२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

'सम्बन्धको दोबाटो'ले कोरेको समाजको चित्र - एक पाठकीय दृष्टिकोण

पुस्तक

कथाकार रवीन्द्र केसीको भर्खरै लोकार्पण गरिएको २१ शीर्षकका कथा सङ्गृहीत ‘सम्बन्धको दोबाटो’ समुन्द्ररूपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानी, व्यवहार, सोच बाध्यता, कुटिलता मित्रता तथा बाँच्नका लागि गर्नुपर्ने अनेकौं संघर्ष पीडाका बीच मौलाएका फरकफरक सम्बन्धहरूको सूक्ष्म अध्ययनपछि गरिएको विश्लेषण हो।

आफ्नो कर्तव्य पूरा गर्ने क्रममा देश तथा विदेशका केही शहर घुमेसँगै नियालेका धेरैजसो सत्य र कतिपय काल्पनिक, बताउन सकिने, नसकिने, व्यक्त गरिएका, गर्न नसकिएका लुकाइएका कुराहरू कथामा स्वाभाविक ढङ्गले आएकाे छ।

वृद्धवृद्धाका चाहना र पीडाका कथा, अल्लारे उमेरमा गरिने प्रेम र गल्तीका कथा, विवाहित र एउटै छानामुनि बसेर पनि भुसको आगोझैं भित्रभित्रै सल्किएर खोक्रो भइसकेका सम्बन्धका कथा पाइन्छ।

नारीको स्वार्थपूर्ण व्यवहारले बिचल्ली पारेका पुरूषका कथा, आफ्नो वशमा नभएको जन्मकै आधारमा वर्षौंदेखि समाजले दलित भनेर लगाइएका बन्देज र गरेका हेपाइहरूले आफ्नो पहिचान समेत लुकाउन बाध्य हुनुपर्ने गरी दिएका कहालीलाग्दो मानसिक पीडाले खुलेर बाँच्न नपाएका तल्लो वर्गका, माथिल्लो वर्गले महसुस गर्न नसकेका अव्यक्त कुरा कथामा राम्राेसँग देखाइएकाे छ।

द्वन्द्व पीडितले अनाहकमा भोग्नुपरेका असह्य वेदनाका कथा जून हर घर, टोल र समाजमा देखिरहेका, सुनिरहेका र भोगिरहेका घटनालाई कथा, पात्र र समयको संयोजनद्वारा,आफ्नो कला, क्षमता, मेहेनत, सोच सबैको प्रयोग गरी सरल भाषा शैली र उचित शृङ्गारिक रसका भावहरू सम्मिश्रण गर्दै पाठकहरूलाई छिनमै प्रेमिल सागरमा हराउन र छिनमै नजर बर्साउन पुगिने गरी लेखिएको यो पुस्तक पढेपछि यसलाई समयको परिवर्तनसँगै बदलिएको नयाँ समाजको ऐना हो भन्दा फरक पर्दैन।

माया भन्ने अदृश्य तत्वबाट लोभिएर हरपल जो कसैबाट मायालुसाथ चाहने मानवीय मनले उमेरमा मन मिलेकाहरूसँग आकर्षित भएर गर्ने प्रेम, त्यही प्रेमलाई सार्थक बनाउँदै वैवाहिक जीवनमा बाँधिएको केही वर्षपछि वा फेरि उमेर ढल्केपछि पनि नयाँपनको चाहनामा गरिने प्रेम, आफन्तहरू टाढिएका बेला, नजिकिन पुगेकाहरूसँग हुने प्रेम, त्रिकोणात्मक प्रेम, अप्ठ्यारोमा पर्दा कसैले दिएको प्रेमिल साथ, स्पर्श र शब्दहरूले मानव शरीरको सबैभन्दा सुन्दर मानिएको मनलाई मिल्ने सकारात्मक ऊर्जाका साथ बस्न सक्ने प्रेम, जाति, धर्म, संस्कृति, भाषा, पारिवारिक चालचलन नमिल्दा पनि समयको आवश्यकताले हुन जाने प्रेम लगायत मानिसको जीवनमा जुट्न र जुर्न सक्ने हरेक खालको सम्बन्ध दर्साउन कथाकारले प्रेमिल भावहरूको कल्पनाबाट कथालाई, प्रेमको अनुभव भएकाहरूले आफ्नो अतीत सम्झेर टोलाउन र प्रेमको अनुभूति नभएकाहरूले पनि कल्पनामा रमाउन सक्ने गरी प्रेमिल पात्रहरूको सिर्जनाद्वारा रोमाञ्चक तरीकाले सिर्जित कथाहरूकाे आधारमा तयार पारिएकाे प्रेमिल रंगमञ्च हो, ‘सम्बन्धको दोबाटो।’

त्यस्तै पुस्तक पढ्दै गर्दा आफ्नो अगाडि नाटक मञ्चन भइरहेझैं वा सिनेमा हेरिरहेझैं लाग्ने गरी चित्रण गरिएका घटना, सोअनुसारका पात्र, मनमा उठ्न सक्ने भाव र भावअनुसारका प्रश्नहरूले श्रृंगारिएको ‘अद्वितीय रंगमञ्च’ पनि हो ‘सम्बन्धको दोबाटो।’

अनमोल मानिएको मानव जीवन, त्यसमा संवेदनशील पक्ष रहेको सम्बन्ध जुन दुई आत्माको मधुर मिलनबाट जुटने र सबैभन्दा बलवान् मानिएको समय चक्रको चंगुलमा परी परिस्थितिको आवश्यकताले मन बहकिएपछि फुट्ने क्रममा मनमा उब्जेका प्रेमिल, आस्थाहीन, घृणित, अनैतिक, श्रद्धाहीन र विकारयुक्त सम्बन्धहरूका साथै दलित र गरीब वर्गसँग धनी र सम्भ्रान्त वर्गको सम्बन्ध जोड्न खोज्दा टुटेका अन्य सम्बन्ध, परिवारले जोड्न नचाहेका सम्बन्धका कारण भोग्नुपर्ने तनाव, निम्तन सक्ने खतरा, बिदेसिने चलन र भित्रिएका विदेशी संस्कृतिहरूले नवपुस्तामा भित्र्याएका विवाहअगावै मनले चाहेकाहरू सँगसँगै बस्ने चाहनाअनुरूप आफूखुसी गर्न खोज्दा सोअनुसारको नियमकानुन नबनिसकेको र सामाजिक मान्यता पनि नपाएको अवस्थामा सुमधुर वा कष्टकर बनेका जीवनहरू कथामा अटेका छन्।

सम्बन्धको कदर गर्नेहरूसँग सम्बन्ध निभाउने मान्छे नहुनुका सकस अनि सम्बन्ध निभाउने मान्छे भएकाहरूसँग सम्बन्धको कदर गर्न नजान्ने मान्छे भेटिनुका सकस कथामा पाइन्छ।

सुन्दर घरपरिवारको महत्त्व नबुझी अनैतिक सम्बन्धमा रमाउन खोज्दा भताभुङ्ग बनेको आफ्नै जिन्दगी, सुख र खुसीको आशसहित बिदेशिएसँगै छुट्न पुगेको आफ्नै मायाको साथले दिएका दर्दनाक अवस्था, पैसाका लागि जोडिएका सम्बन्धहरू पैसा रहुन्जेल मात्र हुन्छ भन्ने बुझ्न नसकी क्षणिक मनोरञ्जनको लोभमा लुटाएका सम्पत्तिका कारण बन्न पुगेको घरपरिवारसँगको सम्बन्धको खाडल, अप्ठ्यारो, दुःख र एक्लोपनमा आफन्तहरूले देखाउने व्यवहार, जीवन धान्नकै लागि बाध्य भएर गाँस्नुपर्ने अनिच्छित सम्बन्ध,कसैले चाहँदैन भनेर जान्दा जान्दै जोडिने रहरले गाँसिएको विकारयुक्त सम्बन्ध, लगायत थुप्रै ‘अवर्णित सम्बन्ध’ हरूको व्याख्या हो ‘सम्बन्धको दोबाटो’।

विदेश जाने र पठाउने रहरमा छुटेका आत्मीयजन, सन्तानहरूले छोडेर गएसँगै अलपत्रमा परेका बुढेसकालहरू, शून्यता र एक्लोपनमा मायाको लोभमा परी आफू नजिक भएका मानिसहरूसँग संस्कार र भाषा फरक हुँदा पनि नजिकिन पुग्दा मिलेको प्रेमिल अनुभव र छुट्न जाँदा मनमा पर्ने चोटहरू, पैसा वा व्यवहार धान्नका लागि बाध्यात्मक परिस्थितिमा गाँसेका अनैतिक सम्बन्धले दिएका पीडाहरू, उमेरमा आफैंले रोजेर बनाएको आफ्नो जोडीसँगको सम्बन्धमा पनि लामो समयको साथ पछि विभिन्न कारणले दरार वा खाडल बढ्दै गएसँगै मिल्न नसकिने र छोड्न पनि नचाहिने जस्ता यावत् प्रसंगहरू छन् कथामा।

सम्बन्धले दिएका घाउहरू र ती सबै अवस्थामा मनले दिने भावलाई मन छुने प्रकारको विम्ब र प्रतीकहरूले सजाएर कथाकारले गरेका ‘अनुत्तरित प्रश्नहरू हुन् ‘ सम्बन्धको दोबाटो’ उल्लेख गरिएकाे पाइन्छ।

समयको परिवर्तनसँगै समाजमा देखिन थालेको विवाहेतर सम्बन्ध, त्यस्ता सम्बन्धहरूबाट बिखरिएका घरपरिवार, सन्ततिका अन्धकार भविष्य, सम्पतिको दुरूपयोग, खुशी हुने बहानामा गरिएको गल्तीले आफन्त र परिवारमा पर्न जाने असुविधा, परिवार पाल्ने जिम्मा आइलागेका नारी पात्रले रोजगारी खोज्ने क्रममा समाजले दिन चाहने पेशा, यी र यस्ता पेशामा रहेकाहरूसँग देशको भविष्य निर्माणको जिम्मा पाएका नाम चलेका र आदर्शको खोल ओढेकाहरूको हुने गरेको गोप्य उठबस त्यसबाट लिन सकिने फाइदा,घरपरिवार समाज र राज्यबाट नै संरक्षित हुन नसकी हिंसामा पर्दा पनि आफैंलाई दोष लगाउने समाजको नजर फेर्न नसक्दा आफ्नो अमूल्य जीवन आत्महत्याको बाटो रोजेर समाप्त पार्न बाध्य हुनुपर्ने नारीका कथा लगायत कुनै वर्गले जरूरी ठानेको र कसैको आवश्यकता रहेको पेशामा संलग्न हुन पुगेसँगै अचानोमा परेका सम्बन्धहरूले ध्वस्त भएका नारी जीवनलाई सम्मानपूर्वक समाजमा चिनाउन कथाकारले गरेको मेहेनत हो, सम्बन्धको दोबाटो।

संस्कार धान्ने सर्तमा पराई घर जान बाध्य भए पनि सम्मान र मायाको चाहना राख्ने नारीलाई आफ्नो नामको सिन्दुर र जात भिराइदिएर आफ्नो परिवार स्याहार्ने जिम्मा दिँदै आफू बाहिरी संसारमा रमाउन चाहने पुरुष, श्रीमती त हो भनेर उसको इच्छा विपरीत कार्य गर्दै पुरुषार्थ गरेको ठान्ने श्रीमानसँग नारीले राख्ने श्रद्धाहीन सम्बन्ध, छोरो टाढा भएसँगै बुहारीलाई गर्ने दमन, हिंसा, श्रीमानको साथ छुटेपछि एकल नारीलाई समाजले हेर्ने दृष्टि, ऊभित्र थुप्रै क्षमता र कला हुँदा हुँदै पनि शरीरसँग मात्र फाइदा लिन खोज्ने मानिसहरूकाे नियतिबाट नारीको मनमा घरपरिवार र समाजप्रति उब्जन सक्ने घृणित सम्बन्धलाई कथाकारले पुरुष भएर पनि केस्राकेस्रा नारी मन बुझाउन गरेको सम्मानयोग्य मेहेनत हो ,“सम्बन्धको दोबाटो।“

रोजगारी खोज्ने क्रममा राज्यको रक्षा गर्ने जिम्मेवारी लिए भन्दैमा राज्य बनाउने र बचाउने नाउँमा उनीहरूकै जीवनको रक्षा हुन नसकी अनाहकमा गुमाउनुपरेको अनमोल जीवनका कथा जुन सुन्ने र पढ्नेहरूका लागि केही दिनको दिक्दारी भए पनि प्रिय पात्र, गुमाउनेहरूको खोसिएको सिन्दुर, गुमेको मानसिक सन्तुलन अभिभावक गुमाउनेहरूको हराएको सुखद बालापन, वृद्धवृद्धाहरूको छुटेको साहाराले जीवनभर दिने पीडाका कथाहरूले राज्यसँग बन्न सक्ने घृणित सम्बन्धहरू कथाकारले अदृश्य तरिकाले सम्झाउन खोजिएको नयाँ इतिहास हो,'सम्बन्धको दोबाटो'।

यसका साथै कथाकारले आफूले बुझेका, खोजेका, जानेका, देखेका र सोधेका गहन अध्ययन गरेका भरमा समाजिक सञ्जालले ल्याएको विकृति, हराएका नैतिकता, देखासिकीले निम्त्याउने मानसिक तनाव, विभेद, गरिबी, नयाँ पुस्ताको संवेदनाहीन सोच, उजाडिंदै गएको घरपरिवार लगायत समाजका थुप्रै पक्ष समेटिने  २१ कथा सङगृहीत सम्बन्धको दोबाटोमा।

सयौं घटना र पात्रहरूको कल्पना, रहर, बाध्यता, संघर्षहरूसँग मनका अवयवहरू मिलाउँदै नयाँ समाजको चिनारी समाजलाई नै गराउने उद्देश्यले जागिरे जीवनको अति व्यस्त समयमा पनि देखेका सत्य घटनाहरूको जानकारी गराएर सचेत रहन र नदेखेका काल्पनिक घटनाहरूको चित्रणबाट हुन सक्ने घटनाहरूको बाेध गराउन, पुस्तक पढुन्जेल रोकिन नै मन नलाग्ने गरी रचिएको युग दर्पण समेत रहेको “सम्बन्धको दोबाटो“ कथाकारको उत्कृष्ट अध्ययनको निचोड समेत हुन सक्ने भएकाले हरेक व्यक्तिले परिवर्तित समयमा आएको नयाँ पुस्ताको सोच र समाज बुझ्नको लागि पढ्नै पर्ने कृति हो।

प्रकाशित: २६ पुस २०८० ०७:३२ बिहीबार

अक्षर