११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

गणेशमानले पैसा चोर्दा

अन्तर्य

गणेशमान सिंहको जीवन–कहानीबारे पत्याउने नपत्याउने कथा–उपकथा, कहानी–उपकहानी अनेक छन्। त्यसो त गणेशमानका बारेमा मात्र होइन, पृथ्वीनारायण शाह, जङ्गबहादुर कुँवरका बारेमा पनि त्यस्तै विश्वास गर्ने, विश्वास नगर्ने कुराहरू थुप्रै छन्। त्यसो भन्दा पनि उनीहरूका बारेमा अनेकौं किंवदन्तीहरू छन्। त्यसो त संसारका प्रायः विशिष्ट मान्छेका भोगाइहरू कतिपय त पत्याउनै नसकिने खालका हुन्छन्। 

गणेशमान सिंह आफ्ना जेठा हजुरबा रत्नमान सिंहकहाँ बस्दा रहेछन्। नपढ्ने, खाली खेल्ने, पाया र ध्वाइँ खेल्ने, मौका परे तास पनि खेल्ने, अनेक उपद्रो गर्दा रहेछन्। एकपटक यस्तै खेलको सिलसिलामा भएको पा हारेपछि उल्लु किशोरहरूले ‘पैसा नभईकन आफ्नो हुलमा नराख्ने’ भएछन्।

केटाकेटीको त्यो बदमास हुलमा बस्न पैसा चाहिने भएपछि उनले चोरी गर्ने योजना बनाएछन्। त्यसो त गणेशमानका जेठा हजुरबाका छोरा काजी भएकाले पैसाको दुःख थिएन। पैसा चोर्नै पर्ने भएपछि ठिटाहरूले गणेशमानलाई बुढाले पैसा कहाँ राख्छन् पत्ता लगाउने जिम्मा दिएछन्। उनले बुढाले पैसा राख्ने गरेको ढुकुटी पत्ता लगाएर साथीहरूलाई भनेछन्।

खोटोमा टाँसिएछ पैसा

रत्नमान सिंहले रूपैयाँ राखेको ठाउँ पत्ता लगाउन अब बुढाले पैसा कहाँ राख्छन्? भनी चियो गरेछन् र पत्ता लगाएछन्। त्यो जमानामा पैसा बैंकमा राख्ने चलन नै थिएन। नेपालमा बैंक भन्ने संस्था आएकै थिएन।

बडाकाजीले तलब ल्याएर महिना दिनलाई कति खर्च चाहिन्छ, त्यति रकम छुट्याएर बाँकी रकम पैसा थन्क्याउने ठाउँमा राख्ने रहेछन्। पैसा राख्ने एउटा अलग्गै ढुकुटी कोठा रहेछ। त्यो कोठामा एउटा प्वाल पारी घरखर्च गरेर बाँकी रहेको पैसा त्यही प्वालबाट ढुकुटी कोठामा खसाल्दा रहेछन्। यो कुरा पत्ता लगाएका गणेशमानले टोलका बदमास केटाहरूलाई भनेछन्।

खजाना पत्ता लागेपछि ‘त्यहाँबाट कसरी पैसा झिक्ने ?’ भनेर उनीहरूबिच छलफल भएछ। तीमध्येकै एउटा केटाले एउटा लामो नर्कट ल्याएछ र त्यसको टुप्पोमा खोटो टाँसेछ।

त्यो नर्कट गणेशमानलाई दिएर ढुकुटी कोठाको पैसा छिराउने प्वालबाट त्यो नर्कटको खोटो लागेको भागलाई छिराउने र बिस्तारै तान्ने गरेमा खोटोमा डबल टाँसिएर आउँछ भनेर राम्ररी सिकाएर पठाएछन्। नभन्दै यो अक्कलले पैसा चोर्न गणेशमान सफल भएछन्। यस कार्यले उनलाई साथीहरूबिच प्रिय बनायो।

नोट थिएन, बैंक थिएन

त्यो बेला नेपालमा कागजको पैसा र नोट थिएन, धातुको पैसा प्रयोग हुन्थ्यो। पैसा तामा वा चाँदीको अथवा सुनका हुन्थे। सुनको पैसालाई असर्फी भनिन्थ्यो। तामाको दुईपैसे, पाँचपैसे र दशपैसे ढ्याक हुन्थे। चाँदीको बार पैसा (तिनन्नी), बीस पैसा (पचन्नी), सुकी (२५ पैसा), मोहर (५० पैसा) र डबल (१०० पैसा) का हुन्थे। यस्तो चाँदी केही नमिसिएको चोखो हुनुपथ्र्यो। चाँदी एक तोलाको १०० पैसा पर्दैनथ्यो। श्री ३ ले सस्तोमा चाँदी भिœयाई टकमारी गरेर अतिरिक्त पैसा कमाउने गर्थे।

यसरी श्री ३ महाराज हुनेसँग पैसैपैसा भयो। यता खोटोमा टाँसिएर भनेजति डबल आउने भएपछि गणेशमानलाई पैसाको खाँचो भएन, पैसा छेलोखेलो हुन थाल्यो। पैसा जम्मा गर्ने, ऋणसमेत दिने भए अनि टोले बदमास केटाहरू गणेशमानका घनिष्ठ मित्र बन्न गए।

पैसाले उनको हिम्मत बढायो। नेता बन्ने आँट बढेर आयो। धेरै मान्छेसँग हिमचिम बढ्यो। राजनीतिक मान्छेहरूसँग पनि उठबस हुन थाल्यो। उनी पक्राउ परे र केन्द्रीय कारागारमा थुनिए। त्यहाँबाट भागेर भारत पुगे। त्यहाँ उनले धेरै दुःख पाए। यो सबै जेठा हजुरबा बडाकाजी रत्नमानले थाहा पाए पनि उनी केही गर्न सक्दैनथे।

बडाकाजी रत्नमान सिंहकी कजिनी पाटनकी साहुकी छोरी रहिछन्। उनका भदा जयशङ्करलाल श्रेष्ठ भारतको बनारसमा बस्दा रहेछन्। उनी यदाकदा नेपाल आएको बेलामा फुपू–फुपाजुलाई भेट्न जाँदा रहेछन्।

एक दिन देवशङ्करसँग भेट भएको बेलामा बडाकाजीले गणेशमानका बारेमा कुरा गरेछन्। ‘यो मुल्याहा नाति गणेशमान राजनीतिमा लागेको छ। मैले केही गर्न मिल्दैन। ऊ भारतमा साह्रै दुःख पाएर बसेको छ। त्यसलाई यसो खर्चबर्च दिनू। त्यो भौकै नमरोस्, त्यति मात्र दिनू। त्यसको बानी कस्तो छ भने पैसा भएपछि अरूलाई बाँडेर सिध्याउँछ।

भोको देख्यो भने आपूm नखाएर पनि दिन्छ, नाङ्गो देख्यो भने आफ्नै लुगा फुकालेर दिन्छ। त्यसैले ठिक्क उसलाई पुग्ने पैसा मात्र दिनू, धेरै पैसा नदिनू। यो कुरा अरू त अरू, स्वयं गणेशमानले पनि थाहा पाउन हुँदैन।’

देवशङ्करको परिवार भारतमा बस्थे। त्यो बेलामा भारतमा शासन गरिरहेको ब्रिटिस अंग्रेज सरकारलाई नेपाल र भोटबिच लडाइँ गराउन मन लागेछ। उसले भोटले नेपालमा हमला गर्छ’ भनेर हल्ला चलाइदियो। खै त्यसमा तिनको के स्वार्थ थियो ? लडाइँ हुने भएपछि सरकारले ठुलो मात्रामा सेनाको बन्दोबस्तीको सामग्रीका साथै रासनपानीको ठेक्का गराएछ।

नेपालका साहुमहाजनहरूले ठेक्का लिएर धेरै सामान जम्मा गरेछन्। देवशङ्करका बुबाले पनि बिनालेखापढी ठेक्का लिएछन्। तर, लडाइँ भएन। त्यसैले साहुमहाजनहरू सामानको भुक्तानी गर्न सकेनन् र भारततिर पलायन भए।

देवशङ्करका पिता पनि भागेर बनारसतिर गएछन्। व्यापारी भएकाले उतै ठेक्कापट्टा गरेर ठुला साहु भएछन्। विश्वेश्वरप्रसाद कोइरालाको परिवार बनारसमा देवशङ्करलालकहाँ नै बस्दा रहेछन्। यसरी बस्दोबस्त मिलाइएको रहेछ।

बनारसमा नै देवशङ्करलालहरूको अर्को घरमा गणेशमान सिंह बस्ने गरेका रहेछन्। यसरी बडाकाजी रत्नमानले आफ्ना भाइका नातिलाई सहयोग त गरे तर उनलाई नैतिक रूपमा यो ठिक भएन भन्ने लागेछ। जसको नुन खाएको छ, उसैप्रति घात गरेको उनलाई ठिक लागेनछ। उनले श्री ३ महाराजसमक्ष आफ्नो पदले पाएको चाँदतोडा झिकेर ‘मेरो नातिमाथि राजद्रोहको मुद्दा लागेको छ। उसका बाजेको नाता पर्ने म सरकारी सेवामा रहन योग्य भइनँ। म सेवाबाट मुक्त हुन पाऊँ’ भनेछन्।

बडाकाजी रत्नमानलाई श्री ३ महाराजले ‘तिमीलाई म सेवाबाट हटाउँदिनँ, बरु तिम्रो नातिलाई लागेको मुद्दाबाट छुटाइदिन्छु। तिमी आफ्नो पगरी पहिलेजस्तै गरी लगाऊ’ भनेछन्। यसमा रत्नमान काजीले ‘मेरो नाति मात्र छुट्यो भने आफ्नो नातिलाई मात्र छुटायो, अरूको वास्तै गरेन भनेर मलाई गुठीबाटै बाहिर गर्छन्।

नेवार समुदायमा गुठीबाट छुटियो भने आफ्नो कोही हुँदैन’ भन्दै उनले छुटाउन पर्नेमा हरिकृष्णको पनि नाम लिएछन्। अनि गणेशमान र हरिकृष्ण दुवै छुटेका थिए रे। 

प्रकाशित: ३० मंसिर २०८० ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App