छोराछोरी नजिक नहुँदा नित्य आमा बिरामी
हाँस्छौं खेल्छौ घरपर बसी गर्वका साथ हामी
आमाजस्तै प्रिय अवनिको काख नै रोज्नुपर्छ
आऊ आफ्नै रनवन घुमी औषधी खोज्नुपर्छ।
– – – –
पानी छेक्ने जरण खरको खस्न लागेछ छानो
आत्मा भर्ने पवन अहिले बन्न लाग्यो विरानो
बाधा पार्ने असहज शिला लातले फोड्नुपर्छ
चर्केका यी सकल झुपडी हातले जोड्नुपर्छ।
– – – –
आस्था मारी सब कृतिकला पर्व नै भुल्न लाग्यौ
आफ्नै पाटो जफत गरिंदा हार मानेर भाग्यौं
गाथा लेखी अमर जनको वीरता साँच्नुपर्छ
रोदी खोली मृदुल लयको तालमा नाच्नुपर्छ।
– – – –
बाढी चल्दा उदक धमिलो वासमा पस्न थाल्यो
हेर्दा हेर्दै प्रकृति गहिरो भासमा फस्न थाल्यो
माली बन्दै भ्रमर चिडिया बागमा डाक्नुपर्छ
डाँडापाखा विकट पहरा वृक्षले ढाक्नुपर्छ।
– – – –
जानाजानी अझ मनुजले धर्मको मर्म तोडे
होला यात्रा सहज कसरी कर्मको मार्ग छोडे
आँखा टाल्ने विकृत मतिका वासना फाल्नुपर्छ
ऊर्जा थप्दै अबगहकिलो साधना थाल्नुपर्छ।
– – – –
माटो राखी निज हृदयमा स्वार्थ सारा पखाली
कालो फारी मनमगजमा चम्किलो दीप बाली
झन्डा बोकी पथ शिखरको जोसले चढ्नुपर्छ
जिम्मेवारी अति गहन छन् होसले बढ्नुपर्छ। (मन्दाक्रान्ता छन्द)
-रत्न विरही घिमिरे,ललितपुर।
प्रकाशित: २५ मंसिर २०८० ०८:१४ सोमबार