प्रख्यात जापानी फिल्म निर्देशक अकिरा कुरोसावा निर्देशित फिल्म ‘दर्सु उजाला’मा एउटा खोजकर्ता अर्सेनेभ जंगलभित्र अनुसन्धानका लागि छिर्छ। त्यहाँ उसले यायावरी ननाई समुदायका एक सदस्य दर्सुलाई फेला पार्छन्। दर्सुले अर्सेनेभलाई खोजका लागि निकै ठुलो सहयोग गर्छ।
यो खोजका क्रममा दर्सु र अर्सेनेभबिच आत्मीयता बढ्छ। उनीहरू नजिकका साथी बन्छन्। उमेर ढल्दै गएपछि दर्सुका आँखा कमजोर हुन्छन् र सिकार गर्न सक्तैनन्। यो देखेपछि अर्सेनेभले दर्सुलाई सहरस्थित आफ्नो घरमा ल्याउँछन्।
जंगलमा यायावरी जीवन बिताएको दर्सुलाई सहरको एउटा कोठामा खुम्चिएर बस्न बाध्य हुन्छन्। सहरमा सिकार गर्न पनि नपाइने, क्याम्प गाढ्न पनि नपाइने कुरा सुनेर दर्सु अचम्ममा पर्छ।
एक दिन प्रहरीले दर्सुलाई सहरको रुख काटेको आरोपमा समाउँछ। रुख काट्न पनि नपाउने नियम रहेको सुन्दा ऊ छक्कै पर्छ र विक्षिप्त हुन्छ। त्यसपछि ऊ सहरमा बस्न नसक्ने निर्णयमा पुग्छ। अर्सेनेभलाई बिदा दिन दर्सुले अनुरोध गर्छ। यसपछि दर्सुलाई एउटा नयाँ बन्दुक उपहार दिएर अर्सेनेभले बिदा गर्छ। बाटामा जाँदै गर्दा लुटेराहरूले त्यो नयाँ बन्दुक मात्र लुट्दैनन्, दर्सुको हत्या नै गरिदिन्छन्।
यसरी फिल्मले जंगल र सहरको बेग्लाबेग्लै सभ्यताको कथालाई निकै रोचक रूपमा प्रस्तुत मात्र गरेको छैन, जंगली सभ्यताको कालान्तरमा कसरी हत्या हुँदैछ भनी भविष्यवाणी पनि गरेको छ।
यो फिल्म हेरेको दिन किशोर शर्मालाई निद्रै लागेन। यो कथा फोटोग्राफीलाई जीवन ध्येय बनाएका शर्माको हो। उनले लेखेको तस्बिर पुस्तक ‘लिभिङ इन द मिस्ट’को कथा हो। केही पुस्तक हृदयले लेखिन्छन्, केही पुस्तक बुद्धिमत्ताले लेखिन्छन्।
केही पुस्तक भने पसिनाले लेखिन्छन्। ‘लिभिङ इन द मिस्ट’ त्यही पसिनाको कथा हो। १० वर्षभन्दा बढी समय लगाएर ११ हजार तस्बिर खिचिसकेपछि किशोरले यो पुस्तक तयार पारेका हुन्। यो पुस्तक नेपालको सुदूरपश्चिम तथा कर्णाली भेगमा यायावर जीवन बाँच्ने राउटेहरूको तस्बिरकथा हो।
एउटा तस्बिरले हजार शब्द बराबरको अभिव्यक्ति दिन्छ तर कहिलेकाहीं तस्बिर मात्र पर्याप्त हुँदैन। त्यो तस्बिरलाई व्याख्या पनि चाहिन्छ। सन् २०१० को दशकमा लेखकले राउटेहरू खोज्दै जाँदा फेला परेका दृश्यहरूलाई केही कथा, केही भोगाइ र केही व्याख्याका हिसाबले प्रस्तुत गरेका छन्।
यो पुस्तक पल्टाउँदा सुरुमा साना साना तस्बिर देखिन्छन् र केही पृष्ठ पल्टाइसकेपछि एक्कासि ठुलो तस्बिरले ठहराव दिन्छन्। यस्तो लाग्छ, किताबभित्रका उनका तस्बिर कुनै संगीतको मन्द मन्द बज्ने बिट हुन् र ठुला तस्बिर चाहिँ दीर्घ स्वर।
आखिर केले उनलाई यस्तो पुस्तक सिर्जना गर्न बाध्य पार्यो?
‘सानामा नेपाल टेलिभिजनमा राउटेहरू दसैं खर्च माग्न आएका, प्रशासनसँग खर्चबर्चका लागि अनुरोध गरेका समाचार देख्थें,’ गत साता शर्मासँग एउटा रेस्टुराँमा उनको किताबबारे चर्चा गर्ने क्रममा उनले भने, ‘त्यो बेलादेखि नै मलाई उनीहरूप्रति असाध्य आकर्षण थियो। बेलाबेलामा थप नयाँ कुरा आए चासोपूर्वक सुन्थें। पछि त फोटोसर्कलको एउटा कार्यशालामा भाग लिएपछि उनीहरूलाई नै पछ्याउन मन लाग्यो।’
राउटेहरूलाई पछ्याउनु कम सकसको कुरा थिएन। एक त बाहिरियासँग उनीहरू संगत नै गर्न चाहँदैनन्। त्यसमाथि उनीहरूलाई कुनै पनि कुराका लागि मनाउनु निकै गाह्रो काम हो।
उनलाई राउटेमाथि काम गर्न मन लाग्नुको कारण उनीहरूले वर्तमानमा बाँचिरहेको पुरातन जीवन हो। केही दशकअघिसम्म पनि राउटे र अन्य नेपालीको जीवनमा खासै फरक थिएन। अधिकांशको पेसा कृषि र पशुपालन थियो।
पशु हुनेहरूले लेकमा पशु चराउने र जीवनको आधा समय उतै बिताउँथे। अहिले अन्य नेपालीको जीवन गाउँबाट नगर र नगरबाट सहर, त्यस्तै सहरबाट महानगरसम्म आइपुगेको छ। नत्र त केही दशकअघिसम्म स्वयं काठमाडौंको पनि एउटा नगरभन्दा बढीको हैसियतको बजार थिएन।
फगत केही दशकमै नेपालीले आफ्नो पुरानो जीवन र शैली गुमाइसकेका छन्। कसैले त्यो पुरातन सभ्यता जोगाइरहेको छ भने तिनै राउटेले जोगाइरहेका छन् भन्ने किशोरलाई लाग्छ।
उनी लेखनमा उति पोख्त थिएनन्। त्यसैले उनलाई आफ्नो शब्दशक्तिमाथि विश्वास थिएन। तर जब उनले पत्रकारितामा स्नातकोत्तर गरे र फोटोग्राफीमा चासो बढ्दै गयो, त्यो बेला उनले बुझे– भाषामा मेरो पकड नभए पनि सिपमा पकड भए पुग्ने रहेछ। पढ्दै गर्दा कोलकाताका फोटोग्राफर नीलायन दत्ताको कक्षा लिएपछि भने उनलाई फोटोग्राफी तस्बिर मात्र होइन, यो त कथा कहने एउटा माध्यम पनि रहेछ भन्ने बुझे।
यसपछि उनी फोटो सर्कल नामक संस्थामा आबद्ध भए। स्थापनाको तीन वर्षपछि फोटो सर्कल संस्थागत हुन थाल्यो। यसले स्वदेशी तथा विदेशी फोटोग्राफरसँग अन्तरक्रिया गराउँदै जाँदा उनी पनि त्यसको हिस्सा हुन थाले। उनले यसपछि ‘नो ल्यान्ड फर अस’ शीर्षकमा एउटा तस्बिर कथा बनाए। आफ्नो गाउँ छेउछाउ भूमिहीन मुसहरहरूको जीवनशैली तस्बिरमा उतारे।
सन् २०१० मा १२ जना फोटोग्राफरहरूको एउटा पुस्तक प्रकाशित भयो। यसबाट उनी अझ बढी हौसिए। उनलाई फोटोग्राफीबारे अझ गहन अध्ययन गर्न मन लागेर डेनमार्कमा फोटोग्राफीको एक वर्षे कोर्स पढे। सन् २०१४ मा उताबाट फर्केपछि कोर्सकै प्रोजेक्टका लागि दैलेखमा एक महिना बसेर राउटेहरूसँग संगत गरे। यसको केही समय केही तस्बिर प्रदर्शित भए, केही कतै छापिए।
उनले राउटे बिर्सिए र ‘युद्धका जीवित स्मृतिहरू’ पुस्तकमा व्यस्त भए। यो नेपालमा द्वन्द्व चर्किएका बेला घानमा परेका १४ जना पीडितहरूको फोटोकथा थियो। यो पुस्तकलाई एउटा अन्तर्राष्ट्रिय संस्था जिटिजीले प्रकाशन गरेको थियो।
राउटेको पुस्तक निस्कन भने कोभिड १९ ले संसारै ठप्प हुनुप¥यो। त्यो बेला काम केही थिएन। फुर्सद बढी थियो। उनले अब चाहिँ पुस्तकलाई अन्तिम रूप दिनुपर्छ भन्ने सोचे। त्यसपछि पहिलेका सारा सोचलाई पन्छाउँदै पुनः सुरुदेखि लेख्न थाले।
जब निस्कियो, उनको समुदायमा त यो प्रशंसित भयो नै, बाहिरकाले पनि उत्तिकै रुचाए। किशोर भने यसबाट सन्तुष्ट छैनन्।
भन्छन्, ‘मैले गरेका कामका कमजोरीबारे चर्चा होस् भन्ने चाहना थियो तर अधिकांशतः प्रशंसा नै पाएँ। हुन त यस्तो काम नेपालमा धेरै नभएकाले प्रशंसा हुनु, नयाँ काम हुनु स्वाभाविक नै हो। त्योभन्दा पनि नयाँ पुस्ता यस्ता कामबाट प्रेरित हुन सके भने मेरा लागि त्यो पुरस्कार नै हुन्थ्यो।’
उनले त्यसो भन्नु अकारण होइन। अहिलेका अधिकांश फोटोग्राफरहरू तस्बिर खिच्नु मात्र काम हो, लेख्नु काम होइन भन्ने सोच्छन्। सामान्यतः एउटा अखबारमा काम गर्ने फोटोग्राफरले मुस्किलले क्याप्सन लेख्न सक्छ। ‘फोटो एस्से’ लेख्न सक्ने फोटोग्राफर निकै कम छन्। उनी भन्छन्, ‘आफ्नो क्षमता अहिलेका फोटोग्राफरले बढाउनुपर्छ। त्यसो भए मात्र उनीहरूले आफ्नो दायरा फराकिलो बनाउन सक्छन्।’
फोटोग्राफर लेखक हुन्। अरूले शब्दले लेख्छन्, फोटोग्राफरहरू तस्बिरमार्फत लेख्छन्। अधिकांश फोटोग्राफरमा यस किसिमको अपनत्व वा बुझाइ छैन। कहिलेकाहीं उनले नयाँ पुस्ताका फोटोग्राफरलाई तपाईंको पोर्टफोलियो छ, बनाउनुस् न भन्दा उनीहरूलाई त्यसबारे न त जानकारी हुन्छ न त त्यसको कौशल नै। यस्ता सिप र कौशलको अभावमा धेरै फोटोग्राफरहरू क्षमता भईकन पनि कयौं अवसरका बाबजुद पछि परिरहेको उनले देखेका छन्।
यतिबेला उमा विष्ट, प्रसित स्थापितजस्ता फोटोग्राफरले नेपाललाई विभिन्न मञ्चमा प्रस्तुत गरिरहेको उदाहरण दिँदै किशोर भन्छन्, ‘फोटोग्राफी विश्वव्यापी मिडिया हो, यो विश्वव्यापी भाषा हो। यसमा पोख्त भएपछि तपाईंको कौशल संसारले हेर्न सक्छ। यसमा कुनै पनि कुराको बाधा देख्नुहुन्न।’
उनी यताउति गर्छन् तर ध्यान भने राउटेतर्फ गइहाल्छ। कुराकानीका क्रममा पनि धेरै कुरामा दायाँबायाँ भए पनि राउटे छिरिहाले। अहिले पनि उनलाई राउटेहरू कुन वनमा पुगे होलान्, के गर्दै होलान् भन्ने लागिरहन्छ।
सबैभन्दा पिरलो त, केही समयअघि एक जना राउटे युवतीमाथि भएको बलात्कारको घटनाबाट उनी ज्यादै विचलित छन्। उनलाई लाग्छ, त्यो प्राचीन सभ्यतालाई अहिलेको विषाक्त समयबाट जोगाउन पाए हुन्थ्यो।
उनलाई लागेर मात्र नहुने। सरकारले जब भत्ता बाँड्न थाल्यो, जब वनहरू सामुदायिक हुन थाले र उनीहरूले रुख काट्न पाउन छाडे, जब उनीहरूको जीविकाको एक मात्र माध्यम विभिन्न काठे सामग्रीहरू नै बिक्री हुन छाड्यो, त्यसले उनीहरूको जीवनशैलीमा ठुलो विकृति ल्याइसकेको छ। अबका केही दशकमा राउटेहरूको यो यायावर संस्कृति लोप हुने डर उनलाई लागिरहेको छ।
प्रकाशित: ३ चैत्र २०८० ०७:३३ शनिबार