ड्राइभरले कार विस्तारै चलाएको थियो। संयोगवश एक साइकल यात्री लड्यो। कारले हानेर मान्छे लडायो भन्दै मान्छे झुम्मिए। ड्राइभरलाई एकदुई थप्पड हाने। प्रहरी आयो। ड्राइभरलाई समातेर लग्यो। साइकलयात्रीलाई अस्पताल पुयाइयो। ऊ पूरा बेहोस थियो।
डाक्टरले हेरे। एक्सरेका लागि रिपोर्ट तयार भयो। रिपोर्ट आयो। डाक्टरले हेर्दै केही समस्या नभएको बताए।
बिरामी अस्पतालमा भर्ना भयो। कयौ दिन भो बिरामी अस्पतालमा बसेको। निको भएको छैन। बिरामी आँखै खोल्दैन।
प्रहरीले ड्राइभरलाई अदालत लैजाने धम्की दियो,अदालत नजाने भए बीस लाख देऊँ।
ड्राइभर आत्तियो, ‘डाक्टर साहेव, के बिरामी सख्त घाइते हो?’
‘मलाई पनि अनौठो लागिरहेछ। समस्या केही छैन। तर, ऊ बेहोस छ,आँखै खोल्दैन।’
‘सर, म बर्बाद भएँ। फेरि उसलाई बीस लाख दिएर मिलापत्र गर्ने कुरो छ।’
‘अरू उपाय के छ र?’
‘सर, अब एउटै उपाय बाँकी छ। बरु हजुरलाई’ भन्दै कार मालिकले डाक्टरको कानमा फुस्फुसायो।
बिरामीको वरिपरि कयौ मान्छे थिए। प्रहरी आयो।
-डाक्टर साहेव, बिरामीलाई बँचाउने उपाय के छ?
‘अब एउटै उपाय छ अप्रेसन। यसले ऊ रहन पनि सक्छ न रहन पनि सक्छ।’
यो कुरा सुनेको बिरामी जुरुक्क उठेर हिंड्दै भन्न थाल्यो,‘पर्दैन मलाई अपरेसन गर्न। मलाई केही भएको छैन।’
-तुलसी पण्डित
प्रकाशित: १४ पुस २०८० ०२:४८ शनिबार