१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

डा.दामोदर पुडासैनी किशोरलाई राष्ट्रिय साधना साहित्य सम्मान

सामना म्यूजिक क्रियसन, नेपालले डा. दामोदर पुडासैनी किशोरलाई राष्ट्रिय साधना साहित्य सम्मानले विभूषित गरेको छ। क्रियसनले यस वर्षदेखि साहित्य क्षेत्रमा पनि राष्ट्रिय साधना साहित्य सम्मान प्रदान गर्न थालेको हो।

‘डा. पुडासैनीले लामो समयदेखि नेपाली भाषा, साहित्य, कला र सामाजिक, आर्थिक, भौगोलिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण, सम्वर्द्धन र स्तर उन्नति गर्न अतुलनीय रूपमा समाजोपयोगी कार्यमा गरिरहनुभएको योगदान अतुलनीय र अनुकरणीय भएकाले राष्ट्रिय साधना साहित्य सम्मान अर्पण गरिएको हो’ सामना म्यूजिक क्रियसनले जनाएको छ।

सामना म्यूजिक क्रियसन, नेपालले हरेक वर्ष सिनेमा निर्माण, निर्देशन, अभिनय, गीत लेखन, छायांकन जस्ता विधामा प्रतिस्पर्धा गराई उत्कृष्ट ठहरिएका सिनेमा र स्रष्टाहरूलाई २०७५ सालदेखि सामना म्यूजिक एवार्ड प्रदान गरिंदै आएको थियाे। गत वर्षदेखि सोको अतिरिक्त नगद पुरस्कारसहित सामना म्यूजिक रिवार्ड पनि प्रदान गर्दै आएको छ। सामना म्यूजिक क्रियसनले नै नेपालमा पहिलोपटक गीत, संगीत र सिनेमा क्षेत्रमा एवार्डको सट्टा रिवार्ड प्रदान गर्न थालेको हो।

सामना म्यूजिक क्रियसन, नेपालकी अध्यक्ष सामना शाहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष एवं वरिष्ठ कलाकार भुवन केसी रहेका थिए।

सामना म्यूजिक क्रियसनका संरक्षक शान्तिप्रियले स्रष्टाहरू सम्मानको भोको हुँदैनन् , साधनामा लागिरहन्छन्। ठूलाठूला सम्मान पाएर पनि दैनिक गुजारा गर्न धौधौ पर्ने हाम्रा स्रष्टाहरूको नियतिलाई मनन गरेर सामना म्यूजिक क्रियसनले नगद पुरस्कार समेत अर्पण गर्न शुरू गरेको बताए।

प्रमुख अतिथि, वरिष्ठ कलाकार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले जीवनको लामो समयसम्म साहित्य, कला र संस्कृतिको उन्नयनका लागि काम गर्ने स्रष्टाहरूलाई राज्यले गर्न नसकेको एवार्ड र रिवार्ड सामना म्यूजिक क्रियसनले प्रदान गर्नु यस क्षेत्रमा महत्त्वपूर्ण कार्य भएको बताए।

राष्ट्रिय साधना साहित्य सम्मानबाट सम्मानित वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोरले राष्ट्रका निकायहरूले राम्रोभन्दा हाम्रो स्रष्टा भनेर पद, पुरस्कार र सम्मान दिइरहेको आजको परिप्रेक्ष्यमा सामना म्यूजिक क्रियसनले निजी स्तरमा स्वतन्त्र जुरीबाट छनौट भएका स्रष्टालाई यस किसिमको पुरस्कार र सम्मान गर्ने परम्परा थालनी गरेकोमा खुशी व्यक्त गरे।

सो अवसरमा सामना म्यूजिक क्रियसनकी संस्थापक एवं अध्यक्ष सामना शाहले समाजलाई सकारात्मक परिवर्तन गर्न जीवनभर लागिरहने स्रष्टाहरूलाई नै राज्यले उचित कदर गर्न नसकेको र सम्मान र पुरस्कारको नाममा अनेकौं विकृति फैलिरहेको बेला त्यसमा सुधार ल्याउने र स्वतन्त्र जुरीले मूल्यांकनका बहु आधारमा छनौट गरेका स्रष्टालाई निष्पक्ष ढंगले पुरस्कार र सम्मान गर्ने परम्पराको थालनी गरेको बताए।

कार्यक्रममा ठूलो संख्यामा साहित्यकार, कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणको उपस्थिति रहेकाे थियो। सो अवसरमा कलाकारहरूले गीत, संगीत, नृत्य र अभिनय प्रस्तुत गरेका थिए।

प्रकाशित: १८ फाल्गुन २०८० १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App