४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

गोथेको घर नै संग्रहालय

१९ औं शताब्दीको शुरुवातमा जर्मन सहर वेइमार युरोपभरिकै सांस्कृतिक राजधानीका रूपमा परिचित थियो। त्यो शहरमा बस्थे, जोहान वल्फग्यांग भोन गोथे। उनी जर्मनीका राष्ट्रिय कविका रूपमा मात्र होइन्, राजनीतिकर्मी र वैज्ञानिकका रूपमा पनि परिचित थिए।

गोथेको क्रिम रंगको घरले राष्ट्रिय पहिचान नै बोकेको छ। त्यसैले त यहाँ वार्षिक एक लाखभन्दा बढीले भ्रमण गर्छन्। यो घरमा गोथेले जीवनका ५० वर्ष बिताए र यहीँ सन् १८३२ मा ८२ वर्षको उमेरमा उनले देहत्याग गरे। उनको विज्ञानप्रतिको मोहका कारण यति धेरै चिज संकलन गरे कि त्यसको संख्या यतिबेला गन्दा २३ हजार पुगेको छ।

त्यस्तै चित्रकला र अन्य कलाकारिता उनको रुचिको विषय भएकाले त्यस्ता कलाको संख्या पनि उनको दरबारजस्तो घरमा २६ हजारको संख्यामा संकलित छन्।

यो घरको चार दशकअघि रंगरोगन गरिएको थियो। त्यो पनि पूर्वी जर्मनीको कम्युनिस्ट सरकारले। त्यो कमजोर रहेछ भन्ने महसुस निकै पछि भयो। अब जर्मन सरकारले आउँदो सन् २०२६ देखि यो घरलाई दह्रो बनाउन चार करोड ५० लाख युरो छुट्याएको छ। ताकि, गोथेलाई आधुनिक जमानाले नबिर्सियोस्।

यति मात्र होइन, अपुग रकमका लागि राज्य सरकारले एक करोड ७० लाख युरो दिने भएको छ भने बाँकी रकम करिब १३ हजार युरो भने सर्वसाधारणले दान गर्नेछन्। ताकि उनीहरूले पनि यो दरबारजस्तो घर निर्माणमा आफ्नो केही योगदान भएकोमा गर्व गरुन्।

गोथे भन्थे, कुनै पनि व्यक्तिको घरले उसको व्यक्तित्वको खुलासा गर्छ। त्यति मात्र होइन, त्यो घरले उसको व्यक्तित्वको आकार दिन्छ। उनले आफ्नो घरलाई आफ्नो मस्तिष्कझैं विराट बनाउन चाहेका थिए।

उनले पेन्टिङ बनाए, स्केच गरे, प्राचीन दुर्लभ किसिमका सिक्का भेला पारे, वैज्ञानिक उपकरण खोजे, बनाए। उनले क्यास्पर डेभिड फ्रेडरिक, रेम्ब्रान्ट, टिन्टोटेटोजस्ता प्रख्यात चित्रकारका चित्रहरू संकलन गरे।

यी सारा कुरा गोथे नेसनल म्युजियममा अब पुनः हेर्न पाइनेछ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ८ माघ २०८० ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App