र प्रगतिको गीत गाउने उनी प्रखर प्रगतिवादी कविको रूपमा परिचित र स्थापित छन्।

समीरजंग समर अत्यन्त साधारण लवाइखवाइ र व्यवहारका भएकैले आफूलाई वामपन्थी पार्टीको निकट प्रगतिशील संस्थाहरू भनाउनेहरूले उनलाई आआफ्नो पार्टीमा तान्न नखोजेका हैनन् तर लेखनधर्म छाडेर उनी पार्टीको झण्डा बोक्न गएनन्।

मार्क्सवादी सौन्दर्य चिन्तकका रूपमा समेत परिचित समीरजंग समरको स्थायी जागीर थिएन। काठमाडाैंमा आफ्नो घर पनि थिएन। उनकी अर्धान्गिनीको जागीरको भरमा समीरजंग समरको घर चलेको थियो। लेखनबाट आएको दुईचार पैसा उनी अर्धान्गिनीको हातमा राखिदिन्थे तर ती पैसा इज्जतसाथ उनकै खल्तीमा आउँथ्यो।

समीरजंग समरलाई आआफ्नो पार्टीमा तान्न बामपन्थी पार्टीहरू लागिपरेका थिए। त्यसमा पनि जनहीत पार्टीका अध्यक्ष घामडसिंहले घरैमा आएर विभिन्न प्रस्तावसहित पार्टीको ठुलै पद प्रस्ताव गरेका थिए तर समीरजंग समरले मानेनन्।

अचानक समीरजंग समरलाई सरकारले साहित्य प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त गरेको समाचार आयो। घामडसिंहले समीरजंग समरलाई फोन गरेर आफ्नै पार्टीको सिफारिसमा उनी नियुक्त भएको जानकारी गराए र बधाई पनि दिए तर समीरजंग समर केही बोलेनन्। समरजंग समीरलाई बधाईको ओइरो लाग्यो। सममरजंग समीरजंग समर केही बोलेनन्। सबैको बुझाइ थियो, अब समीरजंगले नियुक्तिपत्र पनि बुझ्नेछन् र पार्टी पनि प्रवेश गर्नेछन्। तर समीरजंग समरको मनको कुरा कसैलाई थाहा थिएन।

भोलिपल्ट राष्ट्रिय दैनिकहरूको व्यानर न्युज थियो-आफ्नो सहमतिबिना नियुक्त गरिएकाले समरजंग समीरले साहित्य प्रतिष्ठानको नियुक्ति नलिने।

३) कलमको आवाज

छिमेकीको अराजकता बढ्दा नेपालीको घरघरमा एलपि ग्याँसको अभाव भएको थियो भने अत्यावश्यक औषधीको समेत अभाव सुरू भएको थियो। त्यसैगरी खाद्यान्न र सागसब्जीको भाउ बढेर छोइनसक्नुभएको थियो। मिचाहा छिमेकीलाई दोष दिँदै भाउ बढाउनमा स्थानीय व्यापारीको पनि पूरापूर हात थियो। तैपनि नेपाली जनताले धैर्यपूर्वक कष्टका दिनहरूलाई कटाइरहेको थिए। ‘हैन हैनभन्दै दक्षिणका सम्पूर्ण नाकाहरू बन्द गरेर उसले अन्तर्राष्ट्रिय नियमको खुल्लमखुल्ला खिल्ली उडाएको थियो।

देशलाई सङ्कट पर्दा कविलेखकहरू पनि चुप लागेर बस्दैनन् भन्ने मान्यतालाई आत्मसात् गर्दै संस्थाका अध्यक्ष सागरमणि समर्पणको नेतृत्वमा प्रगतिशील लेखकहरूको साझा संस्था ‘सम्पूर्ण लेखक सङघ’ ले पनि विरोध र्‍यालीको आयोजना गरेको थियो।

र्‍याली भोटाहिटीबाट अगाडि बढ्नै लाग्दा प्रहरीको जत्थालाई जुलुसलाई रोकेर बलपूर्वक तितरबितर बनाउने प्रयास गर्न थाल्यो।

‘डिएसपी साब, छिमेकीको अत्यन्त क्रूर अनि निन्दनीय नाकाबन्दीको विरोधमा हामी सडकमा आएका हौं, तोडफोन गर्न हैन बरू संसारले पनि देखोस् सधैं असल छिमेकीको नाटक गर्नेले आफ्नो छिमेकीमाथि कुन हदसम्मको अत्याचार गर्न सक्दो रहेछ।’-सागरमणि समर्पणले भन्यो।

‘हामीलाई माथिको आदेश छ, जुलुस अगाडि नबडाउनुस्। बलप्रयोग गर्न हामीलाई बाध्य नपार्नुस्।’

‘हामीमाथि बलप्रयोग गर्दा नाकाबन्दी खुल्छ भने गर्नुस् हामीमाथि बल प्रयोग। के यो नाकावन्दीले तपाईलाई मर्का परेको छैन? महँगी र अभावले तपाईका सन्तानले दुःख खेप्नुपरेको छैन?’

डिएसपीले सागरमणि समर्पणको कुरा नसुनेझें र जुलुसलाई नदेखेझैं गरेपछि लेखक, कवि, साहित्यकारहरूको जुलुसले नाकाबन्दीविरूद्ध गगनभेदी नारा लगाउँदै भोटाहिटीबाट रत्नपार्क हुँदै पुतलीसडकतिर लाग्यो।

४) नोकरी

अप्रत्यासित रूपमा ह्दयघातबाट बुबाको निधन भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी प्रगतिको काँधमा आइलागेको थियो। आमाले पनि सकेको बनीबुतो नगर्ने हैन तर सञ्चोभन्दा बढीजसो समय बिसञ्चो हुने आमाबाट सधैं बनीबुतो हुन सक्दैनथ्यो। त्यसैले जेजस्तो काम पाए पनि घरको गाडी अगाडि बढ्थ्यो भनेर प्रगतिले नधाएको ठाउँ छैन, सम्भावित मानिसहरूलाई नभनेको पनि कोही छैनन्।

कतिपय सहकारी संस्था, होलसेल पसलमा प्रगति पुगिन् तर सबैको एउटा जवाफ अहिले खाली छैन,  खाली भएछ भने बोलाउँला। तर बायोडाटा छाडेको कुनै पनि ठाउँबाट आजसम्म प्रगतिलाई बोलावट आएको छैन।

लोकसेवा पनि नभिडेको हैन, तर नाम निस्कन सकेन। बल्लबल्ल एउटा बोर्डिङ स्कुलमा पढाउने काम पाइन्। प्रगतिको खुशीको कुनै सीमा थिएन। प्रगतिले काम पाएपछि आमा र सानो भाइ प्रणव पनि प्रगतिसँगै खुसी भए । मन लगाएर नानीहरूलाई पढाउँदा पढाउँदै एक महिना बित्यो, डेढ महिना बित्यो, दुई महिना बित्यो। बल्ल, एक महिनाको तलब प्रगतिको हातमा पर्‍यो। हातमा परेको तलब देखेर उनी छक्क परिन्। पन्ध्र हजार मासिकको कुराकानी भएको थियो तर कोरोनाको कहर बताउँदै प्रगतिको हातमा पाँच हजार मात्र हात लाग्यो। प्रगतिले किन यस्तो भनेर प्रश्न गर्दा प्रिन्सिपल थगप्रसाद बोहरा जंगिए, ‘प्रगति मिस, कोरोनाको बेलामा यो पनि धेरै हो लिनुस्। धेरै किचकिच गर्नुहुन्छ भने भोलिदेखि स्कुल नआए हुन्छ।’

प्रगति चुपचाप विद्यालयबाट निस्किन् र घर पुगेर पाँच हजार आमाको हातमा राखिदिइन्। प्रगतिको मन छटपटिरह्यो। यस्तो विद्यालयमा पढाएर घर कसरी धानिन्छ? भट्ट उनले हरिकला लामिछाने दिदीलाई सम्झिइन्। पार्टीमा उनीसँग राम्रै चिनजान भएकै हो। उनले बैनीलाई जस्तै स्नेही व्यवहार पनि त गर्छिन् भनेर प्रगतिले हरिकला लामिछानेलाई भेट्ने निर्णय गरिन्।

दशौँ पटकको भेटपछि प्रगतिले आफ्नो पीडा र आवश्यकता हरिकला लामिछानेसामु पोखिन्। प्रगतिको कुरा सुनिसक्दा नसक्दै हरिकला लामिछाने लट्टेसरी पड्किइन्, ‘म मन्त्री भएँ भन्दैमा सबैलाई जागीर लाइदिने मैले ठेक्का लिएकी छु र? पढ्नुपर्‍यो लोकसेवा पास गर्नुपर्‍यो हैन भने आफ्नै व्यापारव्यवसाय गर्नुपर्‍यो। चार दिन पार्टीको झण्डा बोकेको भरमा म सबैलाई जागीर लाइदिन सक्दिन। तपाई जान सक्नुहुन्छ।

५) नियुक्ति

एउटा सरकारी नियुक्तिले नेपाली भाषा, साहित्य र संस्कृतिको सिंगो क्षेत्र नै तरंगित भयो। जे  जतिले यो समाचार सुने ती पनि आश्चर्यचकित भए। तर फूलकुमारी ‘काँढा’लाई भने बधाई थाप्न भ्याईनभ्याई थियो। टेलिफोनको घण्टीले उनलाई व्यस्त बनाइरहेको थियो भने प्रत्यक्ष भेटेर खादा र माला लगाइदिनेहरूको भीड पनि उत्तिकै बाक्लै थियो। त्यही भेटमा आफूलाई फूलकुमारी नजिक देखाउन चाहने र भविष्यमा काम लिन चाहनेहरूको पनि बाक्लै उपस्थिति थियो। नृत्यमा पारंगत र नृत्यमार्फत नेपाललाई विश्वमा चिनाएको भन्दै फूलकुमारीलाई सरकारले कला प्रतिष्ठानको सदस्यमा नियुक्त गरेको थियो।

‘ढिलै भए पनि सरकारी निर्णयले मेरो योगदान र योग्यताको कदर गरेकोमा म खुसी छु।’-अन्तरवार्ताहरूमा फूलकुमारीले  भनिरहेकी थिइन्।

फुलु, पञ्चायत ढलेर के भो र? देख्यो नि, अझै पनि म कति पावरफुल छु। मेरै पावरको कमालले तिमी सदस्य भयौ।’ लोग्नेको कुरामा फूलकुमारी लाली पोतिएको अधरमा मुसुक्क मुस्कुराइन्।

पद बहालीको अनौपचारिक कार्यक्रमलाई औपचारिकता दिन उद्घोषकले सुरू के गरेका थिए दर्शकदीर्घाबाट तीव्र होहल्लाले प्रेक्षालय गुञ्जिएर ठेलमठेल सुरू भयो। त्यही बेलामा महिलाहरूको हूल अघि बढेर एकजना महिललाले तीव्र रोष प्रकट गर्दै भनिन्, ‘प्रजातन्त्रको पुनर्बहाली गराउन ज्यानको बाजी लगाउने हामी तर प्रतिष्ठानको सदस्यमा नियुक्ति पाउने चैं प्रतिकार समितिको सदस्य? प्रजातन्त्रवादीहरूलाई सिध्याउन बनेको प्रतिकार समितिमा रामनारायण र फूलकुमारी थिए कि थिएनन्? लु, आज दूधको दूध र पानीको पानी हुनुपर्छ। यस्तो गलत निर्णय गर्ने सरकारलाई पनि हामी छाड्नेवाला छैनौं । निकाल, तान यो प्रतिकार समितिको सदस्यलाई।’

-फूलकुमारीलाई तान्न गएका महिलाहरूबाट रामनारायण  र फूलकुमारी बच्न सकेनन्। कसोकसो गरेर भीडबाट उम्किन सफल फूलकुमारीलाई पक्रन महिलाहरू उनको पछिपछि दौडिए।

‘ए समात्, समात्। प्रतिकार समितिको सदस्यलाई नछोड।’

(कथाकार इन्द्रकुमार श्रेष्ठ सरित् काे  ‘एक मुठी घाम’ लघुकथासंग्रहमा सङगृहीत।)

प्रकाशित: ३० आश्विन २०८१ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App