७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

सुकुमबासी

लघुकथा

रावणको मृत्युपछि विभीषणको राज्यरोहण भयो। म लगायत सबैले उसको जयजयकार गर्‍याैं तर एउटा राक्षसले भने उनलाई राजाको रूपमा अस्वीकार्‍याे।

अचम्म मान्दै राजा विभीषणले उसलाई साेधे, ‘तिमीले मलाई राजा स्वीकार्न नसक्नुको कारण के होला?’

राक्षसले प्रष्ट भए, ‘रावण यस लङ्का राज्यका विद्वान राजा थिए। तुलनात्मक रूपमा तपाईसँग उनको जस्तो विद्वता नभएकाले मैले तपाईलाई राजाको रूपमा स्वीकार्न सक्तिनँ।’

विभीषणले रावणको अत्याचारबाट सबै जनता आजित भएका थिए भन्ने सोचेका थिए। म नयाँ राजा भएपछि सबै हर्षोल्लासमा रहनेछन् तर राक्षसका कुरा सुनेपछि उनलाई लाग्यो, ‘यस विपक्षीलाई ठेगान लगाउनै पर्छ।’

उनले तत्क्षण नै सबै मन्त्री र मान्यजनको सल्लाह लिएर राक्षसलाई देश निकालाको सजाय सुनाए।

राक्षस विचलित भएन। उसले भन्यो, ‘दाजु मारेर भाउजू र राज्य समेत हड्पने यस्ता पापिष्टको राज्यमा म स्वयं पनि बस्न चाहन्न बरू सुकुम्बासी हुन्छु। यो देश छाड्न तयार छु।’

राजा विभीषण सोचमग्न भए, ‘सबै मानिस सबैका लागि सही र सबैका लागि गलत हुन नसक्ने रहेछ।’

राक्षस र राजाको संवाद सुनेपछि मलाई लाग्यो, ‘नेपालका अधिकांश राक्षस पनि लङ्काको एउटै राक्षस जस्तो भए राज्यले न्याय पाउँथ्यो कि?’ 

प्रकाशित: १९ श्रावण २०८१ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App