२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८० को ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ साहित्यपोस्ट (इ) पत्रिकाका प्रधानसम्पादक अश्विनी कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानले वर्ष २०८० का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान र राष्ट्रिय कलाश्री पुरस्कारको घोषणा गर्दै ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ कोइरालालाई प्रदान गर्ने जनाएको हो। यो पुरस्कारको राशि ५० हजार रहेको छ।

त्यस्तै प्रतिष्ठानले अमूल्य कलाश्री राष्ट्रिय सम्मान वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्ने भएको छ भने एक लाख राशिसहितको राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको छ।

त्यसैगरी, ७५ हजार राशिसहितको ससिद्धि राष्ट्रिय युवा पुरस्कार कवि कृसु क्षेत्रीलाई, ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई तथा ५० हजार राशिसहितको पद्यनेत्र राष्ट्रिय कलाश्री पुरस्कार युवा संगीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा आइतबार ललितपुरको पुल्चोकमा बसेको कार्य समिति बैठकले चयनकर्ताहरूको सिफारिसका आधारमा यी सम्मान र पुरस्कारहरूको घोषणा गरेको हो।

मोमिलाका अनुसार सम्मान र पुरस्कार अर्पण समारोह यसै वर्ष माघको अन्त्यतिर काठमाडौंमा आयोजना गरिने छ।

प्रतिष्ठानले विगत ११ वर्षदेखि निरन्तर साहित्य, संगीत, ललितकला र पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई राष्ट्रिय कलाश्री सम्मान र पुरस्कारले सम्मानित गर्दै आएको छ।

प्रकाशित: २५ मंसिर २०८० ०३:१३ सोमबार

अक्षर