७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

समाजका कुरूपतामाथिको घोत्लाइँ : अनुभूतिको अवतरण

पुस्तक समीक्षा

 नेपाली निबन्धको इतिहास करिब साढे दुई सय वर्ष पुरानो छ। आफूले भोगेका, देखेका वा आफ्ना मनमा लागेका कुरा शब्दको मिठासपूर्ण विन्यासबाट अभिव्यक्त गर्ने निबन्ध विधामा मनसँग जोडिएका कुराहरूको मनैदेखि अभिव्यक्ति दिँदा आत्मपरक निबन्ध जन्मिँदा रहेछन्।

कुनै पनि स्रष्टाको आफ्नो अनुभूतिको प्रकटीकरणले मिठा मिठा निबन्धको रूप धारण गर्दाेरहेछ। आत्मपरक निबन्धमा आफ्नो सिर्जनामार्फत निबन्धकार प्रकट हुन्छ। व्यक्तिका समाजका विभिन्न तहमा उपस्थिति र तिनमा रहेको निकटताबाट हुने अनुभूतिहरू जब अक्षरका माध्यमबाट सम्प्रेषण गरिन्छ, त्यतिबेला राम्रो निबन्ध आउँछ भन्ने उदाहरण हो ‘अनुभूतिको अवतरण’। जब निबन्धमा निजात्मकता, भावात्मकता, अनुभूतिको प्रकटीकरण र वैयक्तिकता हुन्छ त्यस्तो निबन्ध साँच्चै राम्रो आत्मपरक निबन्ध बन्छ। यस्तै छन् रञ्जनाका निबन्धहरू।

आत्मपरक निबन्धको जगमा उभिएको मैले पढेको पछिल्लो कृति ‘अनुभूतिको अवतरण’ निबन्ध सङ्ग्रहमा विषयगत विविधताका निबन्धहरू परेका छन्। २०५४ सालदेखि २०७७ सालको समयभित्र सिर्जना भएका, प्रथम पुरुषशैली वा दृष्टिबिन्दुमा लेखिएका निबन्धकार रञ्जना पौडेलका पन्ध्रवटा निबन्धहरूको माला ‘अनुभूतिको अवतरण’ हो। यसमा निबन्धकारका भावात्मक अनुभूतिहरू लछप्पै भिजिएका देखिन्छन्। 

आत्मपरकता तथा स्वानुभूतिको अत्यन्तै आत्मप्रस्फुटनले भरिएका निबन्धहरू साँच्चै पठनीय लाग्छन्। मनका कल्पनाका विविध रङहरूमा रङगिएका निबन्धहरू सुन्दर लाग्छन्। रञ्जनाका मनका उत्ताल तरंगहरूले तरंगित भएर कवितात्मक भावमा बहेका निबन्धहरूमा मिठासपूर्ण बिम्बप्रयुक्त गरिएको पाइन्छ। कुनै कुनै निबन्धमा उनका विचारहरू पनि बडो गजबले प्रस्तुत भएका छन्। 

कोमल हृदयबाट उब्जिएको कोमलता, भावुकता र संवेदनशीलतासमेत निबन्धहरूमा देख्न पाइन्छ। यस कृतिमा स्वतन्त्र र निर्वाध रूपमा तर कवितात्मक भावमा उस्तै कलात्मक भाषाशैलीमा निबन्धकार प्रस्तुत भएकी छन्। सुस्वादु शब्दचयन, सरल भाषाका अक्षरहरू कुँदेर बनाइएका निबन्धहरूले निश्चय नै पाठकको मन जित्न सक्ने छन्। उस्तै खँदिला छन् र  सबल छन्।  यसैले त उनको निबन्धकारिता राम्रो देखिएको छ।  

पहिलो निबन्ध शिरीषसँग शब्द–संवादमा वरिष्ठ साहित्यकार पारिजातको शिरीषको फूल पढेर पुलकित भएकी निबन्धकार पारिजातलाई सशरीर भेट्न नपाएको दुखेसो गर्छिन्। फूलको काम फुलिदिने र सुवास छरिदिने हो। दुखेसो र गुनासो गर्ने होइन। सबै मौसम फूलका लागि प्यारो हुन्छ। पारिजातको कृति शिरीषको फूल निबन्धकारभन्दा जेठो छ। तर प्यारो छ। उनी फूलसँगै रमाउँछिन्। फूलका सौन्दर्यभित्रको कामुकता चर्चा गर्छिन्। पारिजातको सकम्बरीको प्रेमले जसरी सुयोगवीरलाई छुन्छ, त्यसरी नै सुयोगवीरको कामुकताले कसैलाई छोएको छ। मन लागेको कुरा गर्नैपर्ने कुरामा निबन्धकारले जोड दिएकी छन्। पारिजातको उपन्यासलाई कालजयीको संज्ञा दिएकी रञ्जनाले पितृसत्तामा महिलाको विवशतासमेत चर्चा गरेकी छन्।

फेसबुकका प्रणेता मार्क जुकरबर्गसँग जोडिएको छ निबन्ध ‘फेसबुकमा सम्मोहित समय’। विज्ञानका अनेकानेन आविष्कार र तिनको समुचित प्रयोग नै वर्तमान समयको यथार्थ हो। पुरानो पात झर्दै जाने नयाँ पालुवा हाल्दै जाने, पुराना कुरा विस्थापित हुँदै जाने नयाँ नयाँ खोज अनुसन्धानले नवीन कुरा स्थापित हुँदै जाने दुनियाँको साश्वत सत्य हो भन्ने लाग्छ रञ्जनालाई। रोबर्ट ओपनले गरेको परमाणु बमको आविष्कार होस् या ब्लाइस पास्कलको बसको आविष्कार, मार्टिन कुपरको मोबाइल नै किन नहोस्, या त राइट दाजुभाइको ल्पेन, अलेक्ज्यान्डर ग्राहाम बेलको टेलिफोन अथवा गुगलका आविष्कारकद्वय लारी पेज र सर्जे ब्रेइनको आविष्कार होस्, यी आविष्कारकहरूसहित अरू थुपैै्र आविष्कारकहरूले मान्छेको वर्तमान जिन्दगीलाई सहज बनाउन विभिन्न आविष्कारहरू गरेका छन्। यसैको पछिल्लो कडी हो फेसबुक। यदि यी आविष्कार नभएका भए आजको मान्छे के गथ्र्याे होला ? उनी आफैंलाई प्रश्न गर्छिन् र उत्तर पनि दिन्छिन्। घरपरिवार सबै फेसबुकमा रमाएको देख्दा उनी धन्यवाद दिन्छिन् जुकरबर्गलाई। फेसबुकले सूचनाको दुनियाँमा नवीन क्रान्ति भएको छ। सबै कुरा जीवनोपयोगी हुने प्रकारले प्रयोग गर्न उनको सुझाव छ न कि लत बनोस्। जीवनलाई जीवनजस्तै सुन्दर बनाउन सुन्दर भावहरू आउनपर्छ  भन्ने धारणा छ।

क्यालेन्डरझैं फेरिएका गतिशील संसारका राम्रा नराम्रा परिवर्तन र तिनले निबन्धकारको मनमा उद्देलित भएका भावहरूले भरिएको निबन्ध हो ‘छिँँडीभरिको संसारबाट’। विनासकारी भूकम्प, वाढीपैरोलगायतका प्रकोपहरू तथा कोरोना कहरबाट हामी बाँचेको सभ्यता नै संकटमा पर्दैछ भन्ने संकेतप्रति यो निबन्ध लक्षित छ। ऋतु फेरिँदा समय नै रोकिएको अनुभूति उनमा छ। एकै ठाउँमा थुप्रिनुपर्दा एक प्रकारको मानसिक गुम्साइको अनुभव गरेकी निबन्धकार विज्ञानले प्रकृतिलाई चुनौती दिन नसक्ने ठोकुवा गर्छिन्। मान्छेले गरेका गल्तीहरू, प्रकृतिमाथिको बलात्कार, दोहन र प्रदूषणको कारण पृथ्वीसमेत निसास्सिइसकेको सभ्यता बिरामी परेकोमा निबन्धकारलाई चिन्ता लागेको छ।

विगतको दशवर्षे सशस्त्र द्वन्द्वको चर्चा छ ‘बङ्करमाथि उभिएको मन’मा। रोल्पा बीभत्स युद्ध, त्रासदीपूर्ण वातावरण, त्यतिबेलाको क्रान्ति र तिनका नायक अनि तिनका विचार। साहित्यिक कार्यक्रमको सन्दर्भमा पछि रोल्पा जाने अवसर मिल्दा निबन्धकारका मनमा उब्जिएको त्यो जिल्लाप्रतिको भाव, कौतूहलता, त्यहाँ पाइएको न्यानो स्वागतसत्कार आदिको चर्चा यहाँ गरिएको छ। क्रान्तिले परिवर्तन ल्याएको भनिए पनि त्यो स्थान अझै त्यस्तै ओझेलमा नमिठो पीडा बोकेर बाँचिरहेको देखेर निबन्धकारको मन दुख्छ। उतिबेलाको युद्धले पारेका असरको छाप होलेरीबासीहरूमा ताजै देख्दा उनी लालीगुराँस हेर्दै मुस्कुराउने असफल प्रयास गर्छिन्। युद्धमा काख गुमाएका प्रतिनिधिमूलक पात्र मंगले बाका आँखा कहिल्यै ओभानो नभएको पीडा, सयौंको संख्यामा साहदतप्राप्त गरेका परिवारका व्यथा, बेपत्ता परिवारका सन्त्रास र आशावादिता, एकल महिलाहरूका उजाड सिउँदो, टुहुरा बालबालिकाका दुरावस्था यी देखेर बेचैन भएकी छन् निबन्धकार। प्राकृतिक सौन्दर्यले धनी रोल्पाको भौतिक संवृद्धिको कामना गर्दै युद्धमा देखिने रङ र गुराँसको रङ एकै हुँदा आँखामा त्यहाँका सबै दृश्य मनले खिचेर फर्किएकी रञ्जनाको मनोदशा छ यहाँ।

चार्वाकको भौतिकवादी दर्शन मन पराउने निबन्धकारलाई आफ्नाको मृत्युमा भने असाध्यै दुख्छ। हाम्रो संस्कारमा रहेका केही प्रचलनहरूमा उनको विमति छ। मात्र हैन आक्रोश पनि छ। उनी भन्छिन्– ‘कति कुरूप छ हाम्रो संस्कार ? कति निर्दयी पनि ? दुखिरहेकालाई अझ चिमोट्ने। तिम्रा थाकेका आँखा र खुई खुईमा निस्केका अशक्तताले चिमोटिरह्यो मलाई।’ मरौ परेर किरियामा बसेको स्थानमा भेट्न जाँदाका अनुभूतिहरू यो निबन्धमा देखिन्छ। माया गर्नुपर्ने, हामी सबै छौं हिम्मत नहार भनेर काखमा राखेर सुमसुम्याउनुपर्नेमा उल्टो शोकमा परेकालाई छुन नहुने रे ⁄ नारी हुनुको कारण समाजले हुर्मत काढेको निबन्धकारको बुझाइ यहाँ छताछुल्ल भएको छ। उनको ठम्याइ छ– भोगाइ र जीवनको दार्शनिक परिभाषा र जैविक परिभाषा अलग कुरा हुन्। निबन्ध संस्कृतिभित्रका विकृति र संगतिहीनतालाई उजागर गर्न सक्षम देखिएको छ।

पुरुषको विकृत मानसिकताले कलिलैमा निमोठ्ने बालिकाको पक्षमा उनको मनको अन्तष्करणको आवाज हो ‘आर्तनाद’ निबन्ध। यसमा आर्तनाद ढंगले बलात्कार भएका निर्मलाजस्ता बालबालिकाको विक्षिप्त मानसिक अवस्थाको बारेमा बोल्ने यत्न गरेकी छिन्। छोरीहरूको असुरक्षा बढ्दै गएकोमा उनको मन गाँठिएको छ। मन नै घवराउने छ यो निबन्ध। यौन विकृत मानसिकताको उपचारको खोजीबारे प्रश्न उठाइएको छ यहाँ।  

जीबनका भोगाइ, यात्रामा कसैसँगको भेट, मायाको प्राप्तिमा हुने असहजतासँग जुध्दाका मज्जा, जीवन जिउन माया हुँदाको सहजता, सम्बन्धको आलोकजस्ता भावनाहरू उनको मनको गहिराइबाट अभिव्यक्त भएका छन्। आफ्नो प्रेमको स्मृतिमा बस्दा जस्तै परिस्थितिमा पनि हाँसेर जिउन सकिने ठोकुवा गरेकी छिन्। प्रेम र समर्पण भावलाई हृदयको केन्द्रमा राखेर बसेकी एउटा प्रेमिकाको रूपमा बसेको कुरालाई ‘अनुरागको अङ्कुर’मा प्रष्फुटित भएकी देखिन्छिन् रञ्जना।

आफ्नो कोही मृत्युबाट जुध्न अस्पतालको बेडमा छटपटाइरहँदा के अवस्था हुन्छ त्यही कुराको चित्रण गरिएको छ ‘प्रार्थना’मा। दिदीको मायामा बर्खाको बेलाको साउन आँखामा पनि उर्लेको छ। जहिल्यै अरूलाई हँसाउन उद्धत दिदीको परिस्थिति देख्दा दिदीको आयु लम्बियोस् भनेर गरिएका कामनाहरूका शब्दहरू परेका छन् निबन्धमा। ‘अन्त्यारम्भ’ मा आमा र आफ्नो देश उस्तै प्रिय र सुन्दर हुने कुरामा जोड दिइएको छ। सपनाजस्तै सुन्दर छ नेपाल भनिएको छ। उनकै शब्दमा ‘सौन्दर्यको आँखामा कलाकृतिको गाजल लगाएर मुस्कुराइरहेको मेरो देशको ओठबाट शान्तिकै मुस्कान मात्रै पोखिन्छ। वीरताकै गाथा गुन्जिन्छन्। यस्तो अद्वितीय सुन्दरतालाई विश्वले हे¥यो, चर्चा ग¥यो, लोभ ग¥यो।’ यति सुन्दर देश अहिले बेथिति र विडम्बनामा रोइरहेछ। २०७२ सालको भूकम्पले दिएको असर र पारेको क्षतिको सन्दर्भमा यो निबन्ध लेखिएको छ।

मातृत्व ममताको अनुभूतिले लछप्पै भिजाएर छोरीप्रतिको समर्पित भावमा लेखिएको निबन्ध ‘स्नेहको अभिलाषा’ हो। यसमा आमाको मातृत्व सुखबाट पूर्ण भएकी आमाको हृदयको स्पन्दन पोखिएको छ। छोरीलाई सकारात्मक पथमा हिँड्न सुझाइएको छ। कोसिस गरे सब कुरा सम्भव छ भनेर जीवनको सुन्दरतालाई संघर्षमा लगाउन उत्प्रेरित गर्ने यो सुन्दर निबन्ध हो। अर्काे निबन्ध ‘सर्वविद्याको राजधानीमा म’ मा आस्था, पवित्रता, ज्ञान र धर्मको केन्द्र काशी पुगेको कुराको स्मरण गरिएको छ। ज्ञानका लागि काशी जानु भनेर पूर्वजले भनेअनुसार गल्ली नै गल्लीको ठाउँ, मन्दिरै मन्दिरको ठाउँ बनारस र काशीको यथार्थपरक वर्णन गरिएको छ। यहाँ बनारस सहरले धर्मलाई व्यापार बनाएको महसुस गरेकी रञ्जनाले काशीले हिन्दुधर्मको महिमाको स्वस्थ वासना दुनियाँमा छोडेको निष्कर्ष दिएकी छिन्।  

‘प्रेमको शिविरवाट’मा जीवनमा प्रेमको महŒव दर्शाउने वृन्दावन, दुःखीले भजे दुःखी बन्ने, सुखीले भजे सुखी बन्ने, सबैलाई सुखको अनुपम महŒव सिकाउने कृष्णको महिमाको कुरा छ यहाँ। भक्तिका तीन आधार सगुण, निर्गुण र पराको चर्चा छ यहाँ। यथार्थका पीडाहरू भुलेर बैरागिएको मनलाई सान्त्वना दिन अध्यात्मको संसारले सुगन्ध फैलाएको कुरा गरेको छ। दिव्य र अखण्ड मिठासका कृष्णको राधाको रूपमा निबन्धकारले आफूलाई कल्पिएकी जस्तो लाग्छ।

‘विरोधाभासी चिन्तन’ कथाजस्तो लाग्छ। नियात्रा जस्तो लाग्छ। दुबईयात्राका अनुभूतिमय कुराहरू यसमा छन्। यात्रामा भेटिएकाहरूसँगको साक्षात्कार छ यहाँ। यात्राका सुखद र निरसलाग्दा पलहरूको रमाइलो वर्णन छ। जीवनमा आउने विभिन्न कल्पना र यथार्थहरू, ऋतुजस्तै परिवर्तन भइरहने जिन्दगीका आरोह अवरोहहरू, जिन्दगीका सुखद दिनप्रति मान्छेले गर्ने आशावादिता अझै जीवनको सकारात्मक सोच र चिन्तन, आशा र अपेक्षाको प्रतीक्षामा मान्छे सदैव बाँच्छ भन्ने भावको मीठो प्रस्तुति हो ‘कुमारी स्वप्न’।

सिद्धान्तको सुगा रटानमा जनताको आशामा तुषारापात गरेका नेताहरूप्रति लक्षित छ ‘आस्थाको भ्रष्टीकरण’। आम भुइँमान्छेलाई समृद्धिका गुलिया सपना देखाएर सत्तामा पुगेपछि त्यही सपनामा कालो पोत्ने वर्तमान राजनीतिक नेतृत्वप्रति निबन्धले व्यङ्ग गरेको छ। क्रान्तिकारी नेतृत्वमा आएको स्खलन, भ्रष्टाचारमा चुर्लुम्म डुबेको नेतृत्व, देशको राजनीतिक दुर्दशा र यसले आम जनतामा पारेको असरलाई ऐना जस्तै छर्लंग पारिएको छ।  

वैयक्तिक अनुभूतिको इमानदार अभिव्यक्ति लाग्छन् निबन्धहरू। समकालीन नेपाली समाजका सबैजसोले भोग्ने, अनुभूत गर्ने कुराहरूको यथार्थहरूलाई निबन्धहरूले प्रतिबिम्बित गरेका छन्। निजात्मक अनुभूतिलाई प्रभावशाली वाक्यबुनोटद्वारा आम नेपाली जनजीवनका भोगाइहरू र यिनका विविध पाटा र पक्षहरूलाई उजागर गर्नसक्ने सामथ्र्य निबन्धका विशेषता लाग्छन्। मलाई लाग्छ, देवकोटीय निबन्धको प्रभाव रञ्जनामा मज्जैले देख्न सकिन्छ।

हरेक निबन्धको थालनी एक हरफ कवितात्मक भावबाट गरिएको छ। छोटा तर सान्दर्भिक शीर्षक चयन, मmझौला आकारका निबन्धहरू यसमा छन्। मिठासयुक्त बिम्बविविधताले कविताको झल्को दिने निबन्धहरू छन्। पाठकका हृदयका संवेदनशीलतालाई मर्मस्पर्शी ढंगले निबन्धहरूले छुन सक्छन्। हाम्रो परिवेशमा जीवन्त देखिन्छन् रञ्जनाका निबन्धहरू।

प्रकाशित: ८ माघ २०८० ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App