नेपाली फिल्ममा पछिल्लो समय गाउँका कथाहरूले प्राथमिकता पाइरहेका छन्। दीपेन्द्र लामाको ‘नांगो गाउँ’ देखि रामबाबु गुरुङको ‘डिग्री माइला’ सम्मले गाउँको कथालाई सम्बोधन गरेका छन्।
‘नुमाफुङ’, ‘खांग्री’, ‘दलन’, ‘गुडबाई काठमाडौं’ जस्ता फिल्म तथा टेलिसिरियल निर्देशन गरिसकेका निर्देशक नवीन सुब्बाले फेरि गाउँकै कथालाई विषयवस्तु बनाई निर्माण गरेको ‘गाउँ आएको बाटो’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भइरहेको छ।
एक दशकपछि ‘गाउँ आएको बाटो’ बाट निर्देशनमा फर्किएका सुब्बाले सामुदायिक लगानीमा बनाएको यो फिल्मको प्रदर्शन टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव, मुम्बई फिल्म महोत्सव र गोटेबर्ग फिल्म महोत्सवमा भइसकेको छ।
‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गते देशभर रिलिज हुँदै छ। ‘नुमाफुङ’देखि ‘गाउँ आएको बाटो’सम्म आइपुग्दा निर्देशक सुब्बाले गाउँको कथालाई नै प्राथमिकता दिएका हुन्। ‘नेपाली समाज गाउँ नै गाउँले भरिएको छ,’ उनले भने, ‘विभिन्न गाउँबाट राजधानी केन्द्रित भएका हामीले एउटा कालखण्डको कथा उठाउने हो। त्यो कथा बनाउन ५–७ वर्ष लागिहाल्छ। हामीले बनाएको फिल्म हेरेका दर्शकले पूर्व–प्रतिबिम्ब (प्रो–रिफ्लेक्ट) गर्छन् भन्ने अनुमान मात्र गर्न सक्छौं। कारण, नेपाली फिल्मले उठाउने कथामाथि समाजसँग अन्तक्र्रिया सिर्जना हुन सकेको छैन।’
पछिल्लो समय देशभरका फिल्म हलहरूमा रिलिज भएका अधिकांश फिल्मका कथा गाउँमा आधारित हुनु संयोग नभएको तर्क उनले गरे। ‘धेरै फिल्ममेकर गाउँबाट आएका छन्,’ उनले भने, ‘नोस्टाल्जिया गाउँ नै हुने भएकाले उनीहरूले बुझेको समाज, अनुभव गरिराखेको र देखिराखेको चरित्र गाउँकै हो।
त्यस्तै सहरको वास्तविक जनसंख्याको तुलनामा सहर (काठमाडौं) मा बस्ने अधिकांश मानिस गाउँबाटै आएका छन्। सहरकै खास जनसंख्या नेपाली फिल्म हेर्न हलसम्म जाने भन्ने मलाई लाग्दैन।’ उनले अगाडि थपे, ‘अहिले फिल्ममेकरहरूले गाउँका मानिसको नोस्टाल्जियासँग नै खेलिरहेका छन्। पछिल्लो समय रिलिज भएको गाउँका कथामा आधारित फिल्महरू नोस्टाल्जियासँग जोडिएर आइरहेका छन्। गाउँको कथामा बनेका केही फिल्म सफल भएपछि त्यसको फलोअपका रूपमा अन्य फिल्म आइरहेका छन्। गाउँको कथामाथि बनेका फिल्म चलेपछि त्यस्तै कथा खोज्ने ‘ट्रेन्ड’ पनि बढेको छ। गाउँको कथाका विधा फरक हुन सक्छन्। हामीले त्यसमा काम गर्न सकेनौं। जसकारण हामीले पछिल्लो समय रिजिल भएका नेपाली फिल्म हेर्दा उस्तै लागिरहेको छ। त्यसबारे निर्माता, निर्देशक र कलाकारले गम्भीर भएर सोच्नु जरुरी छ।’
नयाँ फिल्ममेकरहरूले फिल्ममार्फत व्यक्तिगत कथा प्रस्तुत गरिरहेको उनले बताए। ‘हामी हुर्किएको परिवेशमा देखिएको चरित्रलाई फिल्ममा देखाउने प्रवृत्ति हाबी हुँदा उस्तै खालका पात्र दोहोरिएको जस्तो लाग्छ। लामो समय फिल्ममा काम गरिरहेका फिल्ममेकरहरूले भिन्न कथावस्तुलाई प्राथमिकता दिइरहेका छन्।
गाउँबाट आएका दर्शक सहरमा धेरै भएका कारण गाउँको कथाहरू धेरै चले। मेरो विश्लेषणमा फिल्ममेकरहरूले कथा र दर्शकलाई जोड्न त्यहीअनुसारको फिल्म बनाएको जस्तो देखिन्छ। तर कथामा विविधता हुनु जरुरी छ।
फिल्ममा गाउँ आउँछ भने सुदूरपश्चिमको गाउँ किन नआउने ? महिलाहरूले आफ्नो कथा आफैं किन नभन्ने ? त्यस प्रकारको जनशक्ति निर्माण हुन सकेको छैन। त्यो कुरा कर्पोरेट कल्चरमा आउँदा सेक्रेटरी महिला हुनुपर्ने भन्ने मान्यता हाबी छ। महिला निर्देशकले पुरुषले सोचेजस्तो गरेर फिल्म निर्माण गरिरहेका छन्। महिलाहरूलाई पुरुषजस्तो सोच्न अभ्यस्त बनाइएको छ। त्यस्तो कुरा फिल्म क्षेत्रमा व्याप्त छ।’
उनका अनुसार ‘गाउँ हिँडेको बाटो’ फिल्मले गाउँमा भइरहेको विकास प्रक्रियाले भुइँमान्छेहरूलाई सम्बोधन गर्दैन भनेर देखाएको छ।
‘टोरोन्टो, बुसान, गोटेबर्ग र मुम्बईलगायतका दर्शकले यो फिल्म हेर्दा सम्पन्नता र समृद्धिको यात्राका क्रममा समाजले छाडेका मान्छेहरूको कथा भनेको छ,’ उनले भने, ‘हामीले भनिरहेको विकासमाथि यो फिल्मले प्रश्न गरेको छ। विकासमा सबैको पहुँच पुगेन। फेरि पनि हुनेखानेको हातमा मात्र त्यो गयो, सुविधा एफोर्ड गर्न सक्नेकोमा मात्र त्यो पुग्यो। एफोर्ड गर्न नसक्नेसँग पनि केही ज्ञान त छ तर हाम्रो अहिलेको विकासले त्यसलाई प्राथमिकता नै दिएन। खासमा सबै खालका ज्ञान भएका मानिसलाई बजारसँग जोडिदिनुपथ्र्यो। मैले विकासको विरोध गरेको होइन। जसको हेराइमा केही समस्या छ, उसलाई प्रश्न गरेको हुँ। जीवन सहज बनाउन शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुविधालगायत निष्पक्ष रूपमा वितरण भयो वा भएन भनेर हेरिनुपर्छ। एउटा फिल्मले गाउँको कथालाई न्याय गर्न सम्भव छैन।’
नेपाली फिल्म क्षेत्र समावेशी हुन नसक्नु दुर्भाग्यको विषय भएको गुनासो पनि उनले गरे। ‘हामी विविधताको कुरा गरिरहेका छौं,’ उनले भने, ‘तर सुदूरपश्चिम, कर्णाली, कैलाली र जनकपुरको कथालाई कहाँ समेट्यौं ? यौनिक अल्पसंख्यकको कथा कहाँ ल्यायौं ? नीति बनाउनेहरू ‘पत्रु’ भएका कारण सही दिशानिर्देश हुन सकेको छैन। एकातिर हामी समाजलाई खुला र उदार भनिरहेको छौं, अर्कातिर सेन्सर पनि गरिरहेका छौं। कथामा विविधता ल्याउन नीति बनाएर लागु गर्न सकिन्छ।’
प्रकाशित: ३ फाल्गुन २०८० ०६:५५ बिहीबार