चौतारीमा बसेकी आमा टोलाइन्। यताउता हेरिन्। घरमा केटाकेटीहरू खेलिरहेका थिए। आमाको मनमा भाव उब्ज्यो। ती केटाकेटीहरूमाथि मेरो कति भरोसा थियो। आजकल फर्केर पनि हेर्दैनन्।
उनीहरूलाई पनि के दोष दिनु छ र। छोराबुहारीहरूले प्रतिबन्ध लगाएका होलान्। हो उनीहरूलाई मैले सम्पत्ति जोड्न सकिन रे। बाबा सानैमा बित्नुभयो। यिनैलाई हुर्काउन कति गाह्रो भयो। एउटी मान्छे दुईतीन सन्तान। मेलापात जानुपर्ने। वस्तुभाउलाई घाँस अनि जङ्गलपात। एकछिन टुसुक्क बस्न पाउँदैनथे। त्यसैमाथि उनीहरूको पढाइ र स्कुल खर्च।
खोई! उनीहरूले पनि सम्पत्ति जोडेका छैनन्। दुई जना जागिरे छन्। तै पुगेको छैन उनीहरूलाई।
एकदिन बाटोमा हिंड्दा छोरो भेट भयो। छोरालाई भने, ‘खोई त तैले सम्पत्ति जोडेको? केटाकेटी मैले हुर्काइदिएको हो। दुई जनाले जागिर खाएका छौ।’
उसले भन्यो, ‘हाम्रो केटाकेटीलाई कति खर्च छ। जे भने त्यही पुर्याइदिएका छौ।’
‘के मैले तिमीहरूलाई खर्च नगरी पढाए होला। त्यति धेरै पढ्यौ?’
उसले भन्यो, ‘त्यो बेलाको जस्तो हो र अहिले।’
मैलै भगवानलाई सम्झें,‘हे भगवान्, यिनीहरूलाई मलाई जस्तो सानो झुपडीमा एक्लै बस्न नपरोस्।’
-तुलसी पण्डित
प्रकाशित: १ पुस २०८० ०८:०४ आइतबार