२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

खेलाडीको सम्मानमा हरिवंशले ल्याए गीत

हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन्। खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन्।

स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ-पुराना खेलाडीका यथार्थ श्रव्यृ-दृश्य समेटिएका छन्। नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताए।

‘गीतकार थापाले खेलाडीसम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो। पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्थामा उहाँहरूप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ। त्यसैले गीतको भिडियोमा पुराना-नयाँ खेलाडीले खेलेका रियल दृश्यहरू राखेका छौं। खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ।’

गीतकार थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए।

‘उहाँलाई दुई-चार गीत पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले भने, ‘नेपालमा खेलाडीहरूको देश चिनाउने दायित्व ठूलो छ। पुराना खेलाडीहरूले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ। तर, खेलाडीहरूलाई जत्ति अवसर, मान मर्यादा हुनुपर्ने हो त्यति भएको देखिंदैन। अन्य देशमा खेलाडीको सम्मान हेर्दा ईर्ष्या आउँछ। त्यसमाथि खेलाडीलाई प्रोत्साहित गर्ने/गराउने गीत र म्यूजिक भिडियो हामीकहाँ कमै बन्छन्। त्यसकारण सबै खेलमा हाम्रो यो गीत राष्ट्रिय गीतको रुपमा गुन्जियोस् र खेलाडीहरूप्रति सम्मान र प्रोत्साहन मिलोस् भन्ने कामनासहित यो गीत ल्याएका हौं।’

विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषदमा समेत खिचिएको छ। ‘हामीले बनाउनुपर्ने गीत तपाईहरूले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,’ हरिवंशले सुनाए।

श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकरको रहेको यो गीतको रेकर्डिस्ट रन्जन राई हुन्। गीतकार थापासँगै अस्ट्रेलिया निवासी सुशिला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन्।

प्रकाशित: २२ मंसिर २०८० ०४:४५ शुक्रबार

अक्षर