३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

सम्पन्न भयाे सिर्जनात्मक लेखनमालाकाे चाैथाे शृङ्खला

वन तथा वातावरण साहित्यिक समूहको आयोजना र हिमाली संरक्षण समूहको प्राविधिक संयोजनमा सिर्जनात्मक लेखनमाला चाैथाे शृङ्खला सम्पन्न भएकाे छ।

आयोजक संस्थाको तर्फबाट डा. ऋषी वस्ताकोटीले अतिथि वक्ता लेखक डा. नीलम कार्की निहारिका र सम्पूर्ण सहभागीलाई स्वागत गर्दै लेखक कार्कीको संक्षिप्त परिचय दिएका थिए।

कविता, कथा हुँदै उपन्यासमा सक्रिय कार्कीले ऐतिहासिक उपन्यास योगमायाको निम्ति २०७४ सालमा मदन पुरस्कार पाएकी थिइन्। उपन्यासको कथावस्तु राणाशासन कालमा समाज सुधारका लागि विद्रोह गरेका योगमायाको जीवनीमा आधारित छ। साथै द्रौपदी अवशेषको निम्ति गंकी धुस्वा वसुन्धरा पुरस्कार-२०७८ र चीरहरण उपन्यासको निम्ति पद्म श्री साहित्य पुरस्कार-२०७२ बाट पनि कार्की सम्मानित छन्।

नेपाल संस्कृत विश्वविद्यालयबाट विधावारिधि गरेकी लेखकसँगको अन्तरसम्वादले वन तथा वातावरणकर्मीहरूको लेखन यात्रालाई सघाउने विश्वास आफूले राखेको वस्ताकोटीले बताए।

कमला रुपाखेतीले सहजीकरण गर्दै अन्तरसम्वाद कार्यक्रमलाई अघि बढाएकी थिइन्। लेखक कार्कीसँगको अन्तरसम्वाद चार खण्डमा बाँडिएको थियो। पहिलो चरण प्रेरणा र प्रारम्भिक लेखन, दोस्राे चरण लेखकीय अनुभव र गृहस्थी जीवन विचको सन्तुलनको चुनौती, तेस्रो चरणमा साहित्यमा अनुसन्धानको महत्त्व र मदन पुरस्कार पाउँदाका अनुभूतिहरू र अन्तमा साहित्यमा रुचि राख्ने लेखकहरूको निम्ति सुझावहरू प्रस्तुत गरिएकाे थियाे।

कमला रुपाखेतीसँगको वार्तालापमा, आफ्नो बाल्यकाल ग्रामीण क्षेत्रमा बितेको र रातमा आमाले सुनाउने कथाले विस्तारै आफूलाई साहित्यप्रति नजानिंदो किसिमले आकर्षित गरेको लेखक कार्कीले बताइन्।

महिलाको मुद्दालाई आख्यानको विषयवस्तु बनाउन निपुण कार्की प्राय: ऐतिहासिक पात्रहरू छनौट गर्छन्। ऐतिहासिक उपन्यासमा सकुन्जेल तथ्य र सत्यको नजिक लग्न प्रयास गर्ने उनी सन्दर्भ सामग्रीहरूको संकलन सबैभन्दा बढी चुनौतीपूर्ण रहेको बताउँछिन्।

साहित्यिक वातावरणको प्रभाव सबै लेखकमा धेरैथोरै पर्ने बताउने उनी नेपालमा रहँदा कविता वाचनको माहोल भएकाले कवितामा केन्द्रित भएको तर अमेरिका गएपछि आख्यानमा लागेको कार्कीले बताइन्। उनले अमेरिकामा बसेर लेख्दा सजिलै सन्दर्भ सामग्री उपलब्ध हुने र स्थलगत भ्रमण कठिन हुने बताइन्।

रेडियो नेपालमा कार्यरत रहँदा दाहाल यज्ञनिधीले योगमायामाथि उपन्यास लेख्न सुझाएपछि त्यही सिर्जनात्मक दवावको कारण ऐतिहासिक उपन्यास योगमाया लेखेको उनले बताइन्। साथमा लेखक कार्कीले “तिमी जन्मिएको दिन” कविता पनि वाचन गरेकी थिइन्।

उक्त कवितामा सन्तान जन्मिएपछि आमाको ह्रदयमा उत्पन्न हुने भावको सूक्ष्म र मर्मस्पर्शी चित्रण गरिएको छ।

रोशन शेरचनले अन्तरसम्वाद र प्रश्नोत्तर कार्यक्रमको निचोड प्रस्तुत गर्दै इच्छाशक्तिका धनी र तीव्र संवेदना भएका कार्कीको लेखनको विशेषता नारीहरूको कथाव्यथा, भोगाइ, सङ्घर्ष अनि विद्रोहलाई ऐतिहासिक परिप्रेक्ष्यमा लेख्नु रहेको बताए।

वक्ता कार्कीले प्रकृतिको महिमागानभन्दा प्रकृतिसँग सम्बन्धित मुद्दाहरू उठाउनु सान्दर्भिक रहेको बताइन्। प्रश्नोत्तर कार्यक्रममा सहजकर्ता कमला रुपाखेतीलाई डा. हिमलाल श्रेष्ठले सघाएका थिए।

हिमाली संरक्षण समूहका भरतमान श्रेष्ठले लेखक कार्कीलाई आफ्नो अमूल्य धारणा राखिदिएकोमा आयोजक तथा संयोजक संस्थाको तर्फबाट धन्यवाद दिए। साथै सम्पूर्ण सहभागीबाट सदैव साथसहयोगको अपेक्षा राखेको बताए।

प्रकाशित: १६ वैशाख २०८१ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App