२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सेवासहितको सुदूरपश्चिम यात्रा

गन्तव्य

बझाङका बाथ मुटुरोगी एक बालकको कथा मर्मस्पर्शी छ। भारतको लखनउमा उपचार गर्न जाने क्रममा शल्यक्रिया खर्च करिब १५ लाख लाग्ने कुरा त्यहाँको अस्पतालका अधिकारीले बताए। पैसाको अभावमा त्यहाँ शल्यक्रिया हुन सकेको थिएन। जब डा. प्रकाशराज रेग्मीले काठमाडौंमा त्यो बालकको निःशुल्क शल्यक्रिया हुन्छ भन्ने कुरा बताए, आमाको आँखामा छचल्किएको हर्षको आँसुले त्यहाँ उपस्थित सबैलाई भावुक बनायो।

सर्भिस आवभ सेल्फ (स्वार्थभन्दा माथि सेवा), यो रोटरीको मूल मन्त्र हो। सेवाभावबाट अभिप्रेरित भई नेपाल हृदयरोग निवारण प्रतिष्ठान र पाटन रोटरी क्लबको सहकार्यमा गत केही वर्षदेखि देशका विभिन्न भागमा मुटुरोग रोकथाम अभियान चलिरहेको छ। यस क्रममा जेठको तेस्रो साता वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा मसहित बाईस सदस्यीय टिम सुदूरपश्चिम भ्रमणमा निस्कियो। सेवासहितको यात्रामा बेग्लै खालको आनन्द र सन्तोष हुँदोरहेछ भन्ने मेरो निजात्मक अनुभूतिलाई पाठकसामु पस्कनु नै यो लेखको उद्देश्य हो।  

लक्ष्य

सुदूरपश्चिमका तीनवटा जिल्ला अछाम, बाजुरा र बझाङका बालबालिकाको निःशुल्क मुटु परीक्षण । परियोजनाको नाम ‘रोटरी ग्लोबल ग्रान्ट’। सहयोगी संस्थाहरू– गिफ्ट अफ लाइफ इन्टरनेसनल र रोटरी क्लब अफ लिभिङस्टन। यस परियोजनाको लक्षित वर्ग विद्यालयका भाइबहिनीहरू। साथसाथै मुटुरोगसँग सम्बन्धित अन्य सेवाहरू पनि दिनु। जस्तै अछामको मङ्गलसेनस्थित जिल्ला अस्पतालको प्राङ्गणमा वयस्कका लागि मुटु स्वास्थ शिविर सञ्चालन गरिए।

बाजुराको मार्टडीमा मुटुरोग विषयमा शिक्षामूलक चेतना विस्तार कार्यक्रम सम्पन्न भए । स्थानीय स्तरमा सञ्चालित सामुदायिक स्वास्थ्य संस्था, जस्तै अछामको वयलपाता अस्पतालमा कार्यरत डाक्टरहरूको क्षमता विकासमा सघाउ पुर्‍याए। सुर्खेत र धनगढीमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको प्रादेशिक तहको प्रशिक्षण कार्यक्रम भयो। साथै केही फार्मेसी व्यवसायको सौजन्यबाट प्राप्त औषधीको निःशुल्क वितरण पनि गरियो।

यहीं जेठ २० देखि २६ गतेसम्म माथि उल्लिखित तीन जिल्लाका ३३ वटा विद्यालयमा अध्ययनरत १३ हजार एक सय ७८ बालबालिकाको मुटुको चेकजाँच गरियो। साथै यस सेवाबाट सात सय ५० वयस्कहरू पनि लाभान्वित भए। परीक्षण गरिएका कूल १३ हजार नौ सय २८ व्यक्तिहरूमध्ये एक हजार ५० जनाको मुटुमा केही न केही समस्या हुन सक्ने आँकलन गरी भिडियो (इको) मार्फत दोस्रो चरणको परीक्षण गर्दा एक सय २१ जनालाई ढिलोचाँडो शल्यक्रिया गर्नुपर्ने देखियो, त्यसमध्ये २० जनाको त तुरुन्तै अपरेसन गर्नुपर्ने देखियो। यी २० जना मुटु रोगीहरूलाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अग्रसरतामा काठमाडौंमा निःशुल्क शल्यक्रिया गर्ने कामको सुरुवात पनि भएको छ।

एक हप्ताको परिश्रमबाट प्राप्त यी उपलब्धी चानचुने होइनन्। यसको श्रेय निःसन्देह त्यसमा खटिएका सात जना मुटुरोग विशेषज्ञ डाक्टरहरू (अच्युतानन्दलाल कर्ण, उर्मिला शाक्य, प्रकाशराज रेग्मी, प्रेमराज वैद्य, रामकिशोर साह, राजेन्द्र कोजु र सत्यनारायण सुवाल) मा जान्छ। साथै आठ जना स्वास्थ्य प्राविधिकहरूको मेहनत पनि कदरयोग्य छ। सँगसँगै पाटन रोटरी क्लबबाट खटिएका स्वयं सेवकहरूको सहयोगी भूमिका पनि उल्लेखनीय नै रह्यो।

 स्थानीय तहमा सरोकारवाला व्यक्ति र संस्थाको परिचालन गर्ने काममा लागेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सम्बन्धित जिल्ला स्तरीय सञ्जाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मङ्गलसेन पोलिटेक्निकल इन्सिटिच्युट, अछाम बहुमुखी क्याम्पस र सम्बन्धित विद्यालयका स्काउट भाइबहिनीहरूले गरेको मेहनत पनि प्रशंसनीय छ।  

बाथ मुटुरोग

बाथ मुटुरोग परीक्षणका क्रममा विभिन्न समस्या देखा परे। अज्ञानता यस रोगसम्बन्धमा प्रमुख समस्या रह्यो । सम्भवतः दुर्गम क्षेत्रका बासिन्दा मात्र होइन, सुगम स्थानमा बसोबासरत अधिकांश व्यक्तिहरू पनि यस रोगबारे अनभिज्ञ छन्। डा. रेग्मीले यस रोगको सरल भाषामा परिभाषित गरेका छन्।

बालबालिकामा पटक पटक घाँटी दुख्ने गरेमा, टन्सिल पाकेमा, यस्तो भएको केही हप्ताभित्र ज्वरो आउने गरेमा र सँगै हात र खुट्टाका जोर्नीहरू पनि दुख्ने वा सुन्निने भएमा त्यो बाथ मुटुरोगको लक्षण हुन सक्छ। साथै दम बढ्ने, मुटु हल्लिने, छाति दुख्ने, कफमा रगत देखिने आदि पनि यो रोगका लक्षणहरू हुन्। समयमै उपचार भएन भने अल्पायुमै मृत्यु हुने सम्भावना हुन्छ । हाम्रो देशमा यस रोगबाट बर्सेनि एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोगको रोकथाम गर्नु महत्त्वपूर्ण हो। मुटु स्वास्थ्यबारे तयार पारिएको एक पर्चाअनुसार यस रोगको रोकथामका तरिका निम्न हुन्– चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने, हरेक दिन हिँड्ने, व्यायाम गर्ने र योग गर्ने, हरियो तरकारी र फलफूल प्रशस्त खाने, घाँटी दुख्दा वा टन्सिल बढ्दा तुरन्त औषधी गराउने, मोटो शरीर भए तौल घटाउने, पिर चिन्ता नलिने, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि रोगको उपचार गर्ने, दैनिक ६–८ घण्टा सुत्ने, परोपकार तथा सामाजिक कार्यमा लाग्ने र नियमित रूपमा स्वस्थ्य परीक्षण गराउने।

दोस्रो समस्या भनेको रोग लागेको थाहा भए पनि उपचारको अभाव। यद्यपि भ्रमण गरिएका तीनवटै जिल्ला अछाम, बाजुरा र बझाङमा जिल्लास्तरीय अस्पताल छन्। तर ती ठाउँमा कुनै पनि रोगको विशेषज्ञ डाक्टर छैनन्, मुटुरोग विशेषज्ञको उपलब्धता त परको कुरा। यसले काठमाडौं उपत्यकालगायत अन्य स्थानमा कार्यरत विशेषज्ञ डाक्टरहरूको सेवासहितको दुर्गम क्षेत्रको यात्राको महत्त्व र औचित्य पुष्टि गर्छ।

परीक्षण स्थलभन्दा दुईतीन घण्टा दुरीमा रहेका विद्यालयका बालबालिका पनि आए। मुटु स्वास्थ्य शिविरमा जाँच गर्न पाँचछ घण्टा हिँडेर आएका वयस्कहरूको संख्या पनि कम थिएन। विद्यालयका शिक्षक/शिक्षिका र स्थानीय वयस्कहरूले पनि आआफ्नो मुटु जाँच गराएर मौकाको लाभ उठाउन पाए । कोही कोही त यस्ता पनि थिए, जसले काठमाडौं या भारतका विभिन्न सहरमा पहिले परीक्षण गरिसकेकाहरू आफ्नो रिपोर्टसहित पुनः परीक्षण गर्न आए।

तेस्रो समस्या भनेको सूचनाको सम्प्रेषण नहुनु हो। नेपाल हृदयरोग निवारण प्रतिष्ठानबाट प्राप्त जानकारी अनुसार १५ वर्षमुनिका बालबालिका र ७५ वर्ष नाघेका जेष्ठ नागरिकले सबै प्रकारका मुटुरोगको निःशुल्क उपचार पाउँछन्। बाथ मुटुरोगीका लागि यो सेवा पाउन उमेरको कुनै पावन्दी छैन। यस सम्बन्धमा बझाङका बाथ मुटुरोगी एक बालकको कथा मर्मस्पर्शी छ।

भारतको लखनउमा उपचार गर्न जाने क्रममा शल्यक्रिया खर्च करिब १५ लाख लाग्ने कुरा त्यहाँको अस्पतालका अधिकारीले बताए। पैसाको अभावमा त्यहाँ शल्यक्रिया हुन सकेको थिएन। जब डा. रेग्मीले काठमाडौंमा त्यो बालकको निःशुल्क शल्यक्रिया हुन्छ भन्ने कुरा बताए, उसकी आमाको आँखामा छचल्किएको हर्षको आँसुले त्यहाँ उपस्थित सबैलाई भावुक बनायो।

लक्षित मिसन हासिल भएको टिमको ठम्याइ छ। तर केही कुरा खड्किएको छ। ध्यान मुटु परीक्षणको संख्यामा बढी देखियो, गुणस्तरमा कम । त्यसमाथि कार्यस्थल दुर्गमभित्रको सुगम स्थान अर्थात् जिल्लाको सदरमुकाम र राजमार्ग वरपर मात्र रह्यो। मुटु परीक्षणलगायत अन्य सेवाहरू दुर्गम क्षेत्रमा कहिले कसरी पुग्ने हो भने विषयमा ठोस कार्यक्रम केही देखिँदैन। सुगमभित्रकै बालबालिकाको अनुहारमा बाल कुपोषणको समस्या स्पष्ट झल्किनेको संख्या उल्लेखनीय छ। दुर्गम स्थानमा त अवस्था झन् खराब नै होला। बाल कुपोषणको समस्यामा सुधार भएन भने उनीहरूको मुटु कसरी स्वस्थ र बलियो होला र!

मुटु स्वस्थ राख्न र बलियो पार्न त खानलाउन पुग्नु पर्‍यो नि। यसका लागि त व्यक्ति/परिवारको आय आर्जनसहितको आर्थिक विकास अपरिहार्य हुन्छ नै। तर परिस्थिति अनुकूल छैन। करिब ४० वर्षपछि भेट भएको एमए पढ्दाका सहपाठी अछामनिवासी भरत स्वाँरको अवलोकन यस्तो रह्यो। एक त अछामलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा सिँचाइ सुविधा भएको जग्गा–जमिन कम छ। त्यसमाथि पनि अहिले आधाभन्दा बढी जमिन बाँझो छ।

कारण स्पष्ट छ, युवाहरूको पलायन। हुनेखाने परिवारका युवाहरूको गन्तव्य हैसियतअनुसार सुर्खेत, धनगढी र काठमाडौं र हुँदा खाने परिवारका युवाहरू रोजीरोटीका लागि भारतका सहरहरू, जस्तै बझाङीका लागि बैङलोर, बाजुरावासीका लागि दिल्ली, अछामीका लागि मुम्बई। यसका बाबजुद पनि कालो बादलमा चाँदीको घेरा रहेको देख्न सकिन्छ।

बदलिएको परिवेश: त्यो चैनपुर, यो चैनपुर  

अछाम र बाजुरा मेरा लागि नयाँ स्थान। तर बझाङको सदरमुकाम चैनपुर र जोडिएको हेमन्तवडा र लुयता गाउँ २९ वर्षअघि पिएचडीको विद्यार्थी हुँदा एक महिना फिल्डवर्क गरेको ठाउँ।

अहिले दोहोर्‍याएर ती ठाउँ पुग्दा मेरो मानसपटलमा पहिलेको बझाङको चित्र मडारिरहे। आगन्तुकका लागि बस्ने ठाउँ अर्थात् लज/होटल नहुने तसर्थ सरकारी कार्यालयको अतिथि गृह/कोठामा शरण लिनुबाहेक अरू विकल्प नै थिएन । मिठो–मसिनो खान मन लागे रेस्टुरेन्ट नै नपाउने। कुनै पनि सेवासुविधा उपलब्ध  थिएन। मानौं भोक, रोग, अभाव, गरिबी र नैराश्य नै बझाङको परिचय।

अहिले बझाङको चैनपुरको रूपरङ्ग नै बदलिएको छ। सरकारी वा गैरसरकारी कार्यालयबाट वा एनजिओ र आएनजिओबाट आएका अतिथिहरूको सत्कारयोग्य होटेल–रेस्टुरेन्टहरूको कमी छैन। छड–सिमेन्टले ढलान गरिएका घरहरूको गन्ती नै छैन। राणाकालमै १९६३ सालमा बझाङी राजा जयपृथ्वीबहादुर सिंहले स्थापना गरेको सत्यवादी विद्यालयमा कम्युटर र मल्टीमिडियाजस्ता आधुनिक शैक्षिक सामग्री भित्रिएको छ। बालकभन्दा बालिका विद्यार्थीको संख्या बढी छ। सडक, यातायात, सञ्चार र बजारको सुविधा पनि छ।

अहिले बाजुरा सदरमुकाम मार्तडीको मुहार पनि फेरिएको छ। विवेक ओझाको ‘ऐँठन’ उपन्यासमा चित्रण गरिएको जस्तो टिनले मोडिएका झुपडीहरूको झुन्ड रहेन। ठुलाठुला बिल्डिङहरू भएको एक सानो सहर बनेको छ।

अछामको मंगलसेन त तुलनात्मक रूपमा सुगम नै छ। अछामको वयलपातास्थित निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने एक सामुदायिक अस्पतालमा सेवाग्राहीको लस्कर हेर्दा बिम्बात्मक रूपमा के निचोड निकाल्न सकिन्छ भने स्वास्थ्य क्षेत्रमा पनि सुदूरपश्चिमवासीको चेतना बढेको छ। स्मरणीय कुरा के छ भने बझाङको चैनपुर, बाजुराको मार्तडी र अछामको मंगलसेन हालै बनेका नयाँ सहर हुन्, सशस्त्र द्वन्द्वको अन्त्य र राजमार्गको विस्तारसँगै बनेका।

भौतिक विकास त्यसमा पनि खास गरेर सडक सञ्जालको विस्तारले जीवनस्तरमा आमूल परिवर्तन ल्याएको कुरा बझाङको दारुगाउँ निवासी एक स्थानीयले यसरी व्यक्त गरे, ‘पहिले नुन खेप्न बाजे महाकालीको टनकपुर जान्थे, बा डोटीको सिलगुडी जान्थे। अहिले मेरो पालामा यो वस्तु घरआँगनमा उपलब्ध छ। तर अर्को कोणबाट हेर्दा विकासको मोडल आन्तरिक औपनिवेशिक प्रकृतिको रहेछ।’

बाजुराको मार्तडी निवासी एक स्थानीयको भनाइ यस्तो रह्यो, ‘बाटोको सुविधासँगै तलबाट सिमेन्ट, छड, वियर, पेय पदार्थ, चाउचाउ, जुस, फलफूल र अन्य आयातित वस्तु बोकेका मालगाडी आउँछन् तर यहाँबाट यी ट्रक रित्तै फर्कन्छन्। अरू क्षेत्रको अवलोकन पनि उत्साहजनक छैन। जस्तै: अस्पताल छ तर औषधी छैन, डाक्टर छ तर विषयगत विशेषज्ञ छैन। बजार विस्तार भएको छ तर पसलमा ग्राहक देखिँदैनन् अर्थात् आर्थिक मन्दी जताजतै देखिन्छ।

यात्राका क्रममा टेकेका लोकमार्गहरू, जस्तै कर्णाली, मध्यपहाडी र सेती लोकमार्ग गतिला छैनन्। सडक साँघुरो छ, जताततै खाल्डाखुल्डी छन् र पहिरोबाट सडक अवरुद्ध हुने ठाउँ पनि धेरै छन्। सायद त्यसैले होला मनसुन पस्नुअघि नै व्यापारीहरूले तीन महिनाका लागि चाहिने सामान भिर्‍याइसकेका छन्। समाजका हरेक क्षेत्रमा समस्या छ, त्यसको पहिचान पनि भएको छ तर समाधानतर्फ राज्य र सरकारको यथोचित ध्यान गएको देखिँदैन।

यस्तो अवस्थामा नेपाल हृदयरोग निवारण प्रतिष्ठान र पाटन रोटरी क्लबले जस्तै समाज सुधारमा लागेका हरेक व्यक्ति र संस्थाले आआफ्नो कार्यक्षेत्रमा आफूमा निहित स्रोत साधनको अधिकतम प्रयोग गरी समावेशी विकासमा लाग्नु वाञ्छनीय देखिन्छ।अहिले नेपालीहरूमा आफ्नो देश भ्रमण गर्ने चलन बढ्दो छ। यसो गर्दा यात्रास्थलमा आफूमा निहित योग्यता, क्षमता र दक्षताअनुरूपको सेवा पनि प्रदान गर्ने गरेमा त्यो सुनमाथि सुगन्ध हुन्छ। 

प्रकाशित: ८ असार २०८१ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App