‘पहाड र लमतन्न समुद्र’ साहित्यकार पवन आलोकद्वारा लिखित नियात्राकृति हो।
पवन आलोकको नाम नेपाली साहित्यको सर्जक तथा सेवीका रूपमा अग्र पङ्तिमा छ। तर उनी मेरा यारीचिनारुचाहिं होइनन्। एउटै कुवाको पानी खाएका होइनौ, अर्मपर्म चलाएका पनि होइनौ। त्यसैले आलोकलाई यतिबेला भौतिक रूपले चिने पनि गुदीसहित चिनेको छैन। पछिल्ला कालखण्डमा सायद मैले उनलाई अभिव्यक्ति भेटघाटमा चिनेँ। आफन्तिएँ। उनको शालीनता र सरलता निकै मन पर्याे। परिणाम, कोसेली भेटेँ ‘पहाड र लमतन्न समुद्र’। र, मैले पनि कोखिलामा च्यापेर कोसेलीलाई समुद्र कटाएँ। ल्याइपुर्याए अमेरिका। यो एउटा संयोग मात्र हो। नत्र त जिन्दगी अलमस्त न हो।
दिनहरू क्रमैले बित्दै गए। धेरै समयपछि मैले कोसेलीको पोको फुकाएँ र ‘पहाड र लमतन्न समुद्र’ मा एक डुलान लगाएँ। एक तैरान लगाएँ। एक चक्कर काटेँ। कृतिको आवरणमा अग्लिएको पहाड र लमतन्न सुतेको समुद्रको मूर्त भन्न सकिने अमूर्त चित्र छ।
आवरणको पश्च भागमा आलोक तथा कृतिबारे परशु प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’ तथा प्राडा लक्ष्मणप्रसाद गौतमका शुभकामनाहरू छन्। साझा प्रकाशनले २०५ रूपैयाँ बोकाएर प्रकाशन गरेको छ।
‘पवन आलोकको अभिलेखीय यात्रादृष्टि’ शीर्षकमा नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालको गहन भूमिका छ। सङ्ग्रहमा नेपालका पहाडसँग सम्बन्धित चार नियात्रा छन् भने विदेश याने समुद्रसँग सम्बन्धित एघार ओटा छन्। अहिले म यिनै नियात्राको डुलानमा छु।
उनी उमेरगत हिसाबमा मेरा दामल होलान्, तर लगौंटिया यार होइनन्। कृतिभित्र मात्र बसेर हेर्दा भोजपुर कुलुङका हुन् आलोक। पहाडको उकालीओह्राली, लेकबेंसी धानेका हुन् उनले।
पढे। एकेडेमीमा जागिर खाए। बेलायतमा पढे। पाख्रीबास कृषि केन्द्रमा काम गरे। देशदेशान्तर डुले। अहिले काठमाडौंमा बस्छन्। साहित्यमा निकै सक्रिय छन्। साहित्यका लागि धनकारी छन् छैनन् मलाई थाहा छैन, तर प्रमाणित छ कि उनी मनकारी छन्। उनले दनादन स्थापना गरेका पुरस्कारहरूले यही कुराको दृश्य देखाउँछ।
नेपाली साहित्यमा निबन्ध विधाको प्रविधाको रूपमा जन्मिएको नियात्राको आफ्नै स्वरूप र महत्त्व छ। यात्रा साहित्य भईकन पनि नियात्रामा विशिष्टता छ भनिन्छ। मेरा दिमागले छिमल्न नसकेको कुरामा नियात्राको सिद्धान्त अन्तर्य पनि हो। त्यसैले जसोजसो बाहुन बाजे उसैउसै स्वाहा गर्छु म। किनकि नियात्रा प्रविधालाई स्थापना गर्न विद्यावारिधि भएको छ। थेसिस लेखिएको छ। संस्था खुलेका छन्। विज्ञ लागेका छन्। समर्थनमा छन्। विरोधमा छन्। हात्ती हिंडिरहेको छ। काग कराइरहेको छ। फेरि पनि नियात्रा बारेको सैद्धान्तिक चुरो टुङ्गो लागेको छैन। यस्तैमा प्रकाशित भएको छ प्रस्तुत नियात्राकृति।
कृतिका भूमिकाकार प्रतीक ढकालका शब्दमा ‘नियात्रा हुनका लागि यात्राको सपाट वर्णन गरेर मात्र पुग्दैन, अनुभूतिका तीव्रतम् प्रकम्पनले पाठकको हृदयलाई झङ्कृत पारेको हुन सक्नुपर्छ’।
यसो भनिरहँदा नियात्रा भन्नु अनुभूतिको पुञ्ज हो। त्यसो त यात्रा भन्नेबित्तिकै कहाँ (गन्तव्य)?,कहिले (मिति), को (यात्रु)? किन (प्रयोजन)? केमा (साधन)? आदि कुराको सूचना हुने नै भयो।
यसो हुँदा यात्रामा गतिमयता अर्थात् चलायमान, गन्तव्यको आकर्षणको अर्थात् यात्राको कारण, पहुँचका तौरतरिकाको कैरन, बासका सुविधा, रमाइलाको अनुभूतिजन्य विवरणहरू हुने भैहाल्यो। अनि गन्तव्यमा घुमेपछि त्यो ठाउँको वैशिष्ट्य केके हुन्? ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक आदिको बयान आवश्यक कुरा हो। यी बयानहरूमा यात्रुको निजात्मकता, प्रस्तुतिमा आख्यानात्मकता, बुझाइमा चित्रात्मकता तथा पाठकलाई सँगै डोर्याउन सक्ने बद्धता हुनुपर्छ भन्ने चलनचल्तीको अन्तर्य मैले यहाँ बताइरहन परेन।
नियात्राकार आलोक ‘पहाड र लमतन्न समुद्र’ नियात्राकृतिका माध्यमले आफू जन्मेको, पढेको, बढेको तथा बालापन बिताएको आफ्नो गाउँ भोजपरको कुलुङ पन्ध्र वर्षपछि पुग्छन्। जन्मस्थल पुग्दा देखिएको माया, सदभाव, पुराना स्मृति छचल्किएर आनन्दित हुन्छन्। कल्पना गरेभन्दा धेरै विकास भएको अनुभूति गर्छन्।
भोजपुरसँग जोडेर योगमायाको अन्तर्य खुलाउँछन्। दिङ्लाका बालागुरु षडानन्दलाई नमन गर्छन् र टक्सारको अवस्थालाई संस्मरण गर्छन्। त्यो क्षेत्रको भौगोलिक तथा प्राकृतिक चित्र उतार्छन् र एकदम भावुक बन्छन्। रोमाञ्चक बन्छन्।
तथापि सामाजिक सदभावमा आएको ह्रास, वैदेशिक रोजगारीले रित्तिएको गाउँ तथा बुढाबुढीको बुढ्यौली क्रन्दन अनुभूत गर्छन्। भोजपुरमा पनि मिसावट सभ्यता भित्रिएकोमा चिन्तित हुन्छन्। आफ्नो गाउँठाउँको भूगोल खर्लप्पै उतार्छन् र बालापनमा पुगेर रम्छन्।
नेपालभित्रको विचरण गर्ने क्रममा छन् नियात्राकार। त्यसैले बरमझियाको प्रसिद्ध पेडा खान्छन् र पोखरीहरूको शहर जनकपुरको भ्रमण गर्छन्। जानकी सङ्ग्रहालयमा विचरण गर्छन्। घरी धार्मिक हुन्छन्। धार्मिक रमणीयताको चर्चा गर्छन्। घरी यात्रु बन्छन्।
धनुषा जिल्लाकै नामकरण गर्ने तर चर्चाको आलोकमा निम्छरो भएको धनुषाधाम घुमेर अचम्ममा पर्छन्। साहित्यकारहरू नगेन्द्रराज शर्मा, राप्रउ, रामप्रसाद पन्त, चन्द्रप्रसाद भट्टराई, ठाकुर शर्मा, नवराज पुडासैनी ज्योत्सनालाई लिएर गुराँसको राजधानी पुग्छन्। अर्थात् २०७५ साल चैत्र १० गतेदेखि ताप्लेजुङको तीनजुरे अर्थात् गुराँसको राजधानी पुगेर रमाउँछन्।
रोसी खोलामा हुने पुरानो लुटपाट सम्झन्छन्। बेलायतका युवराज चार्ल्सले चढेको हुनाले नाम नै चाल्र्स पोइन्ट नाम राखिएको भेडेटारको पहाड चढछन्। बाटोको चिनारी दिन्छन् र प्रकृतिको जब्बर वर्णन गर्छन्। २०७६ साल मंसिर ६ गते बिपी राजमार्गको यात्रा गर्छन्। जनकपुर छिचोल्दै चन्द्रनिगाहपुरमा साहित्यकार माधव काफ्लेलाई भेट्दै साहित्यिक कार्यक्रम गर्छन्। गढीमाई भ्याएर हेटौंडामा साहित्यकारहरूलाई भेट्छन्। र एक फन्को सेलरोटी पकाएर काठमाडौं फिर्छन्।
नियात्राकार आलोकले कृतिभरि आफू यात्राको सौखिन भएको बताएका छन्। अनुकूल पर्यो कि कुम्लोकुटुरो बाँधेर भ्रमणमा निस्किहाल्ने रहेछन्। चाहना, स्रोतसाधन, अवसर, संयोग आदिको जुराइ न हो यात्रा पनि। जे भए पनि उनी संसार विचरण गर्न निस्कन्छन्।
त्यसो त उनले बेलायतमा सन् १९८५ तिर अध्ययन नै गरेका हुन्। तर उनी फेरि बेलायतको पारिवारिक भ्रमणमा पुग्छन्। टिट्लिसको गाउँमा चिप्लेटी खेल्छन्। साहित्यकार शेक्सपियरका नाममा स्थापित काउन्टीमा पुग्छन्। वशीभूत हुन्छन्।
यसैगरी जर्ज इलियटको सालिकलाई ढोग्छन् र सूचना दिन्छन् कि केटाको नामधारी जर्ज इलियट महिला हुन् र उनको प्रमाणपत्रीय नाम म्यारी अन इभान्स हो। किनभने त्यो बेला बेलायतमा महिलाका नामबाट लेख्न गाह्रो थियो। यही समस्याबाट बच्न यसो गरिएको थियो भन्ने सूचना सुनेर उनी मात्र होइन; पाठकलाई समेत चकित तुल्याउँछन्। अचम्ममा पार्छन्।
प्याकेज टुरमा फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र स्विटजरल्यान्ड पुग्छन् र स्वैरकाल्पनिक लाग्ने एउटा भूस्वर्ग अनुभूत गर्छन्। यो यात्राका दौरान स्विट्जरल्यान्डमा बस, टनेल, केबुलकार, गोन्डोला चढ्छन् र भारतीय सिनेकर्मी शाहरुख खान र काजोलको फोटो फ्रेममा उभिएर दङ्गदास पर्छन्। सपनाको शहरहरूमा भन्दै जेनेभादेखि पेरिससम्मको यात्रा गर्छन्। र, विदेशीको पर्यटनको चेत अभिलेखन गर्छन्।
अमेरिकी राष्ट्रपति क्लिन्टन र लेवेन्स्कीले रासलीला गरेको जेनेभाको होटल चिनेर रोमाञ्चित बन्छन्। फ्रान्समा पुगेर लुभ्र म्युजियममा रहेको मोनालिसाको चित्र नियाल्छन्। कु्रजको यात्राको अनुभव लिन्छन् र फेरि फ्रान्सको आइफेल टावर अगाडि उभिएर कसरी बनाए होलान् भनेर सोचमग्न हुन्छन्।
विश्वविख्यात कवि वर्डसवर्थको गाउँमा पुग्छन्। बेलायतको लेक डिस्टिक्टको कम्बरल्यान्डमा जन्मेका कवि वर्डसवर्थको डोभ कटेजका रूपमा स्थापित म्युजियममा पुग्छन्। कविलेखकको नाममा स्थापित स्मारक, सडको नाम, काउन्टीको नाम, म्युजियम देखेर बेलायतको स्रष्टा सम्बर्धन चेतको तारिफ गर्छन्।
समुद्रमा सयर गर्दै फिनल्यान्डको हेलसिन्की पुग्छन्। कल्पनातीत दृश्य र अनुभूतिमा भुट्टोको देश दर्शनका लागि सन् २००१ म पाकिस्तानको इस्लामावाद पुग्छन्। र, व्यवस्थित तरिकाले विकास गरिएको शहर भनेर सूचना दिन्छन्। मोहनजोदाडो, हडप्पा जस्ता प्रचीन सभ्यताको कैरन ल्याउँछन् र भुट्टोलाई फाँसी दिएको रावलपिण्डीको सेन्टल जेल पुगेर श्रद्धाञ्जलि अर्पण गर्छन्।
चीनको उहानका दृश्यविम्बहरूमा हराउन सन् १९९३ मा पुग्छन्। आफूले काम गर्दै गरेको पाख्रीवास कृषि केन्द्रलाई उहान पठाएकोमा धन्यवाद दिन्छन्। चीनमा पनि दलाली तथा भ्रष्टाचार देखेर दुखित हुन्छन्। र फेरि आलिङ्गन चुम्मामा रमाएका चिनियाँ जोडी देखेर छक्क पर्दै रोमाञ्चित हुन्छन्।
तियानमेन चौक, माओको समाधिलाई अवलोकन गर्छन्। चीनको आर्थिक विकासले लोभिन्छन् र देश सम्झन्छन्। खानेकुराको समस्या बेहोर्छन्। सनयात सेन जन्मेको ग्वाङचाओ पुग्छन्। र, साथीले विमानमा पठाइदिएको बेसारको लफडामा पर्छन्। चिनियाँ होटलमा लुट देख्छन् र हङ्कङ फिर्छन्।
सन् १९९३ मा ७००१ टापुको देश फिलिपिन्स पुगेका छन्। फिलिपिन्सको इतिहास केलाउँछन्। फिलिपिन्सको उतारचढावको राजनीतिक दृश्य देखाउँछन्। स्पेन, अमेरिका तथा फर्डिन्यान्ड मार्कोसले शासन गरेको फिलिपिन्सको विद्रूप तथ्य सुन्छन्।
इन्डोनेसियाकी केटीले होटलमा एउटै रुम लिने प्रस्ताव गरेपछि लजाउँछन् र ततर्किन्छन्। मनिलामा सुन्दरी र बैंसको व्यापार आँखैले देख्छन् र नाङ्गो रात्रि जीवनका बारेमा प्रत्यक्ष अनुभूत गर्छन्।
यसैगरी थाइल्यान्ड पुग्छन् र चियानमाई शहरको टाइगर किङ्गडममा बाघको खोरभित्र पस्छन्। बाघबघिनीसँग खेल्छन्। रोमाञ्चक बन्छन्। थाइल्यान्डमा डु यु निड अ गर्ल भनेर सोधेको देख्छन्। भोग्छन्। पुरुष वेश्याको कुरा थाहा पाउँछन्। रात्रिकालीन जिन्दगीमा मसाज सेन्टरको कैरन ल्याउँछन्। पाठकलाई रोमाञ्चित बनाउँछन्।
पातालमा पहिलो पाइला भन्दै सन् २०१२ मा अमेरिका पुग्छन्। न्युजर्सीको एयरपोर्टमा ओर्लन्छन् र इमिग्रेसन अधिकारीले ‘आइ नो, यु नेपलिज आर अनेष्ट एन्ड ब्रेभ’ भनेको सुनेर गौरव अनुभूत गर्छन्। न्युयोर्कको ज्याक्सन हाइट घुम्छन्। साहित्यिक कार्यक्रम भ्याउँछन्। भूमिगत रेल चढ्छन्।
अमेरिकाको राजधानी वासिङ्गटन डिसी क्षेत्रमा पुग्छन्। गोविन्द गिरी प्रेरणालाई भेट्छन् र फेरि साहित्यिक कार्यक्रममा समावेश हुन्छन्। न्युयोर्कको चाइना टाउनमा पुगेर प्याकेज टुरमा नायाग्रा फल्स पुग्छन्। नायाग्राको इन्द्रेणी रङहरूमा हराउँछन्। इतिहास केलाउँछन्। वी आर फ्रम नेपालभन्दा भन्दा गर्नुपर्ने, नत्र भारतीय बुझ्ने समस्याबाट गुज्रन्छन्।
कृतिभित्र अनेकन विशेषता छन्। विषयगत तथा स्वरूपगत अथवा प्रस्तुतिगत विशेषता छन्। हरेक नियात्राको उठान शैली रोचक छ। निबन्धको परम्परागत शैली नभएर कौतूहलता भएको उत्थान तथा प्रस्तुति शैली देखिन्छ। निजात्मकता जब्बर राम्रो छ।
एक हिसाबले भन्ने हो भने नियात्राकार ‘डाउन टु अर्थ’ देखिन्छन्। नियात्रा प्रस्तुति तथा तथ्य सम्प्रेषणमा लप्पनछप्पन छैन। जस्तो छ त्यस्तै लेख्छन्। रक्सी खाएर मात्तिएकादेखि तरुनी देखेर मन लोभ्याएसम्मका सत्यताहरू अभिव्यक्त भएको छ।
कृतिका तमाम शीर्षकीकरणमा कौतूहलता, शिल्पता तथा आकर्षण देखिन्छ। उनको नियात्रा प्रस्तुति शैलीमा पूर्वस्मृति शैली देखिन्छ। याने संस्मरणात्मक शैलीलाई यो कृतिमा भरमार प्रयोग गरिएको छ।
कृतिभित्रका निबन्धको गतिमयता एकदम सुन्दर छ। यात्राबोधीय छन् निबन्ध। कौतूहलमय प्रवाह उनको अर्को विशेषता हो। जहाँ गए पनि बाटोमा पर्ने स्थानकाे सूचनाप्रवाह गर्ने प्रवृत्ति देखिन्छ।
इतिहास, भूगोल, विकास, पर्यटन आदिको सूचनाप्रवाह गर्ने, गन्तव्यका ठाउँको चिनारी दिने प्रवृत्ति पनि छ। बेलायतमा जहाँजहाँ लेखक कवि जन्मे त्यहाँ सालिक, स्मारक, तथा सडकको नाम राखिएकोमा गौरव अनुभूत गरिएको छ। संस्कृति, परम्परा र चलनबारे यथोचित प्रकाश पारिएको छ। गाईको मासुबाट जोगिन हम्मेहम्मे परेको छ। नियात्राहरू चित्रात्मक छन्। पाठकले चित्रात्मक कथा पढेजस्तो अनुभूति गर्ने छन्।
कतै नियात्राकार आलोक दार्शनिक चिन्तन राख्छन् र भन्छन्, ‘त्यसो त जीवन एउटा यात्रा न हो। मान्छेको जीवन पनि कस्तो जटिल। बुझ्नै नसकिने। कहाँ कसलाई भेटिन्छ, कहाँकहाँ पुगिन्छ। भेटिएका ती मान्छे जीवनमा फेरि भेटिएला वा नभेटिएला।
यी सबै कुरा मान्छेको जीवनको एउटा इतिहास न हो’। हो मलाई पनि लाग्छ जीवन एउटा यात्रा हो। यात्रामा भेटिने हुन् सबै। यात्रामै पाइने हुन् सबै। आमा, बाबु, भाइ, बैनी, साथीसँगी, छोराछोरी, जागिर, धन ऐश्वर्य। यात्रामै गुमाउने हो सबैका सबै। यात्रामै रमाउने हो, यात्रामै दुखाउने हो मनलाई। तनलाई। संसारको असार/सार सबै यात्रामै केलाउने हो। क्षणभङ्गुर यात्राको पटाक्षेपपछि कसले जानेको छ र? यात्रा अझै बाँकी छ कि छैन।
निबन्धभित्र सादृश्य शैली पनि देखिन्छ। कुनै कुरालाई देखेर त्यसको सादृश्यमा आफ्नोमा पनि त्यस्तै प्रयोग गर्न खोज्ने प्रवृत्ति सादृश्य हो। नियात्राकार विदेशको विकास देख्छन् र आफ्नो देश नबनेकोमा चिन्ता गर्छन्। अर्थात् यसलाई तुलना गर्ने शैली पनि भन्न सकिन्छ।
बेलायत र नेपालको रात्रिबसको, नेपालको विकाससँग बेलायतको विकासको, नेपालका हिमाल र बेलायती पहाडको। मेलम्ची आयोजना र विदेशको विकासको तुलना गरेर द्रवीभूत हुन्छन्।
यो कृतिमा समेटिएका नियात्राहरूमा आख्यानात्मकता, प्रकृतिचित्रण, यात्रासारथीको चित्रण तथा रोमाञ्चकताको वर्णन पाइन्छ। कतिपय ठाउँमा विवरणात्मक शैली प्रयोग भएको छ। कतै नियात्राकार आलोक विदेशमा देखेका म्वाइँ, पहिरन, जिउडाल आदि सम्झेर लोभिन्छन्। रोमाञ्चित हुन्छन्। र, नेपाली कविता सम्झन्छन्।
‘पहाड र लमतन्न समुद्र’ मा धेरै विशेषता भए पनि पूर्णता हुने कुरा भएन। किनकि पूर्णता भन्नु पनि भ्रम हो। भ्रम नै सही, फेरि पनि पाठकले पूर्णता खोज्छ र अपूर्णता पाउँछ। वास्तवमा अपूर्णता नै जीवन हो।
यो कृति पढिरहँदा केही असजिलो, केही फरक सोच आउन सक्छ पाठकमा। मलाई भने यो कृतिमा भएका प्रस्तुत गरिएका निबन्धमा यात्राको कथानकले फड्को मारेको प्रतीत भएको छ। यसलाई मैले गतिमयता भन्दा पनि द्रूत यात्रा भन्न रुचाएको छु। रकेट यात्रा भन्न रुचाएको छु।
नियात्राभित्र एक अनुच्छेद बेलायत, अर्को अनुच्छेद फिनल्यान्ड र अर्को अनुच्छेद सोभियत संघ पुगेका छन् नियात्राकार। यो उफ्राइको समस्या कृतिभरि छ भएको मैले महसुुस गरेको छु। कतैकतै सूचनामा फरक पर्न गएको छ। किनभने नियात्रामा भएका सूचनाको जिम्मेवार नियात्राकार नै हुनुपर्छ। एका ठाउँमा सप्तरीको शहर लाहान भएको छ। जबकि लाहान सप्तरीको शहर होइन, सिराहाको शहर हो।
यद्यपि निकै छलफलपछि यो कृतिको विनिर्माण भएको छ। साझा प्रकाशनका विज्ञदेखि नेपाली साहित्यका नामुद व्यक्तिहरूसँग सरसल्लाह गरिएको छ। तर मेरा पाठकीय विचारमा चाहिँ पहाड र समुद्रलाई मिसाउँदा कृति ओल्लो घाट न पल्लोतिर भएको जस्तो लागेको छ। अर्कोतिर साझा प्रकाशनको भुसुने अक्षर, ढ्याब्रे सेटिङ, कर्मकाण्डी सोच तथा समग्र भौतिक विकर्षणमा भने पाठकले झिँजो मान्न सक्छन्।
अब भारी बिसाउनीमा छु। यही बुँदामा आएर एउटा विचार आउँछ मेरा मनमा। यो संसार विचित्रको छ। जिन्दगीको यात्रा नै अनौठोको छ। किनकि संसारमा धेरै राम्रा र गतिला मान्छेहरू छन्। तर तीसँग धौ फुकाएर चिनाजाना हुन्न। अर्कोतिर दुष्ट प्रकृतिका मान्छे पनि छन्। ती अनावश्यक जोडिएर चिन्तित तुल्याउँछन्। त्यसैले संसारका सबै मान्छेसँग चिना परिचय गर्छु, गुणवत्ता लिन्छु भन्दा पनि नपाइने रहेछ। दुष्ट नजोडिऊन् भन्दा पनि धर नपाइने रहेछ।
हो, म यो बेला गतिला मान्छेका रूपमा आलोकलाई यही कृतिका आधारमा ठहर्याउँदै छु। चिना परिचय ढिलो भएकोमा यही बोध भेरहेको छ मलाई। कृतिकार आलोक र म दुवैमा यात्राको चाखको सामिप्य रहेछ। त्यसैले म र उनी पहाडदेखि समुद्रसम्मका यात्रामा रमाउँछौं। यात्राको डुलान भर्नुको मजा नै अर्कै।
यो कृति पढिरहँदा मलाई गाडधनको सुरुङ जस्तो तथा पाताले तरुल खोतलेजस्तो अनुभूति भएको छ। जति भित्र पस्यो, उति गहिरो। जति गहिरो उति रोमाञ्चक। जति रोमाञ्चक उति सूचना छ कृतिमा। त्यसैले विदेशको घुमाइ स्वदेशमा सम्याइ हो यो पुस्तक। साधन, स्रोत, अवसर, परिवेश, चिन्तन, संयोग तथा उत्कण्ठा मिसिएर बनेको छ कृति।
कृति वास्तवमा अनुपम छ। पाठक महोदय! एकपल्ट पढेर त हेर्नुस्, नेपाल, चीन, पाकिस्तान, युरोप, अमेरिका, फिलिपिन्स, थाइल्यान्ड सबै घुमिन्छ। रोमाञ्चक भइन्छ। इमान्दार छ लेखनी। अरू त म के भनूँ? यही सर्कामा मैले ‘पहाड र लमतन्न समुद्र’ को डुलान तुरेको छु। नियात्राकार आलोकलाई बधाई र शुभकामना।
प्रकाशित: २८ फाल्गुन २०८० ०९:३८ सोमबार